नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले जारी केन्द्रीय समितिको बैठकमा पुष्पकमल दाहाल नेतृत्व एनेकपा माओवादी र संविधानसभा–२ दुबैको औचित्य नभएको भन्दै पेश गरेको राजनीति प्रतिवेदनमा केन्द्रीय समितिमा धारणा राख्ने क्रम जारी छ ।
पार्टी विभाजन देखी एमाओवादीलाई ‘नवसंसोधनवादी’को संज्ञा दिदै आएका बैद्यले सो पार्टी संविधानसभा–२ मा पहिलोवाट तेस्रो स्थानमा भर्नुमा उसकै ‘राष्ट्र तथा जनबिरोधी क्रियाकलाप र आफनो पार्टीको बहिस्कार आन्दोलन’ दुईवटा प्रमुख कारण रहेको प्रतिवेदनमार्फत किटान गरेका छन् ।
‘संविधानसभा निर्वाचनमा दुई तिहाई बहुमतको गुडडी हाँक्तै आएको नवसंसोधनवादी समुहले शर्मनाक पराजय भोग्नु परेको छ, त्यस समुहका पराजयका पछाडी मुख्यत दुई कारणले काम गरेका छन्,’ बैद्यले आफनो प्रतिवेदनको पृष्ठ २ मा उल्लेख गरेका छन्, ‘पहिलो– राष्ट्र तथा जनबिरोधी क्रियाकलाप, अतिदम्भ प्रदर्शनका कारण जनतामा नाङ्गिदै जानु र दोस्रो, नेकपा–माओवादीद्धारा सञ्चालित चुनाव बहिस्कार आन्दोलनको प्रभाव पर्नु ।’ संविधानसभा–२को निर्वाचन पछि पनि बैद्यले पार्टी विस्तारवादी, साम्राज्यवादी र नवसंसोधनवादी तीनवटा समुहको घेराबन्दीमा अझै पनि रहेकाले सर्तकता अपनाउनु पर्ने उल्लेख गरेका छन् ।
निर्वाचन परिणामले तेस्रो स्थानमा पु¥याए पछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत मंशिर ६ गते सार्वजनिक गरेको ‘संविधानसभा बहिस्कार’ गर्ने घोषणा प्रति पनि बैद्यले विश्वास भने गरेका छैनन् । सोही प्रतिवेदनमा बैद्यले भनेका छन, ‘यद्धपी, यस समुहले धाँदलीको कारण देखाउँदै संविधानसभा बहिस्कारको कुरा गरिरहेको छ, परन्तु सारमा त्यो आफ्नो पराजय माथी पर्दा हाल्दै पुरानो सत्ता तथा सरकारमा जानका लागि गरिएको बार्गेनिङ हो वा साँच्चै त्यस प्रक्रियाका बिरुद्ध संघर्षमा जानका लागि हो भन्ने कुरा अझै उजागर हुन बाँकी छ ।’ बैद्यले प्रतिवेदनमार्फत अझै पनि एमाओवादी ‘बैदेशिक शक्ति केन्द्र’को इशारमा चलि रहेको आरोप पुनः दोहो¥याएका छन् ।
‘नेपालमा भारतीय विस्तारवादी तथा कतिपय साम्राज्यवादी शक्ति केन्द्रहरुको चलखेल, हस्तक्षेप एवम नवऔपनीबेशिक उत्पीडन तीव्र रुपमा बढदै गएको छ, उनीहरुले नेपाली क्रान्तिलाई ध्वस्त पार्नका लागि जनयुद्धको उत्कर्ष काल देखी १२ बुदेँ सहमति तथा विस्तृत शान्ति सम्झौता हुदैँ अहिलेसम्म आउँदा अनेकौं षडयन्त्रमुलुक गुरु योजना तथा डिजाइन तयार पार्दै आएका छन्’ बैद्यले उल्लेख गरेका छन, ‘उनीहरुद्धारा नवसंसोधनवादीहरुलाई नेतृत्वको प्रलोभन दिएर क्यान्टोन्मेन्ट भित्रको जनमुक्ति सेनालाई नेपाली सेनाद्धारा कब्जा गर्न, संविधानसभा भङ्ग गर्न र खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार बनाई दोस्रो संविधानसभाको निर्वाचन गर्न लगाईयो ।’
यसरी भएको निर्वाचन पछि संंविधानसभा–२ मा ‘पश्चगामी र यथास्थीतिवादी’ शक्तिको दुई तिहाई पुगेकाले त्यसको स्वरुप ‘प्रतिगामी’ भएको जिकिर गर्दै बैद्यले त्यसको औचित्य नभएको दावी गरेका छन् । ‘संविधानसभामा पश्चगामी र यथास्थीतिवादी शक्तिको उपस्थिीति दुई तिहाई भन्दा बढी भइसकेको अवस्था छ, यसस्थीतिमा अव संविधानसभा स्पष्टै देखिने गरी माओवादीसहित आन्दोलनकारी शक्तिहरुको हातवाट खोसिन पुगेको छ र यसलाई प्रतिक्रान्तिको रुपमा लिनु पर्छ’ बैद्यले प्रतिवेदनमा भनेका छन, ‘अव संविधानसभावाट जनताको संविधान बन्नै नसक्ने कुरा सुस्पष्ट छ, र संविधानसभाको स्वरुप प्रतिगामी बन्न गएको छ, अब संविधानसभाको औचित्य छैन ।’ संविधानसभाको औचित्य नभएको भन्दै बैद्यले त्यसको बिघटनको माग पनि अगाडी राखेका छन् ।
‘जनयुद्धको जगमा जनबिद्रोह’ पार्टीकोे मुल कार्यदिशालाई पुनः जोड गरे पनि बैद्यले तत्कालका लागि भने बार्ता र संबादलाई भने निरन्तरता दिने प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘बार्ता र संबादको माध्यमवाट बैदशिक हस्तक्षेप तथा षडयन्त्रममुक्त नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निमार्ण, संविधानसभाको बिघटन, अधिकार सम्पन्न उच्चस्तरीय तथा सर्वपक्षिय राजनीतिक सभाको आयोजना, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निमार्ण र राष्ट्रिय स्वाधिनता तथा सार्वभौमसत्ताको रक्षाका कामलाई नै तत्कालिन राजनीतिक कार्यदिशाको रुपमा लिनु पर्छ ।’ संविधानसभा–२ को निर्वाचन पछि माओवादी बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदय भएको दावी पनि प्रतिवेदनमा पेश गरेका छन् । जारी केन्द्रीय समितिको बैठक बिहिवारसम्म चल्नेछ ।
"पार्टीको एउटा हिस्साले बन्द सफल बनाउन खोजेन"
पोखरा बैठकको निर्णय अनुसार निर्वाचन अघि घोषणा गरिएको बहिस्कार आन्दोलन र आमहडताल सफल भए पनि त्यसमा कमजोरी भएको बैद्यले स्विकार गरेका छन् ।
बैद्यले आमहडतालको क्रममा पार्टीको एउटा ठुलो हिस्साले सहयोग नगरेको प्रतिवेदनमा औल्याएका छन् । तर, उनले कुन हिस्साले बहिस्कारमा निष्क्रिय भएको हो ? त्यो भने खुलाएका छैनन् । ‘बहिस्कार आन्दोलनको प्रक्रियामा पार्टीको एउटा हिस्सा निष्क्रिय तथा रक्षात्मक मानशिकतामा देखियो,’ बैद्यले त्यसको परिणाम उल्लेख गर्दै भनेका छन, ‘ बहिस्कार आन्दोलनको अन्तिम चरणमा ावाश्यक्ता अनुरुप जनपरिचालन र जनतालाई मतदान गर्नवाट रोक्नमा पनि केही कमी रहन गए ।’ उम्मेदवारी दर्ता गर्ने दिनमा नेपाल बन्द कार्यक्रम नराख्नु कमजोरी भएको उल्लेख गर्दै आमहडतालमा केही दुःखद घटना हुन पुगेका बताएका छन् । तर, सिंगो प्रतिवेदनमा ‘दुःखद घटना’का बारेमा भने कतै पनि माफी मागेको देखिदैन् ।
पार्टी संगठन र सञ्चालनको प्रक्रियामा माओवादी भित्र पनि बिचलन र समस्या देखिन थालेको बैद्यले किटानी गरेका छन् । ‘बुझाई, बोलाई र काम गराईमा एकरुपताको अभाव छ, कतिपय स्थानमा अनुशाषन पालना र कतै आर्थिक अनुशाषनका समस्या छन्,’ बैद्यले पार्टी भित्र देखा परेको समस्या बारे भनेका छन्, ‘यसैगरी पार्टीमा अराजकता, उदारता र संकिर्णताका पनि समस्या छन् ।’ पार्टीको प्रचारात्मक काम र आर्थिक ब्यवस्थापनमा पनि समस्या देखा पर्न सुरु गरेको उनको भनाई छ । त्यसको ब्यवस्थापनका लागि बैद्यले पार्टी भित्रको नयाँ आर्थिक योजना बनाई ‘बिशेष आर्थिक समिति’ बनाउन जारी केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेका छन् ।
No comments:
Post a Comment