केही समय देखी म आङकाजीलाई फेसबुकमा पछ्याइरहेको छु र उनका भाषण कहिले कहिले पढ्ने मौका पनि पाउँछु । मलाई अचम्म र उदेक लाग्छ, उनको राजनीति गर्ने तरिका देखेर । उनी आफ्नो एजेन्डा स्थापित गराउने भन्दा पनि अरुलाई गाली गर्नमा बढी समय खर्चिरहेका हुन्छन । लाग्छ, अरुलाई गाली नगरी उनको राजनीति नै चल्दैन् ।
त्यस माथी नाकचुच्चे (बाहुन) त आङकाजी देखी नै सहदैनन् । मानौ, यो मुलुकमा नाक चुच्चे नभएको भए देश पहिला नै उभो लागि सक्थ्यो, नाक चुच्चे भएका कारण नै यो देश उभो लाग्न सकेको छैन् । उनको राजनीतिक मुद्धाका सार नै यती नै हो, यो भन्दा माथी उठन सकेको पनि उनी देखिदैनन् ।
कुनै बेला उनैले आज भन्दै गरेको नाक चुच्चेहरुको पार्टी एमालेमा थिए, सोही पार्टीका आडमा उनले नेपाल जनजाति महासंघका महासचिव पनि भए र सोलुखम्बु एमाले सचिव पनि । यी दुई यस्ता पद थिए, जसले उनलाई राजनीतिक उचाईमा पु¥यायो, उनलाई परिचय पनि यी पदले नै दियो । तर, आज तल्लो स्तरमा झरेर गाली गर्ने आङकाजीले लामो समयसम्म एमालेमा हुदाँ नाक थेप्चेहरुका लागि के गरे त ? त्यसको हिसाव किताब पनि खोजी होला किनभने यी दुई पद उनले त्यति कै पाएका होइनन, त्यसका लागि त्यस पार्टी भित्र पनि लामै समय बिताएको अवश्य नै हुनुपर्छ । यो एउटा पाटो मात्र हो, जसले उनलाई बुझ्न मद्धत गर्छ र उनको नाक थेप्चेहरुका लागि एमालेमा हुदाँ गरेको योगदानको श्रृखंलालाई केलाउन मद्यत गर्छ । यद्धपी, यो आलेख त्यसमा केन्द्रित भने हुदैन् ।
आङकाजीका कुरा सुन्ने र उनका फेसबुकका कुरा पढने हो भने यो मुलुकमा बाहुन भएर जन्मनु अपराध हो र नेपाल बिगारे कै बाहुनहरुले हो । त्यसैले मुलुक बिगार्ने बाहुनलाई यो देशवाट नै ‘कटाउनु’ पर्छ झै गरी उनी अलापबिलाप गरिरहेका देखिन्छन् । उनलाई लाग्छ, ‘नाक थेप्चे’ र यो मुलुकको उत्थान त्यही बेला मात्र हुन्छ, जुन बेला यो मुलुकमा नाकचुच्चेहरु कमजोर हुन्छन अथवा मुलुकवाट ‘लखेटिन्छन्’ । आङकाजीका कुरा सुन्ने केही मान्छेहरु म पनि भेट्छु, ती मध्ये कोही यस्ता पनि छन, जो उनका हरेक कुरामा ताली बजाएर हिड्छन् र उनलाई ‘अब्बल र खरा क्रान्तिकारी’को रुपमा चित्रित गरिदिन्छन् । त्यसैले होला, आङकाजी झन उक्सन्छन र झन चर्को रुपमा उनी सार्वजनिक रुपमा देखा पर्छन् ।
उनका कुरा नै सही, केही ‘नाकचुच्चे’ले नाक थेप्चेहरुलाई दमन पनि गरे होलान, केही नराम्रो पनि गरे होलान् । यसको बिरोध हुनुपर्छ । हरेक सचेत नागरिकले त्यसको प्रतिवाद पनि गर्नुपर्छ । यसमा कुनै दुईमत नै छैन् । लोकतन्त्र सबैका लागि हो, यहाँ कोही ठुलो र सानो छैन, हुनु पनि हुदैन् । तर, कसैलाई उच्च र कसैलाई निच सोच्नेलाई दण्डित गर्न नेपालमा कानुन छ । र, दण्डित भएका उदाहरण पनि धेरै छन, जो हामी दिन दिनै सञ्चारमाध्यमवाट पनि सुन्छौं, पढ्छौं ।
आङकाजीले आफ्नो अधिकार खोज्छन, त्यसमा मेरो पुर्ण समर्थन छ । एउटा नागरिकले आफ्नो अधिकार खोज्नु त्यो जायज हो । त्यो हक जति मलाई (नाकचुच्चे) छ, त्यति नै अधिकार नाक थेप्चे आङकाजीलाई पनि छ र हुनु पनि पर्छ नै ।
यद्धपी, म आङकाजी जति पाको त छैन, न उनले जति मैले वुझ्न नै सक्छु । न त म उनी जस्तो राजनीतिक नेता नै हुँ । बस, राजनीति नगरे पनि बुझ्नु चाँही पर्छ भन्ने मान्यता बोक्ने एक सिकारु सामान्य बिद्यार्थी मात्र हुँ ।
आङकाजीले अन्यथा नसम्झिउन, उनी आफ्नो सामथ्र्य र आफ्नो सार्वजनिक जीवनको महत्व नै बुझदैनन्, न त सकिरहेको नै देखिन्छ । हामी त भन्छौ, उनी हामी सबैका साझा नेता हुन तर उनलाई लाग्छ, म नाक थेप्चेका मात्रै नेता हुँ, मेरो राजनीतिसँग नाक चुच्चेहरुको कुनै पनि खाले संवन्ध नै छैन । तर, उनको राजनीतिले जति नाक थेप्चेलाई प्रभाव पार्छ, त्यसवाट नाक चुच्चे अछुतो रहन सक्दैनन् भन्ने ज्ञान भने हुनुपर्ने देखिन्छ । राजनीतिमा यति कुरा बुझने क्षमता आङकाजी राख्न सक्छन कि सक्दैन, त्यो उनको कुरो हो र नबुझ्नु उनको समस्या हो ।
एउटा राजनीतिक नेताका हरेक क्रियाकलाप÷अभिब्यक्तिले देशका प्रत्येक नागरिकलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभाव पार्छ, पारिरहेको नै हुन्छ । तर, उनी कहिल्यै सभ्य भाषाले बोल्दैनन, न त सभ्य तरिकाले आफ्नो कुनै पनि एजेन्डा नै राख्छन, न त राखेका नै छन् । उनी जनतालाई सबै बराबर हुन भनेर पनि सिकाउँदैनन । न त राज्य संयन्त्रमा सबै नेपालीको हक र अधिकार बराबर छ भनेर सभ्य भाषामा बुझाउँछन् । उनी मन नपरे ‘सुङगुर’, ‘कुकुर’ र ‘गु खाने’ जस्ता असभ्य भाषा प्रयोग गरेर अरुको मानमर्दन र अपमान गर्छन् । उनी सबैको उचाई बराबर बनाउन चाहेर राजनीतिमा आएको हो त भन्छन तर तरिका फरक गर्छन । उनी अग्लाको घाँटी काटेर मात्र बराबर हुन्छ भन्ने सोच राख्छन न कि होचाहरुको उचाई बढाएर ।
नाक थेप्चेको एउटा छोरा ब्याकुल माइला ‘सयौ थुंगा फुलका हामी एउटै माला नेपाली’ भनेर दिन दिनै नेपाली जनताको मन जित्छन, नाक थेप्चेका छोरा अमर गुरुङ त्यसमा संगित हालेर मन्त्रमुग्ध बनाउँछन् । र, नेपाली हुुनुमा गर्ब गराउँछन् । तर, आङकाजी यसमा पटक्कै विश्वास गर्दैनन् ।
सदियौँ देखी मिलेर बसेको नेपाली समाज बिच यो जात र त्यो जात भनेर सबैभन्दा बेसी पछिल्लो समय कसैले छुटायाएको छ भने त्यो आङकाजीले नै हो । हरेक ठाँउमा उनी भन्छन, ‘त्यो चाँही नाक चुच्चे, हामी नाक थेप्चे ।’ तर, उनी कहिल्यै कहीँ भन्दैनन, ‘हामी सबै नेपाली हौ, हामी सबै बराबर छौ ।’ यस्ता, अभिब्यक्ति दिनुको सट्टा अथवा सदियौं देखी मिलेर बसेको समाजलाई ‘रुपान्तरण’ गर्नुको सट्टा आङकाजी भत्काएर ‘क्रान्ति’ गर्न खोज्छन् । र, भत्काउनुमा नै सार्मथ्य देख्छन । त्यसैमा द¥हैसँग विश्वास गर्छन् र आफु नाक थेप्चे को मुक्तिदाता झै भएकोमा सगर्व गर्छन् ।
तर, एउटा जिम्मेवार नेताले त सबैलाई बराबर सम्झनु पर्ने होइन र ? देशका सवैलाई सम्मानको दृष्टीकोणले हेर्नु पर्ने होइन र ? सभ्य भाषामा असहमति र फरक मत राख्न अरुलाई सिकाउनु पर्ने होइन र ? कमजोर चेतना भएको समाजलाई सभ्य, सौम्य र शान्त बनाउन योगदान दिनुपर्ने होइन र ? सबै जात बराबर हुन, कोही ठुलो कोही सानो छैन भनेर चेतना जगाई दिनु पर्ने होइन र ? तर उनी यसतर्फ भने कहिल्यै ध्यान दिदैनन् ।
आङकाजी जस्ता नेताको सिको गरेर अरुले पनि असभ्य र फोहोरी गाली गर्ने काम गरे भने समाज कहाँ पुग्ला ? यो समाज र यो राष्ट्रको हालत के होला त ? अरुलाई गाली गरेर मात्र आफ्नो उचाई वढ्छ भन्ने विश्वास जनताले पनि गर्न थाले भने छिमेक र वरपर कस्तो अवस्था सिर्जना होला ? आखिर सिक्ने त नेताबाट नै हो किनकी समाज र राष्ट्र बदल्ने त राजनीतिक नेताले नै हो ।
मेरो आङकाजीसँग ब्यक्तिगत चिनजान त छैन् । उनलाई पहिलो र अन्तिम पटक प्रत्यक्ष देखेको भनेको एकीकृत माओवादीका खुलामञ्चको सभामा नै हो, जुन दिन उनले दलका सवै नेतालाई ‘सुङगुर’ भनेर अपमान र मानमर्दन गरेका थिए । त्यो अपमान ब्योहोर्नेमा उनलाई अतिथिका रुपमा बोलाउने एमाओवादी अध्यक्ष प्रचण्ड पनि थिए । जसले उनलाई अतिथिका रुपमा बोलाएका थिए, उसैलाई त सुंगुर भन्न बाँकी नराख्ने आङकाजीलाई यदी भेटे भने मलाई चाँही सोध्न मन लागेको छ, ‘आङकाजीज्यू, एउटा सामान्य नेपाली नागरिकको नाताले तपाईवाट मैले कस्तो संस्कार सिक्ने ?’
No comments:
Post a Comment