Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, December 4, 2012

पेरिसडाँडामै दाहालविरुद्ध नाराबाजी

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २० - कोटेश्वर, पेरिसडाँडास्थित एकीकृत माओवादी मुख्यालयमा धर्ना बसेका 'अयोग्य लडाकु' ले पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेका छन्।

पार्टीले आफ्ना १२ बुँदे माग सम्बोधन नगरेको भन्दै उनीहरू मंसिर १३ देखि धर्ना बस्दै आएका छन् ।
एमालेनिकट युवा संघको ज्ञापनपत्र बुझ्न पेरिसडाँडा पुगेका दाहालविरुद्ध धर्नाकारीले नाराबाजी गरेको बहिगर्मित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले बताए। बिष्टका अनुसार उनीहरूले १२ बँुदे माग पूरा गर, अयोग्यको बिल्ला फिर्ता गर लगायत नाराबाजी गरेका थिए। बिष्टले नागरिकसँग भने, 'दाहालले हाम्रो मागबारे केही सम्बोधन गर्नु भएन, प्रहरीको सुरक्षा घेरा भित्रबाटै उहाँ फर्कनु भयो।' नाराबाजीका क्रममा केहीबेर त्यहाँ धर्नाकारी र सुरक्षाकर्मीबीच तनाव भयो।
पार्टी मुख्यालयमै कार्यकर्ताले अध्यक्ष दाहालविरुद्ध नाराबाजी गरेको यो पहिलो पटक हो। अयोग्यको बिल्ला फिर्ता गर्नुपर्ने, स्वेच्छिक अवकाशमा गएका लडाकुसरह सुविधा दिनुपर्ने, पुनर्स्थापना प्याकेजमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने, कदरपत्र दिनुपर्ने लगायत माग राख्दै अनमिनद्वारा अयोग्य प्रमाणित लडाकु धर्ना बस्दै आएका छन् । आफ्ना माग पूरा नभएसम्म पेरिसडाँडामा धर्ना जारी राख्ने उनीहरूले बताएका छन् ।
'जायज माग राखेर आन्दोलनमा उत्रँदा पार्टी मुख्यालय प्रशासनले दुर्व्यवहार गर्‍यो,' बिष्टले गुनासो गरे, 'हामीले पार्टीका लागि घरपरिवार, करिअर केही नभनी त्याग गर्‍यौं, आज त्यही पार्टीबाट अपमान सहनुपरेको छ।' एकीकृत माओवादीका जिम्मेवार नेताले अझै औपचारिक रूपमा माग सम्बोधन नगरेको उनको भनाइ छ। अनमिनले ४ हजार ८ लडाकुलाई अयोग्य भन्दै शिविरवाट बाहिर निकालेको थियो।
बहिगर्मित जनमुक्ति सेना नेपालका अनुसार धर्नामा सहभागीहरूको संख्या थपिँदै गएको छ। 'एउटा पालबाट धर्ना सुरु गरेका थियौं। धर्ना बस्ने सहभागीको संख्या बढ्दै गएपछि चारवटा पाल राख्नुपरेको छ,' अध्यक्ष बिष्टले भने, 'रातभर आगो तापेर, चौरमै मेस चलाएर धर्नालाई निरन्तरता दिएका छौं।'

No comments:

Post a Comment