Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, November 9, 2013

मध्य पुर्वी तराई देखियो, चाखलाग्दा र रोचक चुनावी दृश्य लेखियो–१

कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधिसँग जनकपुरमा 
दशै लगत्तै तिहारको अघिल्लो दिनसम्म करिब १३ दिन मध्य पुर्वी तराईका पाँच जिल्लाको रिर्पोटिङका लागि काठमाडौं छाडिएको थियो ।
नागरिकका स्थानिय सम्बाददाताहरुको सहयोगमा ५ जिल्लाका प्राय क्षेत्रमा टेकियो र चुनावी स्थीतिका बारेमा स्थलगत अवलोकन गरियो ।
सो अवलोकन भ्रमणका लागि महोत्तरीमा महेश दास, धनुषामा सुरेश यादव, सिरहामा मिथिलेस यादव, सप्तरीमा जितेन्द्रकुमार झा  र उदयपुरमा महेश्वर चाम्लिङले भरपुर सहयोग रहयो ।
जिल्ला भ्रमणको क्रममा देखिएका केही प्रतिनिधि र चाखलाग्दा दृश्यलाई समेटेर प्रकाश उज्यालोमा अर्को यो ब्लग तयार पारिएको छ ।
धनुषा....................................................................................................................................
धनुषा–४ स्थित बिन्धी गाविसको महरा टोलमा धाराको ‘ह्यान्डिल’ नभएको महिनौ भइसकेको रहेछ । धाराको ह्यान्डिल जग्गा धनीले लुकाए पछि सो दलित बस्तीमा पानी खान समस्या भएको रहेछ । चुनावमा भोट माग्दै गएका नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवलाई दलित समुदायको बाहुल्य रहेको महरा टोलबासी धाराको ह्यान्डिल हालिदिन आग्रह गरे । ‘नेताजीलाई धाराको ह्यान्डिल हालिदिन आग्रह गरेका छौ’ स्थानिय चन्द्र महराले नजिकैको धारा देखाउँदै भने, ‘एक जनाले रिसाएर ह्यान्डिल लुकाए पछि पानी खानै समस्या भएको यहाँ महिनौ भइसक्यो, माग्दा नदिए पछि नेताजीलाई भनेका हौ ।’ ५ सय जति मुल्य पर्ने धाराको ह्यान्डिल हाल्न पनि ‘समस्या’ भएको सो गाउँमा भोट माग्न आउने प्रत्येकजसो उम्मेदवारले ह्यान्डिलको मागको सामना गर्नु परेको छ । 
###                                                         ###                                             ###
जनकपुरको बजार क्षेत्र न. ४ मा सदभावना पार्टी र नेपाली कांग्रेसका सभापति रामसरोज यादवले उम्मेदवारी दिएका छन्, दुवै मुख्य प्रतिस्पर्धीमा देखिएका छन । जनकपुरवासी दुवै नेतालाई ‘डन’को संज्ञा दिन्छन् । ठेक्क पट्टामा दुवै पक्षको दावी रहन्छ । कहिले कस्ले जित्छ त, कहिले कस्ले ? ती दुवै नेताका कारण जनकपुरमा एक किसिमको त्रास रहेको अधिकांस जनकपुरवासी बताउँछन् । अघिल्लो पटक चुनाव जितेका साह र यादवको रोचक प्रतिस्पर्धा हेर्न लायक देखिन्छ । 
###                                                        ###                                             ###
क्षेत्रवाटै सिफारिस नभएका राष्ट्रपति रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवले टिकट पाए पछि कांग्रेसमा निकै किचलो बढेको छ । पार्टीका केन्द्रीय सदस्य तथा तरुण दलका निर्वतमान अध्यक्ष महेन्द्र यादव र क्षेत्रीय सभापतिले सहयोग नगरेको जनकपुरमा प्रशष्त सुनिन्छ । ‘चन्द्रमोहनजीको घर दैलो तथा टोल मिटिङमा गइरहेको छु, नचाहिदो हल्ला चलाइएको छ’ महेन्द्र यादव प्रतिवाद गर्दै भन्छन् । 
###                                                        ###                                               ###    
धनुषा–१ मा एकीकृत माओवादीका मधेस ब्युरो इन्चार्ज रामचन्द्र झा, जो एमालेको पोलिटब्युरो परित्याग गरी माओवादीमा प्रवेश गरेका, र सोही पार्टीका केन्द्रीय सदस्य तथा मिथिला राज्य समिति संयोजक जोगकुमार बरबरिया (श्रवण) यादव विचको प्रतिस्पर्धा हेर्न लायक छ । धनुषाको कर्णाली मानिने सो क्षेत्रमा दुवै मुख्य प्रतिस्पर्धी छन्, अरु दुई नेताको पछि छन् । दोहोरो नागरिकता लिएको भन्दै सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन रहेका झालाई केन्द्रित बनाएर यादवले चुनावी नारा नै तय गरेका छन्, ‘बिदेशीलाई हराऊ, क्रान्तिकारी नेपालीलाई जिताउँ ।’ यादवलाई जिताउने भन्दा पनि झालाई हराउने गरी माओवादीका युद्धकालिन, एमाले, कांग्रेसलगायतका स्थानीय नेता एकजुट भएको दृश्य प्रशष्त देखिन्छ । झा भन्छन, ‘श्रवणले हाम्रो घर दैलो कार्यक्रममा अबरोध गरिरहेका छन्, त्यसकारण उनलाई गिरफ्तार गरिनु पर्छ ।’ उता यादव भन्छन, ‘झाले हार्ने निश्चित भए पछि उनी तिल्मिलाएका छन्, हामीले जता जता कार्यक्रम राख्यो, उत्तैउत्तै आएर झा सद्यै जसो निऊँ खोजिरहेका छन् ।’ कात्र्तिक १३ गते बलुवा–७ कुम्भकर्ण टोलमा एउटै पार्टीका झा र यादव (सो घटना पछि पार्टीवाट निष्काषित) पक्षधर विच झडप नै भयो, जहाँ झा पक्षधर ७ जना गम्भिर घाइते भए । झा दुई जना पिएसोओ सहित प्रहरीको सहारामा घरदैलो गरिरहेका छन भने यादवसँग न सुरक्षाकर्मी थिए, न त पिएसओ नै । तर पनि स्थानिय जनता घरवाटै सातु र चिउरा ल्याएर श्रवण पक्षको भोट मागिरहेको दृश्य त्यहाँ देखिन्छ ।
श्रवण यादवको टोलीले आक्रामण गरे पछि रामचन्द्र झा यही घरमा लुकेर बसका थिए, घटना लगत्तै पुगेका हामीलाई सो वारे जानकारी दिदै

###                                                    ###                                                   ### 
धनुषा–६ मा माओवादीले रामवृक्ष यादवकी छोरी बोधमाया यादवलाई उम्मेदवारी दिलाएको छ । तर, क्षेत्रीय इन्चार्ज बिन्देश्वर कापडसहितले प्रेस बिज्ञप्ति नै निकालेर आपत्ति जनाएका रहेछन र उम्मेदवारसँग प्रचार प्रसारमा नै नहिडेको देखियो । ‘केन्द्रले सिफारिस गरेकालाई उम्मेदवार नबनाइ सिरहावाट बोधमायालाई उम्मेदवार बनाए पछि प्रेस बिज्ञप्ति निकालेर बिरोध जनाएका हौं’ मिथिला राज्य सदस्य योगेश्वर यादवले सुनाए । हुन त सो क्षेत्रवाट अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिने पक्कापक्की थियो तर मधेस ब्युरो इन्चार्ज झा, मिथिला राज्य इन्चार्ज विश्वनाथ साह, केन्द्रीय सदस्य हरिबोल गजुरेलका कारण दाहालले सो क्षेत्र छोडनु परेको स्थानिय नेताको वुझाई छ । शाहीकालमा जिल्ला सभापति भएका बलराम सुबेदीलाई टिकट दिलाउनका लागि त्रय नेताले दाहाललाई सिरहा पठाएको स्थानिय माओवादीका एक जिम्मेवार नेताले बताए । ‘प्रचण्ड यहाँवाट लडने कन्फर्म जस्तै थियो तर यहाँवाट पार्टीका मान्छेले नै लडन दिएनन्’ यादवले भने, ‘जसलाई टिकट दिलाउने प्रयास थियो, उस (सुवेदी)लाई केन्द्रले टिकट नदिई सिरहावाट ल्याएर बोधमायालाई उठाइयो ।’ बोधमायाले टिकट पाए पछि सुबेदी भने बागी उठिदिएका छन् । जसकारण अघिल्लो संविधानसभामा बिजयी धनुषाको एक मात्र क्षेत्र माओवादीका लागि संकटपुर्ण भएको छ । 
###                                                    ####                                                 ###
धनुषाका ७ वटा क्षेत्र मध्ये ४ वटामा माओवादीले नवप्रवेशीलाई टिकट दिएको रहेछ । १ नम्बरमा एमालेवाट आएका रामचन्द्र झा, ३ नम्बरमा एमालेवाटै आएका हरिदेव मण्डल, ४ नम्बरमा फोरम लोकतान्त्रिकवाट आएका अरबिन्द साह र कांग्रेसवाट आएका बिजय यादवलाई ५ नम्बर क्षेत्रवाट उठाएको छ । नवप्रवेशी उम्मेदवार तथा क्षेत्र र जिल्लावाटै सिफारिसमा नपरेका जिल्ला इन्चार्ज रामचन्द्र मण्डल र मधेस इन्चार्ज झाका कारण माओवादी भित्र आन्तरिक किचलो अरु जिल्लामा भन्दा धनुषामा बढी देखिन्छ । 
क्षेत्र नम्बर ७ का कांग्रेस उम्मेदवारका बिरुद्ध समिर घिमिरेले बागी उम्मेदवारी दिए पछि कांग्रेसमा समस्या देखा परेको केन्द्रीय सदस्य बिमलेन्द्र निधिले बताए ।
एमालेका प्रभावशाली मानिने झा र मण्डल माओवादीमा प्रवेश गरे पछि एमाले कमजोर होला भन्ने आंकलन गरिएको छ ।

सप्तरी.............................................................................................................................................
अघिल्लो निर्वाचनमा सप्तरीमा मधेस केन्द्रित दल ५ वटा क्षेत्रमा (एक स्वतन्त्र बिजयी स्वर्गिय सरुदल मिया) हावी भए पनि आसन्न निर्वाचनमा एमाओवादी, कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धीका रुपमा देखिन पुगेका छन् । सदभावनाका संस्थापक गजेन्द्र नारायणको गृह जिल्लामा सदभावना, फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि प्रतिस्पर्धामा छन् । अचम्म त यो देखियो कि सप्तरी–६ मा दलित जनजाती पार्टीका मोहम्मद इश्लाम मियाले राष्ट्रिय र क्षेत्रीय दुवै स्तरका पार्टीलाई टक्कर दिइरहेका रहेछन् ।
###                                                                  ###                                                   ###
सप्तरीमा सबैभन्दा बढी बिबाद कांग्रेस भित्र देखिन्छ । जिल्ला समितिका पदाधिकारीमा सभापति दिनेश यादव मात्रै बाँकी छन भने उपाध्यक्ष निरु पोखरेलसहित अन्य पदाधिकारीले राजिनामा दिएको र कोषाध्यक्ष शम्भु झा फोरम नेपालको उम्मेदवार भए पछि कांग्रेसका पार्टी संगठन भताभुङ्ग छ । ‘टिकट नपाएर राजिनामा दिएका हुन र अन्य पार्टीवाट उम्मेदवार भए पनि सप्तरीमा कांग्रेस कमजोर छैन’ सभापति यादव अझै यसो भन्छन् । तर, पनि सप्तरी–४ मा स्वयं यादव र ५ नम्बर तेजुलाल चौधरी प्रतिस्पर्धीमा गनिएका छन् । काठमाडौंमा नाइटिंगेल कलेज चलाएर बसेका चौधरीलाई टिकट दिए पछि स्थानिय नेता छेदी चौधरीले बागी उम्मेदवारी दिएर उनलाई संकटमा पारिदिएका छन् । 
###                                                           ###                                                      ###
अघिल्लो चुनावमा एक सिट पनि ल्याउन नसकेको एमाओवादी आसन्न निर्वाचनमा तीन क्षेत्रमा मुख्य प्रतिस्पर्धीमा गनिन पुगेको छ । क्षेत्र नम्बरमा १ मा एमालेवाट गएका मानपुर चौधरी, २ नम्बरमा अशोक मण्डल र उमेश यादव ३ नम्बर क्षेत्र (सदरमुकाम राजबिराजसमेत पर्ने)मा प्रतिस्पर्धी मानिएका छन् । उम्मेदवार छनौट भइरहेको बेला टिकट पाउने आशामा एमाओवादीमा प्रवेश गरेका सुर्यनारायण मण्डलले टिकट नपाए पछि पार्टी प्रवेश गरेको एक हप्तामा बागी उठेको दृश्य सप्तरीमा देखियो । यसैगरी, सप्तरीका माओवादीका प्रभावशाली नेता तथा पुर्वसभासद सुर्यनारायण यादवले फोरम नेपालवाट उम्मेदवार दिएकोले पनि माओवादीलाई संकट छ । ‘यसपाली माओवादी मुख्य प्रतिस्पर्धी हुन सकेको छ, हामी आधा भन्दा बढी जित्छौ’ ३ नम्बरका उम्मेदवार उमेश यादवले भने । हुन त, यादव पार्टीका कारण भन्दा ब्यक्तिगत छवीका कारण चुनावी प्रतिस्पर्धामा रहेको भन्नेहरु राजबिराजमा धेरै भेटिन्छन् ।
###                                                              ###                                                   ###
एमाले र मधेसवादी दलमा टिकट बितरणमा खासै समस्या सप्तरीमा देखिएको छैन् । क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार सुमनराज प्याकुरेल, ५ मा गोबिन्द न्यौपाने र ४ मा ताराकान्त चौधरी मुख्य प्रतिस्पर्धी मानिएका छन् । तर, प्याकुरेललाई भने पुर्व एमाले (हाल माओवादी उम्मेदवार) मानपुर चौधरीले संकटमा पारिदिएका छन् । मधेसवादी दलमा जिल्ला भरीमा नै त्यति समस्या देखिएको छैन । जस्तो कि ‘चुनावमा उठदिन भनेको थिएँ, पार्टीले निकै अनुरोध गरे पछि उठनै प¥यो भनेर उठेको हुँ’ तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्र नम्बर–१ का उम्मेदवार गिरिशकुमार सिंहले राजबिराजमा सुनाए । 

बिगतमा भुमिगत सशष्त्र आन्दोलन गरेका जनतान्त्रिक तराई मुक्ति टाइगर्सका अध्यक्ष ‘स्वामीजी’ संविधानसभा निर्वाचन भने उम्मेदवार छन्  
###                                                         ###                                                      ###
सप्तरीमा रेणु यादव र मृगेन्द्रकुमार सिंह यादवको पारिवारिक राजनीतिको दबादबा देखिदै आए पनि आसन्न निर्वाचन दुवै परिवारका लागि निकै खतरायुक्त छ । ‘दुवै परिवारका सदस्य एक अर्का बिरुद्ध उम्मेदवारी दिएका छन, जसले यी दुई ठुला परिवारका सदस्यलाई चुनाव जित्न मुश्किल हुन सक्ने देखिन्छ’ स्थानिय सञ्चारकर्मी श्यामसुन्दर यादव भन्छन् । जस्तो कि सप्तरी–६ मृगेन्द्रले फोरम लोकतान्त्रिकवाट उम्मेदवारी दिएका छन भने उनका सहोदर भाई अनिरुद्रप्रसाद सिंहले सोही क्षेत्रमा फोरम नेपालवाट उम्मेदवारी दिएका छन् । जसको फाइदा दलित जनजाति पार्टीका मोहम्मद इश्लाम मियाँले लिइरहेको स्थानिय रामपुकार यादव बताउँछन् । 
रेणुको परिवारका मात्रै बुहारी लत्ता यादवसहित चार जना नातेदारले विभिन्न पार्टीवाट उम्मेदवारी दिएका रहेछन् । जयप्रकाशप्रसाद गुप्ताको गृह जिल्लामा उनको चुनावी प्रभाव देखिदैन तर राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, फोरम लोकतान्त्रिक, फोरम नेपाल पनि त्रिपक्षीय प्रतिस्पर्धामा भने देखिन्छन् ।

उदयपुर.........................................................................................................................................
एमालेको गढ मानिने उदयपुरलाई अघिल्लो निर्वाचनमा एमाओवादी र कांग्रेसले नराम्रोसँग भत्काइदियो । ‘हामी उदयपुरमा शक्तिशाली रुपमा नै ‘कम ब्याक’ हुदैछौं’ जिल्ला अध्यक्ष बेदप्रसाद पोखरेलले दावी गरेका त छन । तर, क्षेत्र नम्बर दुई (गाइघाटसमेत पर्ने) सो क्षेत्रमा प्रभावशाली नेता बलबीर चौधरीलाई टिकट नदिई मञ्जु चौधरीलाई टिकट दिए पछि एमालेलाई घाटा लागेको भन्ने एमालेजन गाईघाटमा थुप्रै भेटिए । एमालेसँगै विभाजन भएको संघीय समाजवादीले एमालेलाई धेरै घाटा गराउने भएकाले एमाओवादी र कांग्रेस भने चुनावी रेसमा अगाडी रहेको गर्ब गरिरहेका छन् । 
###                                                           ###                                                    ###                                
उदयपुर १ नम्बरमा कांग्रेसका नारायण खड्का, २ नम्बरमा माओवादीका हिमाल राई र ३ नम्बरमा एमालेका जगन्नाथ खतिवडा निकै अगाडी रहेको स्थानियको भनाई छ । २ नम्बरमा संघीयका सिद्धान्त राई र राप्रपाका हरीबहादुर थापा पनि प्रतिस्पर्धीमा गनिएका उम्मेदवार देखिए । दुई नम्बरका सभासद मणी खम्बु नेकपा–माओवादीमा गएको र किराँत राज्य समितिका इन्चार्जसमेत रहेको राई सो क्षेत्रको निवासी नरहेको भन्दै बिपक्षीले चुनावी एजेन्डा बनाएको देखियो ।
###                                                          ###                                                     ###
तीननवटा निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा एमाओवादी, कांग्रेस र एमाले तीन दल मुख्य प्रतिस्पर्धामा छन् भने चौथौ प्रतिस्पर्धीका रुपमा संघीय समाजवादी रहेको छ । अध्यक्ष अशोक राईले दुई पटक लडेर पराजित भएको उदयपुरमा संघीय समाजवादीको अवस्था कस्तो छ ? उनकै पार्टी जिल्ला एक सचिवालय सदस्यले भनेको यो भनाई पर्याप्त देखियो– ‘हाम्रो पार्टी बिजयी त हुदैन तर सानदारसहित पराजय हुन्छौ,’ नाम उल्लेख नगर्ने सर्तमा ती सदस्यले भने, ‘यसको मतलव हो, हाम्रो पार्टीको जमानत जफत भने हुदैन ।’

(एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र सिरहा–५ सहित सम्पुर्ण जिल्ला र शरदसिंह भण्डारीको गृह जिल्ला महोत्तरीमा अझ यी भन्दा रोचक दृश्य देखिएको थियो, जो अर्को पटकको ब्लगमा )

No comments:

Post a Comment