Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 24, 2015

जब मधेसी मोर्चाको बैठकमा चिनियाँ झन्डा हल्लियो...

नेपालको संविधानलाई स्वागत गरेको भन्दै जारी तराई–मधेस आन्दोलनक्रममा सुनसरीको इनरुवामा असोज ५ गते उत्तरी छिमेकी चीनको झन्डा जलाइयो। चीनियाँ झन्डा जलाउने कार्य आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र र बाहिर ठूलै बहसको विषय बन्यो। मोर्चाकै घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यो घटनाको निन्दा गरे।
'हाम्रो आन्दोलन कुनै देशविरुद्ध होइन, कुनै पनि देशको झन्डा जलाउनु हुन्न, यसको मोर्चाले निन्दा गर्नुपर्छ,' यादवले मोर्चाको बैठकमै प्रस्ताव राखे। यस्तो प्रस्ताव आएपछि त्यसबारे मोर्चाभित्र विवाद भयो। मुख्यतः सद्भावना अध्यक्ष राजेन्द्र महतोले यादवको प्रस्ताव अस्वीकार गरे।
महत्तोको जोड थियोे, 'भारतले मधेस आन्दोलनमा यत्रो समर्थन गरेको छ, त्यसबारे चुँसम्म नबोल्ने तर चीनियाँ झन्डा जलाएकोमा चाहिँ किन यत्रो टाउको दुखाइ?'


यादव र महतोबीच बैठकमा चर्काचर्कीसमेत भयो। तर, यादवले आन्दोलनमा चीनियाँ झन्डा जलाउने कार्यको विरोध गर्नुपर्ने भन्दै अडान लिए। अन्ततः त्यो प्रस्ताव पास भयो।

मोर्चाले बुधबार जारी गरेको विज्ञप्तिको सातौं बुँदामा प्रस्ट रूपमा लेखिएको छ, '२०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही व्यक्तिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झन्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भर्त्सना एवं निन्दा गर्दछ।'

त्यसपछि बल्ल आन्दोलनकारी दल, आन्दोलनकारी र भारतीय दूतावासलाई समेत यो विषय सबैभन्दा ठूलो बन्यो। त्यसपछि यो वाक्यांश कसरी आयो भन्ने खोजबिन सुरु हुन थाल्यो। यो वाक्यांशले एक किसिमले आन्तरिक रूपमा भुइँचालो नै ल्यायो, दिनभर क्रिया–प्रतिक्रिया र बहस पनि चल्यो।

प्रस्तावक संघीय फोरमका अध्यक्ष उपेन्द्रको नाम छुप्ने कुरै थिएन, त्यो सलहझैँ आन्दोलनकारीमाझ मात्रै फैलिएन, लैनचौरस्थित दूतावासमा समेत केहीले पुर्याोइदिए। 'राजेन्द्रका भतिजा उपेन्द्र महतो र एक पत्रकारले कुप्रचार गरिदिए,' यादवनिकट पदाधिकारीले नागरिकसँग भनेे, 'राजेन्द्र महतोको डिजाइनअनुसार यसलाई गलत तरिकाले प्रचार गरिएको हो, जसका कारण अध्यक्षज्यू अप्ठयारोमा पर्नुभयो र विज्ञप्ति निकाल्न बाध्य भइयो।'

उनका अनुसार तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको वीरगन्जमा सम्पन्न पहिलो महाधिवेशनमा चीनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि ल्याएको घटनालाई आधार बनाएर त्यस्तो प्रचार गर्ने काम भएको थियो।

भारतीय संस्थापन पक्षबाट टाढा रहँदै आएका भनिएका यादवले चीनलाई खुसी पार्न उक्त प्रस्ताव राखेर विज्ञप्ति जारी गरेको प्रस्टीकरण अन्य दलका नेताले आन्दोलनकारीसमक्ष दिएपछि यादवमाथि आन्दोलनकारीको आक्रोश बढ्यो।

त्यसपछि यादवले बिहीबार प्रेस विज्ञप्ति नै निकालेर भारतको पछिल्लो क्रियाकलापको खुलेर समर्थन मात्रै गरेनन्, भारतको भूमिकाको रक्षासमेत गर्नुपर्ने अवस्था आइलाग्यो।

यादवले विज्ञप्तिमार्फत भनेका छन्, 'सदियौंदेखि कायम रहेको नेपाल–भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति दुःख व्यक्त गर्दै कहीँकतैबाट यस प्रकारका नकारात्मक टिकाटिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछ।'
छिमेकी भारतको रक्षाका लागि मात्रै अध्यक्ष यादवले आफनो बिज्ञप्तिमा ४ वटा महत्वपूर्ण वाक्य खर्चिएका छन। 'न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायज माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन्', यादवको बिज्ञप्तिमा थप उल्लेख छ, 'भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुख र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारत विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ।'

उनले अझ अगाडी भारतको रक्षा गर्दै भनेका छन, 'नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन सबैमा अनुरोध छ।' अध्यक्ष यादवले आफनो राजनीतिक जीवनमा यसरी भारतको पक्षमा बक्तब्य जारी गरेको सम्भवतः यो पहिलो घटना हो, उनले भारतको यसरी कहिल्यै रक्षा पनि गरेका थिएनन।

No comments:

Post a Comment