Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 8, 2015

संविधानसभा छाडने कुन कुन दल रहेछन त, लौ लिस्ट आयो

आन्दोलनरत दल तथा समूहका माग सम्बोधन नगरेको भनेर असन्तुष्टि जनाउँदै संविधान लेखन प्रक्रियाबाट ५९ सभासद अलग भएका छन्।
तराई–मधेसकेन्द्रित दलका ती सभासदले संविधान लेखन प्रक्रियाबाट अलग भएको घोषणा औपचारिक रूपमै घोषणा गरेका हुन्। मंगलबार मात्रै २० सभासदले अलग भएको घोषणा गरे।
विजयकुमार गच्छदार नेतृत्व मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक संविधान लेखन प्रक्रियाबाट अलग भएका हुन्। संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध ती दलका १८ सभासद मंगलबारको संविधानसभा बैठकमा सहभागी भएनन्।
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले पार्टीले अघि सारेका एजेन्डा सम्बोधन नभएपछि संविधानसभा प्रक्रियाबाट अलग हुने निर्णय लिन बाध्य भएको बताए। '१६ बुँदे सहमतिबाटै प्रमुख तीन दलसँगै संविधान निर्माणका लागि यहाँसम्म आयौं तर संविधान संशोधनको म्याद थप गरी वार्ता र छलफलबाट निकास निकालौं भन्ने हाम्रो मूल मागलाई समेत अटेर गरियो,' चौधरीले नागरिकसँग भने, 'सहयात्री दलको मागसमेत नसुन्ने ठूला दलले सडकमा उब्जेका असन्तुष्टिलाई सम्बोधन गर्छन् भन्ने रत्तिभर विश्वास गर्ने ठाउँ रहेन, त्यसैले साक्षी किनारा नबस्ने निर्णयमा पुग्यौं।'


संविधानसभा प्रक्रियावाट बाहिरिएका दल

१. संघीय समाजवादी फोरम नेपाल – १५
२. मधेसी जनअधिकार फोरम लोकतान्त्रिक –१४
३. तराई मधेस लोकतान्त्रिक पार्टी– ११
४. सदभावना पार्टी – ६ (राजिनामा)
५. तराई मधेस सदभावना पार्टी– ३
६. राष्ट्रिय मधेस समाजवादी पार्टी– ३
७. थरुहट तराई पार्टी– २
८. नेपाल सदभावना पार्टी– १
९. मधेसी जनअधिकार फोरम गणतान्त्रिक– १
१०. संघीय लोकतान्त्रिक मञ्च, थरुहट– १
११. चन्द्रेश्वर झा, स्वतन्त्र सभासद, महोत्तरी
१२. प्रभु साह, सभासद, एमाओवादी





सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पार्टी अध्यक्ष तथा संसदीय दल नेता गच्छदारले संविधानसभाबाट अलग भएको पत्र मंगलबार दिउँसो बुझाएका थिए। पत्र बु‰दै सभाध्यक्ष नेम्वाङले अरूलाई जस्तो गच्छदारलाई 'धन्यवाद' समेत भन्न नसक्ने जनाएका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीलाई जेठ २५ मा १६ बुँदे सहमतिमा हस्ताक्षर गराउन महŒवपूर्ण भूमिका खेलेका गच्छदारसमेत अलग भएपछि संविधानसभा संकटमा परेको छ।

नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधानसभाको जारी प्रक्रियाबाट आफ्नो पार्टी अलग भएको जानकारी गराउँदै गच्छदारले सहमति निर्माणका लागि सभाध्यक्षबाट हुने सम्पूर्ण सकारात्मक पहलमा आफ्नो पार्टी र आफू रचनात्मक सहयोग गर्न तयार रहेको बताएका थिए।

पत्र सभाध्यक्षलाई बुझाएलगत्तै गच्छदार संविधानसभा भवनतर्फ नगई सानेपास्थित पार्टी कार्यालय गएका थिए जहाँ पार्टीको राजनीतिक समितिको बैठक डाकिएको थियो। संविधानसभामा फोरम लोकतान्त्रिकका १४ सभासद छन्।

लोकतान्त्रिकपछि मधेस समाजवादीले संविधानसभाको प्रक्रियाबाट अलग भएको पत्र बुझायो। सो पार्टीका प्रमुख सचेतक धर्मेन्द्रकुमार साह तेलीमार्फत सभाध्यक्ष नेम्वाङलाई पत्र बुझाइएको हो। 'सहमतिबाटै संविधान निर्माण होस् भनेर हामी अन्तिम समयसम्म संघर्ष र वार्तामा रह्यौं तर तीन ठूला दलको ढिपीसामु हाम्रो केही लागेन,' अध्यक्ष भण्डारीले नागरिकसँग भने, 'प्रमुख तीन दलले संविधान बनाए पनि कार्यान्वयन गर्न नसक्ने वातावरण छ जुन मुलुकका लागि नै महँगो पर्न जान्छ।'

फोरम गणतान्त्रिकका अध्यक्ष यादवले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न जिम्मेवारी हुनुको सट्टा प्रमुख तीन दल गणितीय बलमा अघि बढेपछि प्रक्रियामा सामेल हुन नसकिएको जनाए। 'तराई–मधेसका मागलाई सम्बोधन गरेर अघि बढ्नुको सट्टा एकलौटी रूपमा संविधान लेखन प्रक्रिया अघि बढाएपछि हुनु/नहुनको कुनै अर्थ रहेन, त्यसैले संविधान लेखन प्रक्रियाबाट अलग भएका हौं,' यादवले भने। मोर्चाले अघि सारेका माग सम्बोधन नभएसम्म संविधानसभाको बैठकमा फोरम गणतान्त्रिक सहभागी नहुने उनले बताए।

मोर्चा बाहिर रहेका साना दलले पनि संविधानसभाको प्रक्रियामा सामेल हुन नसक्ने भन्दै सभाध्यक्षसामु पत्र बुझाएका छन्। अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक मञ्च थरुहटले संविधान लेखन प्रक्रियामा सामेल हुन नसक्ने जानकारी गराएका हुन्।

'संविधानसभाभित्र वैधानिक संघर्ष र आन्दोलनबाट आफ्नो माग सम्बोधन गर्न भन्दा पनि सत्तापक्षले सुनवाइ गरेन, त्यसैले बाध्य भएर संविधानसभा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हौं,' अध्यक्ष झाले नागरिकसँग भने।

सद्भावनाकी प्रमुख सचेतक डिम्पल झाले संविधानसभा सचिवालयमा पत्र बुझाउँदै संविधानसभा प्रक्रियामा सामेल नहुने जानकारी गराएकी छन्।

थरुहट मञ्चले पनि संविधानसभाको प्रक्रियाबाट मंगलबारबाट अलग भएको घोषणा गर्यो । 'संविधानको विधेयकमा संशोधन हालेकी छु र माग पनि राखेरै प्रक्रियामा सहभागी नहुने निर्णयमा पुगेका हौं,' अध्यक्ष रुक्मिणी चौधरीले भनिन्।

थरुहट तराई पार्टीका गोपाल दहित र गंगा चौधरीसहित स्वतन्त्र सभासद चन्द्रेश्वर झा (महोत्तरी–४) ले प्रक्रियामा सामेल नहुने घोषणा आइतबारै गरेका थिए। एमाओवादीका सभासद प्रभु साहले प्रक्रियाबाट अलग भएको मौखिक जानकारी गराए पनि औपचारिक घोषणा गरेका छैनन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलका सभासदले बैठकमा सहभागिता जनाएर बहिष्कार गर्दै आएका छन्। मंगलबार पनि बैठकमा उपस्थित भएका असन्तुष्ट तीन दलका सभासद बहिष्कार गरी हिँडेका थिए जसमा संघीय समाजवादी फोरम नेपालका १५, तराई–मधेस लोकतान्त्रिक पार्टीका ११ र तराई–मधेस सद्भावना पार्टीका ३ सभासद छन्। मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वका सद्भावना पार्टीका ६ सभासदले भने संविधानसभाबाट राजीनामा दिइसकेका छन्।

No comments:

Post a Comment