Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, September 1, 2013

'औषधी खान गएका नारायणकाजी फर्केर पेरिसडाँडा आएनन'

एकीकृत माओवादीले चुनावी अभियानअघि गर्न खोजेको सांगठनिक कार्यविभाजनको प्रस्तावमा निवर्तमान उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै बैठकस्थल छाडेर हिँडेका छन्। श्रेष्ठ एकाएक बाहिरिएपछि कार्यविभाजन सन्दर्भमा आइतबारदेखि हुने भनिएको केन्द्रीय समिति बैठक सुरु नहुँदै स्थगित भएको छ। पूर्व पदाधिकारी, पूर्व स्थायी समिति, ब्युरो र राज्य संयोजकको संयुक्त बैठकबाटै ब्युरो र राज्य समिति संयोजक चयन गर्न बैठक डाकिएको थियो।
'चुनावकेन्द्रित कार्यविभाजन गर्न लागेका हौं, अझ अलिकति गृहकार्य पुगेन भन्ने कुरा आयो, त्यसैले बैठक सुचारु हुन सकेन, केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले आइतबार नागरिकसँग भने, 'थप गृहकार्य गरी भोलि बस्छौं ।' उनका अनुसार कार्यविभाजनका लागि गृहकार्य जारी छ ।
बैठकमा सहभागी स्रोतका अनुसार उपाध्यक्ष श्रेष्ठले मधेस ब्युरो इन्चार्ज चयन, आफ्नो उम्मेदवारी क्षेत्र निर्धारण र भारतसँगको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता 'बिप्पा' बारे अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग असहमति प्रकट गर्दै बैठक छाडेर हिँडेका हुन् ।
दाहाल र भट्टराई 'भद्र सहमति' गरेर बैठकमा आउने र त्यही पार्टीमा लागू गर्न खोज्ने प्रवृत्ति देखिएको भन्दै श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको सहभागी एक नेताले बताए ।
अध्यक्ष दाहालले पूर्वपोलिटब्युरो सदस्य हरिबोल गजुरेलले सम्हाल्दै आएको मधेस ब्युरो इन्चार्जमा एमाले परित्याग गरी आएका रामचन्द्र झालाई ल्याउने प्रस्ताव राखेका थिए । श्रेष्ठले उक्त प्रस्ताव ठाडै अस्विकार गरेका छन् । उक्त स्थानमा गिरिराजमणि पोखरेललाई नै दोहो¥याउनुपर्ने श्रेष्ठले अडान राखे । नेता पोखरेलले गजुरेलअघि मधेस ब्युरो इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।
'पोखरेल कि झा भन्ने विषयमा दुवै पक्षले आ–आफ्नो अडान राखे, त्यसमा सहमति हुन नसकेपछि कार्यविभाजन नै हुन सकेन,' अर्का सहभागीले नागरिकसँग भने, 'गजुरेलजीले झाको नाम प्रस्ताव गर्नुभयो, उहाँले मान्नुभएन ।'
दोस्रो संविधानसभा निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिने चाहनामा भट्टराई बाधक बनेको श्रेष्ठको बुझाइ छ । गृहजिल्ला भएकाले श्रेष्ठले गोरखा सुरक्षित मानेका छन् । दाहाल र भट्टराई भने श्रेष्ठलाई काठमाडौंबाट उम्मेदवार बनाउन चाहन्छन् । यसमा श्रेष्ठको आपत्ति देखिन्छ ।
'म पहिलोचोटि निर्वाचन लड्न खोजिरहेको छु, त्यसैले गृहजिल्ला गोरखाबाट लड्न चाहन्छु,' श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो, 'बाबुरामजीलाई अरू ठाउँबाट लडाउनुस्, म गोरखाबाटै लड्छु ।'
पहिलो चरणको अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि र जिल्ला÷राज्य समितिले गोरखाबाट श्रेष्ठ र भट्टराई दुवैलाई सिफारिस गरेका छन् । अध्यक्ष दाहाल भने गोरखाबाट बाबुराम भट्टराई र हितराज पाण्डेलाई प्रत्यक्षतर्फ लडाउने योजनामा पुगिसकेका छन् । दाहालले नेवार समुदायको बाहुल्य भएकाले काठमाडौंमा लड्दा मत आउने तर्क राख्दै श्रेष्ठको नाम प्रस्ताव गरेका हुन् ।
बैठकमा निवर्तमान उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठबीच भारतसँगको बिप्पा सम्झौतालाई लिएर पनि चर्काचर्की परेको छ । 'पार्टीले राजनीतिक प्रतिवेदन अझै पारित गर्न सकेको छैन, बिप्पाका बारेमा केन्द्रीय समितिमा छलफल गराउने भनेर हेटौडा महाधिवेशनमा भनियो, तर न आजसम्म प्रतिवेदन पास गरियो, न बिप्पाबारे कुनै ठोस निर्णय लिइयो' श्रेष्ठले बैठकमा भने, 'पहिला राजनीतिक प्रतिवेदन पास गरौं र बिप्पाको विषय क्लियर गरौं, अनि कार्यविभाजनतिर जाऔं ।'
उक्त प्रस्तावमा अध्यक्ष दाहाल मौन बसे । भट्टराईले भने कडा प्रतिवाद गर्दै त्यसको जवाफ अध्यक्ष दाहालले दिनुपर्ने धारणा राखे । 'बिप्पाका बारेमा अब अध्यक्षले नै प्रस्ट पार्नुप¥यो, किनकि मैले भारतसँग बिप्पा सम्झौता गर्नुअघि अध्यक्षलाई सोधेको थिएँ, उहाँकै निर्देशनमा गरेको हुँ' भट्टराईले भने । यसमा अध्यक्ष दाहालले कुनै प्रतिक्रिया दिएनन् ।
महाधिवेशनले चयन गरे पनि भट्टराईकै कारण उपाध्यक्ष परित्याग गर्नुपरेकोमा आक्रोशित रहँदै आएका श्रेष्ठ सातौं विस्तारित बैठकपछि पछिल्ला पार्टीका सार्वजनिक कार्यक्रममा कमै देखिन थालेका छन् । पछिल्लो कार्यविभाजनमा पनि 'अध्यक्ष दाहाल र भट्टराईले एकलौटी गर्न खोजेको' भन्दै श्रेष्ठले असन्तुष्टि जनाएपछि लाजिम्पाट बैठक प्रभावित हुन पुग्यो ।
'औषधी खान बिर्सें, म खाएर आउँछु भनेर बैठक छाडेर हिँडनु भएका प्रकाशजी (श्रेष्ठ) फर्केर आउनुभएन, सहभागी स्रोतले भन्यो, 'उहाँ फर्केर नआएपछि केन्द्रीय समिति बैठकै नबसी स्थगित भएको हो ।'
बिहान ११ बजे पार्टी मुख्यालयमा सुरु हुने भनिए पनि कार्यविभाजन र भट्टराई–श्रेष्ठबीच लाजिम्पाटमै चर्काचर्की परेपछि समयमा सुरु हुन सकेन । बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका केन्द्रीय नेतालाई २ बजे सुरु हुने जानकारी गराइयो । श्रेष्ठ भने पेरिसडाँडा नै पुगेनन् ।
'पाँच बजेसम्म कुर्दा पनि प्रकाशजी नआएपछि हामी बैठकमै नबसी फर्केर आयौं, एक केन्द्रीय सदस्यले नागरिकसँग भने । उनका अनुसार केन्द्रीय तहमा कार्यविभाजन मिलाएपछि बैठक सुचारु हुनेछ ।

No comments:

Post a Comment