Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, May 28, 2013

संविधानसभा विघटन हुन चार महिना अघि नै माओवादीले भनेको थियो, ‘संबिधान बन्दैन्’

पाँच वर्षे पत्रकारिता उमेरमा धेरै समाचार लेखियो, धेरै स्कुप पनि हानियो । तर, केही समाचार यस्ता हुन्छन, जो निकै यादगर हुन्छन्, ती मध्ये आफुले लेखेका यो समाचार पनि निकै महत्वपुर्ण थियो । संविधानसभा विघटन हुनु चार महिना अघि नै माओवादीको केन्द्रिय समितिको वैठकले निष्कर्ष निकालेको थियो, ‘संविधानसभावाट संविधान बन्नै सक्दैन् ।’ अन्ततः माओवादीले भने झै संविधानसभावाट संविधान बन्न सकेन् । आम जनताको अपेक्षा बिपरित अभिन्न अङ्ग बनिसकेको संविधानसभा चार महिना पछि मध्यरातमा विघटन भयो, यो नेपालको इतिहासमा निकै दुःखद राजनीतिक घटना थियो ।
खैर, विघटन हुन भइसक्यो, त्यसमा चिन्ता गरेर हुन्न, हामीले अब सोच्ने भनेको आगामी संविधानसभालाई कसरी सफल पार्ने ? भन्नेमा नै हो । म त्यो समाचार लेखिएको प्रसङ्ग यसकारण याद गरिरहेको छु कि आजैका दिन संविधानसभा विघटन गरिएको थियो, मैले विघटन हुनु चार महिना अघि लेखेको मुख्य समाचार अन्ततः पुष्टी भएको थियो ।
म त्यतिबेला राजधानी दैनिकमा काम गर्थे । संयोगबस, म त्यो दिन कार्यालय, कुपोन्डलमा चाँडै पुगे । सँगैसँगै छ, तत्कालिन एनेकपा माओवादीको नेवाः राज्य समितिको कार्यालय पनि (हाल त्यो कार्यालय बैद्य माओवादीको भागमा परेको छ) । त्यतिबेला माओवादी विभाजन भइसकेको थिएन । लामो (करिब १ महिना) केन्द्रिय समिति वैठकमा चलेको अन्तसंघर्ष पछि माओवादी पुनः मिलेको जस्तो देखिएको थियो । र, पार्टी एक भएको जर्बजस्ती सन्देश दिइरहेको थियो । छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका बैद्य र प्रचण्ड सोही बैठक पछि पुनः एकै ठाउँमा उभिन पुगेका थिए ।
१० माघ २०६८ । एकजना माओवादी साथीलाई मैले कुपोन्डल कार्यालयवाट फोन गरे, भेटनका लागि । ‘म त प्रशिक्षणमा छु यार, यतै आउनु न’ भन्दै उत्तै बोलायो । माओवादीले नेवाःको कार्यालयमा आन्तरिक गोप्य प्रशिक्षण राखेको रहेछ र उ त्यही प्रशिक्षणमा थियो । म सरासर त्यहाँ गए । हल भित्र मान्छे भरी भराऊ थिए । उसको मेरो आँखा जुध्यो तर केही पनि बोलेनौ । अचानक, उसले हल भित्र पस्न इशारा ग¥यो । मुल ढोकामा वाइसीएलको चेकजाँच छ, पस्ने कसरी ? मुटु ढुकढुक भयो । ‘पक्राउ परियो भने त कुटेरै मार्छन माओवादीले’ सोचेर डर पनि लाग्यो । उसले भने जस्तो गरी सजिलो गरी पस्न सकिदैनथ्यो तर उसले इशारा भने गर्न छाडेन । भित्र पस्यौ कि नपसौं ? मनमा दोधार भइरहयो । तर पस्नु महत्वपुर्ण थियो मेरा लागि । किनपनि भने, त्यो गोप्य प्रशिक्षण थियो । माओवादी बिट हेर्दाहेर्दा के थाहा भइसकेको थियो भने माओवादी बाहिर जे बोल्छ, भित्र चाँही त्यही हुदैन् । माआवादीको भित्र अर्कै पाकिरहेको हुन्छ, जो बाहिर हतपति आउन सक्दैन् । त्यसैले यहाँ केही पाकिरहेको छ भन्ने अनुमान गर्न मलाई कुनै गा¥हो थिएन । लाग्यो, यो मौका मैले चुकाउनु हुदैन । अनि भित्रै देखी साहास गरे र पछाडीको ढोकातर्फ बढे ।
ढोकैमा कडा चेकजाँच गरिरहेको वाइसीएलतर्फ फर्केर हात उठाए र भने, ‘लाल सलाम कमरेड ।’ ऊ मुसुक्क हाँस्यो र हात उठायो अनि भित्र जान इशारा ग¥यो । र भन्यो, ‘भित्र ठाउँ प्याक छ, मिलेर बस्नु होला ।’ त्यसपछि बिलम्ब नगरी भित्र पसे, भित्र पस्दा त चिनिएका अरु कमरेड पनि त भेटिए । उनीहरुलाई थाहा छ, ‘हामीसँगै एकजना पत्रकार पनि पसेको छ, यसले पार्टीका गोप्य योजना सवै थाहा पाउने भो भन्ने ।’ तर, ती मेरा मित्र कमरेड थिए, केही पनि भनेनन । उनीहरुले न त मसँग बोलचाल गरे, न त कुनै इशारा नै । बस, आँखा जुध्यो, अरु केही भएन् । 
अगाडी मञ्चमा महासचिव रामवहादुर थापा बोलिरहेका थिए । सँगसँगै, सो कार्यक्रमा नारायण दाहाल, सुर्य सुवेदी लगायतका नेता पनि देखिए (अरु बिर्से) । तर, बादल यस्तो कुरा कार्यकर्तालाई भनिरहेका थिए, जो निकै डरलाग्दो थियो, मेरा लागि चाँही ।
त्यो दिन उनले दुईवटा महत्वपुर्ण कुरामा जोड गर्दै भनिरहेका थिए । पहिलो, त संविधानसभावाट संविधान नै बन्नै सक्दैन भन्ने पार्टी केन्द्रिय समितिले ठहर गरेको सुनाइरहेका थिए– ‘यो संबिधानसभावाट संबिधान बन्दै बन्दैन, तपाईहरुले त्यही अनुसार बुझ्नु पर्छ ।’ दोस्रो,  ‘यदी बन्ने बातावरण भयो नै भने त्यसका लागि अर्को खाले तयारी हामीले गर्नुपर्छ ।’ त्यसको योजना पनि उनले त्यहाँ सुनाए । मलाई अचम्म लाग्यो, बाहिर माओवादी संविधानसभावाटै संविधान बनाउनु पर्छ भनिरहेको छ, भित्र भने संबिधान नै बन्न नसक्ने निष्कर्ष निकालिसकेको पो रहेछ ।
संविधानसभाको म्याद सकिन अझै चार महिना पुरै बाँकी छ । मलाई त्यही बेला लाग्यो, अब कुनै पनि हालतमा संविधान बन्दैन् किनभने यो संविधानसभाको सबैभन्दा ठुलो दलले बोलेको कुरा हो, त्यसमा पनि बिद्रोही  माओवादीले, जसले नै संविधानसभावाट संबिधान बनाउनु पर्र्छ भनेर जोड गरेको थियो ।
मेरा वरपर भएका अरुले त्यति वास्ता गरिरहेका थिएनन तर मैले भने बादलका कुरा निकै नै ध्यानपुवर्क सुने । उनले बोल्न सक्ने बितिक्कै म जुरुक्क उठेर हलवाहिर निस्के । नजिकैको  चिया पसलमा गए र सरासर एक बोटल पानी घटघट खाए । त्यही बेला सोचे, ‘गोप्य प्रशिक्षण भित्र  पक्राउ परिएको भए, मलाई (पत्रकार) के गर्थे होलान माओवादीले ?’ चिया पसलमा पुगे पछि त्यो सम्झेर चाँही निकै नै डर लाग्यो ।
पछि सम्पादक राजन शर्मा र समाचार सम्पादक गणेश बस्नेतलाई आफु गोप्य प्रशिक्षणमा सुनेको र भएको कुरा सबै भने र रेकर्ड राखे । निष्कर्ष सुनाए, ‘दाई, संविधानवाट संविधान बन्दैन, यो कुरामा म चाँही क्लिएर भए, तपाई के भन्नु हुन्छ ?’ उहाँले पत्रिकाको आठ कोलम मध्ये सात कोलम स्थान छुट्टयाई दिनु भयो, किनकी यो निकै नै महत्वपुर्ण समचार थियो ।
सो समाचार राजधानी दैनिकमा छापिएको चार महिनापछि अन्ततः त्यही कुरा प्रमाणित भयो, जुन मैले ११ वैशाख २०६८ मा राजधानी दैनिकमा लेखेको थिए । तपाईलाई पनि स्मरणका लागि त्यो समाचार यहाँ राखिदिएको छु ।


संविधानसभाबाट संविधान बन्नै नसक्ने माओवादी निष्कर्ष
प्रकाश तिमल्सिना÷राजधानी
काठमाडौं, १० माघ
सत्तारूढ एकीकृत नेकपा माओवादीले संविधानसभाबाट नयाँ संविधान निर्माण नहुने निष्कर्ष निकाल्दै सडकबाटै संविधान घोषणाको तयारी गरिरहेकोे खुलासा भएको छ । ललितपुरस्थित नेवाः राज्य समितिको कार्यालयमा भएको बन्द प्रशिक्षणमा महासचिव रामबहादुर थापाले सो खुलासा गरेका हुन् ।
‘संविधानसभाबाट जनताको पक्षमा संविधान निर्माण हुन सक्दैन भन्ने केन्द्रीय समितिको निष्कर्ष छ, हाम्रा लागि संविधानसभाको औचित्य पनि छैन,’ कार्यकर्ता प्रशिक्षणमा महासचिव थापाले भने, ‘त्यसपछिको स्थितिलाई गम्भीरतापूर्वक अध्ययन गरेर हामीले संविधानसभाभन्दा बाहिरबाट जनताको संविधान घोषणा गर्नेछौं ।’
काठमाडौं जिल्लाका जनवर्गीय संगठनमा आबद्ध कार्यकर्तालाई सम्बोधन गर्दै थापाले संविधान निर्माण नहुने आधार पनि प्रस्तुत गरेका थिए । ‘संविधान पास हुन अनिवार्य रूपमा दुई तिहाइ बहुमत चाहिन्छ, तर कसैको पनि दुई तिहाइ पुग्दैन,’ थापाले कार्यकर्तालाई पार्टी योजना सुनाए, ‘कांग्रेस र एमालेले भनेको हामी मान्दैनौं, उनीहरूले हाम्रो कुरा मान्दैनन्, यी दुई स्थितिमा कुनै हालतमा संविधान निर्माण हुनै सक्दैन ।’
माओवादीले चाहेको जस्तो संविधान नबन्ने कारण पनि थापाले देखाएका छन् । ‘हामीले चाहेको जस्तो संविधान बन्ने तत्काल आधार पनि देखिएको छैन, किनभने हामीसँग ४० प्रतिशतभन्दा बढी मत हुन सक्दैन,’ थापाले भने, ‘कांग्रेस÷एमालेलगायत अन्य दलमा हामीले खेल्ने त भनेका छौं, तर जति खेले पनि ५० प्रतिशतभन्दा बढी मत पु¥याउन सकिँदैन ।’
स्वायत्त तथा आत्मनिर्णयको अधिकारसहितको जातीय राज्यको सवालमा कांग्रेस÷एमालेमा रहेका ‘जनजाति सभासद्हरूमाथि खेल्ने’ योजना सुनाएका थापाले सो पार्टीमा विद्रोह गराउन सक्ने तर पर्याप्त भने हुन नसक्ने अनुमान पार्टीले गरेको बताए । संविधानसभाको पूर्ण बैठकमा मतदान गर्ने बेला माओवादीले अन्य पार्टीमा भरमग्दुर कोसिस गरेर खेल्ने थापाको भनाइ छ ।
थापाको अनुसार मतदान चल्नुभन्दा अघि नै माओवादीले भनेको जस्तो संविधान बनाउन व्यापक दबाब दिने योजना छ । ‘त्यसबेला पार्टीका जनवर्गीय संगठन र जातीय मोर्चाहरूले ज्ञापनपत्र दिने र सडकमा आन्दोलन गर्ने काम पनि हामी सँगसँगै गर्छौं,’ थापाले प्रस्ट्याए, ‘यसका साथै सरकारबाट हस्तक्षेप गर्ने कुरालाई पनि हामी उत्तिकै महŒव दिनेछौंं ।’
माओवादीले भनेको जस्तो संविधान बनाउने कार्यलाई रोक्न सर्वोच्च अदालतले १४ जेठको समय–सीमा बनाएर फैसला गरेको पनि थापाको आरोप छ । ‘यथास्थितिवादी र प्रतिगामी शक्तिहरूले सर्वोच्च अदालतबाट पनि १४ जेठभित्रै संविधान बनाइसक्नुपर्ने भनेर फैसला गराइसकेका छन्,’ थापाले फैसलाको तात्पर्य सुनाउँदै भने, ‘त्यसपछि जनमत संग्रहमा जाने र चारपाँचओटा टाउकालाई जम्मा गरेर संवैधानिक आयोग बनाउने र सोही आयोगमार्फत संविधान घोषणा गर्ने ‘सेट’ बनाएर सो फैसाला गरेका हुन् ।’ कांग्रेस÷एमालले योजनाअनुसारको सो ‘सेट’लाई माओवादीले कुनै हालतमा नमान्ने थापाले उद्घोष गरे ।
‘कांग्रेस÷एमालेले बनाएको सो ‘सेट’अनुसारको संविधान घोषणालाई हामी अस्वीकार गर्नेछौं र सडकमार्फत जनताको संघीय गणतान्त्रिक संविधान घोषणा गर्नेछौं, त्यसैका लागि हामीले जनविद्रोह खुला छ भनेर केन्द्रीय समितिमा निर्णय गरेका हौं ।’
त्यो स्थितिमा पुग्नुअघि पार्टीभित्रको एकताको सन्देश पु¥याउन माघ महिनाभर ‘संयुक्त’ प्रशिक्षण चलाएको उनको भनाइ  थियो ।
१४ माघभित्र संवैधानिक समितिले फरक मतसहितको एकीकृत मस्यौदा बनाएर १५ माघमा पूर्ण छलफलका लागि संविधानसभामा पेस गर्ने योजना उनले सुनाए ।
‘त्यो बेला शासकीय स्वरूपको सवालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग हामीले छोडिसकेका हुँदैनौं, सायद त्यो फरक मतसहित ‘कोड’ भएर संविधानसभामा जाला,’ थापाको भनाइ थियो, ‘त्यसो त शासकीय स्वरूपको सवालमा कांग्रेसभित्रै अहिले दुई धार देखा परिसकेको छ, त्यसो हुनुमा हाम्रो पार्टीको पनि केही योगदान छ ।’ उनका अनुसार जातीय राज्यको सवालमा कांग्रेस÷एमालेमा आएको विचलन र हुने विद्रोह बढी प्रकट रूपमा सोही समयमा नै देखा पर्नेछ ।
संविधानसभाबाट छलफल भएर निर्माण भएको प्रस्तावित मस्यौदा संविधानलाई लिएर जनतामा जाने कार्यक्रममा पनि माओवादीले बढी नै गम्भीर भएर प्रस्तुत हुने योजना बनाएको थापाले बताए । ‘जब संविधानसभाबाट प्रस्तावित संविधानको मस्यौदा लिएर सभासद् जनता कहाँ जान्छन्, गाउँ–गाउँमा हामीले आफूअनुकूलको सुझाव दिने वातावरण बनाइसकेका हुन्छौं,’ थापाले भने, ‘त्यो बेला पार्टीको आधारभूत मान्यता र मागलाई सम्बोधन गर्न जनतालाई तयारी अवस्थामा राख्छौं र त्यसका लागि गाउँ तहका हाम्रा कमिटीहरूले निकै मेहनत गर्नुपर्ने अवस्था आउनेछ ।’ थापाले पार्टीभित्र भएको सो योजना एकमतले पारित भएको भन्दै कार्यकर्तालाई विश्वस्त गराएका थिए ।
‘अलि विद्रोही स्वाभाव भएकाले मैले त्यतिकै भनेको हो कि भन्ने पनि तपाईंहरूलाई लागेको होला, तर त्यो होइन,’ थापाले सयौं कार्यकर्तासामु भने, ‘यो योजना केन्द्रीय समितिमा एकमतले पारित गरिएको छ, त्यसमा फरक मत कसैको छैन, यही योजनाअनुसार नै पार्टी आगामी दिनमा प्रस्तुत हुन्छ ।’ उनले पार्टीको सो योजना सफल वनाउन सधैं तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई आह्वान गरे ।




No comments:

Post a Comment