Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, January 29, 2013

सत्तारुढले आज शक्ति देखाउँदै

काठमाडौं, माघ १७ (नागरिक) - बाबुराम भट्टराई नेतृत्वको सरकारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। विपक्षी गठबन्धनले हिजो सहिदगेटमा कोणसभा र र्याथली गर्दै शक्ति प्रदर्शन गरेलगत्तै सत्तापक्षीयले पनि आज त्यस्तै कार्यक्रम गर्न लागेको हो।
प्रतिपक्ष दल सडक संघर्षमा गएपछि सत्तारुढ एकीकृत माओवादीको पहलमा हुन लागेको आमसभामा माओवादीले ५० हजार मानिस उतार्ने प्रतिबद्धता गठबन्धनको बैठकमा गरेको छ। त्यसका लागि माओवादी राजधानीबाहिरका जिल्लाबाट २ सय बसमा कार्यकर्ता/सर्वसाधारण काठमाडौंमा उतार्ने जानकारी दिइसकेको छ। माओवादीले धादिङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक आसपासबाट कार्यकर्ता/सर्वसाधारण काठमाडौं उतार्दैछ। यसरी उतारिएकालाई कुपन्डोल, कालिमाटी, लैनचौर, मैतिदेवी र बागबजारबाट खुलामञ्चमा प्रवेश गराउने कार्यक्रम निर्धारण गरेको छ।


मंगलबार बसेको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० हजार र अन्य साना १४ दलले ५ सयदेखि दुई हजारका दरले कार्यकर्ता/सर्वसाधारण उतार्ने प्रतिबद्धता जनाएका छन्। तर, मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पूर्वप्रतिबद्धता अनुरुप १० हजार मानिस उतार्न नसक्ने जानकारी दिएका छन्। '१० हजार मानिस उतार्ने भनेर हाम्रो पार्टीका तर्फबाट गरिएको प्रतिबद्धता पूरा नहुने भयो,' गच्छदारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म र मेरा महासचिव (जीतेन्द्र देव) दुवै व्यस्त भएकाले त्यसको तयारी गर्न नै पाएनौं।' यद्यपि, फोरम गणतान्त्रिकले तीनकुनेबाट जुलुस खुलामञ्चमा ल्याउनेछ।
बैठकमा गठबन्धन संयोजक अध्यक्ष पुष्पकमल दाहालले सभामा सभ्य भाषामा आआफ्ना मन्तव्य राख्न गठबन्धनका नेतालाई निर्देशन दिएका छन्। 'सभामा सबैले सभ्य भाषामा बोल्नुहोला, कसैले कसैलाई गालीगलौज नगर्नुहोला,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रत्येक २० जना सहभागीमा एक स्वयंसेवक खटाइने गठबन्धनको योजना छ। योजनाअनुसार स्वयंसेवक मात्र ५ हजार २ सय खटिनेछन्। स्वयंसेवक सबैलाई गठबन्धनले खाना र बस्नेसहित आवश्यक भत्ता पनि व्यवस्था मिलाइसकेको एक नेताले जानकारी दिए।

सभाका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सभामा माओवादीले १५ लाख, मधेसी मोर्चाआबद्ध पाँच दलले ५-५ लाख, मन्त्री भएका साना दलले १-१ लाख व्यहोर्नुपर्ने विवरण पेस भए पनि साना दलले भने आफ्नो भागमा परेको २५ हजार नव्यहोर्ने जनाएका छन्। 'हामीलाई पनि २५ हजार दिनुपर्छ भनिएको थियो तर खुलामञ्चमा बसिदिएको नै लाखौं हुन्छ भन्ने जवाफ दियौं,' एक साना दलका अध्यक्षले नागरिकसँग भने। माओवादीले सो खर्च व्यहोर्नुपर्ने भन्दै रकम माग गरे पनि साना १४ दलले भने अझै नदिएको उनको भनाइ छ। रकम दिन साना दलले आनाकानी गरेपछि सोसहित नपुग सबै रकम माओवादीले नै व्यहोर्नेछ।
कुन पार्टीका कति मान्छे?
माओवादी-५० हजार
फोरम गणतान्त्रिक-१० हजार
सद्भावना-१५ हजार
तमलोपा नेपाल-५ हजार
फोरम गणतान्त्रिक-२ हजार
राष्ट्रिय जनमुक्ति पार्टी १५ सय
समाजवादी जनता पार्टी-१ हजार
नेपाली जनता दल-१ हजार
नेपाल परिवार दल-७ सय,
चुरे भावर- १५ सय,
नेपाः राष्ट्रिय पार्टी-१ हजार
साना ८ दल- छ हजार

No comments:

Post a Comment