Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 26, 2013

सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद

प्रकाश तिमल्सिना, काठमाडौं, माघ १४ - प्रधानमन्त्री बाबुराम भट्टराई र उनको सरकारलाई सहयोग गर्ने सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका बीच धारणा बाझिन सुरु गरेको छ। गठबन्धनले पुस २५ भित्र निर्वाचनमा सहमति नभए पुनर्स्थापनाका लागि आन्दोलन गर्ने र जनमत बढाउने क्रियाकलाप अघि बढाइरहेका बेला प्रधानमन्त्री भट्टराई भने त्यसको विपक्षमा देखिएका छन्।
वर्तमान संक्रमणकालीन राजनीतिको एक मात्र निकास संविधानसभा निर्वाचन भएको भन्दै गठबन्धनको निर्णयविपरीत प्रधानमन्त्रीको नयाँ धारणा सार्वजनिक भएको छ। 'अबको राजनीतिक निकास संविधानसभा निर्वाचन नै हो,' प्रधानमन्त्रीलेे शनिबार बिहान टि्वटरमा लेखेका छन्। जेठ १५ सम्म निर्वाचनको सम्भावना रहेको पनि प्रधानमन्त्रीको भनाइ छ।
यता, गत पुस १२ गते बसेको गठबन्धन बैठकले पुस २५ भित्र नयाँ निर्वाचनमा सहमति हुन नसके संविधानसभा पुनर्स्थापनाका एजेन्डा उठान गरेर जाने निर्णय गरेको थियो। सोही अनुसार गठबन्धनले माघ १७ गते राजधानीमा आमसभा आयोजना र जिल्ला तहसम्म गठबन्धन विस्तार गर्ने निर्णय गरी आफ्ना क्रियाकलापलाई जारी राखेको छ। 'पुस २५ गते भित्र निर्वाचनमा सहमति नभए पुनर्स्थापनामा जाने निर्णय गरेका हौं, सोहीअनुसार अघि बढेका पनि हौं,' गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले भने, 'जेठमा निर्वाचन गर्ने कुरा त आएको छ, तर त्यो सम्भावना क्षीण छ।' यद्यपि, गठबन्धनले निर्वाचनको एजेन्डा भने नछाडेको सिंहको जिकिर छ।
माओवादीको पुस २६-२८ को महाधिवेशन आयोजक समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जिल्ला अधिवेशनलाई संविधानसभा पुनर्स्थापनाको आन्दोलनको एक अंग बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए। 'निर्वाचन हुन सक्ने अवस्था छैन, जिल्ला सम्मेलनलाई पुनर्स्थापनाका लागि आन्दोलनको मोर्चाका रुपमा हामीले लिनुपर्छ भनेर अध्यक्षले उक्त बैठकमा भन्नुभएको थियो,' एक केन्द्रीय आयोजक सदस्यले नागरिकसँग भने, 'पुनर्स्थापनामा नै जोड गरेर जाऔं भन्ने अध्यक्षको निर्देशन अनुसार जिल्लाजिल्लामा हामीले सम्मेलनलाई आन्दोलनको एक अंग बनाएर काम गरिरहेका छौं।' अध्यक्ष दाहालले महाधिवेशनमा पेस गर्न लागेको राजनीतिक मस्यौदामा अबको राजनीतिक निकास भनेकै संविधानसभा पुनर्स्थापना नै भएको उल्लेख गरेका छन्।
गत माघ ११ गते भट्टराई सरकारको मुख्य सहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि निर्वाचनले मात्रै निकास दिने निर्णय सार्वजनिक गरेको थियो। 'वर्तमान राजनीतिक द्वन्द्व र गतिरोधको एक मात्र निकास संविधानसभा निर्वाचन मात्र भएको' भन्दै उसले नयाँ निर्वाचनमा जोड गरिसकेको छ।

No comments:

Post a Comment