Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 13, 2013

सर्वदलिय बैठकको साङ्गोपाङ्गो

प्रकाश तिमल्सिना
उद्धेश्यः प्रधान न्यायधिस नेतृत्वको सरकार निमार्णका बारेमा भइरहेको प्रगतिको जानकारी दिने र सुझाव लिने
बैठकमा सहभागीः बिघटित संविधानसभाका ३२ दल
स्थानः बानेश्वरस्थित बिआइसीसी भवन, शंकर हल
समयः दिउँसो ४ बजे देखी बेलुकी ८ बजेसम्म
यो बिघटित संविधानसभा भवनको शंकर हल हो । प्रधान न्यायधिस नेतृत्वमा चुनावी सरकार निमार्णका लागि एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ५ मधेसवादी दलले गरिरहेको प्रयासका बारेमा जानकारी गराउने र सो भन्दा बाहिर रहेका अन्य दलवाट सुझाव लिने उदेश्यले यो वैठक वोलाइएको हो । जहाँ विघटित संविधानसभाका साना÷ठुला ३२ दलका अध्यक्ष र प्रतिनिधि उपस्थित छन् ।
बैठकको सुरुमा प्रधानमन्त्री बाबुराम भट्टराई बोल्छन् । उनी भन्छन– ‘जेठ १४ पछि चुनावी सरकार निमार्ण गर्नका लागि प्रधानन्यायधिस नेतृत्व बाहेक अरु बिकल्प देखा परेको छैन, त्यसैले यसैमा सहमति गरेर जान म सवैलाई अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीको भनाई आए पछि एमाओवादीका अध्यक्ष प्रचण्डले बोल्न सुरु गर्छन । भन्छन– ‘राष्ट्रिय निकासका लागि चार दलले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बारे छलफल र बार्ता जारी राखेका छन तर सहमति भने अझै भइसकेको छैन् ।’ उनी थप्दै जान्छन– ‘तपाईहरु (अन्य दल)लाई चार दलको प्रयासका बारेमा भइरहेका छलफल र वार्ताका लागि सुझाव दिन अनुरोध गर्दछु ।’ चुनावी मन्त्री परिषदमा सहमति भएको तर अन्य विषयमा कुनै ठोस सहमति नभएको जानकारी गराउँदै प्रचण्डले भन्दैछन – ‘२४ ठाउँमा वाधा अडकाउ फुकाऊ गरी प्रधानन्यायधिसको नेतृत्वमा जानुपर्छ भन्ने हामी विच भद्र सहमति भएको छ तर त्यसले औपचारिकता पाउन भने अझै पनि सकेको अवस्था छैन् ।’
त्यसपछि कांग्रेस सभापति सुशिल कोइराला न्याउँरो मुख लगाउँदै भन्न सुरु गर्छन– ‘हिजोसम्म वार्ता र छलफल जारी छ तर कुनै पनि बिषयमा भने सहमति भइसकेको अवस्था भने छैन् ।’ प्रचण्डको भनाई दोहो¥याउँदै कोइरालाले कुरा राख्दै गए– ‘एक पार्टीले अर्को पार्टीलाई विश्वास गर्ने अवस्था नभए पछि प्रधानन्यायधिसको नेतृत्वमा सहमति खोज्ने कोशिश गरिएको हो, लोकतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अनिवार्य भएकाले हामीले त्यसलाई स्विकार गरेका हौंं, चुनावलाई उत्सवको रुपमा लिऊ, कसैले पनि बिरोध नगरौं ।’ जसरी पनि चुनाव गराउन आफुहरु लागि परेको भन्दै कोइरालाले कुरा राखि सिध्याए । 
आ–आफनो ठाउँवाट चुनाव लडेर जनमत बनाउनु पर्ने कोइरालाले धारणा राखे पछि बोल्ने पालो आयो एमाले अध्यक्ष झलनाथ खनालको । उनले भने– ‘०६२÷६३को जनआन्दोलनको म्यान्डेटलाई संस्थागत गर्न पनि चुनाव अनिवार्य छ, लोकतन्त्रलाई जोगाउने हो भने सवै चुनावमा जानुपर्छ र ताजा जनमत लिनैपर्छ, त्यसका लागि सवै दल तयार हौं ।’ एमाले अध्यक्ष खनालले पनि प्रमुख चार दल विच सहमति भने नभइसकेको बताए ।
मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले नौ÷नौ महिनाको राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानन्यायधिस नेतृत्ज अघि सारिएको धारणा राख्न सुरु गरिरहेका छन । ‘प्रधान न्यायधिसको प्रस्ताव स्विकार गरेर चुनावमा जानुको अर्को बिकल्प देखिएको छैन’ भन्दै गच्छदारले वैठकमा निष्कर्ष सुनाए ।
प्रधानन्यायधिस नेतृत्वमा चुनावी सरकार बनाउने कसरत गरिरहेका प्रमुख नेताले बोलि सिध्याए पछि पालो आयो– त्यो भन्दा बाहिर रहेका ठुला÷साना दलको । सुरुमा नेकपा–माओवादीका सचिव देव गुरुङले बोले । ‘प्रधान न्यायधिसको नेतृत्वको चुनावी सरकार फाँसीवाद उन्मुख निर्दलिय ब्यवस्था हो’ गुरुङ वैठकमा कडकिदै गए– ‘धारा १ सय ५८ लाई चलाएर जानु हुदैन्, त्यो अधिकारको गलत प्रयोग हुने खतरा छ ।’ प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकारको विरुद्ध नेपाल बन्दसमेत गर्ने मोहन वैद्य माओवादी सचिव किन चुप लाग्न सक्थे र उनले ठोकेरै भनिदिए– ‘पहिला सहमतिको मस्यौदा बनोस र तपाईहरु लागु गराउनु होस तर हामी त्यस दिनलाई कालो दिनको रुपमा हामी घोषणा गरेर आन्दोलनमा जान्छौं ।’ चार दलले निर्णय गर्ने अनि २८ दल बोलाएर सुझाव लिने काम गरेको भन्दै प्रचण्डको कुरा प्रति विमति जनाए । त्यसपछि साना दलका अन्य नेताले ताली पडकाउन सुरु गरिहाले ।
देव गुरुङकै भाषामा नेकपा मालेका महासचिव सीपी मैनाली पनि बोल्न थाले । ‘चार दलले मात्रै गरेको निर्णय बहिस्कार गरेर जान्छौ’ मैनालीले सर्त राख्न सुरु गरे, ‘यदी प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बनाउने हो भने पहिला उनले राजिनामा दिनुपर्छ, राजिनामा नदिइकन हुदै हुदैन् ।’
त्यसपछि संघीयताको विरोध गर्ने एकमात्र दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी उखान टुक्का जोडदै भन्न थाले । ‘चार दलको सिन्डीकेट मान्दैनौं, चार दल असफल भयो भन्दैमा सवै दल असफल भएका छैनन्’ केसीले भन्दै गए, ‘असफल भए पछि बाख्रा चराउन जानु पर्ने तपाईहरु हो, हामी होइन् ।’ उनले कुनै पनि हालतमा प्रधानन्यायधिसको नेतृत्व स्विकार नगर्ने पुर्ववत अडान दोहो¥याए ।
एकमात्र राजावादी दल कमल थापाले त प्रमुख चार राजनीतिक शक्ति चुनाव गराउने पक्षमा नै नरहेको ठोकुवा गरिदिए  । ‘चार ठुला दलको नियतमा नै खोट छ, चुनाव गराउने उदेश्यले छलफल कदापी चलिराखेको छैन्’ थापाले दावी गरे, ‘यदी चुनाव गराउने नियत भएको भए, एक÷एक महिनासम्म किन सहमति भएन त ?’ उनले एक महिना छलफल हुदाँ पनि सहमति हुन नसक्नुले चुनाव गराउन नदिने षडयन्त्र भइरहेको भन्दै प्रमुख दलका प्रमुख नेताको चर्को आलोचना गरे । संविधानसभा विघटन हुने वितिक्कै प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्छ भनेर सबैभन्दा पहिला निर्णय गर्ने पार्टी पनि थापा कै हो ।
नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले प्रधान न्यायधिस नेतृत्वको चुनावी सरकार संचालन गर्नका लागि बनाइने भनिएको उच्चस्तरिय राजनीतिक संयन्त्र आवाश्यक नभएको धारणा राखिन् । जारी वैठकमा गिरी  सहभागी एक मात्र महिला नेतृ हुन् ।
प्रचण्ड नेतृत्व सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनका प्रवक्ता प्रेमवहादुर सिंहले माओवादी महाधिवेसनका प्रस्ताव मानेर लोकतन्त्रको दुहाइ दिने प्रतिपक्षहरु उदांगो हुदै गएको भन्दै खिसिटिउरी गरे । ‘तपाईहरु लोकतन्त्रको दुहाई दिनु हुन्छ तर माओवादीले महाधिवेसनवाट अघि सारेको प्रस्ताव चाँही लुरुलुरु मान्नुहुन्छ, तपाई (कांग्रेस÷एमाले)हरु लोकतन्त्रको कुरा गर्न छोडि दिनुहोस ।’ सिंहको भनाईमा दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले समर्थन जनाए ।
राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रमुख नेताको नियतमा खोट भएको भन्दै कडकिन थालिहाले । ‘प्रमुख दलका नेता भनी टोपल्नेहरु निर्णय गर्ने अनि हामी चाँही साक्षी किनारा मात्रै हौ भने यो प्रवृति गलत छ ?’ असन्तुष्ट लोहनी कडकिदै गए, ‘चार दलको निर्णय नै संविधान हो भनेर भन्नुहोस, होइन भने सवै दललाई समेटेर जानुहोस् ।’
राप्रपाका बलाराम घर्तिमगरले प्रचण्डलाई भित्ता पु¥याउने तालले वैठकमै दुई जिव्रो भएको नेताको उपमा दिए । ‘तपाई दुईवटा जिव्रो भएको मान्छे जस्तो लाग्न थाल्यो, कहिले यो भन्नु हुन्छ, कहिले त्यो भन्नुहुन्छ । आखिर कुरो के हो ? बुझनै गा¥हो । यसरी भ्रम छर्ने काम नगर्नुहोस् ।’ घर्तिमगरले यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हासिरहेको दृश्य निकै रमाइलो थियो ।
नेकपा संयुक्तका चन्द्रदेव जोशी, शरदसिहं भण्डारीले चार दलको ‘सिन्डीकेट’को खुलेर विरोध गरे तर कसैले पनि उनीहरुको उत्तर भने दिएनन् । त्यसपछि पालो आयो, राष्ट्रिय सदभावना पार्टीका अध्यक्ष रामनरेश रायको । उनले त मधेसवाट सुरु गरि हाले– ‘मधेसका ठेकेदार हौ भन्दै मन्त्री बन्ने, आफ्ना नाती नातिनालाई पुग्ने सम्पत्ति जोडने अनि मधेसीलाई यो भएन, त्यो भएन भनेर कराउने ? अब चुनावमा जाऔं, कसको के हैसियत देखिन्छ, थाहा हुन्छ ।’ सवैको नेता चार दल, चार दलको नेता खिलराज भएको दृश्य निकै रमाइलो भएको रायको भनाई थियो ।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सुनिल प्रजापतिले संविधानसभा निर्वाचनको औचित्य नै नभएको बताउन थालेका छन । ‘संविधानसभाको निर्वाचन होइन, प्रतिनिधि सभा र स्थानिय निकायको निर्वाचन गराउनु पर्छ’ प्रजापतिको अरु भन्दा फरक धारणा आउन सुरु ग¥यो, ‘प्रतिनिधिसभालाई संविधानसभाको काम गर्ने अधिकार दिएर जानुपर्छ ।’
नेकपा एकीकृतका अध्यक्ष परी थापाले ३२ दलवाट मात्रै निकास दिनुपर्छ भन्दै सवै साना दलले भने झै चार दलको सिन्डीकेट अस्विकार गर्ने जनाए । ‘भाले हो वा पोथी, त्यसमाथी सर्पको पुच्छर झुन्डिएको कोप्राटेस जस्तो नेता भए पछि मुलुकले दुःख पाउँछ’ प्रचण्ड तर्फ हेर्दै थापाले भने, ‘कि कोप्राटस हुँ भन्नुहोस होइन भने नेता हुँ, निकास दिन्छु भन्छु ।’
जनता दल युनाईटेडका किरण मगरले प्रजनन क्षमता र भ्याक्सोटोमीको उदाहरण दिदै वैठकमा भन्न सुरु गरे, – ‘एउटा कोरली बाच्छी छ, जसलाई सद्यै मत्ता साँढेले घेरेको छ तर त्यो बाच्छिले लामो समय सम्म पनि कुनै सन्तान दिन सक्दिन् अनि सवै जना सोधखोज गर्छन कि वाच्छी किन गर्भवति भइन ? पछि कुरा वुझदा पो थाहा भयो, कोरलीको पछि लाग्ने साँढेको त उहिल्यै भ्याक्सोटोमी गरिएको पो रहेछ ।’ प्रमुख दलका नेताको भ्याक्सोटोमी भइसकेकाले कुनै निकास निस्कन नसकेको उनको भनाई आए पछि सवै गलल हाँसे । त्यसपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले उनको परिचय खोज्न सुरु गरे ।
जति भन्दा पनि केही नलागेर हुनपर्छ, नेपाल परिवार दलका अध्यक्ष तथा गरीबि निवारण तथा सहकारी मन्त्री एकनाथ ढकालले दलहरुले गरेको वार्ता ‘टेलिभिजन लाइभ’ गर्नु पर्ने प्रस्ताव वैठकमा नै राखे । ‘वैठकमा कसले कस्तो कुरा गर्छ, कसले कस्तो कुरा राख्छ, त्यो अब टेलिभिजन लाइभ गर्नुपर्छ’ ढकालले भन्दै गए, ‘को–को जनताको पक्षमा छन, को–को सहमतिको पक्षमा छन, को–को सहमति भाँडदै छन, को–को भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्छ, ती सवै जनताले थाहा पाउँछन् ।’ उनले अबको वैठक टेलिभिजन लाइभ गरेर बढ्नु पर्ने उनको माग थियो ।
वैठकमा नयाँ पुराना सवै खाले कुरा चल्दै गए । बादबिवाद र प्रतिवाद पनि हुदै गए । त्यस बिचमा शंकर हलको यो कोठामा विस्कुट र चिया आयो । विस्कुट र चिया खाँदै चार घन्टासम्म कुरा भयो तर टुंगोमा भने वैठक पुग्न कदापी सकेन् ।
अन्तिममा, प्रधानमन्त्री भट्टराईले चार घन्टा लामो छलफल र जारी बार्ताको बिट मार्दै भने– ‘मुलुकको विशिष्ट समस्या भएकाले विशिष्ट तरिकाले समाधान गर्नका लागि प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकार बनाउनु बाध्यात्मक परिस्थीति हो, यसमा सवै दलले समर्थन गरेर जाऊँ ।’
तर, साना दललाई बोलाएर कुनै पनि सहमति नभएको भनेका प्रमुख दलले सहमतिको मस्यौदा भने सोही दिन राष्ट्रपति रामवरण यादवसमक्ष भने पु¥याइसकेका छन् ।


No comments:

Post a Comment