Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, November 5, 2015

बाबुरामलाई रविन्द्रको भर, रविन्द्रलाई चाँही "भारतीय दलाल" कहलिने डर

ब्यवस्थापिका संसद भवन, नयाँ वानेश्वरमा राष्टपतिको निर्वाचन कार्यक्रम हुदैँ थियो । मतदानका लागि सांसदसहित मन्त्रीहरु पनि आउने क्रम जारी थियो । त्यही बेला  पत्रकारका सामु आई पुगे उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी । 
स्वभाविक रुपमा उनीसँग राजनीतिका कुरा त हुने नै भए । एकीकृत नेकपा माओवादी परित्याग गरेका बाबुराम भटराई निकट रहेर लामो समय काम गरेका मन्त्री रायमाझीलाई भटटराईले सुरु गरेको नयाँ शक्तिका बारेमा पत्रकारहरुवाट प्रश्न तेर्साउनु स्वाभाविक थियो । त्यहाँ हामी दर्जन जति पत्रकारहरु उपस्थित रहेका थियौं, जसले उनीमार्फत नयाँ शक्तिको भविश्यका बारेमा सोध्ने जिज्ञासा राख्ने काम गरेका थियौं । उनको जवाफ सुनेर हामी तीन छक्क परयौं । 
मन्त्री भएर पनि आर्मी कपाल कट काटेका मन्त्री रायमाझी आफैमा 'ब्लाक वेल्ट' हुन । मनमा कुरा नलुकाई भन्ने उनी एमाओवादीको नेतृत्व गरेर केपी ओली सरकारमा प्रतिनिधित्व गर्छन । उनले त्यहाँ हामीसँग करिव आधा घन्टा राजनीतिका बिभिन्न समयमा आफन मनका कुरा सुनाए । जस मध्येका केही कुरा यहाँ तपाईहरु समक्ष यहाँ राख्ने अनुमति चाहान्छु ।

"मन्त्रीज्यु तपाई बाबुरामसँग निकै लामो समयसम्म सँगै रहेर काम गरेको मान्छे उहाँको नयाँ शक्ति के होला ?" भनेर पहिलो प्रश्न गरेका थियौं ।

जवाफमा उनले भने, "सही कुरा गर्नु भयो, बाबुरामसँग सबैभन्दा नजिक र अनवरत साथ रहेर काम गर्ने म नै शिर्ष स्थानको नेता हुँ तर मैले त बाबुरामको नयाँ शक्तिलाई विश्वास गरिन भने यसको भविश्य के हुन्छ ? आफै अनुमान गर्नुहोस ।"

इमेज च्यानलनका सञ्जिव वगाले, राससका जीवन भण्डारी, काठमाडु टुडेका दयानिधि भटट, एविसीका दिपक आचार्य, उज्यालोका प्रकाश ढकाललगायत करिव दर्जन पत्रकारका सामु रायमाझीले आफनो धाराणा सार्वजनिक गरेका हुन । 

उनको तर्क थियो,- "एकजना सांसदले पनि भटराईलाई साथ दिएका छैनन । चुनावमा हारेर र १० ठाउँमा डुलेर एमाओवादीमा आएकाहरुको भरमा नयाँ शक्ति बनाउन लाग्नु भएकाले पनि त्यो त संकटमा छ । सम्झनुहोस त को-को लागिरहेका छन ? बाबुरामजीको नयाँ शक्तिमा ।"

यसो सम्झी हेरौ न त । मुख्य गरी मधेसी नेताको भरमा भटराईले आफना गतिबिधि सञ्चालन गरिरहेको अहिले देखिन्छ । एमालेवाट आएका, हिजो प्रचण्डलाई देउता मान्ने रामचन्द्र झा, जो नेपाल भारत दुवैतर्फ नागरिकता लिएको आरोपमा अझै पनि सर्वोच्चमा मुद्धा खेपिरहेका छन, अर्का रामकुमार शर्मा नेकपा माक्र्सवादी, मानन्धर समुह, माओवादी, फोरम, तमलोपा हुदैँ ९ वटा पार्टी 'चेन्ज' गरेर एमाओवादीमा आएका हुन । तीनको बढी भर भटटराईले गरिरहेका छन ।

"देवेन्द्र पौडेल पनि त बाबुरामजीको साथमा नै छन त ?" प्रश्न गरयौं ।

रायमाझीको जवाफ आयो- "उहाँ त एक समय मोहन बैद्यतिर लाग्नु भएको हैन र ? कहिले बैद्य, कहिले बाबुराम, कहिले माओवादी, कहिले नयाँ शक्ति । नेता भएपछि स्पष्ट हुनु पर्छ । देवेन्द्रजीमा त्यो स्पष्टता छैन । अनि कसरी अघि बढछ नयाँ शक्ति ?" 

लौ, अचम्म ।

फेरी उनलाई सोधियो-
"रबिन्द्र मिश्र (बिबिसी नेपाली सेवा) पनि बाबुरामजीको साथमा नै छन त"

उनले पनि त्यसको जवाफ दिएका छन- त्यो पनि एउटा प्रसंग सुनाएर । उनले त्यो प्रसंग यसरी सुनाए-
"बाबुरामजीले समिट होटलमा एउटा भेटघाट कार्यक्रम राख्नु भएको थियो । त्यहाँ मलाई पनि बोलाइएको थियो । आफनो त पुरानो नेता बोलाए पछि त जानै परयो, म पनि गएँ । बाबुरामजीलाई भेटेर रविन्द्रजी फर्किरहनु भएको थियो, बाटैमा भेटे । मैले सोधिहाले,- 'के हुदैछ तपाईहरुको नयाँ शक्तिको कुरो ? आउने भो त नयाँ शक्ति ?"  उनले त अचम्म कुरा पो गरे । 

'ए टोपजी यता आउनुहोस' भन्दै मलाई कुनातिर पो ताने । म झन अचम्म भएँ, यही कुरा गरौ न भने तर रविन्द्रजीले मान्नु भएन । र, मलाई कुनातर्फ लानुभयो ।
र, भन्नुभयो, 'यहाँ सबैले देख्ने ठाउँमा बसेर र बाबुरामलाई भेटन आएको थाहा पाए भने मलाई पनि 'भारतीय दलाल' भनि दिन्छन, त्यसैले यो कुनामा बोलाको ।

"त्यसो भए तपाई नयाँ शक्तिमा जाने कुरा देखिएन" भनेर मैले प्रतिप्रश्न गरे । 

"मैले त बहस चलाएको हुँ, जाने कुरा त कहीँ कतै कहिल्यै लेख्या छु र ?"  यसो भने पछि रविन्दजी हतार हतार अरुले देख्ला झै गरी निस्किए ।

"लौ भन्नुहोस, नयाँ शक्तिवालाहरु त एक आपासमा लुकीलुकी भेटछन भने यसको भविश्य जन्मनु भन्दै पहिला नै देखिएन र ?" उनको प्रतिप्रश्न हामीसँग रहयो ।

 "म त राजनीति गर्ने मान्छे, जोसँग पनि भेटनु पर्छ, छात्ती फुलाएर ठाँटले बाबुरामजीलाई भेटेर आएँ ।"



***
त्यसो भएँ, बाबुरामको नयाँ शक्ति आउँदैन् र उनको पछि अरु लाग्दैनन ? हामीले सोध्यौं ।

उनको प्रस्ट जवाफ थियो-

"मैले त जति बाबुरामलाई सायद अरुले बुझेको छैन, ३० बर्ष बढी मैले उनीसँग सँगै रहेर काम गरे । मेरो निष्कर्ष छ, उनी बिद्धान चाँही हुन तर राजनीतिज्ञ होइनन ।"

रायमाझीले भन्दै गए-
"कितावको ठेली पढेर नेपालमा राजनीति हुदैन, उनी नेपालको बस्तुगत धरातल बिर्सेर राजनीतिमा अघि बढन खोज्छन । अनि, त्यसलाई अरुले मानेनन भने रिसाउँछन, जे पनि गर्न पछि पर्दैनन ।" 

उनका कुरा हामीले सुनिरहयौं-

"ल तपाईहरु आफै भन्नुहोस न, पार्टी छाडनु अघि कम्तिमा मसँग सल्लाह त गर्नु पर्दथ्यो नि, सल्लाह नै छैन । छाडने निर्णय गरे पछि त्यो पनि १५ मिनेट अघि खबर गर्ने । त्यसैले म उहाँसँग सती जान चाहिन, 'तपाई जहाँ जतासुकै जानुहोस, म त यतै (एमाओवादीमा) मा रहे' भनेर पार्टीमा बसेको छु ।"

३० बर्ष बढी भटराईलाई अनवरत साथ दिएका रायमाझीलाई पनि नसोधी र सल्लाह नै नगरी राजिनामा दिएको उनलाई पटक्कै चित्त बुझेको रहेनछ, जुन कुरा हाम्लाई उनले सुनाए ।

"उनी एकल निर्णय गर्ने अनि हामी चाँही उनी सँगसँगै जानु पर्ने, के हाम्रो चाँही राजनीति होइन । उनी सति गए भन्दैमा यो टोपबहादुर जाँदैन ।"

रायमाझीले भन्दै गए-
"हेर्नुहोस, जीवनका यस अघिका समय अरुलाई नेता बनाएरै गुज्रियो, अब आफै नेता बन्ने हो । अहिले सरकारको नेतृत्व गरेको छु, पार्टी काममा लाग्छु र कुनै दिन नेतृत्व गर्न पनि तयार हुनुपर्छ भनेर स्पष्ट भिजन लिएर बसेको छु । अरुको नहुने कामको पछि लागेर यत्रो लामो राजनीतिक जीवनलाई सिध्याउन चाहान्न, त्यसैले बाबुरामजीको पछि लाग्न सकिएन । यो कुरा मैले बाबुरामजीलाई पनि भनिदिएको छु ।"

उनको बुझाईमा-
बाबुराममा "पोलिटिकल डिप्रेसन" देखा परेको छ । "डिप्रेसन" मा परेका नेताले नयाँ शक्तिलाई उर्जा दिन नसक्ने उनको बुझाई छ । धरातलीय यथार्थलाई बिर्सेर राजनीति गर्न खोज्दा उनमा "डिप्रेसन' देखा परेको छ र त उनी निकै तरगिंत हुन्छन् । 

***

हुन त बिराटनगर सम्मेलन पछि आन्दोलनमा जानु पर्छ भन्दा भटटराई त्यसको बिपक्षमा उभिदै संविधान बनाउनु पर्छ भनेर लडिरहे । प्रचण्ड मोर्चा बनाएर सडक आन्दोलनमा जाँदा बाबुराम भने सिंहदरवारमा संविधान बनाउन लागि परेका थिए । संवैधानिक समितिका सभापतिको हैसियतले उनले त्यो समय निकै उल्लेखनीय काम गरे । तर, माघ ४ सम्म मुख्य मुद्धामा उनले सहमति जुटाउन सकेनन । तर, संयोग नै मान्नुपर्छ, उनको समितिले सहमति जुटाउन नसकेर संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझाए लगत्तै एउटा 'भद्र सहमति' भयो, जसले संविधान बनाउने बाटो खुल्ला गरयो । तर, यो बिषयलाई भटराईले भने ब्यक्तिगत इगो बनाए ।

उनको कुरा आयो-
"म सभापति रहुन्जेलसम्म सहमति नगर्ने तर मैले प्रतिवेदन बुझाए लगत्तै सहमति हुने, यो मलाई सरासर असफल बनाउने षडयन्त्र गरिएको हो" भन्ने एकोहोरो तर्क गरेर उनको जोडबलमा पार्टी र मोर्चालाई आन्दोलनमा होमाए ।

"५२ सालको अवस्थामा देश पुगेको र युद्ध जारी रहेको, संविधानसभा अपहरणमा परेको' जस्तो उत्तेजक कुरा उनले त्यो बेला गरे । मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाग प्रति आक्रामक रुपमा उत्रिए । कतिसम्म भने, संविधानमा सहमतिको प्रस्ताव गर्ने उनकै मोर्चाका बिजय गच्छदारको अपमान गर्नसम्म पनि पछि परेनन । यी सब काम ब्यक्तिगत रिसमा गरेको बुझन कुनै समस्या थिएन तर बाबुरामले त्यसै गरे । तर, उनी पश्चिमका जिल्लामा रहदाँ नै प्रचण्डले भने आम हडताल रोकेर संविधान बनाउनतर्फ लागे ।

बिचमा भुकम्प गयो । नेताहरु जिम्मेवारपुर्ण रुपमा प्रस्तुत हुन थाल्यो । प्रमुख दल बिच १६ बुदेँ सहमति भयो, जसले संविधानको ढोका खुल्यो । नेताहरुले आफनो गल्ति कमजोरी "रियालाइज"  गर्दै संविधान बनाउन लागे, बाबुरामले पनि अग्रसरता देखाए । संविधान केही दलका बिरोधका बाबजुद पनि अघाडी बढयो । बाबुरामले संविधान रोक्नका लागि केही शक्ति लागेको भन्दै संविधानसभामा कडा भाषण दिएर संविधानको प्रक्रिया रोक्न नहुने भनेर तर्क पेश गरे, ताली नि खाए ।

१६ बुदेँ सहमति अनुसार ८ प्रदेश बनाउने निर्णय उल्टाउँदै ६ प्रदेश बनाउने निर्णय भयो, त्यसमा बाबुरामले पनि साथ दिए । उनकै समर्थनमा ८ वाट घटाएर ६ प्रदेशमा जाने निर्णय पनि सिंहदरवारमा भयो । तर, सो सहमति भए पछि बाबुराम भने बागों बांगो हुन थाले । अध्यक्ष प्रचण्डलाई संविधानको प्रक्रिया रोक्नका लागि दबाब दिन थाले, केही समय संविधान रोक्नु पर्ने तर्क उनीवाट आउन थाल्यो ।

त्यही वेला भारतीय राजदुत रञ्जित रेले संविधानको काम कम्तिमा १५ दिन रोक्न दबाब दिएको लुकेको कुरा थिएन । प्रधानमन्त्री सुशिल कोइराला पनि कम्तिमा ५ दिन रोक्नु पर्छ भनेर प्रमुख दलको बैठकमा प्रस्ताव गरिसकेका थिए तर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड लगायतका शेरबहादुर, रामचन्द्र पौडेल र कृष्ण सिटौला भने बिपक्षमा थिए । तर उता, प्रचण्ड भने आफनै नेता बाबुरामको चर्को दबाबमा परिरहेका थिए, तर रोक्न चाँही रोकिरहेका थिएनन । बाबुरामको कुरा टार्दै आफनो दलवाट अवरोध नहुने निरन्तर जनाउ दिइरहेका थिए ।

बाबुरामले चर्कै दबाब दिए पछि बाध्य भएर प्रचण्डले संविधानसभा भवनमा नै पार्टी स्थायी समितिको बैठक बोलाए । मतदानको ४ दिन (सायद) अघि बसेका उक्त बैठकमा बाबुरामसँग संविधान किन रोक्नु पर्ने कारणका बारेमा प्रश्न गरियो। 

त्यो दिनको बैठकमा भएको कुरो सुनिए अनुसार उनले भारतीय स्वामित्वको कुरा गरेका थिए ।

त्यसमा भटटराईका जवाफ थियो, "जनआन्दोलन, १२ बुदेँ सहमति, शान्ति प्रक्रिया, संविधानसभा चुनाव गणतन्त्र घोषणामा भारतको साथ र समर्थन रहदैँ आएको छ, अहिले संविधान जारी गर्दा पनि उसले यसमा स्वामित्व खोजेको छ, त्यसैले उसलाई मनाएर मात्रै संविधान जारी गरयौं । नत्र भोली अप्ठयारो पर्न सक्छ ।" बाबुरामले प्रस्ट रुपमा भारतीय स्वामित्वको वकालत गरे पछि स्थायी समितिका अन्य नेताले उनलाई प्रश्न बर्साउन थाले ।

मुख्यतः शक्ति बस्नेत उनी प्रति बढी नै आक्रामक रुपमा प्रस्तुत भए । उनी सो अघि पनि आक्रामक रुपमा भटराई र उनी निकट नेतासँग यसरी नै प्रस्तुत हुदैँ आएका थिए - मुख्यतः संविधान रोक्न पर्छ भन्ने प्रस्ताव आउँदा ।

लगत्तै बाबुराम माथी फटाफट प्रश्न बर्सन थाल्यो-

"तपाई नेपालको संविधान बनाई रहनु भएको छ कि भारतको ?

"तपाई नेपाली नागरिक हो कि भारतीय ?"  यस्ता प्रश्न उनी माथी बैठकमा बर्सिन थाले पछि त्यहाँवाट रिसाउँदै बाबुराम हिडे । त्यो दिनको स्थायी समिति बैठक कुनै पनि निर्णय गरी यसै टुगियो ।

संविधान मतदानको काम सुरु भयो, बाबुराम उपस्थित त भए तर खुसी भएको उनको अनुहारमा कहिल्यै देखिएन । मतदान सकिएको दिन, प्रचण्डको हाई हाई भयो तर बाबुराम पुरै वेवास्तामा परे ।  प्रचण्डसँग फोटो खिच्न तछाँड मछाड भयो तर बाबुराम भने संविधानसभा हल भित्र एक्ला भए । निकैपछि, माधव नेपालले बोलाएर बाबुरामलाई पनि साथै राखेर सामुहिक फोटो सेसन गराउने काम गरे ।

एमाले सभासद रामबिर मानन्धरले शान्ति प्रक्रियामा योगदान दिएका र संविधान निमार्णमा खटिएका सबै शिर्ष नेतालाई बोलाएर फोटो पत्रकारसामु लगे तर बाबुरामलाई लगेनन । बाबुराम चाँही आफना पार्टीका महिला सभासदसँग फोटो सेसन गरेर बसिरहेको दृश्यले कम्तिमा मलाई चाँही नमज्जा लाग्यो ।

युद्धकालमा प्रचण्डसँग झगडा गरेर, कस्टडी रहेर पनि शान्ति प्रक्रिया र संविधानमा ल्याउने काम उनै बाबुरामले गरेका थिएँ । त्यसैले त उनी प्रचण्ड भन्दा निकै लोकप्रिय भएका पनि थिएँ । शान्ति प्रक्रिया र संविधान निमार्णका लागि उनले दिएका योगदान कम ऐतिहासिक थिएन ।  उनको यसमा दिएको योगदान कम्ति महत्वपुर्ण थिएन तर जब टुंगिने बेला आयो, एउटा सानो "मिस्टेक"ले बाबुरामले भने त्यसको स्वामित्व लिन सकेनन ।

अरुको स्वामित्वको रक्षा गर्न लाग्दा बाबुरामले आफुले पनि नयाँ संविधानको स्वामित्व लिन पाएनन । सायद त्यही पीडाले होला, असोज ९ गते आकस्मिक रुपमा पार्टी परित्यागको घोषणा गरे । रुसमा रहेकी श्रीमती हिसिला यमी र अन्यलाई पनि खबर नगरी उनले राजिनामा दिए पछि हाल नयाँ शक्ति बनाउने भनेर लागि परेका छन । 


No comments:

Post a Comment