Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, February 29, 2016

५० लाख दिन्छु भन्ने मधेसी मोर्चासँग ३७ लाख पनि रहेन छ

तराई–मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ। नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचाररतका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको हो।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आन्दोलन क्रममा घाइतेलाई खर्च दिने प्रतिबद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए । 'आन्दोलनक्रममा घाइते भएकाको हकमा उपचार खर्च बेहोर्ने भनेर सरकारले मन्त्रिपरिषदबाट दुईदुई पटक निर्णय पनि ग¥यो, वार्ता टोली समक्ष पनि वचनबद्धता जनायो,' महतोले नागरिकसँग भने, 'तर सरकारले आन्दोलनका घाइतेलाई एक रुपैयाँ पनि अझैसम्म सहायता गरेन ।'


मन्त्रिपरिषदबाट निर्णय गरे पनि रकम उपलब्ध नगराएपछि मोर्चाका नेताले व्यक्तिगत तहमा रकम उठाएर उनीहरुको खर्च बेहोर्ने काम गरिरहेको महतोले जनाए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदले दुईदुई पटक आन्दोलन क्रममा घाइते भएकाको उपचार खर्च बेहोर्ने निर्णय गरेका थिए । तीन दलबाट घाइतेको नामावली र खर्चको विवरण माग भएलगत्तै माघ २ गते नै गृहमन्त्री शक्ति बस्नेतलाई मोर्चाले पहिलो चरणमा काठमाडौंमा उपचाररत घाइते र खर्च विवरण उपलब्ध गराएको थियो ।

'मधेस आन्दोलन घाइते उपचार समिति २०७२ को रोहवरमा काठमाडौंको वीर अस्पताल तथा अन्य अस्पतालमा मोर्चाले खर्च गरेको र सो बमोजिम एकमुष्ठ खर्चको रकम ३६ लाख, ६१ हजार २ सय ३ निकासा गरिदिनुहुन अनुरोध छ,' गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाएको पत्रमा मोर्चाले उल्लेख गरेको छ । आन्दोलनक्रममा घाइते भई काठमाडौंमा ल्याएका २९ जनाको हकमा उक्त खर्च भएको भन्दै मोर्चाले उक्त विवरण पेस गरेको थियो । जसमध्ये भोगेन्द्र यादव (महोत्तरी) मानषी राउत पट्टेल (पर्सा) र श्रवण झा (सप्तरी) अझै पनि सुषमा मेमोरियल अस्पतालमा उपचाररत छन् ।

वीरेन्द्र बिच्छा (महोत्तरी) को नर्भिक अस्पताल र सोहवती मुरर्वा (रुपन्देही) को वीर अस्पतालमा उपचार क्रममा निधन भएको थियो । अन्य २४ जना भने अस्पतालबाट डिस्चार्ज भएको मोर्चाले जनाएको छ ।
मोर्चाले घाइतेलाई काठमाडौं ल्याउने क्रममा एम्बुलेन्स खर्च २ लाख ४० हजार, कुरुवा खर्च २ लाख २० हजार र बस खर्च ४० हजार रुपैयाँ मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख छ । औषधि र ल्याब खर्च मात्रै ३१ लाख ६१ हजार २ सय ३ रुपैयाँ उल्लेख छ ।

गृहले वीर अस्पतालमा १४ जना र ट्रमा सेन्टरमा ८ जना, सुुषमा मेमोरियलमा ३ जना घाइतेको मात्रै उपचार भएको विवरण प्राप्त भएको उल्लेख गरेको छ । पर्साका उपेन्द्र यादव, धनुषाका कामेश्वर पण्डित र विकास कुमार यादव तथा महोत्तरीका सन्तोष साह र रौतहटका रेणुदेवी आन्दोलनका घाइतेको नामबाट उपचार नगरेको प्रस्ट पार्न मोर्चालाई भनेको छ ।

यता, तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले काठमाडौंबाहिर उपचाररत आन्दोलनका घाइतेको खर्च उपलब्ध गराउन सरकारले आनाकानी गरेको आरोप लगाएका छन् । 'वीरगन्ज, जनकपुर, राजविराज र विराटनगरका अस्पतालमा पनि अझै पनि घाइतेको उपचार गर्दा लागेको खर्च दिन सकिएको छैन, त्यहाँ पनि अझै ऋण तिर्न बाँकी छ,' सोनलले नागरिकसँग भने ।

उनका अनुसार सितामढीमा ३७ जनासहित पटनालगायत भारतका केही अस्पतालमा घाइतेको उपचार गरिएको छ । तराई–मधेसमा रहेका अस्पतालसहित ती अस्पतालछेउका औषधिपसल र केही मेडिकलमा घाइतेको उपचारका लागि गरिएको खर्च तिर्न अझै बाँकी रहेको उनको भनाइ छ ।

तराईमधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले आन्दोलनको क्रममा जिल्ला तहमा उपचार गरेका घाइतेका विवरण र खर्चको विवरण संकलन भइरहेको बताए । 'जिल्लाजिल्लामा आन्दोलनमा कति घाइते भए, कति सहिद भए, त्यसको विवरण संकलन गरिरहेका छौं,' रायले नागरिकसँग भने, 'त्यो आएपछि मात्रै संख्या यकिन गर्न सकिन्छ ।' यद्यपि, गृहमन्त्री बस्नेतलाई घाइतेको उपचारका लागि खर्च उपलब्ध गराउन माग गरिए पनि अझै आनाकानी गरिरहेको रायले आरोप लगाएका छन् ।

No comments:

Post a Comment