Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 8, 2013

डाँकालाई "काका" भन्दा झन्डै मारेनन

जब जब ठुला चाडपर्व आउँथ्यो, तब–तब तराई–मधेसमा डकैतीको शृखंला सुरु हुन्थ्यो । कहिले भारतीय (बिहारी) डाँकाहरु आएर लुटपाट गर्थे, कहिले स्वदेश कै । रौतहट घर भएकाले सर्लाही, झिन्जाको डाँकाहरुको कथा सुन्न पाइन्थ्यो । चन्द्रनिगाहपुरमा पनि डकैती भए, कतिका धनमाल लुटिए, राजमार्गमा लुटपाट भएको धेरै सुनिन्थ्यो । सो क्रममा कति डाँका मारिए पनि, कति डाकाँले मारे पनि तर घटना भइसकेपछि मात्र त्यो थाहा पाइन्थ्यो । हेर्न गइन्थ्यो, कसरी डकैती गर्छन ? त्यो भने थाहा हुदैनथ्यो, अरुले भनेको सुनेको भरमा धारणा बनाइन्थ्यो । त्यसैले धेरै पटक त डाँका र डकैतीका कुरा कतै दन्त्य कथा त होइन ? आंशका लागिरहन्थ्यो । एकपटक चाँही आफैले भोगियो, बास्तबमा डकैती हुदोरहेछ भन्ने विश्वास पनि त्यस दिन देखी नै लाग्यो ।
घटना आज भन्दा ७–८ बर्ष अघिको हो, दशैको अष्टमीका दिनमा सो डकैतीमा म स्वयं परेको थिए । म चन्द्रनिगाहपुर घर जान भन्दै कंलकी गए । मेरा साथीहरु सबै घर गइसकेका थिए, काम गरेको ठाउँमा बेलामा पैसा नदिएकाले मात्र मेरो उनीहरुसँग जाने सपना तुहिएको थियो र म एक्लै जानु परेको थियो । त्यतिखेर, म भुरुङ खेलमा बस्थे । कंलकीवाट बस चढन खोजे तर चढन खोजेको बस भने भरिभराऊ । कही पनि सिट छैन, बल्ल बल्ल मुढा पाइयो । फेरी, एकजना वृद्ध मान्छे आए, उनले सिट पाइरहेका थिएनन, त्यो मुढा उनलाई नै दिए । र, ड्राइभर (गुरुजी) नजिक बर्नटमा गएर आफुलाई अडाउने कोशिश गरे ।
दशैमा घर जानुको जति खुसी सायद अरु बेला गएको जस्तो हुदैन्थ्यो होला । म पनि रोमाञ्चित हुदै कति खेर घर पुगिएला भनेर झलझली सम्झिरहेको थिए । गाडी नम्बर अहिले याद त भएन, झापाका लागि हिडन लागेको त्यो बसको अगाडी लेखिएको चाँही थियो, ‘इन्टरनेशलन यातायात’ ।
कंलकीबाट काकडभिट्टाका लागि सो बस छुटयो, मोटेमोटे गुरु निकै बोलक्कड रहेछन । नागढुंगा पार गरे पछि चन्द्रनिगाहपुर नजिकै लमहा जंगलमा अघिल्लो दिनको डकैतीका भएको घटना गुरुले सुनाए, त्यसपछि बसभरी नै डाँका र डकैतीका कुरा भए । कुरा गर्दै जाँदा थाहा भयो कि उनै गुरु त कुनै जमनामा प्रहरीमा जागिरे पनि रहेछन । उनले भने अनुसार, बिराटनगरमा दरबन्दी हुदाँ पञ्चायतकाल मै एकजना डाँकालाई बढो कष्टका साथ पक्राउ गरी हिरासतमा राखेछन । जब ‘मस्ट वान्टेड’ डाँका पक्राउ परि प्रहरी चौकीमा थुनामा परे, त्यस लगत्तै उनलाई छुटाउन धेरै नै दबाब आयो । उनले डाँकाको नाम पनि भनेका थिए र छुटाउन दबाब दिने नेता र त्यस बेलाका केही ठालुका नाम पनि भनेका थिए, मैले अहिले चाँही ती सबै नाम बिर्से । ‘कयौं बर्ष देखी पक्राउ गर्न नसकेको डाँकालाई पक्राउ गरेर ल्याइयो तर भोली बिहान उज्यालो नहुदै त्यही डाँका छुटेर गयो र भन्यो, देखिस मेरो पावर कत्ति छ ?’ स्टेयरिङ घुमाउँदै उनी सम्झदै थिए, ‘त्यसदिन देखी मैले प्रहरीको जागिर नै नखाने निर्णय गरे र जागिर नै छोडेर यही ड्राइभरी पेशमा लागे, अहिलेसम्म चल्दैछु’ मैलै चाख दिएरै सुने।. मानौ उनलाई प्रहरीमा भन्दा पनि ड्राइभरीमा बढो आनन्द छ । कसरी प्रहरी थानामा दबाब आउँछ ? कसरी डाँकाहरुको कनेक्सन नेता र ठालुहरुसँग हुन्छ ? भन्ने कुरा उनले सबै बेलिबिस्तार सुनाए, सुन्नेमा म मात्रै थिइन, बरपर अरु पनि थिए । यदी त्यो बेला म पत्रकारिता पेशामा थिए भने उनको म राम्रो स्टोरी बनाउँथे । र, देखाउँथे, कसरी लुकाइयो त्यो घटना ?  उनका अनुसार पछि त्यही डाँका नै नेता भयो रे ? उनी प्रहरी भित्र हुने ‘दबाब र अपराधको खेल’वाट दिग्दार भएर आएको बुझ्न कुनै हम्मे थिएन ।
उनका कन्डेक्टर थिए, गोरे र मोटो ज्यान भएका । उनी जसलाई पनि ‘काका’ भनेर सम्वोधन गर्दा रहेछन् । बृद्ध होस वा जवान, केटाकेटी होस वा किशोर  । हुदाँहुदाँ उनी कहिलेकाँही झुक्किएर महिलालाई पनि काका भन्न पछि पर्दैन्थे । ‘यसको थेगो नै हो काका भन्ने’ गुरुजी भन्दै थिए, ‘जसलाई पनि काका भन्ने गरेकाले, उसलाई पनि गाडी लाइनमा सबैले ‘काका’ नै भन्दा रहेछन्।’ गाडी लाइनका उनलाई सबैले ‘काका’ भनेर सम्वोधन गर्दारहेछन्, खाजा खाने ठाउँमा र बिच बिचमा भेटिएका उनका साथीले ‘ओहो काका’ भन्थे, उनी जबाफ दिन्थे– ‘अब लागियो है काका ।’सो थेगो राख्नुको  कारणमा उनको तर्क थियो, ‘गाडी लाइनमा कोही ‘ब्रो’ भन्छन, कोही ‘अन्कल’ भन्छन, कोही ‘मामा’ भन्छन, कोही ‘सम्धी’ भन्छन, कोही ‘साला’ भन्छन, म चाँही अलि फरक देखु भनेर ‘काका’ भन्ने गरेको हुँ ।’ कहिलेकाँही त  झुक्किएर ‘बा’लाई पनि काका भन्दा रहेछन, श्रीमतिलाई त कति हो कति पटक ‘काका’ भनेको !!!
काका अघिल्लो दिन मात्रै लमहा जंगलमा डकैतीमा परेका  रहेछन् । त्यसकै भोलीपल्ट अर्थात आज उनी हामीसँग फर्कदै छन् । उनका अनुसार अघिल्लो रातमा भएको सो डकैतीमा आइमाई र केटाकेटी पनि आएका थिए । ‘बन्चरो लिएर एउटा आइमाईले मलाई सडक मै सुत् भनी ‘मैले कन्टेटर म होइन, अरु नै हुन ‘काका’ भनेको झन्डै मारिन्’ उनले सबैलाई हसाएँ, ‘जिस्काउँछस भनेर बन्चरोले हान्न नै खोजी, मैले मेरो यो थेगो हो भने पछि तै उसले केही गरिन र म सडकमा घोप्टो परेर सुते, साला यो थेगोले पनि कहिले काँही निकै दुःख दिन्छ ।’
अनि काकाले मलाई आरोप लगाए– ‘भाई तिम्रो जिल्लामा त धेरै डकैती हुन्छ, त्यो जंगल कटे पछि मात्र बल्ल सास आउँछ हो !’ जवाफमा मैले केही भनिन् । गाडीमा चढेका ओर्लदै गए, भरिभराऊ गाडी हेटौडासम्म पुग्दा त सिटमा रहेका, एक दर्जन मुढा र बर्नटमा बस्ने बाहेक अरु कोही उभिएनन्, सबैलाई सिट पुग्यो । हेटौडामा गाडीमा तेल हाल्ने काम भयो ।
संकटकालको समय । बारा, निजगढमा राती नौ बजेबाट कफ्र्यू सुरु हुन्थ्यो, बिहान ४ बजेसम्म । कफर्यु सुरु भए पछि सडक पुरै बन्द ।  नौ बजे निजगढ कटयो भने कटिहाल्यो नत्र रातभर निजगढ मै बास । यो कुराले हेटौडामा नै सबैलाई ‘टेन्सन’ गरायो । गुरुजीका अनुसार अहिले नै हेटौडाबाट हिडे पनि निजगढ भने कसैगरी कटन सकिन्न । ‘बस्न त यही गाडी हुन्छ, खानाका लागि समस्या, निजगढमा होटल छैन’ गुरुजीको प्रस्ताव आयो, "त्यसैले हेटौडामा नै खाने खाने र यतै बस्ने ।" लगत्तै, पक्ष-बिपक्षमा यात्रु देखिए ।
‘कटियो भने चन्द्रनिगाहपुरमा त खाना खान पाइन्छ, १५–२० मिनेटले नभ्याइला भन्ने मात्र हो’ गुरुजीले एउटा आश देखाए । त्यसपछि त सबै यात्रु एकमत जस्तै भए र निजगढ कटने निर्णय भयो ।
हेटौडाबाट कुदेको गाडी निजगढ पुग्दा गुरुले भने झै १५ मिनेट ढिलो भइदियो । प्रहरीले रोकिहाल्यो, जान मिल्दैन भनेर अडान राख्यो, पठाउन  केही गरी पनि मानेन । हामीले देख्दा देख्दै एउटा बस गएको थियो, दुई मिनेट अघि पुगेको गाडी जान दिएको र हामीलाई किन रोकेको ? भन्दै प्रश्न पनि गरियो तर पनि मानेनन। त्यसपछि सबै यात्रुले ‘खाना खाएको नै छैन, च.पुर खाने भनेर आएको आएको १५ मिनेट ढिलो भयो, रातभर भोकभोकै बसौ कि पठाइदिनु हुन्छ’ भने पछि प्रहरीको मन फर्कियो । उसले पठाउने सहमति दियो । र, भन्यो ‘बाटोमा कसैले रोक्न खोजे भने नरोक्नु, यदी अबरोध पु¥याउन खोजे पेलेर (किचेरै भए पनि) जानु’ भन्दै गुरुजीलाई सम्झायो । गुरुले टाउको हल्लाए ।
दिनदिनै डकैती भइरहेका थिए, चन्द्रनिगाहपुर– निजगढको १९ किलोमिटर लामो जंगलमा । तत्कालिन सशष्त्र युद्धरत माओवादी स्वयंले पनि बसमा डकैती गरे पछि प्रहरी सुरक्षा दिन सकिरहेको थिएन् । र, उसमा आँट पनि थिएन । त्यसैले सुरक्षाका साथ गाडीको स्र्कटिङ गरेर जंगल पार गराउनु भन्दा कर्पयु लगाउनु बेस मानेको रहेछ प्रहरीले ।
हाम्रो गाडी निजगढबाट बेगका साथ हुइँकियो, धन्सार पुल कटने बितिक्कै निकै टाढा सडकमा एकजना मानिस देखा प¥यो । गाडीको हेड लाइटले त्यो प्रस्ट देखिएको थियो । कतै डाँका त होइन ? सबैको मुटु चिसो भयो । त्यत्रो लामो जंगलमा हामीले न कुनै गाडीसँग क्रस ग¥यौं, न त अरु सवारी साधान भेटेयौं । सडकमा हाम्रो बाहेक अरु कुनै गाडी नै छैनन् । टाढै देखिएको मानिसका कारण गुरुले स्पिड लिए तर गाडी नजिक पुगे पछि पनि त्यो मानिसले कुनै प्रतिक्रिया दिएन । नजिकै पुगे पछि थाहा भयो, त्यो त मानशिक सन्तुलन ठिक नभएको मान्छे पो रहेछ । बल्ल साँस आयो । फेरी गाडीमा हो–हल्ला सुरु भयो, नत्र त सबै चुपचाप ।
लमहा पुल कटदा पनि केही नभए पछि मैले तुरुन्तै फुर्ति लगाए ‘अब मेरो गाउँ आयो, अब डाँकासाका केही आउँदैन ।’ कन्डेक्टर काकाले अबिलम्ब नगरी भने, ‘यही हो हिजो राती हामीलाई लुटेको ?’ यति भन्न पाएको नै छैन, सडकमा मुडा तेर्सिएको २ सय मिटर परवाटै देखियो । गुरुले तुरुन्तै बिच सडकमा गाडी बन्द गरे, सबै बत्ति निभाई दिए । दशैको बेला, जुनेली रात, सडकमा बत्ति नभए पनि सबै छर्लङ्गै देखिन्थ्यो । गाडी रोकिने बित्तिक्कै सडकमा त जंगलवाट जुलुस पो निस्कियो, ड्राइभरसँगै बर्नटमा बसेकाले सो दृश्य सबै प्रत्यक्ष देखे । ‘ओही, गाडी ले, अगाडी छिट्टो ले’ भन्दै जंगलवाट एकाएक नै मानिसहरु हामीतिर नै ओइरिए । सडकमा केटाकेटी पनि छन, बुडाखाडा पनि छन, अधबैसे र जवानहरु पनि छन् । मानौं, एउटा सिङ्गै गाऊँ आएको झै लाग्यो, राजमार्गमा ।
उनीहरु हामी भएकै तिर दौडदै आएँ । म हे¥या हे¥यै, केही भन्न सक्ने अवस्थामा नै छैन् । ‘ल ल आ–आफनो पैसा र सुन तुरुन्तै लुकाउनु होला है’ भनेर गुरुजीले भनेको सम्म सुनेको छु, अरु केही बुझनै सकिरहेको छैन् । एउटाले गुरु रहने दायाँ ढोकावाट चढयो र पेस्तोल देखाउँदै भन्यो, ‘गुरुजी खै ?’ यसो हेर्छु त गुरु त छैनन् । म केही बोल्नै सकिन, मतलब बोली नै फुटेन, अकबक भएँ । अर्को मान्छे चाँही बायाँ पट्टीको ढोका खोलेर गाडी भित्र छि¥यो । ‘यो गाडीको कन्टेटर को हो ? खै कहाँ गयो त्यो ?’ भन्दै कन्डक्टरलाई खोज्न सुरु ग¥यो । ‘काका, म यहाँ छु’ भन्दै उभ्भिएर उसले आफ्नो परिचय दियो । बसका सबैजना गलल हाँसे । ‘काका’ भनेर जिस्काएको ठानेछ क्यारे, ‘काका’लाई त उसले नमज्जासँग एक झापड दिइहाल्यो, त्यसपछि ‘काका’लाई सँगै आएका केटाकेटीले लात्तै लात्तैले पो हान्न थाले । यो निकै दर्दनाक दृश्य थियो ।
उनीहरुलाई सडकबाट गाडी जंगल भित्र लान हतार हुदोरहेछ र पैसा हुन्छ भन्ने आशमा सबैभन्दा पहिलो कन्डक्टरलाई डाँकाहरुले खोजेको वुझ्न मलाई केही गा¥हो भएन । उता सबै सिटमा बसेको तर गुरुजी चाँही सिट बाहिर भए पछि डाँकाहरुले तुरुन्तै चिनिहाले  । र, पछाडीका सिटमा पुगेका गुरुलाई समातेर अगाडी ल्याए अनि  स्टेयरिङ समाउन लगाए । गुरुजीले सोधे, ‘कहाँ जाने ?’ जुँगावालाले पेस्तोल गुरुको कन्चटमा राख्दै भने ‘म जता इशारा गर्छु, त्यतै जाने ?’ गुरुले गाडी स्टार्ट गरे । गाडी त राजमार्ग छोडेर दक्षिणतर्फको जंगल भित्र पो पस्यो । करिब आधा/एक किलोमिटर जंगल भित्र गाडी पसे पछि घ्याच्च रोकियो । अगाडी हेर्छु त हामी भन्दा अघि अर्को बस छ ।
माहुरी झै छोप्न आएका मध्ये १५–२० जना मात्र हाम्रो गाडीमा चढे, सबैले तौलियाले मुख छोपेका । तीनै डाँकाहरु हामीलाई बाटोमा भन्दै थिए, ‘तपाईहरुलाई हामी केही गर्दैनौ, तपाईहरुसँग भएका पैसा र सुन हात हातमा राखि हामीलाई दिनुहोला, जसले लुकाउन खोज्छ, त्यसलाई हामी जे पनि गर्न सक्छौं ।’ सबैले हात हातमा पैसा र अरु समान निकाले, डाँकाले झोलामा हाल्दै गयो । उनीहरुले कसैलाई बोल्न दिएनन र मध्य जंगलमा गाडीका सबै लाइट अफ गर्न लगाए र आफना टर्चमात्र प्रयोग गरे ।
लुटपाटका बेला यति नम्र भाषा प्रयोग गरे कि उनीहरुले हामीसँग भएका सबै चिज दिऊ झै बनाए । सानालाई बाबु, ठुलालाई अंकल, महिलालाई आमा, दिदी, भाउजुजस्ता शब्द प्रयोग गरेर ‘माइन्ड नगर्नुहोला, दशै खर्च लिन आएको’ भन्दै सबै सबैसँग पैसा र सुन लिएका थिए । उनीहरुले कसैलाई पनि हातपात गरेनन, न त अभद्र ब्यावहार नै ।
जंगल भित्र उनीहरु हाम्रो गाडीमा लुटपाट गर्दै थिए, सडकमा अर्को गाडी आएको आवाज सुनियो । ‘अर्को गाडी आयो, अर्को गाडी आयो’ भन्दै केही डाँका बसबाट ओर्लिए । त्यसको दुई–तीन मिनेट भित्रैमा गोली चलेको आवाज सुनियो । सबै डरले थुरथुर, जंगलभित्र के हुने हो, कसो हुने हो  र के हुन लागेको हो ? कोही सोच्न सक्ने अवस्था नै थिएन् । सुनिएका गोलीका आवाजले प्रस्ट पाथ्र्यो कि यहाँ दोहोरो फायरिङ र गोलावारी भइरहेको छ । अरुले झै मैले पनि त्यो रातमा भगवानलाई निकै नै सम्झे ।
गोली चलेको चल्यै छ, फायरिङ भएको भइछ । डाँकाहरुले के–के कोड भाषा प्रयोग गरे, त्यो त बुझिएन । तर, बसका डाँकाहरु एकाएक ओर्लिए, त्यो पनि हतार हतार गरे झै गरी । हुदाँहुदाँ दोहोरो गोली त हाम्रो बस नजिक नै चल्न सुरु ग¥यो । सवैले अन्तिम दिन नै आज हो भने झै गरी भगवान सम्झेर बसे र म पनि । घना जंगल भएकाले जून लागे पनि निष्पट अध्याँरो छ ।
‘बस कहाँ छ, बस कहाँ छ ?’ जंगल भित्रवाटै प्रश्न आयो । कसले भन्ने, बस यहाँ छ भनेर ? कोही बोलेनन्, सबै चुपचाप, सबै मौन् । नजिकै छ्यासछुसुङ आवाज आयो, प्रश्न फेरी त्यही आएको आइछ । हाम्रो बस नजिकै सेतो सेन्डो गन्जी बाहेक अरु माथि केही नलगाएको तर इन्सास राइफल बोकेको एउटा मान्छे ‘बस कहाँ छ ?’ भन्दै प्रश्न गरिरहेको मैले देखे । गुरु र मेरो आँखा जुध्यो, उनले नबोल्न इशारा गरे, म चुपचाप भए । तर, उसका शरिरको तल्लो भाग हेरेको त सशष्त्र प्रहरीले लगाउने छिर्के मिर्के कपडा चिनिहाले । मलाई लाग्यो, यो मान्छे प्रहरी नै हो, यदी प्रहरी नभएको भए डाँकाहरु किन एकाएक बसवाट गायब हुन्थे त ? अनि जे पर्ला पर्ला भन्दै मैले कराएर भने, ‘दाई, हामी यहाँ छौं ।’ उ हामी तिर फक्र्यौ र फर्किदा बसमा भन्डै ठोकिएन । ‘हामीहरु तपाईहरुलाई बचाउन आयौ तर तपाईहरु भने बोल्दै नबोल्ने ?’ भन्दै ऊ नमज्जासँग नै रिसायो । उसले सिट्टठी मा¥यो, त्यसपछि प्रहरीहरु हुरुरु हाम्रो गाडी भित्र पसे र ‘डराउनु पर्दैन, हामी आयौं’ भन्दै हामीलाई साहस दिन सुरु गरे । कसरी प्रहरीले अबिलम्ब आएर हाम्रो ‘रेस्क्यु’ गर्न सफल भयो त ? अचम्मै लाग्यो जबकी हाम्रो बसलाई भित्र लगेको १५ मिनेट पनि भएको छैन, प्रहरी आइसकेको थियो ।
भएछ के भने, हामी भन्दा अघि गएको बसलाई रोक्नका लागि सडकमा मुडा तेर्साउन खोज्दा खोज्दै त्यसलाई नाघेर सो बस चन्द्रनिगाहपुर पुगेछ । र, प्रहरीलाई खबर गरेछ कि डाँकाहरुले लुटपाट गर्न खोज्दैछन् । निजगढवाट हाम्रो बस हिडेको तर समयमा चन्द्रनिगाहपुर नआए पछि सुत्न लागेका सशष्त्र प्रहरी जे जस्तो लुगामा छन्, त्यसैमा ‘रेस्क्यु’ गर्न आएका रहेछन् । हामी जंगल भित्र पसे पछि सुनिएको गाडीको आवाज त हामीलाई बचाउन आएको त्यही सशष्त्र प्रहरीको पो रहेछ । नयाँ बस आयो भनेर पुनः सडक अबरोध गर्न गएका डाँकाहरुले सशष्त्र प्रहरी देखे पछि पेस्तौल पडकाउँदै भागेका रहेछन् । जवाफमा सशष्त्र प्रहरीले पनि गोली चलाएको रहेछ । अनि पो त  दोहोरो भिडन्त जस्तो देखिन पुगेको रहेछ । 
धेरैले समान लुकाएका कारण र बसवाट बाहिर फालेका कारण सबैजसो लुटन पाएको थिएन, थोरै थोरै मात्र लुटेका रहेछन् । गाडी भित्र लगे पछि पहिलो चरणमा इमान्दार पुर्वक डाँकाले माग्ने र दोस्रो चरणमा सबै खानतलासी गरेर लुटपाट गर्ने गर्दा रहेछन् । हाम्रोमा दोस्रो चरणमा प्रवेश गर्नु अघि नै प्रहरी आएकाले हामी जोगिएका रहेछौ । गाडीमा फेरी डाँकालाई काका’को प्रसङ्गले एकछिन सारा लुटपाटलाई बिर्साएर हसाउँने काम ग¥यो । मैले चाँही ४ हजार ५ सय डाँकालाई टक्राए, अरु खर्च गरिसकेकाले डाँकालाई दिएर पनि ५ सय भने जोगाउन सकेको थिए । कमाई त जम्मा छ हजार थियो । तर, गाउँमा पुगेर पर्स मोटो पारेर ‘दादा’ बन्ने सपना भने डाँकाले नै खाईदियो ।
जंगलवाट आधा घन्टा भन्दा बढी समय लगाएर ब्याक गर्दै गाडी राजमार्गमा ल्याइयो तर राजमार्ग पुगे पछि त एकपटक झसङ्ग हुने दृश्य पो देखियो । हाम्रो भन्दा अगाडी एउटा मात्र गाडी होला भन्ठानेका थियौ तर हाम्रा जस्ता अरु ७ वटा गाडी पो जंगल भित्र लगेका रहेछन, डाँकाहरुले ।



 
  





1 comment:

  1. अन्त्यन्त मिठो आलेख । एक स्वासमा पढेर भ्याएँ । धन्यवाद प्रकाश जी ।

    ReplyDelete