Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, July 15, 2016

जब शेरबहादुरले प्रचण्डलाई "नब दुलाहा" भनेर चिनाई दिए...

आजकाल शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको दोस्ती जमेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनेर देउवा दीनरात लागेका छन्, त्यसका लागि ओली सरकार ढाल्न देउवाले सहयोग गरेका छन् । संसदको पहिलो पार्टी भएर पनि तेस्रो, त्यो पनि निकै ठुलो अन्तरले फरक रहेको, माओवादी केन्द्रलाई सरकार बनाउनका लागि देउवा दिलोज्यानले लागेका छन्, आफनै पार्टी भित्रको बिरोधहरु भए पनि ।

त्यसैको सिलसिलामा देउवाले लामो समय देखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई बानेश्वरस्थित ब्यवस्थापिका संसद भवनमा आउन खबर गरे, यो त्यही दिनको घटना हो अर्थात अविश्वासको प्रस्ताव हालिएको दिनको अर्थात २९ असार, २०७३ । देउवाको निम्तो पाएर मधेसी मोर्चाका नेताहरु संसद भवन पुगेका थिए ।

यसरी संसद भवन पुग्नेमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, शरदसिंह भण्डारी, रामनरेश राय यादव थिए, मोर्चा आवद्ध पार्टीका अध्यक्ष भएर पनि अनिल झा र राजकिशोर यादव भने परिस्थीतिजन्यवस त्यो बैठकमा पुगेनन । यद्धपी, पार्टी प्रतिनिधि भने उनीहरुले संसद भवनमा पठाएका थिए ।

अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भइरहेको बेला संसद भवन, वानेश्वरमा समर्थनका लागि आग्रह गर्दै बोलाइएको मधेसी मोर्चा केही बेर शंकर हलमा कुरेर बस्नु परयो । कारण, अविश्वासको प्रस्तावका बारेमा शेरबहादुर र प्रचण्डहरु बिचमा अझै केही कुरा मिलाउन बाँकी थिए । 

शंकर हलमा कुरेर बसिररहेका मोर्चाका नेता भएको ठाउँमा शेरबहादुरले प्रचण्डलाई लिएर आए । साथमा, कृष्णबहादुर महरा पनि थिए । शेरबहादुरसँग बिमलेन्द्र निधि र रमेश लेखक साथ साथ लागेर आएका थिए ।
केही बेर कुरे पछि आएका प्रचण्ड र शेरबहादुरतर्फ हेर्दै राजेन्द्र महत्तोले कुरा सुरु गरे– के कारणले हामीलाई बोलाउनु भयो ?’ शेरबहादुर प्रति लक्षित गर्दै महत्तोले सोधे पछि शेरबहादुरले चश्मा मिलाउँदै भनिदिए,
‘अब सबै कुरा नयाँ दुलाहाले भन्नुहुन्छ, त्यसपछि बोलुला’ देउवाले प्रचण्डतर्फ देखाउँदै यसो भने पछि बैठक हलमा एकछिन हाँसो गुञ्जियो ।

‘नव दुलाहा’ प्रचण्डले आफनो जिऊँ यसो तन्काएर भन्न थाले, ‘सबै कुरा तपाईहरुले थाहा नै छ, मैले धेरै भनिरहनु नपर्ला, कांग्रेस–माओवादीको नयाँ गठबन्धनलाई सहयोग गर्नुहोस्’ प्रचण्डवाट बिषय उठान भयो ।
त्यसपछि ओली सरकार ढाल्नका लागि जसले ल्याएको प्रस्तावमा पनि निर्सत र आँखा चिम्लेर समर्थन गर्ने जनाउँदै आएका मोर्चाले प्रचण्डको प्रस्तावमा समर्थन जनाउने प्रतिवद्धता जनाई हाले । मधेसी मोर्चाको ३९ र संघीय गठबन्धनसहित ४२ मत उनीहरुसँग सुरक्षित छ । त्यसैले आफनो बलमा ल्याउनका लागि देउवा र प्रचण्डले संघीय गठबन्धनको मत आवाश्यक ठानेका हुन् । 

प्रचण्डले त्यहाँ मधेसी मोर्चासँग संविधान निमार्णमा सक्रिय हुनु अघि बिताएका क्षणहरुलाई उप्काए पनि । जस्तो कि तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादव प्रति हेर्दै प्रचण्डले भने, ‘रामनरेशजी, पहिला त तपाईका जोक र सायरी खुबै सुनिन्थ्यो, बिचमा सम्पर्क टुटयो, खल्लो लागिरहेको छ, लौ त एउटा सुनाउनुहोस ।’ रामनरेशले पनि प्रचण्डको आग्रह स्विकार गर्दै हिन्दीमा एउटा रमाइलो सायरी सुनाए, जुन प्रचण्ड माथी नै ब्यंग्य गरिएको थियो । 

बिचमा बोलेका महत्तोले देउवा र प्रचण्ड दुवैलाई भने, ‘मोर्चाको समर्थन ओली सरकार ढाल्न मात्रै हो है, त्यो भन्दा उताका बारेमा निर्णय गरिसकेका छैनौं ।’ यद्धपी, मधेसी मोर्चा र गठबन्धनले उठाएका मागका बारेमा सम्वोधन गर्ने भनेर ७ बुदेँ सहमतिको १ नम्बर बुदाँमा नै लेखेकोमा देउवा र प्रचण्ड दुवैलाई उपस्थित नेताहरुले धन्यवाद दिए ।  

त्यसपछि प्रचण्डले मुन्टो हल्लाउँदै भने, ‘सरकारमा तपाईहरु आउन सक्ने अवस्था छैन, त्यो भन्दा अघि केही न केही उपाय खोजुला तर अहिले चाँही अविश्वासको प्रस्ताव हाल्न सहयोग गर्नुहोस् ।’ 

प्रचण्डले नै यसो भने पछि मधेसी मोर्चाका नेताले पनि तत्काल सरकारमा आउन नसक्ने जनाऊ देउवा र प्रचण्डलाई सोही बैठकमार्फत दिए । देउवालाई साक्षी राखेर प्रचण्डले मधेसी नेताहरुसँग केही बेर कुरा गरे तर देउवा, निधि र लेखक भने त्यो बैठकमा केही बोलेनन् । 

एकोहोरो प्रचण्ड मात्रै बोले पछि देउवातर्फ हेर्दै उपेन्द्रले भने, ‘प्रचण्डले धेरै कुरा गर्नुभयो तर तपाईले केही बोल्नु भएन, केही त धारणा राख्नुहोस् ।’ 

देउवाले फेरी भने– ‘सबै कुरा दुलाहाले राखिसक्नु भयो, अब मैले राख्न के बाँकी छ र उहाँले भनेका सबै कुरामा मेरो समर्थन छ ।’ फेरी पनि देउवाले प्रचण्डलाई दुलाहा भनेपछि सो बैठक एकछिन हाँसोले गुञ्जयामान भयो, प्रचण्ड पनि कुम हल्लाउँदै हासिरहे । 

त्यसको केही समयपछि कांग्रेस– माओवादी केन्द्रले ओलीको बिपक्षमा प्रस्ताव गरेको अविश्वासको प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर संसद सचिवालयमा बुझाएर हिडे ।







No comments:

Post a Comment