Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, August 29, 2015

सामाजिक सदभाव जोगाउन जो जात र समुदाय भन्दा माथी उठे

'देशलाई माया गर्न कुनै ठूलो काम गर्नै पर्दैन। नकारात्मक र घृणाको कुरा नलेखौं, यतिबेला योभन्दा ठूलो देश सेवा अरू हुन सक्दैन।' भूमिअधिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले बिहीबार बिहान लेखेको टि्वट हो यो। सामाजिक सञ्चाल टि्वटरमा सामाजिक सद्भाव बढाउने यस्तै टि्वट उनी निरन्तर लेखिरेहकी छन्।

सुब्बाका टि्वटलाई समर्थन गर्दै पूर्व सभासद शान्ता चौधरीले लगत्तै लेखेकी छन्, 'सरस्वती र मेरो विचार एउटै छ, हामी दुवै जातीय राज्य, जातीय घृणा र साम्प्रादायिकताविरुद्ध एकसाथ उभिन्छौं।'


न सुब्बा मुलुकको राजनीतिमा ठूलै प्रभाव पार्ने ठाउँमा छिन् न त चौधरी नै। तैपनि दुवै जना जातीय सद्भाव भड्काउनेविरुद्ध निरन्तर खबरदारी गरिरहेका छन्। दुवैले एकअर्काको टि्वट रिटि्वट गर्छन्।

दुवै जना निम्न आर्थिक अवस्थाबाट गुजि्रएका हुन्। पूर्वकम्लरीसमेत रहेकी चौधरी अघिल्लो संविधानसभामा नेकपा एमालेबाट सभासद थिइन्। दोस्रो संविधानसभामा भने उनी पराजित भइन्।

नेत्री चौधरी हाल गृहजिल्ला दाङमै कक्षा ८ मा भर्ना भएर पढ्दैछिन्। स्कुल जाने/पढ्ने र खेतबारीमा काम गर्ने उनको दिनचर्या बनेको छ। यति हुँदाहँदै पनि सामाजिक सञ्जाल फेसबुक, टि्वटरमार्फत सामाजिक सद्भाव नभड्काउननिम्ति आग्रह गर्न छाडेकी छैनन्।

'सुन्दर देशलाई विभिन्न जात–जातिमा विभाजन गरेर सामाजिक सद्भाव भड्काउने काम भएपछि एउटा नागरिक हुनुले पनि चुप लागेर बस्न सकिनँ,' चौधरीले नागरिकसँग भनिन्, 'मैले लेख्ने र भन्ने ठाउँ यही एउटा सामाजिक सञ्जाल छ, यसैलाई प्रयोग गरेर सामाजिक सद्भाव कायम गर्न सक्दो आग्रह गरेकी हुँ।'

सामाजिक सञ्जालमा समेत विभिन्न जातजाति र समुदायका व्यक्तिले एकअर्काविरुद्ध उत्तेजक कुरा लेख्दा र मुलुकभन्दा पनि आफ्नो समुदाय र जातलाई मात्रै ध्यानमा राख्दा मुलकमा विग्रह र कलह बढेको उनको ठम्याइ छ। जात र समुदायभन्दा माथि उठेर राष्ट्र र वर्गका लागि दृढ रहने आफ्नो धारणामा कुनै बिचलन नआउने पनि उनले जनाइन्।

कैलालीको टीकापुरमा थारू आन्दोलनकारीको आक्रमणमा परी प्रहरीको ज्यान गएपछि थारू समुदायमाथि नै लगाइएको आक्षेप भने उनलाई मन परेको छैन। 'हत्या हिंसा गर्नेलाई जातीय आँखाले नहेरांै, कुनै विशेष जातको मानिसले हिंसा गर्योप नभनौं, जातिलाई दोष नदिऔं, अपराधीको जात हुँदैन,' उनले फेसबुक र टि्वटरमा लेखेकी छन्, 'थारू समुदायले अरूको अधिकार खोस्ने होइन, थारूमा पनि धनी र गरिब छन्, धनीको एउटा जात र गरिबको अर्को जात बुझौं, पूरै समुदायलाई दोष नदिऊँ।'

मुलुकमा सयभन्दा बढी जातजाति भएकाले सबैलाई राज्य दिन नसकिने भन्दै जातीय आधारमा राज्य विभाजन नगर्न उनको नेतृत्वसँग आग्रह पनि छ। 'सयभन्दा बढी जातजाति भएको मुलुकमा राज्य माग्नेबित्तिक्कै दिन सकिँदैन, हुन्न पनि। पहिला देश अनि जात र समुदाय भन्ने सोच्न सबैसँग मेरो आग्रह पनि छ,' चौधरीले भनिन्।

सर्लाही, नयाँ रोडकी सुब्बा पनि निम्न आर्थिक अवस्थाकी हुन्। उनको १० धुर मात्रै जग्गा छ। उनी पनि सामाजिक सञ्जालमा जातीय राजनीतिको निरन्तर विरोध गर्दै आएकी छन्।

'अहिलेको संक्रमणकालीन अवस्थामा धेरैले आगोमा घिउ थप्ने काम मात्रै गरिरहेका छन्, त्यसलाई निभाउने र आपसी सद्भाव कायम गर्ने योगदान हुन सकेको छैन,' सुब्बाले नागरिकसँग भनिन्, 'सुन्दर र शान्त मुलुकलाई विभिन्न जातजातिमा विभाजन गराउनेहरू हाबी हुँदै गएपछि र आपसमा मारकाटको स्थिति उत्पन्न हुन थालेपछि मन थाम्नै सकिनँ र जातीय राज्यको विरुद्धमा उभिएँ। अनि सामाजिक सञ्जालमार्फत भए पनिसद्भाव कायम राख्न आग्रह गरेकी हुँ।'

उनी सर्लाहीमै बस्छिन्। 'आदिबासी अनुहार भएका तर संकीर्ण र अतिवादी सोच हुनेले मात्र जातीय राज्य मागेका हुन्, नेपाली जनतालाई जातीय राज्य चाहिँदैन,' सुब्बाले टि्वट गरेकी छन्।

मुलुकमा धनी र गरिबबीचमा विभेद रहँदै आएको धारणा राख्दै आएकी उनले जातीय राज्यको मागलाई गुलियो विषको संज्ञा दिएकी छन्। 'नेपालको सबैभन्दा ठूलो जातीय समुदाय 'गरिब' हो, महलबासीले हाम्रो जातिका लागि मर भन्दै दिने जातीय नारा गुलियो विष हो,' सुब्बा भन्छिन्, 'जातअनुसारको अधिकार पाइने कस्तो लोकतन्त्र मागेको? के हो जातअनुसारको अधिकार? जनता भड्काउन सुनको मिठाई दिन्छु भन्ने? सुन खान मिल्छ?' 

उनले जातको आधारमा राज्य विभाजन गर्न नहुने धारणा राख्दा अप्ठेरोमा पर्ने गरेको पनि सुनाइन्। 'म आदिवासी हुँ, भूमिअधिकारका लागि लड्छु, जातीय राजनीति गर्नेले नधम्क्याए हुन्छ, डराउदिनँ,' उनको प्रस्ट धारणा छ।

केही नेताले जातका आधारमा राजनीति गरेसँगै केही पत्रकार र मिडियासमेतले जातीय राजनीतिको वकालत गरेको उनलाई मन परेको छैन। 'कतिपय पत्रकार जिम्मेवार रूपमा र कतिपय अतिवाद र गैरजिम्मेवार लेखिरहेका छन्, यस्तो अवस्थामा पत्रकारले विवेक देखाए हुने, आगोमा घिउ नहाले हुने,' सुब्बाले भनेकी छन्।

No comments:

Post a Comment