Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 12, 2013

चुनावी मैदानमा पत्रकार, को को हुने भए त उम्मेदवार ?

शम्भु श्रेष्ठ, पाल्पा–३
संविधानसभा चुनावमा उम्मेदवारीका लागि विभिन्न राजनीतिक दलबाट अहिलेसम्म करिब चार दर्जन पत्रकार सिफारिस भएका छन्। एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेनिकट पत्रकार संगठन, प्रचार विभाग, जिल्ला कमिटी र विभिन्न निकायले केन्द्र र मोफसलमा कार्यरत पत्रकारलाई आ–आफ्नो पार्टीबाट उम्मेदवारीमा सिफारिस गरेको छ। आधा दर्जनभन्दा बढी पत्रकार प्रत्यक्षतर्फबाटै सिफारिस भएका छन्। 
पार्टीबाट चुनाव लड्ने उनीहरुको दौडधुपले व्यावसायिक पत्रकारिताको न्यूनतम मर्यादामा भने प्रश्न उठेको छ। कांग्रेसले सबैभन्दा बढी चार तथा एमाले र माओवादीले २–२ जनालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेका छन्। समानुपातिक कोटाका लागि सबैभन्दा बढी पत्रकार सिफारिस हुन पुगेका छन्, जुन क्रम अझै जारी छ ।
कांग्रेसबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल सिन्धुपाल्चोक–२, देवप्रकाश त्रिपाठी ( सम्पादक, घटना र बिचार साप्ताहिक) धादिङ–३, कबिर राणा  (सम्पादक, देशान्तर साप्ताहिक) भक्तपुर–२ र प्रेस युनियनका सचिव भुवन भट्ट (इमेज च्यानल) प्युठान–२ बाट प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्।
एमालेले पाल्पा–३ बाट शम्भु श्रेष्ठ (सम्पादक, दृष्टि साप्ताहिक), काभ्रे–२ बाट गोकुल बाँस्कोटा (सम्पादक, सम्बोधन साप्ताहिक) लाई प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरेको छ। बाँस्कोटा एमाले काभ्रे जिल्ला कमिटीका अध्यक्ष पनि हुन्।
प्रत्यक्षमा एमाओवादीले पत्रकार महासंघका महासचिव ओम शर्मा (सम्पादक, जनआह्वान साप्ताहिक) लाई धादिङ–२ बाट सिफारिस गरेको छ भने महासंघका पूर्व उपाध्यक्ष गोबिन्द आचार्य (सम्पादक, युगप्रवाह साप्ताहिक) लाई प्युठान–१ बाट सिफारिस गरेको छ। दुवै एमाओवादीका वैकल्पिक केन्द्रीय सदस्य पनि हुन्।
समानुपातिकबाट सिफारिस हुने पत्रकारको संख्या निकै ठूलो छ। कांग्रेसले जनकपुरबाट पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झा (अन्नपुर्ण पोष्ट) , सिन्धुलीबाट हरिहर बिरही (वरिष्ठ पत्रकार),  काठमाडौंबाट दामोदर दुवाडी (सम्पादक, बिकल्प साप्ताहिक), धनुषाबाट बृजकुमार यादव (बिबिसी नेपाली सेवा ) र राजेश्वर नेपाली (स्वतन्त्र पत्रकार), धादिङबाट ऋषि धमला (अध्यक्ष, रिर्पोटस क्लब नेपाल), प्रेस युनियनका उपमहासचिव ओखलढुंगाबाट बाला अधिकारी (सम्पादक लोकप्रभा साप्ताहिक) लाई समानुपातिकतर्फ सिफारिस गरेको छ। यसैगरी, धादिङ २ बाट प्रेस युनियनका पूर्वउपाध्यक्ष नवराज लम्साल (रेडियो नेपाल), सिन्धुपाल्चोकबाट सुर्दशन आचार्य (साप्ताहिक बिमर्श), तनहुँबाट तेजप्रकाश पण्डित (सम्पादक, युगवाणी साप्ताहिक), पर्साबाट दिपेन्द्र चौहान (टिटिभी), धनकुटाबाट विजयसन्तोषी राई पनि सिफारिसमा परेका छन्।
एमालेले समानुपातिकतर्फ करिब एक दर्जन पत्रकारलाई सिफारिस गरेको छ। प्रेस चौतारीले अध्यक्ष राजेन्द्र अर्याल (सम्पादक, सूर्योदय साप्ताहिक) , गोपाल थपलिया (सम्पादक, छलफल साप्ताहिक), शम्भु श्रेष्ठ (सम्पादक, दृष्टि साप्ताहिक), गगन विष्ट (निवर्तमान अध्यक्ष), कौशल चेम्जोङलाई उम्मेदवार सिफारिस गरेको छ। दृष्टिका सम्पादक श्रेष्ठ प्रत्यक्ष र समानुपातिक दुवैबाट पर्ने एक्ला पत्रकार हुन्। यसैगरी, भक्तपुरबाट उपेन्द्र केसी (कार्यकारी सम्पादक, छलफल साप्ताहिक ), सर्लाहीवाट चुणामणी वाग्ले (रेडियो सर्लाही)   समानुपातिकबाट सिफारिसमा परेका पत्रकार हुन्।
एमालेकै प्रचार विभागले सूर्य थापा (सम्पादक, नवयुग मासिक), कुन्दन अर्याल (स्वतन्त्र पत्रकार) र कमला पराजुलीलाई सिफारिस गरेको छ। एमालेमा भुगोलबाट समानुपातिकमा सिफारिस हुनेमा दैलेखबाट विष्णु रिजाल (सम्पादक, बुधबार साप्ताहिक)  मात्रै छन्।
एमाओवादी प्रचार राज्य ब्युरोले एक दर्जन पत्रकारलाई प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ। खिलबहादुर भण्डारी (सम्पादक, समावेशी मासिक), मनऋषि धिताल (सम्पादक, जनादेश साप्ताहिक) समानुपातिक कोटामा परेका छन्। एउटै मिडिया हाउस (मैत्री एफएम) मा कार्यरत तीनजना सचिन रोक्का, विष्णु सापकोटा, कल्पना बिसुराल सिफारिस भएका छन्। यसैगरी पत्रकार महासंघकी केन्द्रीय सदस्य संगीता खड्का र बलराम थापा (सम्पादक, मूलप्रवाह) पनि समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन्। राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमल बराल कास्कीबाट समानुपातिक कोटामा परेका छन्। शर्मा र आचार्य भने प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवार सिफारिसमा परेका छन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले व्यावसायिक पत्रकारले कुनै पनि पार्टीको तर्फबाट चुनावमा उम्मेदवारी दिने बिषय सम्बन्धित व्यक्तिको नैतिकतामा भर पर्ने बताए। "व्यावसायिक पत्रकारले पार्टीका तर्फबाट चुनावमा उम्मेदवारी दिने अभ्यास अरु देशमा पनि भएका छन्, हाम्रोमा मात्रै होइन्," उनले भने, "व्यावसायिक पत्रकार र पार्टीका तर्फबाट उम्मेदवार हुँदा दुईवटा अनुहार त देखिन्छ नै, त्यसैले कुनै अमुक राजनीतिक दलबाट उम्मेदवारी दिने र नदिने सम्बन्धित व्यक्तिको नैतिकतामा भर पर्ने विषय हो।" व्यावसायिक पत्रकारले चुनावमा पार्टीका तर्फबाट उम्मेदवारी दिनु हँदैन भन्ने बाध्यकारी नियम भने नरहेको अध्यक्ष गाउँलेले बताए।
के भन्छन त उम्मेदवार पत्रकार
देवप्रकाश त्रिपाठी,  धादिङ–३,
सबैजसो पेसाका मान्छे सक्रिय राजनीतिमा आउन मिल्छ। पत्रकारले चाहिँ मिल्दैन भन्ने म विश्वास गर्दिन। बाँचुन्जेल पत्रकारिताको मूल्य, मान्यता र निष्ठालाई आँच आउन नदिई पत्रकारले आफ्नो आस्था र विचारका आधारमा राजनीति गर्न पाउनु पर्छ। विश्वमा पत्रकारिता गर्दागर्दै राजनीतिमा आएका धेरै उदाहरण छन्। यसलाई अनर्थ लिनु हुँदैन।
शम्भु श्रेष्ठ, पाल्पा–३
पञ्चायती व्यवस्था परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मिडियाले जति भूमिका सायदै अरु कसैले खेले। तर अघिल्लो संविधानसभामा अन्य क्षेत्रबाट प्रतिनिधित्व भए पनि लोकतन्त्रका लागि सधैं लड्ने मिडियाबाट प्रतिनिधित्व हुन सकेन्। संविधानसभामा पुगे भने पत्रकारले पार्टी स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा जोड दिन्छन्।
गोबिन्द आचार्य, प्युठान–१

गोबिन्द आचार्य
संविधानसभा भनेको नयाँ संविधान बनाउने सभास्थल हो, जहाँ सबै क्षेत्र र व्यवसायको प्रतिनिधित्व हुन्छ। प्रेसका प्रतिनिधि संविधानसभामा गए भने लोकतान्त्रिक संविधान बनाउन जोड गर्छन्। जनताको संसद अर्थात लोकतन्त्रको सच्चा पहरेदार भनेको प्रेस हो, प्रेसलाई शक्तिशाली बनाउन पनि संविधानसभामा पत्रकारको भूमिका रहनु पर्छ।
गोकुल बाँस्कोटा
कबिर राणा
 ओम शर्मा
तारानाथ दाहाल
खिलबहादुर भण्डारी
देवप्रकाश त्रिपाठी

1 comment:

  1. विचित्र छ गाँठे । पार्टीगत रुपमा चुनावमा उठ्नेहरुले कमसेकम स्वतन्त्र पत्रकारीताको गफ नदिए हुन्थ्यो । अरु त के भनौं र खै ।

    ReplyDelete