Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, January 10, 2013

चीन सम्मान गर्छ, भारत हस्तक्षेप : वैद्य

प्रकाश तिमल्सिना, काठमाडौं, पुस २६ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली स्वाधीनताविरुद्ध भारतबाट हस्तक्षेप भइरहेको आरोप लगाएका छन्। तर, अर्का छिमेकी चीनले भने नेपाली राष्ट्रिय अखण्डताको सम्मान गरेको उनले बताए।

‘उत्तरी छिमेक देशले हामीलाई सम्मान दिएको छ तर, भारतीय शासक वर्गले त्यो सम्मान गरेको छैन,' वैद्यले भने, भारतको त्यो गिद्धे दृष्टि अन्त्य हुनुपर्छ।'
राष्ट्रिय स्वाधीनताको प्रश्न निकै गम्भीर रुपमा खडा भएको भन्दै वैद्यले त्यसको रक्षाका लागि आफ्नो पार्टी अग्रस्थानमा रहने पनि जिकिर गरे।
बुधबार राजधानीमा सुरु सातौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले नेपालमा क्रान्ति पूरा गर्न अझै केही अवरोध रहेको औंल्याउँदै त्यसमा भारतीय विस्तारवाद पनि बाधक रहेको बताए। वैद्यले जनवादी क्रान्ति पूरा नभएको भन्दै महाधिवेशनले नयाँ कार्यदिशा तय गर्ने जनाए।

‘देशभित्रका दलाल, नोकरशाह र सामन्ती घरेलु प्रतिक्रियावादसहित अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले अवरोध गर्ने खतरा अझै पनि छ,' वैद्यले भने, ‘दक्षिणपन्थी नवसंसोधनवादको खतरा पनि उत्तिकै छ, त्यसविरुद्ध दृढतापूर्वक संघर्ष चलाएरमात्र अघि जान सकिन्छ।'
नवसंशोधनवादी शक्तिलाई ध्वस्त नपारी नयाँ कम्युनिस्ट क्रान्ति सम्पन्न हुन नसक्ने पनि उनले बताए। पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबाट विभाजित भएको सात महिनामा माओवादीले आयोजना गरेको उक्त महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक गरी दुई हजारजनाले सहभागिता जनाउँदै छन्। महाधिवेशनको बन्द सत्र बिहीबारदेखि कमलादीस्थित नेपाल प्रज्ञा भवनमा २९ गतेसम्म चल्नेछ। खुलामञ्चमा आयोजित एक समारोहमा वैद्यले महाधिवेशनको उदघाटन गरेका हुन्।
आफूहरु नयाँ कम्युनिस्ट पार्टी निमार्णको प्रक्रियामा रहेको वैद्यले दाबी गरे। ‘अहिलेका पार्टीहरुले देशको समस्या समाधान गर्न सक्दैन, त्यसैले हामी नयाँ पार्टी निर्माण प्रक्रियामा छौं,' उनले भने, ‘यो तरिकाले देश चल्दैन, देशको जिम्मेवारी हामी लिन्छौं।' सिंहदरबारमा पुरानो तरिकाले आफूहरु छिर्न नखोजेको बताउँदै अध्यक्ष वैद्यले नयाँ तरिकाले सिंहदरबार छिर्ने पनि उदघोष गरे।
चार राजनीतिक शक्तिबीच मात्र हुने सहमतिलाई आफ्नो पार्टीले अस्वीकार गर्ने वैद्यले बताए। ‘चार राजनीतिक शक्तिले मात्र गर्ने निर्णय हामीहरुलाई मान्य छैन, हामी त्यसलाई स्वीकार गर्न बाध्य हुने छैनौं,' वैद्यले भने।
संसदवादी दलको गोलचक्करबाट मुलुकले निकास पाउन नसक्ने वैद्यले जिकिर गरे। तत्कालीन पार्टी नेतृत्वभित्र नवसंशोधनवाद र राष्ट्रिय आत्मसमपर्णवादी चरित्र देखा परेपछि सम्बन्ध बिच्छेद गरेर नयाँ पार्टी निमार्ण गरेको उनले प्रस्ट्याए।
सातौं महाधिवेशन आफैंमा एउटा विजयको उत्सव भएको वैद्यले बताए। ‘यो
महाधिवेशनलाई हामीले दक्षिणपन्थी नवसंसोधनवादको विजयका रुपमा लिन्छौं, यो हाम्रो एउटा विजय नै हो,' उनले भने। वैद्यको पार्टीले एमाओवादीको नेतृत्वलाई दक्षिणपन्थी नवसंशोधवादको संज्ञा दिँदै दस्तावेजमा पनि लिपिबद्ध गर्दै आएको छ।
चिनियाँ र उत्तर कोरिया राजदूत उपस्थित
नेकपा-माओवादीको महाधिवेशन स्थलमा बिहीबार चीन र उत्तर कोरियाका राजदूत क्रमशः याङ हुलान र किम योङ सु ली कार्यक्रम अवधिभर खुलामञ्चमा बसे। चिनियाँ र उत्तर कोरिया कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै उनीहरु उदघाटनस्थलमा सहभागी भएको पार्टी उपाध्यक्ष सिपी गजुरेलले जानकारी दिए। उद्घाटन कार्यक्रममा टर्की, क्यानडा, भारतलगायत देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिले मन्तव्य राखे।
कार्यक्रममा मातृका यादव, मणि थापा, चित्रबहादुर केसी, माणिकलाल श्रेष्ठ, पदमरत्न तुलाधार, सुन्दरमणि दीक्षितलगायतले शुभकामना दिएका थिए।
प्रमुख दललाई बोलाइएन
नेकपा-माओवादीको महाधिवेशन उदघाटन सत्रमा साना कम्युनिस्ट पार्टीको प्रतिनिधित्व भए पनि प्रमुख राजनीतिक दललाई बोलाइएन। उसले एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध साना दललाई पनि निम्तो दिएन। ‘नवसंसोधनवादी र दक्षिणपन्थीसहित संसदवादी दललाई महाधिवेसनमा नबोलाउने नै भनी पार्टीले निर्णय गरेपछि नबोलाइएको हो,' अतिथि सत्कारका प्रमुख हितमान शाक्यले नागरिकसँग भने।

No comments:

Post a Comment