Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, January 19, 2015

यसरी बनेको थियो संविधानसभा भित्र गर्ने आक्रमणको योजना

पौष २९ गतेको संविधानसभाको बैठकमा एमाओवादीसहित उसको नेतृत्वको मोर्चामा रहेका तराई मधेस केन्द्रित दलहरु बैठकमा नै उपस्थित भएनन । सो दिन बाबुराम भटटराईले आफनो समिति संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिको प्रतिवेदन बुझाउने कार्यक्रम थियो । सानेपास्थित आफनो निवासवाट सिंहदरबारस्थित सभाध्यक्ष सुवासचन्द्र नेम्वाको कार्यकक्षमा पुगेर प्रतिबेदन बुझाए पनि बाबुराम संविधानसभाको बैठकमा सहभागि हुन बानेश्वर गएनन । त्यो दिन एमाओवादीले काठमाडौं उपत्यकासहित मध्यामञ्चल बन्दको घोषणा गरेको थियो । संविधानसभा बैठकमा माओवादी सहभागी नभएको पहिलो घटना थियो । संविधानसभा बैठकमा सहभागी नभएका भटराईले सानेपास्थित निवासमा बसेर बन्द गर्नु जायज भनेर सामाजिक सञ्जालमार्फत कु-तर्क गरे । बाबुराम बैठकमा नै सहभागी नभए पछि उनले बुझाउनु पर्ने प्रतिवेदन समितिका जेष्ठ सदस्यका नाताले राप्रपा अध्यक्ष सुर्यबहादुर थापाले संविधानसभाको पुर्ण बैठकमा पेश गरे । संविधानसभा बैठकमा बाबुराम र एमाओवादी सहभागि नभए पछि सामाजिक सञ्जालमा त्यसको ब्यापक आलोचना भयो । बैठक जारी राख्ने उदेश्यसहित सभाध्यक्षले माघ १ गते बैठक बोलाए । 
तर. माघ १ गते माघे संक्रान्ति अर्थात माघी पर्वसमेत भएकाले थारु सभासदको आग्रहमा संविधानसभा अध्यक्षले तोकिएको बैठक स्थगन गरी माघ २ गते सारे । सोही दिन एमाओवादी मुख्यालय पेरिसडाडामा पोलिटब्युरो सदस्य हैसियतका नेताको आकस्मिक बैठक बस्यो । संविधानसभा बैठकमा नगएको भन्दै उपाध्यक्ष (सभासद छैनन) नारायणकाजी श्रेष्ठले प्रचण्ड र बाबुरामको चर्को आलोचना गरे । परिणाम, माघ २ को बैठकमा सहभागि हुने निर्णयमा पुग्यो । तर, सो बैठकमा प्रचण्डले तीनवटा न्युनत्तम सर्तमा मात्रै संविधानसभामा माओवादी जाने निर्णय सुनाए ।
पहिलो, शाषकीय स्वरुपमा मिश्रित भन्दा तल कुनै हालतमा नझर्ने, बरु संघीयता लगायतको बिषयमा पार्टी अडान छाडने,
दोस्रो, प्रश्नावली समिति कुनै हालतमा बनाउन नदिने, सो समिति बनाउन बाबुराम नेतृत्वको समितिलाई दिनु पर्ने अडान राख्ने, संविधानसभाको पुर्ण बैठकमा पेश गरिए, सभाध्यक्षको रोष्टरम घेर्ने 
तीन, संविधानसभा नियमावलीका नियम खारेज गरी छोटो प्रक्रियामा जान खोजे संविधानसभा बैठक अवरुद्ध गर्ने ।
दाहालले सो दिन अगाडी भने, "बाँकी कुरा भोली बिहान (माघ २) गते बस्ने संसदीय दलको बैठकमा भन्ने छु, अहिलेलाई यति नै ।" माघ २ गते  बिहान संसदीयको बैठकमा दाहालले तीनै तीनवटा कुरा भने र संविधानसभा भित्र संघर्ष गर्न निर्देशन दिए । बैठक सकियो र माओवादीहरु संविधानसभाको बैठकमा सहभागी हुन बानेश्वरतिर लागे ।   
माघ २ गतेको बैठकमा एमाओवादीले सभासदले बोली बोली थकाउने र समय कटाउने रणनीति लियो । बोल्दा बोल्दै माघ ८ को समयसिमा कटाउने रणनीति लिएर एमाओवादी संविधानसभा बैठकमा फर्केको चाल पाए पछि सत्तापक्ष सभासदहरुले संविधानसभामा बोल्ने भन्दै टिपाएको नाऊ धमाधम फिर्ता लिए । सत्तापक्ष सभासदहरुले नाम फिर्ता लिए पछि संविधानसभा भित्र बोल्ने सभासदहरु एमाओवादीसहित बिपक्षी दलका मात्रै बाँकी रहे । बिपक्षी दलका सभासदहरु मात्र बोल्न थाले पछि सत्तापक्ष सभासदहरु भने संविधानसभा बाहिर निस्केर घाम ताप्न सुरु गरे । हल भित्र त बोल्ने बिपक्षी, सुन्ने पनि बिपक्षी मात्रै भए पछि बोली बोली थकाउने र समय कटाउने माओवादी रणनीतिले फेल खायो ।
त्यही दिन टेकुमा माओवादीले आमहडताल सफल बनाउनका लागि पदमरत्न तुलाधारलगायतसँग ठोस बार्ता गरयो । सोही दिन बाबुराम भटटराईले संविधानसभामा बोल्दै २९ गतेको बैठकमा उपस्थित हुन नसकेकोमा आत्माआलोचना पनि गरेका थिए । आन्दोलनमा जाने अध्यक्ष दाहालको योजना प्रति घुमाउरो भाषामा आक्रमण पनि गरे । (यहाँ क्लिक गरेर पढनु सक्नु हुनेछ)
 भोलीपल्ट एमाओवादीले बैचारिक ब्यवस्थापन समितिको बैठक बोलायो । सो समितिमा प्रचण्ड, बाबुराम, नारायणकाजी, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी छन् । सो समितिले "लचकताका साथ" प्रस्तुत भएर संविधान निमार्णमा भुमिका खेल्ने पनि अनौपचारिक निर्णय गरयो । र, बार्ता सँगसँगै अघि बढयो । माघ १ गते पेरिसडाँडाँमा दाहालले भनेजस्तै, "पश्चिमका कैलाली कञ्चनपुर देउवाले भने जस्तै मानौ, पुर्वमा केपी ओलीले भने जस्तै झापा, मोरग सुनसरीलाई मधेस प्रदेशवाट छुटाएर जाऔं, यसो गर्दा मधेसमा चार प्रदेश पनि हुन्छ, राष्टिरयता पनि बलियो हुन्छ ।" सोही अनुसार कांग्रेस र एमालेसँगको बार्ता सकारात्मक तरिकाले अघि पनि बढयो ।
"सहमति सहमति भयो" भनेर हो- हल्ला पनि भयो । भित्र सहमति के के भयो, त्यो त थाहा भएन, तर सहमति चाँही भएकै थिएन मेरो बिचारमा । किनभने, दाहालले नै इन्द्रणी फुड ल्यान्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा भनेका नै थिए, "सहमति भयो भने हामी आफै भन्छौ, कुनै सहमति भएको छैन । यी सब हल्ला मात्रै हुन ।"
संविधानसभाको चुनावमा बहिस्कार गरेका मोहन बैद्य नेतृत्वको नेकपा माओवादीसँग आमहडतालमा सकार्य गरेको प्रचण्ड नेतृत्वको माओवादीलाई सहमति गर्छ भनेर कल्पना गर्नु आफैमा पनि अबुझ पनि हो । बैद्यलाई छाडेर भए पनि जानु पर्छ भनी भनीकन "संविधानसभावाटै संविधान, एमाओवादीको अभियान" भन्दै गत चुनावमा भाग लिएको एमाओवादीले पछिल्लो समय "संविधानसभाको विघटनको निरन्तर माग गर्ने बैद्य माओवादी" सँग मिल्न जाने "प्रचण्ड नियत"लाई बुझन नसक्नु कमजोरी भयो । राजनीतिक दलसँग कुरा गरेर बैद्यसँग पत्रकार सम्मेलनमा देखिने बितिक्कै "चीज राम्रोसँग विकास भएको छैन है !" भन्न र बुझन कुनै गारहो थिएन ।
१ बजेका लागि बोलाइएको बैठक राती नौ बजेसम्म पनि सुरु भएन । दलहरुले सहमति नजुटाए पछि सभाध्यक्षले प्रक्रियामा लान खोजे र त्यसको प्रयास स्वरुप प्रश्नावली समिति बनाउन प्रयास गरे । तर, त्यसमा एमाओवादी र तराई मधेस केन्द्रित दलले आपत्ति जनाए, सहयोग गरेनन । अन्ततः सो बिषय संविधानसभाको पुर्ण बैठकमा सभाध्यक्षले पेश गर्ने योजना बनाए । त्यही बेला माओवादी नेतृत्वले सभाध्यक्षले प्रश्नावली समिति निमार्णको प्रस्ताव गर्ने बितिक्कै रोष्टम घेर्ने निर्देशन दिइसकेका थिए । रोष्टम घेर्ने पुर्व  योजना तय गरेर एमाओवादीसहित बिपक्षी दलका नेताहरु संविधानसभाको पुर्ण बैठकमा सहभागी हुन गए ।
सभाध्यक्षले मध्यरात १२ः३० बजे संविधानसभाको बैठक सुचारु गरे । कार्यतालिका अनुसार सभाध्यक्षले संवैधानिक समितिका सभापतिका सभापति बाबुरामलाई बोलाए । बाबुरामले करिब १ घन्टा भाषण दिए । उनले महाभारतको कथा पनि सुनाए, पाँच गाउँ माग्दा कौरबहरुले दिन इन्कार गरे पछि पाण्डवहरुले राज्य नै खोसको उदाहरण पनि दिए, कहिल्यै सहानभुती नराख्ने कमल थापा प्रति सहानभुती पनि राखे, पहिला जस्तो (०६९ जेठ १४) अहिले माघ ८ मा संविधानसभा विघटन नहुने तर्क पनि राखे । सभापति बाबुरामले भने, प्रक्रियामा जान खोजे यहाँ भिडन्त पनि हुन सक्छ भनेर धम्की पनि दिएर लामो भाषण सकाए ।
त्यसपछि,
सभाध्यक्षले संविधानसभा नियमावली अनुसार प्रक्रियामा जानका लागि प्रश्नावली समितिका लागि प्रस्ताव पेश गर्न कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठलाई के बोलाएका मात्रै थिए, माओवादीसहित बिपक्षी सभासदहरुले हुलदंगा गरिहाले । नाराबाजी गर्ने देखी आमाचकारी गाली गर्न पनि बाँकी राखेनन । अझ, उदेक लाग्दो दृश्य त ब्यवस्थापिका संसद अन्तर्गतका लेखा समितिका सभापति समेत रहेका माओवादी सभासद जनार्दन शर्मा त "सभाध्यक्षलाई कुटने उदेश्यसहित" मञ्चमा चढने प्रयास गरि नै रहे । मर्यादापालकले उनलाई सम्हाल्न निकै हम्मे नै परेको थियो । सभासदले त गरे गरे, एउटा जिम्मेवार समितिका सभापति नै सभाध्यक्ष माथी हातपात गर्ने उदेश्यसहित अघि बढनु कति लाजमर्दो दृश्य छ, सभापतिले त कम्तिमा पनि आफनो पदको मयार्दा र गरिमा राख्नु पर्दथ्यो । हेर्दा हेर्दै संविधानसभा भवन रणभुमीमा परिणत भयो । बाबुरामले भने जस्तै त्यहाँ महाभारत देखियो ।
सभा हल भित्र अराजक शैली एमाओवादीसहित बिपक्षी दलका सभासदहरु उत्रे पछि सभाध्यक्षले बैठक स्थगित गरी मंगलबारका लागि बोलाएको घोषण गरे । यो बेला सम्म कुर्सी र माइक भाचिएको थिएन तर जब बैठक स्थगित भयो । तब माओवादीका सभासदहरु आफै बसेको कुर्सी उचालेर पछार्न थाले, माइक भाँचे । केपी ओली माथी पनि प्रहार गरे, सभाध्यक्ष माथी पनि प्रहार गरे । रोष्टम माथी उक्लन निकै प्रयास गरे । मयार्दापालक माथी पनि दुब्र्यब्यहार गरे । देश बनाउने र संविधान बनाउने थलो संविधानसभा एकैछिनमा रणभुमीमा परिणत भयो । अझै पनि माओवादी र बिपक्षी सभासदहरुको रिस मरेको थिएन, अन्य दलका सभासदहरु बैठक हलवाट निस्किदा पनि माओवादी सभासदहरु भने 'उपद्रो गर्न' खोजि नै रहेका थिए । प्रचण्ड र बाबुरामहरु हाँस्दै बैठकवाट निस्किए । फोरम लोकतान्त्रिका सभासद रामजनम चौधरी आफना अराजक सभासदलाई रोक्ने र छेक्ने प्रयास गरिरहेका थिए । मयार्दापालकहरु थपिए । बैठकमा जुत्ता छाडिएका, माइक तथा कुर्सी भाँचिएका थिए । कुुर्सी माथी कुर्सीको रास देखिएको थियो ।
बाहिर निस्केर पनि एमाओवादी सभासदहरुले तोडफोड गर्ने प्रयास गरे । नाराबाजी गरे । एकछिनमा एम्बुलेन्स आयो, थाहा पाइयो, तीनजना मयार्दापालकलाई गम्भिर चोट लागेको रहेछ । एउटाको हात भाचिएको र अरु दुई गम्भिर घाइतेलाई लिएर एम्बुलेन्स बीर अस्पतालतीर लाग्यो । मध्यरातमा एउटा यस्तो दृश्य मञ्चन भयो, जुन दृश्य इतिहासमा गौरबको कथा होइन, कंलकको इतिहास लेखेर रहने भएको छ ।
आज १ बजेका लागि बोलाइएको बैठकमा पुन जाने एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले बाहिर जानकारी दिए । प्रक्रियामा जाने कोशिश गरिए बैठकमा निरन्तर बिरोध जनाउने माओवादीको योजना रहेको उनको भनाई छ ।
आजको १ बजेको बैठकमा त जाने तर आफु बसेका कुर्सी सबै भाचिएका छन, बस्ने चाँही कहाँ ? यो कुरा मनमा खेलिरहेको छ मेरो यतिखेर ।

No comments:

Post a Comment