Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 17, 2015

‘यो नेपालीको मात्रै होइन, नेपाली स्वाभिमानको पनि जित हो’

संविधानसभामार्फत जनताले आफ्नालागि आफै संविधान लेख्ने धोको पूरा गरेकामा शीर्ष नेतासहित सभासदले खुसी व्यक्त गरेका छन्। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार संविधानसभा बैठकमा संविधान विधेयक पारित गर्न 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौं' भनी प्रस्तावनाको बेहोरा वाचन गरेलगत्तै उपस्थित सभासदले दुई मिनेटसम्म टेबुल बजाएका थिए। लगत्तै, आ–आफ्नो आसनवाट उठेर विजयको प्रतीकस्वरुप हात हल्लाए, जुन आफंैमा ऐतिहासिक क्षणका रुपमा कैद भएको छ।

नेताहरुले संविधानसभाबाट संविधान पारित भएको दिनलाई आफ्नो जीवनकै सबैभन्दा महŒवपूर्ण भनी प्रतिक्रया दिएका छन्। संविधानसभाबाट बाहिरिँदा सबैजसो शीर्ष नेता र सभासदका मुहारमा खुसी झल्कन्थ्यो। सभासदहरुले एकअर्काबीच अंकमाल गरी एवं हात मिलाएर बधाई र शुभकामना साटासाट गर्दाको दृश्य उल्लासमय देखिन्थ्यो।

प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान पारित भएपछि घरघरमा दीपावली गर्न देशवासीलाई आग्रह गरेका छन्। 'संविधानसभाबाट संविधान निर्माण भएको उपलक्ष्यमा देशवासीलाई दीपावली गर्न आग्रह गर्छु,' उनले भने, '७० वर्षको प्रयासपछि हामी सफल भएका छौं, यो सम्पूर्ण नेपालीको सफलता हो।'

प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक सफलता निम्ति बुधबारको दिन नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा सहभागी सभासदसहित संविधान प्रतीक्षारत जनताका लागि खुसीको दिन भएको बताए।

'नेपाली जनताले लामो समयदेखि आफ्ना जनप्रतिनिधिबाट आफैंले बनाएको संविधानको प्रतीक्षा गरेका थिए, त्यो आज प्राप्त भएको छ,' ओलीले भने, 'त्यो प्राप्त गराउने काममा भूमिका खेल्न पाएकोमा सबै माननीय सदस्य खुसी हुनुहुन्छ, हामी सबै खुसी छौं, देश खुसी छ।' संविधान निर्माणलगत्तै मुलुक लामो संक्रमणकालबाट मुक्त भएको पनि उनले बताए।

'अर्को कुरा एउटा संविधानसभा असफल भयो, अर्को संविधानसभा के होला भन्ने अन्योल चिरेर संविधान पारित भएको छ,' हँसिलो मुद्रामा देखा परेका ओलीले सञ्चारकर्मीसँग भने।

संविधान निर्माणपछि मुलुक गरिब देशको रुपमा रहिरहन नसक्ने पनि ओलीले बताए। 'त्यसैले जनताले खुसी मनाउनुपर्छ, संविधान कार्यान्वयन गर्नुपर्छ, शान्ति र सुव्यवस्था, अमनचयन हुनुपर्छ,' ओलीले भने।

संविधानसभाको मुद्दा स्थापित गराउन महŒवपूर्ण भूमिका खेलेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले देखेको सपना साकार भएको बताए।

'यो नेपाली जनताको विजय मात्र होइन, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको पनि विजय हो,' दाहालले सञ्चारकर्मीसँग भने, 'र ती हजारौं सहिद र बेपत्ता योद्धाहरुको पनि विजय हो।'

संविधानसभाभित्र अध्यक्ष दाहालसँगै धेरै सभासदले तस्बिर खिचे। लामो समयसम्म अध्यक्ष दाहालले विभिन्न पार्टीका शीर्ष नेतासहित सभासदसँग फोटो सेसन गरिरहेको दृश्यले पनि उनको उपस्थितिलाई गरिमामय र ऐतिहासिक रुपमा पुष्टि गरेको थियो।

'संविधानसभाबाट संविधान बनाउने प्रक्रियामा निकै ठूलो बलिदानीपूर्ण संघर्षको नेतृत्व हुनुका नाताले मैले तमाम सहिद र बेपत्ता योद्धासहित गत ७० वर्षदेखि जस–जसले नेपालमा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा संविधान बनाउने सपना देखेका र त्यसका निम्ति लडाइँ लडेका थिए,' दाहालले जोड गर्दै भने, 'ती सबैखाले सशस्त्र, शान्तिपूर्ण आन्दोलनको आज विजय भएको छ, नेपालको विजय भएको छ, नेपालीको विजय भएको छ।' मुलुक अब स्थिरता, समृद्धिको बाटोमा लागेको जनाउँदै उनले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई बधाई र शुभकामना दिए।

उनले संविधानसभाबाहिर रहेका र बहिस्कार गरेर हिँडेका दललाई वार्ता र संवाद प्रक्रियामा सामेल हुन पनि आग्रह गरे।

'यो ऐतिहासिक विजयमा सामेल हुन, यो संविधानलाई परिमार्जन गरी अघि बढ्न र देशलाई स्थिरता, शान्ति र समृद्धिको दिशामा अभियानका रुपमा अगाडि जान एकताबद्ध हुन पनि अपिल पनि गर्दछु,' दाहालले भने।

'भोलि संविधान संशोधन गर्न सकिन्छ, संविधान जे बन्यो, त्यही धर्मशास्त्रझैं बस्ने होइन, गतिशील दस्तावेज हो, संशोधन हुन्छ,' दाहालले भने।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले आफ्नो जीवनकै खुसीको दिनका रुपमा बुधबारलाई चित्रण गरे। 'अनेक खुसीका दिन मैले बिताएँ, मेरो जीवनको सबैभन्दा खुसीको दिन आजै हो, गौरवको, ऐतिहासिक दिन हो,' खनालले भने, 'नेपाली जनताले आपनो संविधान आफै निमार्ण गर्न सकेको दिन ऐतिहासिक दिनको रुपमा अंकित हुनेछ।'

उनले नेपाली जनताले राजनीतिक मुद्दा हल गरेको दाबी गर्दै संविधानलाई देशको रोडम्यापका रुपमा लिन आग्रह गरे। 'यो देशको नयाँ रोडम्याप हो, यो नयाँ रोडम्यापका आधारमा आर्थिक क्रान्तिको दिशातर्फ बढ्ने सुनिश्चित छ,' खनालले भने।

सभाध्यक्ष नेम्वाङले नेपाली जनताको लामो समयदेखिको चाहना र भावनाले मूर्तता प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। अनेकौं समस्या र अप्ठ्यारा पार लगाउँदै संविधान पारित गरेकोमा आफूले गर्व महसुस गरिरहेको नेम्वाङले जनाए।

'जनताको चाहना र भावनालाई मुर्तता प्रदान गरयौ, आजको यो सफलता ऐतिहासिक छ' सभाध्यक्ष नेम्वाङले भने, 'संविधानसभामा रहेका र संविधानसभामा नरहेका तराई–मधेसदेखि हिमालसम्मका सबै भाषा, संस्कृति, धर्मका जनताको यो सफलता हो।'

नेम्वाङले पारित संविधान टेकेर नै बाँकी समस्या हल गर्न जोड गरेका छन्। 'यो संविधानमा टेकेर बाँकी असन्तुष्टि जे जे छन्, यही संविधानको आधार र जगमा उभिएर समेट्दै जाउँ, पुष्ट गर्दै जाउँ, सबल बनाउँदै जाउँ, आजको दिनमा म यो पनि आग्रह गर्न चाहन्छु।'

संविधानसभाले संविधान निर्माण गरेकोमा उनले सबै सभासदलाई बधाईसमेत दिएका छन्। पारित संविधान सबैभन्दा बढी जनमैत्री, प्रगतिशील भएको प्रतिक्रिया दिएका छन्। 'नेपालको संवैधानिक इतिहासमा यो संविधान तुलनात्मक रुपमा सबैभन्दा बढी जनतामैत्री, प्रगतिशील छ,' सभाध्यक्ष नेम्वाङले भने।

२०६४ चैत २८ गते नेपालमा पहिलो संविधानसभा निर्वाचन भएको हो जुन संविधानबिनै ०६९ जेठ १४ गते विघटन भएको थियो। २०७० मंसिर ४ गते पुनः निर्वाचन भएको वर्तमान संविधानसभाले बुधबार संविधान तयार गरी पारित गरेको छ।

No comments:

Post a Comment