संविधानसभा–१ मा रहेका कतिपय दललाई निर्वाचन परिणामले संविधानसभा–२ मा आउन दिएन । यो मात्रै होइन, संविधानसभा–१ मा पहिलो रहेको एकीकृत नेकपा माओवादी संविधानसभा–२ मा आइपुग्दा तेस्रो स्थानमा पुग्यो । हिजो कांग्रेस दोस्रो थियो, आज पहिलो भयो, हिजो तेस्रो स्थानमा रहेको एमाले आज आइपुग्दा दोस्रो हुन सफल भयो । चुनावी राजनीतिमा दलको अवस्था तलमाथी भइरहनु स्वाभाविक हो, अस्वभाविक होइन् । तर, अकल्पनिय रुपमा संविधानसभा–२ मा भने एउटा नयाँ पार्टी मधेस समता पार्टी (मसपा)ले समानुपातिकतर्फ १ सिट ल्याउन सफल भएको छ, त्यो पनि सयौं दललाई पछि पार्दै ।
आजको यो ब्लगको सन्दर्भ भने चुनावमा ‘धाँदली र षडयन्त्र’ भएको जिकिर गर्दै ‘हारेका क्रान्तिकारी र परिवर्तनकारी दल’हरुलाई जम्मा पारेर त्यसको नेता बनिरहेका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र मधेस समता पार्टी (मसपा)का अध्यक्ष मेघराज नेपाली (निषाध) बिचको एउटा रोचक प्रसङ्गवाट सुरु गर्दैछु । यो ब्लग हिजो उनले मलाई सुनाएको कुराकानीमा आधारित छ ।
गएको शनिवार, पार्टी मुख्यालय पेरिस डाडाँमा सो पार्टीका अध्यक्ष नेपालीलाई पनि सहभागी हुन अनुरोध गरियो । त्यस दिन, त्यहाँ सोही दिन औपचारिक रुपमा नामाकरण भएको ‘संघीय लोकतान्त्रि गठबन्धन’को बैठक हुनेवाला थियो । त्यहाँ चुनावमा ‘अप्रत्याशित रुपमा पराजित’ भएका माओवादीसहित मधेस केन्द्रित राजनीतिक दलका नेताको उपस्थीति रहेको थियो, त्यस गठबन्धनको मुख्य एउटै उदेश्य छ, गत चुनावमा धाँदली र षडयन्त्र भएको ‘जर्बजस्त’ प्रमाणित गर्ने । त्यस गठबन्धनमा दलको संख्या थप्नका लागि नेपालीलाई पनि पेरिसडाँडावाट बोलावट भएको थियो । सोही बोलावट अनुसार नेपाली पेरिसडाँडा गएका रहेछन् ।
बैठकको सुरुमा एमाओवादीका बर्षमान पुन, संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले निमार्ण गरेको गठबन्धन अघि बढाउने अबधारणा प्रस्तुत भयो । अरु अरुले बोल्दै गए पछि सो गठबन्धनको नयाँ पाहुना हुन पुगेका नेपालीको बोल्न मौका आयो ।
नेपालीले सुरुमा नै निमार्ण हुन लागेको गठबन्धन प्रति विश्वास नै नभएको बताए । ‘हारेको परिणाम अस्विकार गर्नका लागि’ यो गठबन्धन अघि बढाइएको भन्दै प्रचण्ड, बाबुराम भट्टराई र महन्थ ठाकुरलगायतका नेताको अगाडी नै धारा प्रवाह बोल्न थाले ।
उनले आफ्नो पार्टीले पहिलोपटक एक सिट ल्याएर संविधानसभामा प्रवेश गरेको उल्लेख गर्दै कुरा सुरु गरे, ‘त्यसकारण म संविधानसभाको प्रक्रिया भन्दा बाहिर जाँदिन, यो परिणाम मलाई स्विकार्य छ ।’ उनले ‘रिस र आवेगमा निमार्ण भएको’ गठबन्धनले अन्ततः ‘चिसो पानीमा नुहाउने’ भन्दै धेरै भन्दै धेरै प्रश्न प्रचण्डलाई नै सोध्न सुरु गरे ।
‘खिलराज रेग्मीको गैर दलीय सरकार प्रमुख बनाउने तपाई, चुनावमा सेना परिचालनको प्रस्ताव ल्याउने तपाई र त्यसलाई उच्चस्तरीय राजनीतिक संयन्त्रवाट अनुमोदन गराउने पनि तपाई, बालुवाटार र लाजिम्पाटमा कोठे बैठक गरी निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयूक्त बनाउने तपाई, बैद्यको पार्टी नआए पनि चुनाव हुन्छ भनेर सार्वजनिक ठाउँमा भाषण गर्ने तपाई ? अनि अहिले चुनावमा हारेपछि तीनलाई नै दोष दिने उल्टै, यो त कुनै राजनीतिक चरित्र र नैतिकताको कुरा भएन है अध्यक्षज्यू’ नेपालीले पेरिसडाँडामा भन्दै गए । प्रचण्ड मुुसुमुस हाँसे मात्रै तर केही पनि जवाफ दिएनन् ।
पहिलो पटक पेरिसडाँडा पुगेका नेपालीले धाराप्रवाह बोल्न थाले, ‘त्यसकारण चुनावमा सेनाले धाँदली ग¥यो, निलकण्ठजीले षडयन्त्र गरे भनेर अहिले रोइकराई गर्नुको कुनै अर्थ छैन, बरु जनताले नै पत्याएनन कि भनेर आत्म चिन्तन गर्नु सबैभन्दा बुद्धीमानी देख्छु हो म त ।’ अध्यक्ष प्रचण्डले ल्याएको ती सबै प्रस्तावमा आपत्ति जनाउँदा त्यो बेला कुरा नै नसुनेको तर अहिले जनताले तल झारि दिए पछि रोइकराई गरेर गठबन्धन बनाउन लागेको आफुले वुझेको भन्दै नेपालीले बोल्न थाले पछि उपस्थित सबैजसो नेताले एकसरो ताली बजाए ।
त्यसमा जोसिएका नेपालीले गठबन्धन निमार्ण गर्नुको उदेश्य बारे आफ्नो फरक बुझाई पनि रहेको भन्दै पेरिसडाँडामा राख्न भ्याई हाले । ‘मलाई लाग्छ, यो चुनावमा धाँदली र षडयन्त्र भएकोले चिर्नु पर्छ र पहिचानसहितको संघीयता निमार्णका लागि दबाब दिने उदेश्यले गठन हुन लागेको भन्ने मलाई अलिकति पनि विश्वास लाग्दैन’ नेपाली पेरिसडाँडामा जोशिदै गए, ‘यो त प्रचण्डजीको राष्ट्रपति हुनका लागि बार्गेनिङ मात्रै हो, बार्गेनिङ पुरा गराउनका लागि उहाँले हामीलाई घोडा बनाईरहनु भएको त छैन भन्ने पो शंका लाग्छ मलाई, गठबन्धन भित्र केही न केही राजनीति लुकेको छ, स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्छ ।’ त्यसपछि फेरी गठबन्धनको बैठकमा एकसरो ताली मज्जैसँग नै बज्यो ।
आफु राष्ट्रपति हुन र कांग्रेस–एमालेलाई घुक्र्याउनका लागि प्रचण्डले गठबन्धन बनाउन खोजेको वुझाई नेपालीले बैठक भित्र राखे, त्यो पनि प्रचण्डको सामु नै । उनले कुरा राखिरहदाँ कोही मुसुमुसु हाँसे पनि, कसैलाई त्यसमा स्वाद पनि प¥यो होला सायद । त्यसपछि उनले प्रस्टैसँग भने, ‘प्रचण्डजीले बोलाउनु भएकाले म यहाँ आएको हुँ, के कुरा रहेछ त भनेर वुझ्न पनि, तपाईहरुका कुरा सुन्दा सबै कुरा बुझियो, त्यसकारण अब म आउँदिन यो बैठकमा, माफ गर्नुहोला’ भन्दै पेरिसडाँडावाट नेपाली निस्किए ।
बैठक भित्र चाँही प्रचण्डका सामु केही बोल्न नसक्ने केही नेताले नेपाली बाहिर निस्के पछि ‘ठिक भन्नु भयो, आज हाम्रै मनको कुरा भनिदिनु भयो प्रचण्डलाई’ समेत भनेर प्रतिक्रिया दिएछन् । ‘हारेको चोट बिसाउने चौतारी हो, यो गठबन्धन’ भन्दै नियाउरो मुख लगाउनेहरु पनि पेरिसडाँडामा रहेछन भन्ने बैठक सकिए पछि नेता नेपालीले पनि चाल पाए छन् ।
उनले पंक्तिकारसँग सोमवार चाँही खुलेरै भने, ‘हुदै नभएको कुरा गरेछन हो म र मेरो पार्टीका बारेमा, यो त अराजनीतिक संस्कार भयो नि भाई, कि होइन ?’ त्यसै त्यसै खाउँला झै गरी झोक्किएका उनले पछि चाँही झोक्किनुको रहस्य पनि खोलेका छन् ।
भएछ के भने, बैठक सकिए पछि संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्री न्यौपानेले पत्रकारका सामु भनिदिए छन्, ‘आजवाट गठबन्धनमा मधेस समता पार्टी पनि थपिएको छ, गठबन्धनमा आउने दलको संख्या विस्तारै बढदैछ ।’ भित्र चाँही एउटा कुरा भएको छ, बाहिर आएर चाँही भित्र सबै कुरा सुन्ने नेताले नै पत्रकारका सामु अर्को कुरा गरेको देख्दा नेपाली पनि दंग खाएछन, साँझ घर (कलंकी) पुगेर टिभि हेरे पछि त ।
लालसलाम, अभिवादन, जय मधेस, जय स्वाभिमान, जय चुरेभावर !!!
No comments:
Post a Comment