Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, September 25, 2015

भारतले हाम्लाई मात्र होइन, मधेसी नेतालाई पनि हैरानी दिएछ

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजबिराज बैठकमा 'चिनियाँ झन्डा' काण्ड भएपछि सुरु भएको बहस अझै पनि भित्र–भित्रै भुसको आगो झै सल्किरहेको छ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असोज ५ गते इनरुवामा चिनियाँ झन्डा जलाइएको र त्यसलाई मोर्चाले बिरोध जनाउनुपर्ने प्रस्ताव गरेका थिए।

राजबिराज सप्तरीमा गत बुधवार–बिहिवार बसेको बैठकमा उक्त विषयले निकै चर्चा पायो। कतिसम्म भने बैठकपछि पहिलो पटक तयार पारिएको प्रेस विज्ञप्तिमा अध्यक्ष यादवले हस्ताक्षर गर्नै मानेनन्। त्यसमा मोर्चाभित्र नै रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले हस्ताक्षर गरिसकेका थिए। (हेर्नुहोस विज्ञप्ति नम्बर १)

विज्ञप्तिको कम्प्युटर प्रिन्ट भइसकेपछि भारत लक्ष्यित गरेर नाम उल्लेख नगरी अर्को वाक्यांश थपियो, 'अन्तराष्र्टिय समुदायले हाम्रो आन्दोलनप्रति व्यक्त गरेको ऐक्यवद्धताका लागि धन्यवाद दिन चाहान्छौ, भविष्यमा पनि यो सहयोग र ऐक्यवद्धताको अपेक्षा गर्दछौ ।' यो बुँदा मुख्यत सद्भावनाका अध्यक्ष महतोले थप गर्न लगाएका थिए। यादवले सो बुँदा थपेपछि पनि विज्ञप्तिमा हस्ताक्षर गर्न मानेन्। अन्य तीन नेताले सो विज्ञप्तिमा हस्ताक्षर गरिसकेका थिए। उनी चीनको झन्डा जलाएकोमा भत्र्सना गर्नुपर्ने आफ्नो अडानमा कायमै रहे।

निकै लामो रस्साकस्सीपछि पनि यादवले विज्ञप्तिमा हस्ताक्षर नगरेपछि अर्को विज्ञप्ति ड्राफ्ट गरियो। तर राजेन्द्र महतोले हृदयदेखि थप्न खोजेको 'अन्तराष्र्टिय समुदायले हाम्रो आन्दोलनप्रति व्यक्त गरेको ऐक्यवद्धताका लागि धन्यवाद दिन चाहान्छौं, भविश्यमा पनि यो सहयोग र ऐक्यवद्धताको अपेक्षा गर्दछौ' भन्ने वाक्यांश सो विज्ञप्तिबाट हटाइयो। अझ पहिलो विज्ञप्तिमा उल्लेख भएको 'भारत' शब्दै हटाएर दोहोर्‍याएर तयार पारिएको विज्ञप्तिको सातौं बुदाँमा थपियो, '२०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झन्डा जलाउने कार्य गरेको हुदाँ सो कार्यको मोर्चा घोर भत्सर्ना एवं निन्दा गर्दछ।' (हेर्नुहोस विज्ञप्ति नम्बर २)





यो विज्ञप्ति सार्वजनिक भएपछि मधेस केन्द्रित दल र भारतीय दुतावासमा समेत त्यसले हल्लीखल्ली मच्चियो। बहस सुरु भयो, 'मधेसी मोर्चाको विज्ञप्तिमा कसरी चीन घुस्यो ?'

आन्तरिक छानविनपछि कुरा स्पष्ट भयो, संघीय फोरमका अध्यक्ष यादवका कारण सो वाक्यांश परेको रहेछ। मोर्चाकै नेताहरुले आन्दोलनकारी र भारतीय दूतावासमा सो कुरा पु¥याइदिए। नेपालको नयाँ संविधानलाई स्वागत गरेको झोँकमा आन्दोलनकारीले उत्तरी छिमेकी चीनको झन्डा जलाई दिएका थिए।

भारतले नयाँ संविधानलाई स्वागत नगरेर मधेसीलाई अधिकार दिलाउनका लागि 'दिनरात मेहनत गर्दा' औपचारिक रुपमा 'धन्यवाद' पनि नदिने तर चीनको झन्डा जलाउँदा त्यसलाई 'घोर भत्सर्ना' गर्नुपर्ने यादवको जोड गरेको भन्दै केहीले हावासरी फैलाई दिए। उपेन्द्र यादवमाथि राजनीतिक दवाब चुलियो।

तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका पहिलो महाधिवेसन, वीरगञ्जमा हुदाँ चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि ल्याएको, वीरगञ्जको शवयात्रामा यादवविरुद्ध नारावाजी भएको प्रसङ्ग उठाइयो। भारतको संस्थापन पक्षबाट टाढै रहँदै आएका भनिएका यादवमा 'चीन मोह' रहेको भनेर आन्दोलनकारीबीच व्यापक प्रचार गरियो। प्रचार गर्नेमा महतोको टोली प्रभावशाली देखियो।

उनको टोलीले यसो गर्नुमा अर्को विशेष कारण यो थियो। त्यो के भने महतो जेपी गुप्ता र मातृका यादवलाई आफनो मोर्चामा ल्याउन चाहान्थे। त्यसका लागि उनी एक्लैले वीरगञ्जमा सहमति गरेर संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरिसकेका थिए। तर मोर्चामा भित्र्याउने कुरामा उपेन्द्र सकारात्मक भइदिएनन्। उनले कार्यदलमार्फत अजेन्डा मिलाएर मात्र जेपी र मातृकालाई भित्र्याउनुपर्छ भन्ने उल्टै सर्त राखिदिए। परिणाम, राजबिराज बैठकवाट मातृका र जेपी प्रवेश गराउने महतोको योजना सफल हुन सकेन। मोर्चा प्रवेश पाइने आशमा मातृका यादव बैठक भइरहेकै राजविराज पुगेका थिए। जेपी त्यहीँका स्थानीय बासिन्दा हुन्।

संविधानसभा विघटनको माग गर्ने मोहन बैद्यसँग बिनासर्त कार्यगत एकता गर्ने तर मातृका र जेपीलाई भने सर्त राखेर कार्यदल बनाएर प्रवेश गराउनु पर्ने यादवको तर्क पनि मधेस केन्द्रित अन्य दलले मानेनन्। यादव सामु अरुको केही लागेन। अन्ततः महतोका सबै अजेन्डा अर्थात भारतको भुमिकालाई स्वागत गर्ने, मातृका–जेपीलाई प्रवेश गराउने र चीनको झन्डा जलाएको विषयमा मौन बस्ने तीनवटै अजेन्डा पास हुन सकेनन्। ती सबैमा उपेन्द्रले विजय हासिल गरे।

यो 'जुँगाको लडाई' यतिसम्म चर्कियो कि उपेन्द्र मोर्चाका सहकर्मी दल र भारतीय दुतावाससहित आफ्नै पार्टी भित्रबाट पनि दवाबमा परे। अन्ततः दवाब खेप्न नसकेपछि भारतको रक्षा गर्दै विज्ञप्ति निकाल्न बाध्य भए। (हेर्नुहोस बिज्ञप्ति नम्बर ३)
त्यो बाध्यताले उनको राजनीतिक जीवनमा नै अर्को नयाँ मोड लियो। सम्भवतः भारत नजिक रहेका भनिएका मधेस केन्द्रित दलले समेत उपेन्द्रले जसरी अहिलेसम्म 'भारतको रक्षा गरेर' कुनै पनि औपचारिक विज्ञप्ति निकालेका छैनन्। उपेन्द्रले सबैलाई उछिन्दै लिखित रुपमै भारतको भूमिकाको प्रंशसा मात्र गरेनन् भारतीय भूमिकाको पूरा रक्षासमेत विज्ञप्ति मार्फत गरिदिए।

1 comment:

  1. I am seeing all the madeshi leaders are getting unsafe day by day by supporting south and are within a big net. Hope they change their attitude by sitting with the other party leaders to solve the problems otherwise they will find themselves as fishes in the big net soon.

    ReplyDelete