Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, November 4, 2015

बाबुरामका बारेमा पहिलो पटक एमाओवादी मुख खोल्यो

एकीकृत नेकपा माओवादीले पार्टी नीति र हितविपरीत लागेको भन्दै पाँच केन्द्रीय नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको स्थायी समिति बैठकले पाँच केन्द्रीय नेतालाई निष्कासन गर्दै मंगलबार पार्टी मुख्यालयमा असहमति दर्ज गराउने अन्य ४१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

निष्कासनमा पर्ने नेतामा स्थायी समिति सदस्य रामचन्द्र झा, गंगानारायण श्रेष्ठ, पोलिटव्युरो सदस्यद्वय रामरिझन यादव र महेन्द्र पासवान, केन्द्रीय सदस्य रामकुमार शर्मा र घनश्याम यादव छन्। सोही बैठकले मंगलबार पार्टी मुख्यालयमा 'असहमति दर्ज गराई नयाँ शक्तिको बहसमा जाने' भनेर औपचारिक जानकारी गराउने हिसिला यमी, देवेन्द्र पौडेललगायतलाई भने पाँच दिनभित्र केन्द्रीय कार्यालयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

पार्टीको नीति र हितविपरीत लागेपछि यसअघि नै स्पष्टीकरण सोधिएकामध्ये उक्त पाँचजनाले जवाफ नदिएपछि बुधबारको बैठकले निष्कासन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य जनार्दन शर्माले बताए। 'यसअघि नै स्पष्टीकरण सोधेर पनि जवाफ नदिएकालाई पहिलो चरणमा पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेका हौं,' शर्माले नागरिकसँग भने, 'हिजो नयाँ शक्तिको बहसमा भाग लिन्छौँ भनेर जानकारी गराउनेलाई चाहिँ स्पष्टीकरण सोध्ने निर्णय भएको छ।'
गत असोज ९ गते पार्टी परित्याग गरी नयाँ पार्टी गठनको तयारीमा लागेका बाबुराम भट्टराईले चलाएको 'नयाँ शक्ति' को अभियानमा लाग्ने जानकारी गराएको भोलिपल्ट उक्त स्पष्टीकरण सोधिएको हो। बुधबार निष्कासनमा परेकामध्ये झा नेपाल–भारत दुवैतर्फ नागरिकता लिएको आरोपमा सर्वोच्च अदालतमा मुद्दा झेलिरहेका छन्। उनी एमाले परित्याग गरी गत संविधानसभा चुनावअघि एमाओवादी प्रवेश गरेका थिए। शर्मा नेकपा मार्क्सवादी, माओवादी, फोरम, तमलोपा हुँदै अघिल्लो संविधानसभा चुनावपछि एमाओवादीमा प्रवेश गरेका हुन्। तीन वर्षअघि पार्टी विभाजन भएपछि वैद्य माओवादीमा गएर पुनः एमाओवादीमा फर्केका पासवान पोलिटव्युरो सदस्य छन्। उपाध्यक्ष नारायाणकाजी श्रेष्ठसँग एमाओवादीमा आएका यादव भने पत्रकार पनि हुन्, जो भट्टराई प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए। यादव भने केन्द्रीय सदस्य हुन्।

'पार्टीले मलाई स्पष्टीकरण सोधेको थियो तर मैले त्यसको जवाफ दिइन, बरु विद्रोहको घोषणा गरेको थिएँ,' शर्माले नागरिकसँग भने, 'कानुनी प्रक्रिया पुर्यायउनका लागि मात्रै त्यस्तो स्पष्टीकरण सोधिएको थियोे।' पार्टी नै परित्याग गरेपछि निष्कासन गर्ने कार्य गरिनु हाँस्यास्पद भएको उनको प्रतिक्रिया छ।

भट्टराईले सोमबार आफूनिकटलाई बोलाएर असहमति पत्र दर्ज गराउन निर्देशन दिएका थिए। भट्टराईको निर्देशनअनुसार उनीहरूले मंगलबार पार्टी कार्यालयमा असहमतिपत्र दर्ज गराएका थिए।

भट्टराईमा देखा परेको व्यक्तिवादी प्रवृत्तिले दक्षिणपन्थी विसर्जनतर्फ लैजान खोजेको एमाओवादीको निष्कर्षसमेत सार्वजनिक गरेको छ। 'भट्टराईले राष्ट्र, पार्टी र जनताका अगाडि उपस्थित सम्भावना र चुनौतीको जुन परिवेशमा पार्टी परित्याग गर्नुभयो, त्यसले उहाँमा रहेको आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, कम्युनिस्ट आन्दोलन छाडेर नयाँ शक्ति निर्माण गर्ने प्रचार र त्यसको तयारीका लागि भएका कसरतले दक्षिणपन्थी विसर्जनवादलाई स्पष्ट रूपमा अभिव्यक्त गर्दछन्।'

मंगलबार 'हाम्रा असहमतिका विषयहरू' शीर्षकमा हस्ताक्षर गर्ने नेतामध्ये २१ जना मात्रै केन्द्रीय स्तरका नेता भएको एमाओवादीको भनाइ छ। '४५ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेको प्रचार गरिए पनि ४४ जनाको हस्ताक्षर भएको पत्रमा एक पार्टी स्थायी समिति सदस्य, चार पोलिटव्युरो सदस्य र १६ जना केन्द्रीय समिति सदस्य गरी जम्मा २१ जना केन्द्रीय समिति सदस्यले मात्र हस्ताक्षर गर्नुभएको कुरा प्रष्ट गर्न चाहन्छौं,' एमाओवादीले बुधबार भनेको छ, 'त्यस पत्रमा हस्ताक्षर गर्नेमध्ये पनि कतिपयले पार्टीका पदाधिकारीलाई फोन गरेर कम्युनिस्ट पार्टी छाडी नयाँ शक्ति निर्माण गर्ने विषयमा आफू सहमत नभएको जानकारीसमेत गराउनुभएको छ।' उक्त पत्रमा हस्ताक्षर गर्नेमा एकजना पनि सांसद छैनन्। एमाओवादीले मंसिर १० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

No comments:

Post a Comment