Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 28, 2015

'गंगाजल शुद्धीकरण' मा ११ पक्राउ, ३ लाई सार्वजनिक मुद्धा

संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल सुरु गर्ने सभामुख ओनसरी घर्तीमगरको योजना आइतबारको संसद बैठकमा तुहिन पुगेको छ। गणपुरक संख्या नपुगेकाले विधेयकमा छलफल हुन नसकेको हो। सांसदहरू धमाधम बैठक छाडेर हिँडेपछि सभामुखले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेकी थिइन्।

'आज संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल चलाउने योजना थियो तर कोरम नपुगेका कारण स्थगित गर्नुपर्योि,' सभामुख घर्तीमगरले सञ्चारकर्मीसँग भनिन्। नियमावलीअनुसार आइतबार संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन्।

बैठकमा सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै कोरम नपुगेको प्रति सभामुखको ध्यानाकर्षण गराएका थिए। मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रस्तुत गरिरहेका बेला खतिवडाले नियमापत्ति जनाएपछि सभामुख घर्तीले उपस्थित सांसद गणना गर्न आदेश दिएकी थिइन्। तर, विधेयक प्रस्तुत गर्दा कम्तीमा १ सय ४९ सांसद उपस्थित हुनुपर्नेमा १ सय २४ मात्रै उपस्थित रहेको पाइएपछि बैठक कोरम नपुगेको भन्दै सोमबारसम्मका लागि स्थगित गरिएको हो।

जसका कारण 'नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमा आइतबार छलफल हुन सकेन। संसद बैठक छाडेर सांसद हिँडेसँगै अन्य दुई विधेयक प्रस्तुत गर्ने योजना पनि आइतबार सफल हुन सकेन।

महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदनसहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७१ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ प्रस्तुत हुन नसकेका हुन्। सोमबार बस्ने बैठकमा ती विधेयक प्रस्तुत हुन सक्नेछन्।

जनकपुर घटनामा ३ लाई मुद्दा : गृहमन्त्री

त्यसअघि जनकपुर घटनामा राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुर्व्यवहार र भोलिपल्ट विधवा प्रवेश गरेको भन्दै गरिएको 'गंगाजल शुद्दीकरण' को घटनाबारे गृहमन्त्री शक्ति बस्नेतले जानकारी गराएका थिए। 'उक्त घटनामा संलग्नमध्ये ११ जनालाई पक्राउ गरी सोधपुछ गरिएको थियो, जसमा चारजना महिला पनि थिए, अहिले तीनजनालाई सार्वजनिक अपराधको मुद्दा चलाएर अनुसन्धान जारी राखिएको छ,' बस्नेतले संसद बैठकमा भने।

राष्ट्रपति भण्डारी १५ मिनेट मात्रै मन्दिरमा रहेको र उनको सुरक्षा व्यवस्थामा कुनै खलल नपुगे पनि सुरक्षा घेराबाहिर आन्दोलनकारीले प्रदर्शन गरेको मन्त्री बस्नेतको भनाइ थियो। उक्त घटनालाई मन्त्रिपरिषद बैठकले पनि भर्त्सना गरिसकेको उनले जानकारी दिए।

यसअघिको संसद बैठकमा सांसदले जनकपुर घटनाको भर्त्सना गर्दै सरकारसँग जवाफ मागेपछि सभामुखले रुलिङ गरेकी थिइन्। मुख्यतः महिला सांसदले सरकारसँग जवाफ मागेपछि गृहमन्त्रीले त्यसको जवाफ दिएका हुन्।

यसैबिच, अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ र सामान्य प्रशासनमन्त्री रेखा शर्माले शिक्षा (आठौं संसोधन) विधेयक २०७२ लाई प्रस्तुत गर्न भने भ्याएका छन्।

विशेष समयमा बोल्दै सांसदले केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल जम्बो भएको, नाकाबन्दीलाई सहज बनाउने काम नगरेको, कालोबजारी नियन्त्रण नगरेको, भूकम्पपीडितप्रति सरकारले बेवास्ता गरेकोमा आलोचना गरेका थिए। प्रकाशशरण महत, योगेन्द्रसिंह लामा, लक्ष्मण राजवंशी, मीना पुन, प्रेम सुवाललगायतले आलोचना गरेका हुन्।

नयाँ संविधानप्रति विमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद जारी रहेकै बखतमा नाराबाजीलाई भने निरन्तरता दिए। सद्भावना पार्टीका सांसद नागेन्द्र चौधरीले विराटनगरमा राजेन्द्र महतोमाथि भएको आक्रमणको भर्त्सना गरेलगत्तै मोर्चाका सांसद नाराबाजीमा उत्रेका थिए।

उता, संघीय समावेशी मधेसी गठबन्धनआबद्ध साना तीन दलका तर्फबाट सांसद डिम्पल झाले मधेसमा आन्दोलन भएको १ सय ३७ औं दिन र ५१ जनाको ज्यान जाँदा पनि सम्बोधन नगरेको भन्दै रोष प्रकट गरेकी थिइन्। लगत्तै उनी गठबन्धनले संसद बैठक बहिष्कार गरेको जनाउँदै उठेर हिँडेकी थिइन्।

No comments:

Post a Comment