Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 6, 2012

कांग्रेसमा सत्तालिप्सामात्र : गठबन्धन

काठमाडौं, मंसिर २१ (नागरिक) - सत्तारुढ गठबन्धनले सहमतीय सरकारमा कांग्रेस नेतृत्व अस्वीकार गरेको छ। कांग्रेसले प्रधानमन्त्रीमा सभापति सुशिल कोइरालालाई उभ्याएको तर अन्य विषयमा धारणा नल्याएको भन्दै गठबन्धनको बुधबार बैठकले यही अवस्थामा सरकार हस्तान्तरण गर्न नसकिने जनाएको हो।
प्रमुख राजनीतिक दलको बैठकअघि बसेको एकीकृत माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले कुनै पनि हालतमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सो बैठकले भट्टराई सरकारको निरन्तरताको विकल्प खोज्नु आत्मघाती भएको निष्कर्ष निकाल्दै सरकारमा रहेका दलले संविधानका अन्तवर्स्तुमा सहमति नभईकन कांग्रेस नेतृत्व स्वीकार नगर्ने निर्णय गरेको हो।
तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्द्र यादवले प्याकेजमा सहमति गर्न कांग्रेसले नचाहेको आरोप लगाए। 'कांग्रेसले सभापतिलाई प्रधानमन्त्रीको रुपमा उभ्याउने काम मात्र गर्‍यो' सिँचाइमन्त्रीसमेत रहेका यादवले नागरिकसँग भने, 'तर संविधानसभा चुनावको मिति, संविधानका विवादित विषयलाई सम्बोधन गर्ने र सहमतीय सरकारको स्वरुपबारे कुनै पनि धारणा ल्याउन नसकेकाले सहमति हुन सकेन।' प्रमुख राजनीतिक दलबीच प्याकेजमा सहमति गर्ने भनिए पनि कांग्रेसले सत्तालिप्सामात्र देखाएको आरोप यादवले लगाए।
'राजनीतिक रुपमा के उपलब्धि भएको छ र कांग्रेसलाई सरकार हस्तान्तरण गर्ने?' बैठकमा सत्तारुढ घटकका नेतालाई उद्धृत गर्दै यादवले भने।
त्यसो त एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि कांग्रेस नेतृत्व स्विकार गर्न नसकिने स्पष्ट धारणा राखिसकेका थिए। 'मधेसका एजेन्डामा अझै पनि कांग्रेसको धारणा आएको छैन, हामीले कसरी समर्थन गर्ने?' ठाकुरको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो, 'तर पनि सबै दल मिल्छन् भने हाम्रो कुनै पनि आपत्ति छैन।' बिहान १० बजे कोटेश्वर पुगेका ठाकुरले कांग्रेस नेतृत्वको सरकार नबन्ने संकेत त्यही बेला नेपाललाई दिएका थिए।
सोही समयमा लाजिम्पाटस्थित माओवादी अध्यक्ष दाहालको निवासमा पार्टी पदाधिकारीको बैठक बसी प्याकेजमा सहमति नभएसम्म सरकारका नछाड्ने सर्त राख्ने निर्णय गर्‍यो। जसअनुसार संविधानसभा निर्वाचन मिति तोक्नुपर्ने, संविधानसभा सदस्य संख्या घटाउनुपर्ने, चुनावका लागि कानुनी तथा संवैधानिक जटिलता हटाउनुपर्ने, संवैधानिक नियुक्तिको पहलकदमी गर्नुपर्नेजस्ता सर्त अघि सारेको थियो। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकपछि सरकार हस्तान्तरण गर्नुअघि नयाँ संविधानका अन्तवर्स्तुमा सहमति हुनुपर्ने सर्त राखेको जानकारी गराएका थिए।

No comments:

Post a Comment