Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, February 2, 2014

सभासदवाट माओवादीलाई मासिक ८ लाख आम्दानी हुने

एकीकृत नेकपा माओवादीभित्र आर्थिक कारोबारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलोपटक आर्थिक दायित्वबाट मुक्त गराइएको छ।
शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष दाहाललाई पार्टीभित्र हुने आर्थिक कारोबार र त्यसको दायित्वबाट मुक्त गर्ने औपचारिक निर्णय गरेको हो। केन्द्रीय समितिको निर्णयअनुसार अध्यक्ष दाहालले आफूलाई आवश्यक पर्ने रकमसमेत सोझै लिन पाउने छैनन्। अर्थ विभागबाट मात्र लिन सक्नेछन्। यसको निम्ति डिलाराम आचार्यको नेतृत्वमा अर्थ विभाग गठन गरिएको छ।
'अध्यक्ष दाहाललाई आर्थिक दायित्वबाट मुक्त गर्ने औपचारिक निर्णय केन्द्रीय समिति बैठकले गरेको छ,' पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार नागरिकसँग भने, 'आगामी दिनमा अध्यक्ष (दाहाल) लाई कुनै पनि आर्थिक कारोबारमा संलग्न नगराउने निर्णय पहिलोपटक भएको हो।'
अध्यक्ष दाहालले पनि आफूलाई आवश्यक पर्ने रकम प्रक्रियागत रूपमा अर्थ विभागबाटै लिने बताएका छन्। 'मलाई जे–जति पैसा आवश्यक पर्छ, प्रक्रियागत रूपमा अर्थ विभागबाटै लिनेछु,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो, 'नेतृत्वलाई सधैं आर्थिकसँग जोडेर हेरिएको र त्यसले बदनाम र कमजोर बनाउँदै लगेको मलाई पनि महसुस भएको छ, त्यसैले आगामी दिनमा म सिधै आर्थिक कारोबार गर्दिनँ।'
आफूसहित अध्यक्षको निजी सचिवालयमा कार्यरत सबैले प्रक्रियागत रूपमा अर्थ विभागबाट मात्र कारोबार गर्ने प्रतिबद्धता दाहालले बैठकमा जनाएका छन्।
पार्टीमा पैसाको केन्द्रीकरण, लडाकु शिविरमा भएका 'भ्रष्टाचार', असन्तुष्ट पक्षका नेतामाथि आर्थिक नाकाबन्दी, सभासद र मन्त्रीले बुझाउने रकमको अपारदर्शिता, विवादस्पद व्यापारी अजय सुमार्गीसँगको उठबस लगायत विषयलाई लिएर पार्टीभित्र तीव्र आलोचना भएपछि दाहालले आर्थिक दायित्वबाट मुक्त हुने चाहना राखेपछि उक्त निर्णय गरिएको एक सदस्यले जानकारी दिए।
अर्थ विभागको जिम्मेवारी पाएलगत्तै आचार्यले पार्टीका आयस्रोत, जिन्सी सम्पत्ति, खर्च हुने क्षेत्र लगायतबारे पार्टी मुख्यालयमा अध्ययन गरेका छन्। 'पार्टीले दिएको जिम्मेवारी वहन गर्ने उद्देश्यसहित आज दिनभर पार्टी मुख्यालयमा गएर रेकर्ड हेर्ने र भौतिक सम्पत्ति कसरी लिपिबद्ध गर्न सकिन्छ भनेर अध्ययन गरेँ,' आचार्यले आइतबार नागरिकसँग भने, 'अध्यक्ष लगायत सबैलाई आवश्यक रकम विभागबाट उपलब्ध गराउने निर्णय भएलगत्तै मैले त्यसको अध्ययन थालेको हुँ।'
उनका अनुसार विभागले थप सदस्य चयन गर्नेबित्तिकै विधिवत काम सुरु हुनेछ। माओवादीका प्रत्येक सभासदबाट आउने मासिक १० हजारका दरले ८० सभासदबाट ८ लाख रुपैयाँ आम्दानी हुने उनले बताए। केन्द्रीय सदस्यदेखि तलसम्म न्यूनतम मासिक ५० रुपैयाँ लेबी उठाउने र त्योभन्दा बढीका लागि स्वैच्छिक भएको उनले जानकारी दिए।
पार्टीका सभासद, राजनीतिक लाभको पद लिएका तथा पार्टी सदस्यबाट मासिक उठ्ने लेबीका कारण माओवादीको न्यूनतम मासिक आम्दानी १० लाख रुपैयाँ छ। यसअघिका वर्षमा अध्यक्ष दाहालमा केन्द्रिकृत हुँदै आएको सबैजसो आम्दानी अब अर्थ विभागमा जानेछ।
अध्यक्ष दाहालले लाजिम्पाटस्थित निवास छाड्ने तथा पुत्र प्रकाश दाहाललाई निजी सचिवालयबाट हटाउने प्रतिबद्धता पनि बैठकमा गरेका छन्। 'लाजिम्पाटको घर प्रचण्डको हो भनेर बाहिर निकै प्रचार भएको छ, त्यसले नराम्रो असर परेको छ, अब त्यो घरमा बसिँदैन, डेरा खोजेर सर्छु,' दाहालको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, 'छोरा प्रकाशलाई पनि हेडक्वार्टरको सचिवालयमा राख्दिनँ, अन्यत्र जिम्मेवारी दिनुहोस्।'
बैठकमा दाहालको लाजिम्पाट निवास र छोरा प्रकाशको व्यवहारको खुलेर आलोचना भएपछि उनले शनिबार उक्त प्रतिबद्धता जनाएका हुन्। उनले पहिलाजस्तो 'हलुका र सस्ता अभिव्यक्ति' नदिने पनि प्रतिबद्धता जनाएका छन्।
'हिजो मनमा जे आयो, त्यो बोलियो, त्यसले नेतृत्व र सम्पूर्ण पार्टीलाई अप्ठयारोमा पार्‍यो,' दाहालले प्रतिबद्धता जनाउँदै भने, 'अब पार्टीको औपचारिक निर्णयभन्दा बाहिर गएर बोल्दिनँ, बोल्नुभन्दा पहिला पार्टीमा निर्णय गराउँछु।' आफ्नै अभिव्यक्तिका कारण आफू 'हल्का' हुन पुगेको दाहालले बैठकमा सकारेका छन्।

No comments:

Post a Comment