Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 27, 2012

सत्ता गठबन्धन चुनावको विपक्षमा, मधेसी मोर्चाको आपत्ति

प्रकाश तिमल्सिना, काठमाडौं, पुस १३ - विपक्षीसँग वैशाखमा संविधानसभाको नयाँ चुनाव गराउने सहमति गरेको सत्तारुढ गठबन्धन अकस्मात चुनावको विपक्षमा उभिएको छ। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बिहीबार बैठकले नयाँ संविधानसभा निर्वाचनको एजेन्डा त्यागेर संविधानसभा पुनर्स्थापनामा नै फर्कने निर्णय लिएको हो।
स्रोतका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठकमा दाहाल आफैंले यस्तो प्रस्ताव राखेका हुन्। बैठकमा बोल्ने अधिकांश नेताले संविधानसभा चुनावको एजेन्डा लिएर तत्काल चुनावमा जान नसकिने धारणा राखेपछि संविधानसभा पुनर्स्थापना नै उत्तम विकल्प भएको बैठकले निष्कर्ष निकालेको हो। 'पुस २६ भित्र विपक्षीसँग प्याकेजमा सहमति हुन सक्यो भने सरकारको नेतृत्वको विकल्प खुला गर्न गठबन्धन तयार छ', प्रवक्ता प्रेमबहादुर सिंहले गठबन्धनको निर्णय सुनाउँदै नागरिकसँग भने, 'त्यो मितिसम्म पनि कुनै सहमति हुन सकेन भने गठबन्धन संविधानसभा पुनर्स्थापनाको एजेन्डा लिएर अघि बढ्छ।'

बैठकस्रोतका अनुसार वैशाखभित्रै संविधानसभाको चुनावको एजेन्डा लिएर जनतासामु जाने आधार तत्काल नभएको भन्दै गठबन्धनले संविधानसभा पुनर्स्थापनामा फर्कने निर्णय लिएको हो।
'पुस २५ सम्म वैशाखमा संविधानसभा चुनाव-चुनाव नै भनौं, आखिर त्यो हँुदैन, अनि २६ गतेबाट पुनर्स्थापना एजेन्डा उठाऔं,' संयोजक दाहाललाई उद्धृत गर्दै बैठकस्रोतले भन्यो।
प्रवक्ता सिंहले पनि पुस २५ सम्म पनि दलहरुबीच सहमति हुन नसके वैशाखमा पुनः संविधानसभाको चुनाव हुन नसक्ने भएकाले पुनर्स्थापनामा जोड दिन लागिएको खुलाए।
निर्वाचन आयोगले यसअघि नै पुस २५ भित्र आयुक्तको नियुक्ति, आवाश्यक ऐन-कानुन संशोधनलगायत काम गरेर सरकारले सहयोग नगरे वैशाखमा निर्वाचन गराउन नसक्ने दलहरुलाई कार्यालयमै बोलाएर प्रस्ट पारिसकेको छ। गठबन्धनले यही आधार बनाएर चुनावको एजेन्डा त्याग्ने समयसीमा निर्धारण गरेको स्रोतको दाबी छ।
बैठकमा एकीकृत माओवादी र साना दलका प्रतिनिधिले संविधानसभा निर्वाचनको एजेन्डा लिएर जनतासामु जाने अवस्था तत्काल नभएको भन्दै पुनर्स्थापनामा जोड दिएका थिए। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरले भने चुनावको एजेन्डा छाड्ने प्रस्तावमा आपत्ति जनाएका थिए।
पुनर्स्थापनामा फर्कने दाहालको प्रस्तावमा दाहाल निकट उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले त्यसका कारणबारे थप प्रस्ट्याइदिएका थिए। बैठकस्रोतका अनुसार दाहाल निकट अर्का नेता अमिक शेरचनले पनि बैठकमा पुनर्स्थापनाका लागि अपनाइने योजना बैठकमा प्रस्तुत गरेका थिए।
राजनीतिक दलहरुसँग तत्काल चुनावमा जाने वातावरण र अवस्था दुवै नभएको भन्दै संविधानसभा पुनर्स्थापना गर्नुको विकल्प कसैसँग नभएको श्रेष्ठको भनाइ थियो। 'अहिले कुन आधार र कुन एजेन्डा लिएर जनताकहाँ भोट माग्न जाने?' जब कुनै आधार नै छैन भने वैशाखमा चुनावको कुरा अब हामीले गर्नु नै हुँदैन,' श्रेष्ठलाई उद्धृत गर्दै सहभागी एक नेताले नागरिकसँग भने, 'संविधानसभा पुनर्स्थापना गरी मिलेका विषयलाई समेटेर संविधान जारी गरौं र नमिलेका विषयलाई लिएर संसदको निर्वाचनमा जाऔं र त्यही समाधान खोजौं।'
संविधानसभा निर्वाचन एजेन्डा लिएर जनतासामु पुनः जनादेश लिन गए आफूहरुका लागि निकै नै प्रत्युत्पादक हुने श्रेष्ठले बैठकमा धारणा राखे,' स्रोतले भन्यो।
दाहालका निकट अर्का नेता शेरचनले पुनर्स्थापनाको पक्षमा जनमत जुटाउन चक्काजामलगायत कार्यक्रम, कांग्रेस/एमालेसहित ४ सय १६ पूर्वसभासदले पुनर्स्थापनाका पक्षमा यसअघि बुझाएको हस्ताक्षरलाई आधारका रुपमा प्रचार गर्ने योजना बैठकमा सुनाएका थिए। 'पुनर्स्थापनाको पक्षमा माहोल बनाउन कांग्रेस/एमालेसहित ४ सय १६ सभासदले संकलन गरेको हस्ताक्षर बुझाउने, आन्दोलन गर्ने र चक्काजामसम्म कार्यक्रम हामीले गर्नुपर्छ,' शेरचनले योजना प्रस्तुत गर्दै बैठकमा भने, 'अनि मात्र प्रेसर बढ्छ, पुनर्स्थापनाको वातावरण पनि बन्छ।' संविधानसभाका निवर्तमान सभाध्यक्ष तथा उपाध्यक्षलाई संकलित हस्ताक्षर बुझाउने कार्यक्रम गठबन्धनका तर्फबाट गरिनुपर्ने योजना पनि शेरचनले सुनाएको अर्का सहभागीले खुलासा गरे।
यसअघि मंगलबारको गठबन्धन सचिवालय बैठकको एजेन्डा भन्दै संयोजक दाहाल र आफ्नै पार्टी महासचिव जितेन्द्र देवले पुनर्स्थापनाको एजेन्डा उठाएर जानुपर्ने प्रस्तावमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र अर्का नेता महन्थ ठाकुरले भने चर्को विमति जनाएका थिए।
'संविधानसभाको अर्को चुनाव भनिरहेका बेला फेरि पुनर्स्थापना गरेर जाने कुरा कसरी आयो, यो त हुँदै हुँदैन, चुनावमै जानुपर्छ,' गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो।
'सत्तारुढ निर्वाचनबाट भागे बाहिर नराम्रो सन्देश जाने' भन्दै गच्छदारले बैठकमा पुनर्स्थापनाको विपक्षमा उभिएका थिए। तमलोपा अध्यक्ष ठाकुरले भने गच्छदारको भनाइमा समर्थन जनाउँदै राष्ट्रपति रामवरण यादव छिमेकी मुलुक भारतबाट नफर्कुन्जेल कुनै निर्णय गर्न नहुने धारणा राखेका थिए। 'संविधानसभा चुनावमा सहमति जुटाएर जानुपर्ने बेला पुनर्स्थापनाको कुरा कसरी हतार-हतार आयो?' ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्योे, 'राष्ट्रपतिज्यू भारतबाट नफर्कुन्जेल कुनै पनि नयाँ निर्णय गर्नुहुँदैन।'
पुनर्स्थापना प्रस्तावमा फोरम गणतान्त्रिकका अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादव भने मौन रहे। राष्ट्रपति यादवको सवारी मन्त्री बनेर भारत गएका कारण तमलोपा नेपालका अध्यक्ष तथा सिँचाइमन्त्री महेन्द्र यादव र गृहजिल्ला सर्लाही पुगेकाले सद्भावना अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतो बैठकमा थिएनन्। प्रधानमन्त्री बाबुराम भट्टराई बैठकमा बसे पनि केही बोलेनन्।
स्रोतका अनुसार मधेसी मोर्चा विपक्षमा उभिएपछि पुस २५ सम्म पुनर्स्थापनाको कुरा नगर्ने, चुनावमात्र भन्ने निष्कर्ष दाहालले सुनाएका थिए। '२६ गतेपछि मात्र पुनर्स्थापनामा जोड, लबिङ, हस्ताक्षर संकलन, आन्दोलन जे-जे गर्नु पर्ने हो, त्यही गरौंला, तर पुस २५ सम्म हामी सबैले चुनाव-चुनाव नै भनिरहौं,' दाहालको भनाइ स्रोतले उद्धृत गर्‍यो।
साना १४ दलले यसअघि आन्तरिक छलफलनिम्ति गठबन्धनमा पेस गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै संविधानसभा पुनर्स्थापनालाई पहिलो विकल्पका रुपमा सारिएको थियो।
राष्ट्रपति स्वदेश फर्केपछि उत्पन्न हुने राजनीतिक स्थितिलाई पनि गठबन्धनले मध्यनजर गरी आवश्यक निर्णय भने गर्न सक्नेछ।

No comments:

Post a Comment