आकांक्षीबीच सहमति हुन नसक्दा एकीकृत नेकपा माओवादीका प्रायः सबै खाले समिति, संगठन र मोर्चामा नेतृत्व चयन हुन सकेको छैन । पुष्पकमल दाहाललाई अध्यक्ष चयन गर्दै विराटनगर सम्मेलन सकिएको दुई साता नाघिसक्दा पनि एमाओवादीले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोलगायत छानेको छैन । माउ पार्टीमा रहेको नेतृत्व र पदाधिकारी चयनसम्बन्धी समस्या पार्टीकै तल्लो तह, भ्रातृ संगठन र मोर्चामा पनि छ । अध्यक्ष दाहालले संगठनमा ‘मनोमानी र एकमनावादी’ गरेको भन्दै विराटनगर सम्मेलनबाट पूर्व उपाध्यक्ष बाबुराम भट्टराईसहित १५ नेताले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि मूल पार्टीमा सांगठनिक विवाद बढेको छ । जसका कारण जेठ १ गते सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पटक–पटक स्थगित भइरहेको छ । तर, विवाद भने अझै मिलिसकेको छैन ।
संसदीय दल नेताको जिम्मेवारीबाट हटेर अध्यक्ष दाहालले उक्त ठाउँ अर्का नेता कृष्णबहादुर महरालाई दिनुपर्ने भट्टराईको माग छ । त्यसैगरी, आफूनिकट नेता टोपबहादुर रायमाझीलाई पार्टीको महासचिव र दलको उपनेता बनाउनुपर्ने तथा कोषाध्यक्षमा पत्नी हिसिला यमीलाई बनाउनुपर्ने सर्त राखेका भट्टराईले आफ्ना पक्षका करिब ४० जनालाई केन्द्रीय समितिमा लैजान आग्रह गरिरहेका छन् । तर, दाहालले भट्टराईका सबै माग स्वीकार गरिनसकेकाले माओवादीमा नेतृत्व चयन हुन सकेको छैन । ‘बाबुरामजीलाई केन्द्रीय समितिमा फर्काउन छलफल जारी छ,’ प्रवक्ता दीनानाथ शर्मा दुई सातादेखि भनिरहेका हुन्छन्, ‘उहाँ आउनेबित्तिकै संगठनले पूर्णता पाउँछ, पदाधिकारीको बाँडफाँट हुन्छ ।’ तर, दाहाल–भट्टराईबीच सांगठनिक बार्गेनिङ कायमै रहेकाले कुनै निष्कर्ष निस्कन सकेको छैन ।
यसैगरी, राष्ट्रिय सम्मेलनअघि करिब ६० जिल्ला सम्मेलन भए पनि अधिकांशमा अझै नेतृत्व चयन हुन सकेको छैन । बारा, पर्सा, रौतहट, बैतडीलगायतका जिल्लामा समानान्तर समिति खडा छन् भने दोलखा, रसुवा, सुनसरीलगायतमा जिल्ला सम्मेलन नै हुन सकेको छैन ।
जिल्ला सम्मेलन भएका अधिकांश ठाउँमा पदाधिकारी पनि चयन भएको छैन । ‘राष्ट्रिय सम्मेलनपछि जिल्लामा पदाधिकारी चयन हुन्छ,’ काठमाडौंमा अध्यक्षका प्रत्यासी शालिकराम जम्मकट्टेलले वैशाख दोस्रो साता नागरिकसँग भनेका थिए । तर, अझै काठमाडौंलगायतका जिल्लामा नेतृत्व चयन कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
एमाओवादीको भ्रातृ संगठनहरू पनि लामो समयदेखि नेतृत्वविहीन छन् । पार्टीको बलियो संगठनका रूपमा चिनिने अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग पुरानै नेतृत्वबाट चलिरहेका छन् । नयाँ नेतृत्व चयन गर्न नसकेपछि दुवै संगठनले सांगठनिक सम्मेलन गरेर टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।
नेतृत्वमा विवाद भएपछि दुई महिनाअघि आयोजित क्रान्तिकारी सम्मेलन चार दिन थप लम्बिएर पनि निष्कर्षमा पुग्न सकेन । ‘त्यतिबेला नयाँ नेतृत्व चयन गर्न नसके पनि सांगठनिक भेला बोलाएर निर्णय लिने सहमति भएको थियो,’ अध्यक्ष हिमाल शर्माले नागरिकसँग भने, ‘अब असारमा विस्तारित वा सांगठनिक भेला बोलाएर नयाँ नेतृत्व चयन गर्छौं ।’
क्रान्तिकारीले भेला असारमा बोलाउने निर्णय भए पनि दिन अझै चयन गर्न सकेको छैन । उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्लबीच सहमति हुन नसक्दा एमाओवादीले कम्तीमा पनि तीन महिना शर्मालाई नै नेतृत्व दिने निर्णय गरी सम्मेलन टुंग्याउनुपरेको थियो ।
पार्टी शान्ति प्रक्रियामा आएपछि ‘चर्चित र बदनाम’ समेत भएको योङ कम्युनिस्ट लिग (वाइसिएल) मा नेतृत्व चयन हुन नसकेपछि गणेशमान पुनलाई दोहो¥याउन एमाओवादी नेतृत्व बाध्य भएको थियो । गत भदौमा सम्मेलन भए पनि पदाधिकारी चयनमा विवाद देखापरेपछि सम्मेलन त्यत्तिकै सम्पन्न गर्नुपरेको केन्द्रीय सदस्य अमित श्रेष्ठले बताए । ‘त्यतिबेला पदाधिकारी चयनमा विवाद भयो, सहमति हुन सकेन,’ श्रेष्ठले नागरिकसँग भने, ‘संविधानसभा चुनावलगत्तै सांगठनिक भेलामार्फत नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो, तर अझै हुन सकेको छैन ।’ उनले आगामी केन्द्रीय समिति बैठकले सांगठनिक सम्मेलनको मिति तय गरेर विवादलाई किनारा लगाउने बताए ।
अर्को भ्रातृ संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले अध्यक्षमा दलजित श्रीपाइलीलाई सर्वसम्मत चयन गरेको त छ, तर २ सय ९९ सदस्यीय समितिमा अझै पदाधिकारी चयन हुन सकेका छैन । ‘अध्यक्षले आफ्नो खल्तीबाट मान्छे हाल्दै पदाधिकारी चयन गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्,’ एक पूर्व पदाधिकारीले भने, ‘जसका कारण पदाधिकारी नै चयन हुन सकेको छैन ।’
उनका अनुसार डेढ वर्षअघि सम्मेलन सम्पन्न भए पनि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको छ । इन्चार्ज रणेन्द्र बराइली र अध्यक्ष श्रीपाइलीले आफूअनुकूल संगठन निर्माण गर्न लागेपछि संगठनमा विवाद देखापरेको असन्तुष्ट पक्षको आरोप छ ।
एमाओवादीबाट अलगिएर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन भएलगत्तै मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका तत्कालीन अध्यक्ष कृष्णदेवसिंह दनुवारले पार्टी छाडे । त्यसपछि दनुवारको स्थानमा तमलोपाबाट आएका रामकुमार शर्मालाई ल्याइयो । तर, माओवादी विभाजन भएको दुई वर्ष पुग्न लाग्दासमेत उक्त संगठनले राष्ट्रिय सम्मेलन आयोजना गर्न सकेको छैन । ‘पार्टी विभाजन भएपछि कृष्णदेवजी वैद्यतिर लाग्नुभयो, संगठनले त्यसपछि राष्ट्रिय सम्मेलन नै गर्न सकेको छैन,’ पूर्वमहासचिव भरत साहले नागरिकसँग भने । उनले पार्टी केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै मोर्चाको सम्मेलनबारे निर्णय हुने बताए ।
सम्मेलन नै हुन नसक्ने, सम्मेलन भए नेतृत्व चयन हुन नसक्ने, नेतृत्व चयन भए पदाधिकारी चयन हुन नसक्नेजस्ता सांगठनिक समस्यामा भ्रातृ संगठनहरू फसेको माओवादी नेता–कार्यकर्ता बताउँछन ।
No comments:
Post a Comment