प्रमुख राजनीतिक दलले संविधान निर्माणनिम्ति १६ बुँदे सहमति गरेको साता दिनमै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दल तितरबितर भएका छन्। १६ बुँदे सहमतिअघि एकै ठाउँमा उभिएर साझा धारणा राख्दै आएका तराई–मधेसकेन्द्रित दल पछिल्लो समयमा आ–आफ्नै तरिकामा चल्न थालेपछि मोर्चा नै अलपत्र बन्न पुगेको छ। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले मंगलबार नामांकन र सीमांकनबिना संघीयता उल्लेख गरेर संविधान ल्याउने प्रयास गरे संविधानसभाबाट नै बाहिरिने चेतावनी दिए। जबकि, त्यस्तो चेतावनी मोर्चाआबद्ध तराई–मधेसकेन्द्रित अन्य दलले अहिलेसम्म दिएका छैनन्।
‘आ–आफ्नो पार्टीको निर्णय र मान्यता हुन्छ, त्यहीअनुसार सद्भावनाले सीमांकन र नामांकनबिना संघीयता उल्लेख गरेर संविधान ल्याए संविधानसभा छाड्ने निर्णय गरेको छ, अरूले पनि यो निर्णय गर्न सक्लान्,' अध्यक्ष महतोले मंगलबार भने। मुलुकमा संघीयताको मुद्दा सबैभन्दा पहिलो पटक आफ्नो पार्टीले उठाएको दाबी गर्दै उनले संघीयता नदिने संविधानसभा बहिष्कार पनि आफ्नै पार्टीले गर्न लागेको बताए।
यद्यपि, संविधानसभा छाड्ने उक्त निर्णय भने २०७१ चैत १०–११ मा वीरगन्जमा बसेको राष्ट्रिय कार्य समितिको विस्तारित बैठकको हो। ‘संविधानसभाको पूर्ण बैठक र मस्यौदा समितिमा आफ्नो कुरा राखिरहनेछांै, तर साँच्चै सीमांकनबिनाको संविधान आउने नै ग्यारेन्टी भयो भने मात्रै छाड्छौ, तर अहिले नै चाहिँ होइन,' महतोको प्रस्टीकरण छ।
महतोले यो निर्णय सार्वजनिक गर्नुअघि मधेसी मोर्चाकै मुख्य घटक उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले पहाडिया जनजाति बाहुल्य अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरे। तराई–मधेसका मुद्दामा मात्रै केन्द्रित यादवले खस समुदायको प्रतिनिधित्व गर्ने युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीसँग पनि सोमबार एकीकरणका हुन्।
तराई–मधेसका मुद्दा र ‘मधेसवाद' मा केन्द्रित यादवले पार्टी एकीकरणपछि राजनीतिक सिद्धान्त नै संघीय समाजवाद राखेका छन्। ‘अब यो पार्टीले मधेस र मधेसी समुदायको मात्रै होइन, जनजातिको मात्रै होइन, कर्णालीका खसहरूको मुद्दालाई पनि सम्बोधन गर्नेछ,' यादवले सोमबार घोषणासभामा भनेका थिए, ‘यो मुलुकमा उत्पीडनमा परेका सबै समुदायको मुद्दा बोकेर हिँड्ने अग्रगामी विचार भएको पार्टीका रूपमा आजबाट उभिएको छ।' एकीकरणपछि सबै जात र समुदायको मुद्दालाई बोक्ने एक मात्र राष्ट्रिय पार्टी भएको दाबी पनि यादवले गरेका छन्।
अध्यक्ष यादवले पार्टीको नामबाट नै ‘मधेस' शब्द हटाएर आफू क्षेत्रीय मुद्दाबाट उठेर राष्ट्रिय पार्टीको नेतृत्वमा पुगेको सन्देश दिएका छन्। तर, उनै यादवले एक वर्षअघिसम्म महतो नेतृत्वको सद्भावना र महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीसँग एकीकरण गर्ने भन्दै अन्तिमसम्म प्रयास गरेका थिए। तर, तराई–मधेसकेन्द्रित दलसँग एकीकरण गर्न छाडेर अचानक पहाडिया जनजाति र खस बाहुल्य पार्टीसँग एकीकरण घोषणा गरेर उनले आश्चर्यचकित बनाइदिए।
एकीकरणअघि यादवले मोर्चामा आबद्ध तराई–मधेसकेन्द्रित चार दलसँगै राष्ट्रपतिसमक्ष ‘संविधानको संरक्षणबारे' भन्दै ज्ञापनपत्र मात्रै बुझाएनन्, १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता मोर्चाघटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र सो पार्टीका अध्यक्ष गच्छदारलाई निष्कासनको घोषणासमेत गरेका थिए। गच्छदारले त्यसमा खासै प्रतिक्रिया दिइसकेका छैनन्, तर उनी भन्ने गर्छन्, ‘मधेसी मोर्चाका केही दल ममाथि पूर्वाग्रही सोच राख्छन्, मलाई केही अनौठो लाग्दैन।' तर, मधेसी मोर्चाका आठमध्ये अन्य तीन दलले भने गच्छदारलाई समर्थन जनाएका छन्।
तमलोपाले भने १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउने बाहेक अन्य छुट्टै ‘एक्सन' भने लिइसकेको छैन, सो पार्टी अझैसम्म स्थिर नै देखिएको छ।
राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी प्रमुख दलबीच भएको १६ बुँदे सहमतिमा आलोचनात्मक समर्थन गर्दै गच्छदारको कित्तामा उभिएको देखिन्छ। उनीहरू यादव, ठाकुर र महतोले आह्वान गरेको मधेसी मोर्चाको बैठकमा गएनन्। मधेसी मोर्चाका नामबाट गच्छदारलाई निष्कासन गर्ने निर्णयमा पनि हस्ताक्षर गरेनन्।
‘१६ बुँदेलाई आलोचनात्मक समर्थन गर्दै अघि जाने निर्णय पार्टीको हो, विरोधका लागि विरोध हाम्रो पार्टीले गर्दैन,' गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव भन्छन्, ‘अहिले नै सबै बिग्रिसकेको छैन, अझै संघर्षका ठाउँ बाँकी रहेकाले संविधानसभाभित्रै संघर्ष गर्नेछौ।'
त्यसो त दिल्लीमा मुटुको उपचार गराइरहेका तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अझैसम्म मुख फोरिसकेका छैनन्। तर, उनको पार्टीका नेता गच्छदारको कित्ताभन्दा बाहिर पुगिसकेका छन्। यादवनिकट स्रोतका अनुसार स्वयं महेन्द्र राय भने यादव–ठाकुर–महतोको कित्तामा उभिने पक्षमा छैनन्। उनी गच्छदारको कित्तामा नै देखिने सम्भावना बढी छ। महेन्द्र राय तमलोपा अध्यक्ष ठाकुर रहेको ठाउँमा अट्ने अवस्था छैन। उनी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गच्छदारको कित्तामा नै आफूलाई बढी सुरक्षित महसुस गर्छन्। अनिल झाको सद्भावना अझै प्रस्ट हुन सकेको छैन। सो पार्टी ‘पर्ख र हेर' को अवस्थामा छ।
No comments:
Post a Comment