Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, September 28, 2013

प्रचण्डकी छोरी माथी नै अन्तर्घात हुने देखियो र त यो लेखियो !

प्रचण्डपुत्री रेणु दाहाल, काठमाडौं–१
एकीकृत नेकपा माओवादी नेवाः राज्य समितिले अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल काठमाडौ–१ मा प्रत्यक्षका लागि सिफारिस गरिसकेको छ । कुनै चमात्कार भएन भने सो क्षेत्रमा रेणु नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहसँग चुनावी मैदानमा प्रतिस्पर्धामा आउने नै छिन् । काठमाडौंका स्थानीय भन्दा पनि अन्य जिल्लाका नेतालाई काठमाडौंवाट उठाउन लागे पछि बागी उम्मेदवारी दिने चर्चा र तयारी एकीकृत माओवादी भित्रै सुरु भइसकेको छ । कृष्णवहादुर महरा, लिलामणी पोखरेल, देवेन्द्र पौडेल, नन्दकिशोर पुन, रेणुसहित अधिकांस बाह्य जिल्लाकालाई उम्मेदवार, जसलाई स्थानिय माओवादीले टुरिस्ट उम्मेदवार भन्छन,को टिकट दिने भए पछि नेवाः राज्य समितिमा ब्यापक असन्तुष्टी देखा परेको छ । आन्तरिक बैठक र नेताहरुसँग टुरिष्ट उम्मेदवार स्विकार नगर्ने भनिरहेका त थिए नै, एकजना स्थानिय नेताले पत्रिकामा लेख नै लेखेर त्यसको बिरोध जनाए । एकीकृत नेकपा माओवादी भित्र नयाँ बहस सुरु भएको छ । बास्तबमा त्यो लेख के थियो त ? किन त्यसले माओवादी भित्र हलचल ल्यायो ? त्यसैलाई यहाँ उल्लेख गर्ने कोशिश गरेको छु ।
#################################################################################
आगामी मंसिर ४ गते हुन लागेको संविधानसभा निर्वाचन तिथि जति नजिकिँदै छ, त्यत्ति नै उम्मेदवार बन्ने होड पनि चलिरहेको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेजस्ता ठूला वा राष्ट्रिय पार्टीमा मात्र होइन, ससाना र क्षेत्रीय पार्टीमा समेत उम्मेदवार बन्न ठूलै प्रतिस्पर्धा देखिएको छ । यसको व्यवस्थापन कसरी गर्ने भनेर हरेक दलका नेता तथा कार्यकर्ताका लागि यतिबेला टाउको दुखाइको विषय बनेको छ ।
संसदीय राजनीति गर्नेहरूका लागि निर्वाचन जीवनमरणको लडाइँ हो । निर्वाचनमा उम्मेदवार पाउन र जित्न उनीहरूले सबैथोक गर्छन् । टिकट पाउन शीर्ष नेतालाई भेट्न काठमाडौंमा धुइरो नै लागेका छ । दबाब खेप्न नसकेर नेताहरूले कार्यकर्तालाई भेट्नसमेत बन्द गरेको अवस्था छ, यतिबेला । यो रोग क्रान्तिकारी पार्टी एमाओवादीमा त निकै सल्केको छ । क्रान्तिकारीहरूका लागि संविधानसभा साधन हो । अर्थात्, यो संघर्षको मोर्चा हो । हामीलाई सिकाएको र हामीले सिकेको कुरा यही हो । के गर्दा जनतासँग जोडेर यो मोर्चालाई प्रभावकारी बनाउन सकिन्छ, त्यसै गर्ने हो ।
समाजवादमा समेत निरन्तर क्रान्ति हुनुपर्छ भन्ने हाम्रा लागि अहिलेको संविधानसभा साध्य हुने कुरा होइन, संघर्षको साधन नै हो । तर, एमाओवादीको उम्मेदवार बनाउने चर्चा सुन्दा लाग्छ, नेता र उनका आसेपासेबाहेक यो मोर्चामा इमानदारहरूको कुनै स्थान छैन । एमाओवादीले काठमाडौं जिल्लामा संविधानसभामा उम्मेदवार बनाउन चाहेको व्यक्तिको नाम एक हदसम्म सार्वजनिक भइसकेको छ । पार्टीनिकट स्रोत र सञ्चार माध्यममा आएको समाचारअनुसार उम्मेदवार बनाउन लागेका व्यक्तिको नाम जानकारी भएपछि त्यसले इमानदार कार्यकर्तालाई झस्कायो ।
मसमेत निकै झस्किएँ । म जसरी नै धेरै स्थानीय साथीहरू तरंगित हुनुभएछ । चारैतिरबाट मलाई फोन आयो । अधिकांश कमरेड र मित्रको जोड थियो, ‘विद्रोह गर्ने साहस गर ।’ सञ्चार माध्यममा आएको नामबारे नेताहरूलाई सोधें, सबैले लगभग यही हो भने हाम्रो उम्मेदवार बनाउने नेता भन्ने जवाफ दिए । त्यसपछि मैले एमाओवादीका इमानदार कार्यकर्ता र मित्रहरूको आग्रहलाई स्वीकार गर्दै विद्रोहका लागि तयार भएँ । अर्थात्, अब म काठमाडौं–६ बाट आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार बन्ने अन्तिम निर्णयमा पुगेको छु ।
काठमाडौं–६ का जनताको पीरमर्का सम्बोधन गर्न सक्ने कुनै हैसियत नभएका र गर्नै नचाहने व्यक्तिलाई उम्मेदवार बनाउदा विद्रोह गर्नु अनिवार्य थियो । त्यसैले, गरियो विद्रोह । यो मेरो कुनै लहड वा महŒवाकांक्षा होइन । मेरो उम्मेदवारीमा केही सैद्धान्तिक प्रश्न छन् । पार्टी र संयुक्त मोर्चाको सञ्चालनमा नयाँ विधिको विकास गर्नैपर्छ । सर्वहारा वर्गको पार्टी मुख्य हो, त्यसमा जोड गर्नुपर्छ । सर्वहारा वर्गको पार्टीलाई मोर्चाका रूपमा चलाइनुहुन्न । निःस्वार्थ रूपमा जनता र राष्ट्रको सेवामा लामो समय लागेको व्यक्तिलाई पार्टीमा प्राथमिकता दिनुपर्छ ।
जाति, क्षेत्र, लिंगको संकीर्ण चिन्तनबाट पार्टीलाई माथि उठाउनैपर्छ । जहाँसम्म मोर्चाको कुरा हो, त्यसमा लचिलो नीति लिनुपर्छ । सबै मनोविज्ञानलाई जोड्ने ढंगले सोच्नुपर्छ । हाम्रो आन्दोलनमा यो धेरै खड्किएको विषय हो । म आफैं पनि माओवादी संघर्षमा जोडिएको दुई दशक भएछ । काठमाडौंको श्वेत इलाकामा जन्मिएको र हुर्किएको व्यक्तिले नयाँ जनवादी राज्यसत्ताका लागि सशस्त्र संघर्षमा जोडिनु धेरै कठिन हो, हामी धेरै कमरेड यसमा जोडियौं । वर्गसंघर्ष उत्कर्षमा पुगेको ठाउँमा धेरै नेता जन्मिए । हामीले तिनलाई मान्यौं पनि ।
एउटा व्यक्तिको मात्र कुरा गर्दा काठमाडौंको व्यक्तिले जोखिमपूर्ण संघर्षमा बिताएको २० वर्षको समय चानचुने होइन । मैले यहाँ मेरो मात्र कुरा गरिरहेको छैन । जनयुद्धमा लामबद्ध हुँदा गंगा लामाको एउटा गोडा नै गुमेको छ । उहाँसमेत अहिले पार्टीको उम्मेदवारको चर्चामा हुनुहुन्न । युद्धकालमा इमानदारीका साथ हिँड्ने हामीजस्तालाई अब पार्टीका नवधनाढ्यहरूले पाखा लगाउने योजना नै बनाइसकेका रहेछन् । काठमाडौंमा स्थानीय नेताहरू कम्युनिस्ट आन्दोलनमा स्थापित किन हुन सकेनन् भन्ने विषय गम्भीर होइन ? जोखिमपूर्ण संघर्षमा यहाँको थुप्रै कार्यकर्ता सहादत भए । अपांग भए । जेलनेल भोगे । तर, जब मोर्चा र सत्ता सञ्चालन गर्ने कुरा आउँछ, तब ‘टुरिस्ट’हरू खोजिन्छ ।
यहाँका नेता तथा कार्यकर्तालाई स्थापित गर्न पार्टीले कुनै प्रयत्न गरेको छैन । मोर्चाको जिम्मा दिँदा स्थानीयलाई नै प्राथमिकता दिनुपर्छ । काठमाडौंका कमरेडहरूलाई बागलुङ, रोल्पा, चितवन लगेर संयुक्त मोर्चाको भूमिका दिँदा त्यो प्रभावकारी हुनै सक्तैन । यसो भनेर मैले निरपेक्ष स्थानीयतावादको कुरा गरेको होइन । तर, जनता र कार्यकर्ताको मनोविज्ञानको कुरा हो यो । एमाओवादीका वरिष्ठ नेताको श्रीमती र आफैं पनि नेतृ भएकीले हिसिला यमीले काठमाडौंबाट उम्मेदवारी पाएकी छन् । नत्र, काठमाडौंका १० ओटा निर्वाचन क्षेत्रमध्ये नौ ओटामा ‘टुरिस्ट’ उम्मेदवार प्रस्तावित छन् ।
यो कसरी स्वीकार्न सकिन्छ ? २०४८ सालमा नेपाली कांग्रेसका सर्वाेच्च कमान्डर गणेशमान सिंहकी श्रीमती मंगलादेवी र छोरा प्रकाशमान सिंहलाई निर्वाचन उठाउँदा काठमाडौंका जनताले ठाडै अस्वीकार गरे । गणेशमानको श्रीमती र छोरा मात्र नभएर दुवैजनाको आन्दोलनमा विशिष्ट योगदान थियो र दुवैजना स्थानीय पनि थिए । तर, एमाओवादीका अध्यक्ष प्रचण्ड र छोरी रेणु दाहाल दुवै जना काठमाडौंबाट टुरिस्ट उम्मेदवारका रूपमा अहिले प्रस्तावित छन् । प्रमुख नेता भएकाले प्रचण्डसम्मलाई त जनताले स्विकार्लान्, तर रेणुलाई किन स्विकार्ने ? माओवादी आन्दोलनले सिकाएको सबैभन्दा मुख्य कुरा भनेको अन्यायविरुद्ध विद्रोह गर्नु हो । त्योभित्र र बाहिर दुवैतिर हो ।
घुँडा टेकेर होइन, उभिएर कुरा गर्न सिकिएको छ । अहिले त्यसैको उपभोग गरिँदै छ । निर्वाचन क्षेत्रबाट नै आफ्नो प्रतिनिधि छनोट गर्ने विधिको विकास गरे विद्रोह हुँदैन । भए पनि त्यो परास्त हुन्छ । यो विधि अपनाए हरेक जनप्रतिनिधिले नेतातिर होइन, जनतातिर फर्कनेछ । जनताप्रति जवाफदेही बन्नेछ । विचार, विधि र प्रक्रियाबारे नेतृत्वले सोच्ने हो । पात्रबारे ध्यान दिनुहुँदैन । यो कुरा एमाओवादीका लागि त जरुरी नै छ । कांग्रेस र एमालेका नेताहरूले समेत सिक्ने हो भने गणेश प्रवृत्तिको बोलवाला हुँदैन । निर्वाचनमा टिकट लिन नेताकोमा धाउँदैनन् ।
तर, एमाओवादी नेतृत्वमा पछिल्लो समयमा आफू र आफ्नै परिवारका लागि जनतालाई मानहानि गर्ने काम भइरहेको छ । हामीजस्ता इमानदार कार्यकर्तालाई नेतृत्वको यो शैली स्वीकार्य छैन । त्यसैले, विद्रोहका लागि तयार भइएको छ ।
(काठमाडौंका स्थानिय नेता माधवप्रसाद तिमल्सिनाले राजधानी दैनिकमा लेखेको लेख साभार गरिएको हो )

No comments:

Post a Comment