Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 31, 2015

प्रधानमन्त्रीले दुईवटा कुरा माने प्रचण्ड आउने, नत्र नआउने !!!

दाहाल निवास पुगेका प्र्रधानमन्त्री कोइराला
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालाले सत्तारुढ र विपक्षी दलबीच संवादहीन अवस्था चिर्न पहल थालेका छन्। प्रधानमन्त्री कोइराला शुक्रबार प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास, लाजिम्पाट पुगेर भेटवार्ता गरे।
विपक्षी दलको विरोधका बाबजुद माघ ११ गते संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति घोषणा गरेपछि सत्तारुढ र विपक्षी दलबीच वार्ता हुन सकेको छैन। शुक्रबारको भेटमा प्रधानमन्त्री कोइरालाले माओवादी अध्यक्ष दाहाललाई वार्ता र सहमतिमा आउन आग्रह गरेका थिए। लगत्तै दाहालले दुइटा सर्त अघि सारेका छन्।

'पहिलो माघ ११ गते प्रश्नावली समिति बनाउने निर्णय फिर्ता हुनुपर्छ र दोस्रो, सहमतिको संविधान निमार्णका लागि नयाँ रोडम्याप ल्याउनुपर्छ,' दाहाललाई उद्धृत गर्दै उनका प्रमुख सचिव चुडामणि खड्काले नागरिकसँग भने। खड्काका अनुसार दुई सर्त अस्वीकार गरेसम्म वार्ता अघि नबढ्ने दाहालले प्रधानमन्त्री कोइरालालाई बताएका थिए। विपक्षी विरोधका बाबजुद सत्तारुढ कांग्रेस र एमाले 'प्रभाव र दबाब' मा सभाध्यक्षले प्रश्नावली समिति निर्माण गरेको दाहालको आरोप छ।
दाहालले सत्तारुढ दलले केही समय पहिला ल्याएको संविधान निर्माणसम्बन्धी नौबँुदे साझा धारणा विपक्षी दलले अस्वीकार गरेको अवस्थामा 'सहमतिको संविधान निर्माणका लागि नयाँ रोडम्याप' ल्याउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका हुन्।
'शासकीय स्वरुप, राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे कांग्रेस र एमालेले ल्याएको नौबँुदे अवधारणा स्वीकार गरेका छैनौं, सहमति त्यसले नै बिगारेको हो,' प्रधानमन्त्रीसमक्ष दाहालको भनाइ थियो, 'त्यसलाई खारेज गरेर सत्तारुढ दलले संविधानबारे नयाँ रोडम्याप ल्याउन जरुरी छ, त्यसले सहमतिको वातावरण बनाउनेछ।'
एमाओवादीले अघि सारेको दुई सर्तलाई सत्तापक्षले पूरा नगर्ने हो भने 'घाँटीमा तरबार राखेर वार्तामा जानुसरह' भएको दाहालको प्रतिक्रिया थियो।
लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा चढाएर बालुवाटार पुगेका कोइराला निवासभित्रै नपसी पुनः गाडी चढेर दाहाललाई भेट्न लाजिम्पाट पुगेका थिए।
भेटमा दाहालसँग संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलगायत थिए।
'प्रधानमन्त्री गेट क्रस गरेँ है भन्दै आउनुभो, हामीले बहुमतीय तरबार पहिले म्यानमा फर्काउनुहोस्, अनि कुरा गरौँ भन्यौँ,' भेटबारे भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'ग्रिन टी खाएर उहाँ फर्कनुभो, इतिश्री।'
प्रधानमन्त्री कोइरालाले शनिबारबाट सुरु हुने प्रश्नावली समितिमा उपस्थित भएर सहयोग गर्न आग्रह गरेका थिए। 'भोलिको प्रश्नावली समितिको बैठकमा सहभागी भइदिनुहोस्,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्योे, 'शान्ति प्रक्रियाको जटिल काम हतियार र लडाकु व्यवस्थापन त सहमतिबाटै भयो, सबैको चासो रहेको संविधान निर्माण प्रक्रिया र सहमतिलाई पनि सँगसँगै अगाडि लैजाऔं।'
प्रधानमन्त्री कोइरालाको प्रश्नावली समितिमा उपस्थिति जनाउन गरेको आग्रहलाई भने एमाओवादीले तत्कालका लागि अस्वीकार गरेको छ।
यसैबीच, प्रधानमन्त्री कोइरालाले संयुक्त प्रयासले हासिल गरेका सबै उपलब्धि संस्थागत गर्न संविधान निर्माणमा सहकार्यको आवश्यकता रहेकेा बताएका छन्। सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा नै शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा पनि सहकार्य हुने स्पष्ट पारे।
शुक्रबार गणेशमान सिंह अस्पतालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको ऐतिहासिक अभिभारा सबैको सहभागितामा सम्पन्न हुन सकोस् भन्ने चाहनाअनुसार नै एकीकृत माओवादी अधयक्षलाई भेटेको बताए।
'अब द्वन्द्व भयो भने मुलुकले धान्न सक्दैन भनेर वार्ताबाटै समाधान खोज्न आग्रह गरेँ,' दाहालसँगको भेट उद्धृत गर्दै कोइरालाले भने, 'सहमति एकोहोरो हुन सक्दैन। सहमतिमा जाने विकल्पलाई साथमा राखेर प्रक्रिया बढाइएको छ।'

No comments:

Post a Comment