Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 19, 2014

जनजाती मधेसी नेताको दावी: माओवादीमा ब्राम्हण क्षेत्री हावी

एकीकृत नेकपा माओवादीमा समावेशी÷समानुपातिक प्रतिनिधित्व झल्कने गरी पदाधिकारी र स्थायी समिति बनाउनुपर्ने माग उठेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा सोमबार केन्द्रीय सदस्यहरूले ‘पहिचानसहितको संघीयता’ नारा दिने पार्टीको पदाधिकारी टिम नै असमावेशी र असमानुपातिक बन्न लागेको भन्दै आपत्ति जनाएका थिए । पार्टी संगठन र निर्णय प्रक्रियामा ब्राह्मण–क्षेत्री मात्रै हाबी भएको उनीहरूको गुनासो थियो । उनीहरूले ‘समावेशी र समानुपातिक लोकतन्त्र’ को नारा बाहिर उठाउने, तर आदिवासी जनजाति, मधेसी, थारू, महिला, दलितलगायतलाई नेतृत्वमा लैजाने बेला ‘सर्वहारा वर्ग’ भनेर दोहोरो भूमिका खेल्ने काम बन्द गर्न नेतृत्वसँग माग गरेका थिए ।
पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, लोकेन्द्र विष्ट, गोपाल किराती, नन्दकिशोर पुन, रामचन्द्र झा, जनार्दन शर्मा, हकिकुल्लाह खाँ, भरत साह, रामकुमार शर्मा, अशोक जयसवाल, अजयशंकर दासलगायत दर्जन नेताले पार्टीलाई समावेशी बनाउन माग गरेको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।
‘पार्टीको नारा पहिचानसहितको संघीयता भएकाले कमिटी ब्राह्मण–क्षेत्रीको मात्रै हुनु हँुदैन भन्ने धेरै नेताको भनाइ आयो,’ शर्माले नागरिकसँग भने, ‘पार्टी संगठन नै  समावेशी चरित्रको नभए नारा ल्याउने अधिकार पनि नहुने भन्ने विषय उठेका छन् ।’
उनका अनुसार आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, अल्पसंख्यक र पिछडिएको क्षेत्र समेटेर पदाधिकारी, स्थायी समिति बनाउनुपर्ने माग बैठकमा आएको छ ।
‘थोरै संख्यामा पदाधिकारी भए पनि निर्णय प्रक्रियामा ‘प्राक्टिस’ गर्दा धेरैलाई समेटिँदै आइएको छ, अब किन आदिवासी जनजाति, मधेसी, दलितलाई पदाधिकारी टिममा नल्याउने ?’ पूर्वउपाध्यक्ष श्रेष्ठले बैठकमा भनेका थिए, ‘पदाधिकारी टिममा सबैलाई समेटेर जाऔं ।’
श्रेष्ठले समानुपातिक र समावेशी आधारमा संगठन निर्माण गरेर गए ‘पहिचानसहितको संघीयता’ नारामा बल पुग्ने बताए ।
विराटनगर सम्मेलनबाट चुुनिएका केन्द्रीय सदस्यको नामावली समावेशी नभएको भन्दै शपथ खान अस्वीकार गरिरहेका अर्का केन्द्रीय सदस्य गोपाल किरातीले पनि पार्टीका सम्पूर्ण निकाय समावेशी हुनुपर्ने माग गरे । ‘पदाधिकारी मात्रै होइन, स्थायी समिति, पोलिटब्युरो र अन्य विभाग र ब्युरोमा पनि समावेशी र समानुपातिक आधारमा प्रतिनिधित्व गराउनुपर्छ,’ किरातीले बैठकमा भनेका थिए, ‘नत्र यो ब्राह्मण–क्षेत्रीको मात्रै पार्टी हुन्छ, भइरहेको छ ।’ बैठकमा किरातीले जातीय आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्नेमा जोड दिएका छन् ।
पहिचानसहितको संघीयता नारा दिने पार्टीको पदाधिकारी टिम नै असमावेशी र असमानुपातिक बन्न लागेको भन्दै केन्द्रीय सदस्यद्वारा आपत्ति
अर्का सदस्य अशोक जयसवालले सर्वहारा वर्गका नाममा पार्टीलाई समावेशी र समानुपातिक बनाउने नदिने कार्य गलत भएको उल्लेख गरे । ‘कम्युनिस्टले मात्रै सर्वहारा पार्टी हो भनेर अहिलेको टिममा चित्त बुझाउलान्, तर समावेशी र समानुपातिकको चर्को नारा दिने पार्टी नै समावेशी छैन भनेर जनताले थाहा पाए भने के भन्लान ?’ जयसवालले बैठकमा भनेका थिए, ‘त्यसैले हामी कम्युनिस्ट मात्रै ‘कन्भिन्स’ भएर पुग्दैन, जनता पनि ‘कन्भिन्स’ हुनुपर्छ, त्यसका लागि पनि समावेशी टिम चाहिन्छ ।’
विराटनगर सम्मेलनले समावेशी र समानुपातिकको मुद्दालाई उठाएर सदन र सडक दुवैतिरबाट दबाब दिने निर्णय गरेको सन्दर्भमा पार्टी संगठनभित्र पनि उक्त विषय लागू गराउनुपर्ने जयसवालको माग थियो ।
सोमबारको बैठकमा उठेका मागबारे अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएका छैनन् । बैठक मंगलबार पुनः बस्दैछ ।

No comments:

Post a Comment