Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, March 30, 2013

जे जे गरे पनि एमाओवादीको केन्द्रिय समिति ३ सय सदस्सीय चाँही हुने देखियो

"पुर्ण केन्द्रिय समिति १ सय ५१ र बैकल्पिक केन्द्रिय सदस्य सो संख्यामा नबढने गरी बनाउन सकिने प्रचण्डको प्रस्ताव"   
प्रकाश तिमल्सिना, काठमाडौं, चैत १८ - एकीकृत माओवादीले महाधिवेशन आयोजक समितिमा रहेका सदस्यलाई मात्र समेटेर तत्कालका लागि नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ। एक साताअघिको ३ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति गठन गर्ने निर्णयको चर्को आलोचना भएपछि माओवादीले अघिल्लो निर्णयलाई उल्टाउँदै शनिबार यस्तो निर्णय गरेको हो।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले सातौं महाधिवेशन आयोजक समितिमा रहेका सबै सदस्यलाई समेटेर केन्द्रीय समिति निर्माण गर्ने निर्णयमा पुगेको प्रवक्ता अग्नि सापकोटाले बताए। 'महाधिवेशन आयोजक समितिमा रहेका सबैलाई समेटेर केन्द्रीय समिति निर्माण गर्ने निर्णय भएको छ,' सापकोटाले भने, 'केही जिम्मेवार तथा पुराना साथी छुटेमा थप गरिने भएकाले संख्यामा तलमाथि हुनसक्छ।' उनका अनुसार केन्द्रीय समितिको आकार तत्कालका लागि बढीमा २ सय ५१ सदस्यीय मात्र हुनेछ।

बैठकमा अध्यक्ष दाहालले महाधिवेशनले अनुमोदन गरेको १ सय ५१ सदस्यीय पूर्ण केन्द्रीय समिति तथा सोही आकारसम्मको वैकल्पिक केन्द्रीय समिति निर्माण गर्ने प्रस्ताव गरेपछि त्यसलाई अनुमोदन गरिएको केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले बताए। '१ सय ५१ सदस्यीय पूर्ण केन्द्रीय समितिको आकारसम्म वैकल्पिक केन्द्रीय समिति निर्माण हुन सक्ने ठाउँ खुला गरिएको छ,' ओलीले नागरिकसँग भने, 'पूर्ण केन्द्रीय समितिमा पर्न नसकेका आयोजक समिति सदस्य स्वतः वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् भने थप गर्न आवश्यक ठानिए भूगोलको धारणा र माग हेरेर चयन गरिनेछ।' उनका अनुसार वैकल्पिक केन्द्रीय सदस्य बैठकमा सहभागी हुन पाउने भए उनीहरुलाई मताधिकार हुनेछैन।
अर्का केन्द्रीय सदस्य तथा मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहका अनुसार महाधिवेशन आयोजक समिति रहेको तर केन्द्रीय समितिमा पर्न नसकेकामध्ये वरिष्ठताका आधारमा ४८ जनालाई केन्द्रीय समितिमा बढुवा गरिनेछ। 'महाधिवेशनले चयन गरेको ९८ जना र वैद्यजीबाट फर्कनुभएका तीन जना गरी आजबाट १ सय १ सदस्यीय केन्द्रीय समिति बनिसकेको छ,' साहले नागरिकसँग भने, 'बाँकी ४८ जना आयोजक समितिमा रहेका वरिष्ठ सदस्यलाई चयन गरेर ल्याइने निर्णयमा हामी पुगेका छौं।' उनका अनुसार केन्द्रीय समितिमा पर्न नसकेका १ सय ४० जनाबाट सो संख्या चयन हुँदैछ।
मोहन वैद्य नेतृत्व परित्याग गरी आएका कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहाललाई एकीकृत माओवादीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। वैद्य माओवादी परित्याग गरेका तीनै सदस्य शनिबारको बैठकमा सहभागी भएका छन्।
महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि आन्तरिक विवाद र राष्ट्रिय राजनीतिका कारण केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको माओवादीलाई समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दा भने चोटिलो बन्ने देखिएको छ। 'मधेसी, थारु र मुसलमानसहित सबैलाई समावेशी प्रतिनिधित्व गराउने चुनौती छ, त्यसलाई सम्बोधन गर्न नेतृत्वले सक्नुपर्छ,' साहले भने। तत्काल विभाग/ब्युरो तथा राज्य समितिमा नयाँ जिम्मेवारी दिनेबारे पार्टी कुनै निर्णयमा नपुगेको ओलीको भनाइ छ।
'केन्द्रीय समितिलाई पूर्णता दिने र कार्यक्रमसहित भूगोलमा जाने निर्णय भोलिको बैठकले गर्नेछ,' ओलीले नागरिकसँग भने, 'महाधिवेशनले पास गरेको कार्यदिशा लिएर अझै पनि माओवादी कार्यकर्तामाझ फर्कन सकेको छैन।' अध्यक्ष दाहालले महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ताको सुझावका आधारमा परिमार्जनसहित कार्यकर्तामाझ पुर्‍याउने ओलीले जानकारी दिए।
महाधिवेशन आयोजक समिति सदस्यलाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेलगत्तै आइतबारको बैठकमा सहभागी हुन सबै आयोजक सदस्यलाई आह्वान गरिएको छ।

No comments:

Post a Comment