Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, February 12, 2014

लौ सुन म भन्छु, बामदेव गौतमको राम कहानी- झलक सुबेदी

नेपाली राजनीतिको केन्द्रबिन्दुमा दुई साता यता देखी एमालेका उपाध्यक्ष बामदेव गौतम छन् । चाहे त्यो नेकपा एमालेको संसदीय दलको नेता चयनको सबालमा होस, चाहे कांग्रेस सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने सबालमा नै किन नहोस ? उनी जे छन, चर्चामा नै छन् । अहिले कोइराला नेतृत्वको सरकार गठनलाई लिएर फेरी बामदेव चर्चामा रहेका छन्, उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुने बामदेवको सपना र त्यो सपना पुरा हुन नदिने प्रधानमन्त्री कोइराला र उनको पार्टी कांग्रेसका कारण गठबन्धन सरकारमा नै संकटमा परेको छ । उनकै कारण सरकारले पुर्णता पाउन नसकेको मात्रै होइन, एमालेले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनीसम्म एमालेले दिइसकेको छ  । बुधवारको ब्यवस्थापिका संसदमा गौतमका कारण नै कांग्रेस एमाले बिच आरोप र प्रत्यारोप समेत भइसकेको छ ।  आखिर के छ त, बामदेवमा त्यस्तो शक्ति ? जसले नेपाली राजनीतिमा नै हलचल ल्याउने काम गरिरहेको छ । त्यसका बारेमा उनका पुर्व सहकर्मी तथा राजनीतिक बिश्लेषक झलक सुबेदीले एउटा गतिलो लेख लेखेका छन, त्यो पनि उनको बिगत देखी आजसम्मको उनको क्रियाकलापको प्रसङ्ग जोडेर । बामदेवको स्वभाव, योगदान, जित्नका लागि  राजनीतिक÷गैरराजनीतिक क्रियाकलाप जे पनि गर्न सक्ने ब्यक्तिका रुपमा उभ्याएका सुबेदीले सबैले बुझेन भाषामा गौतमको सबिस्तार गरेका छन्, बामदेवलाई बुझ्न यो एउटा लेख नै पर्याप्त हुन्छ भन्ने लागेर तपाईका लागि पनि उपलब्ध गराएको हुँ । 

झलक सुबेदी- एमालेसँगको सत्ता समीकरणबारे भएको प्रारम्भिक सहमतिबाट कांग्रेस साँच्चै पछि हटेको खण्डमा बाहेक यसै साता कमरेड वामदेव गौतम तेस्रोपटक मुलुकको उप–प्रधानमन्त्री बन्नेछन् । फुटबलमा एउटै खेलाडीले गर्ने तेस्रोपटकको गोल या यस्तै कर्मलाई ह्याट्रिक गरेको भन्ने प्रचलित बुझाइलाई यता वामदेवमा लागू गर्‍यो भने उनले उप–प्रधानमन्त्री हुनमा ह्याट्रिक गरेको मानिनेछ । कम्युनिस्ट पार्टीमा पार्टी प्रमुख नबनेको (एमालेसँगै घुर्की लगाउन माले बनाएका वेला पनि उनी फस्टपर्सन भएका थिएनन्) कुनै नेताले प्रधानमन्त्री बन्ने अवसर पाउनु दुर्लभ कुरा हो । पार्टीमा दोस्रो तहमा रहेकाले सरकारमा दोस्रो तहको जिम्मेवारी पाउनुलाई स्वाभाविक मान्ने हो भने वामदेवले आफ्नो हैसियतको पूर्ण उपभोग गरेको मान्नुपर्ने हुन्छ । हालै मात्र पार्टीभित्रको समीकरणमा नयाँ प्रयोग गरेका कमरेड वामदेवले भविष्यमा प्रधानमन्त्री या पार्टी अध्यक्ष बन्ने बाटो खुला गर्न कमरेड ओलीसँग मोर्चा बनाएको बुझ्न धेरै गारो छैन । आफ्ना लामा पाइला जस्तै लामै फड्को मार्न र तीव्र गतिमा हिँड्न रुचाउने वामदेव गौतमका लागि एमालेमा झलनाथ र माधव नेपालमा आलोपालो सरिरहेको नेतृत्व विस्थापित गरेर आफ्नो तहमा ल्याउनका लागि पनि ओलीसँगको समीकरण आवश्यक थियो । झलनाथ खनाल र माधव नेपाललाई अल्पमतमा पारेर संसदीय दलको नेतामा कमरेड केपी ओलीलाई निर्वाचित गरिसकेपछि वामदेवले अहिलेको गठबन्धनमा पार्टीका तर्फबाट नेतृत्व गर्दै उप–प्रधानमन्त्रीको पद पाउनु स्वाभाविक थियो । तर, यसपटक पनि कांग्रेसले एमालेलाई थाङ्नामा सुताउने प्रयास गरेकाले हिजोका मितिसम्म वामदेवको ह्याट्रिकका लागि हानिएको बल खुट्टाबाट जोडले अगाडि बढेको तर पोस्टमा नपुगिसकेको अवस्थामा शून्यमा अड्किरहेको छ । वामदेव र उप–प्रधानमन्त्रीका बीचका यी सम्बन्धलाई अलिकति पृष्ठभूमिमा गएर नियाल्नु रोचक नै हुनेछ ।

वामदेव गौतमलाई मैले ०३६ सालको साउन भदौतिर पोखरामा पहिलोपटक भेटेको हुँ । उनी भर्खर दमौली जेलबाट रिहा भएपछि नेकपा मालेको पश्चिमोत्तर क्षेत्रीय कमिटीको नेताका रूपमा पोखरालाई केन्द्र बनाएर काम गर्न थालेका थिए । त्यही साउनमा गण्डकी धवलागिरी क्रान्तिकारी कम्युनिस्ट दल माले नेकपा मालेमा बिलय भएपछि मालेको संगठन ह्वात्तै विस्तार भएको थियो । म बगरको टुँडिखेलनेर कसाई टोलमा बस्थेँ । मेरा रुममेट बृहस्पति अधिकारी पार्टीमा निकै सक्रिय थिए । हाम्रो कोठा छिटै भरपर्दो सेल्टरमा फेरिएको थियो । वामदेव त्यहीँ आउने, खाना खाने र कहिलेकाहीँ त्यहीँ बस्ने पनि गर्थे । मेरो उपन्यास आधा जून मा मैले उनको अलिकति चरित्र चित्रण पनि गरेको छु । कमरेड विमलका उपनामले चिनिने उनी भूमिगत नेता भए पनि जनमत संग्रहको खुकुलोपनको फाइदा उठाएर दिउँसै सहरमा डुलफिर गर्थे । भर्खरको अल्लारे उमेरको १६ वर्षे ठिटो मेरो मनमा सुरुसुरुमा यी कमरेडलाई देख्दा पार्टीको भविष्य र क्रान्तिप्रति अलि बढी नै विश्वास लाग्थ्यो । उनको जिउडाल पनि लालसेनाको कमान्डर बन्ने खालको, बोलीमा पनि एकप्रकारको दृढता र खरोपना भेटिन्थ्यो । उनी जेलबाट रिहा भएर आएकोसम्म त थाहा थियो तर उनको व्यक्तिगत जीवनबारे त्यति धेरै थाहा थिएन । पछिपछि अरूहरूले भन्न थाले र थाहा पनि हुँदै गयो । 
भूमिगत कालमा यी कमरेडको सक्रियता निकै प्रभावकारी पनि थियो । मलाई सम्झना छ, ०४० सालको हिँउदका वेला थियो । अखिलको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठक पोखरामा आयोजना गरिएको थियो । गौरी प्रधान त्यसका संयोजक थिए । म जिल्ला कमिटीको सदस्य थिएँ र पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष पनि । बैठक लामाचौरमा गण्डकी बोर्डिङ स्कुलभन्दा अलि पश्चिमपट्टिका किसानको घरमा आयोजना गरियो । वामदेव पार्टीका तर्फबाट खटिएका थिए । सिपी मैनाली महासचिवबाट हटाइएपछि पार्टीमा उत्पन्न गड्बडी (पार्टीको बहुमतभित्र त्यसलाई जिडिबिडी र अल्पमतवालालाई गड्बडिया भनिन्थ्यो) पछि टंक कार्कीहरूको समूहलाई हटाएर नयाँ नेताहरू तयार पार्दै आयोजक समिति बनेको थियो । वामदेव सिपीका कडा आलोचक थिए । सेल्टर बनाउने क्रममा एउटा चर्पी पनि बनाउनुपर्ने भयो । उनी आफैँले कोदाली लिएर खाल्टो खने, बारबेर पारे र चर्पी पनि बनाए । हामी पनि केही न केही काम त गरिरहेका थियौँ तर उनको सक्रियता हाम्रो भन्दा निकै बढी थियो । उनको सक्रियता देखेपछि कसैले पनि अल्छी मान्ने या सानातिना काम भनेर पन्छिने हिम्मत गर्दैनथ्यो । तेस्रो दिन नै सेल्टरको गोपनीयता खुल्यो भन्ने सूचना आयो र हामीले बैठकको भेन्यु सारेर पृथ्वीनारायण कलेजको भर्खर बनेको विज्ञान प्रयोगशालाको भवनमा लग्यौँ । 
उनी सेल्टरमा आउँदा आफँै खाना बनाउन, भाँडा माझ्न पनि अगाडि सर्थे । एकदिन बिहान म कलेजबाट पढेर कोठामा फर्केको थिएँ । कोठामा वामदेव गौतम रूपाकोटका राजेन्द्र सुवेदीसँग केही लामो कुरा गरिरहेका रहेछन् (जो पछि पञ्चायतको समर्थक बने र बहुदल आएपछि एमालेमा नै फर्के) । मैले बेलुकाको बासी भात त्यो पनि दुई गाँस मात्रै हुँदो हो, भुटेँ र देक्चीमा हामी सबैका लागि अलग्गै भात बसालेँ । मलाई त्यो बासी भात उनीहरूलाई पनि दिऊँ कि आफँै मात्रै खाऊँ भन्ने एकछिन दोमन भयो । तर, भोकले पनि सताएको र निकै थोरै त्यो पनि बासी भात भएकाले सोध्न अलि अप्ठेरो पनि लागेर आफैँले मात्रै खाइदिएँ । वामदेवले हेरिरहेका रहेछन् भनिहाले, ‘हामी पनि खान्थेम नि किन एक्लै खानुभएको हँ ? यस्ता पनि कम्युनिस्ट हुन्छन् ?’ मलाई खाएको भात निल्नु न ओकल्नु भएको थियो ।
उनीसँग भूमिगतकालको सम्झनायोग्य अन्तिम भेट पिस्करकाण्डको लगत्तै भएको थियो । पार्टीपक्षीय विद्यार्थीको भेला आयोजना गरिएको थियो । सम्भवत: यो भेला केआइसिंह पुलनजिक हरिया झ्याल ढोका भएका पुराना घरमा डेरा गरिबस्ने विज्ञान पढ्ने विद्यार्थी साथीहरू डोलराज पाण्डे र नयाँ शर्माको कोठामा भएको थियो । वामदेवले भेलामा निकै जोडदार रूपमा सशस्त्र संघर्षको आवश्यकतामा जोड दिएका थिए र तत्काल बन्दुक किन्न भनी हामीलाई चन्दा उठाउन अह्राएका थिए । तर, त्यतिवेला उठाएको पैसा कता पुग्यो, सशस्त्र संघर्षको नारा कता बिलायो भन्ने चाहिँ कहिल्यै पनि थाहा पाइएन । उनी सरुवा भएर पश्चिमतिर गए । यसअघि डिबी सिंह प्रकरण र कमरेड विकास प्रकरणमा उनको उग्र स्वरूप पनि देखिएको थियो । समयले उनलाई पछि एमालेको मात्र होइन, गठबन्धन राजनीतिको केन्द्रमा पनि राखिदियो । उनको शक्ति र जीवनशैलीमा पनि आकाश जमिनको परिवर्तन आयो । परिणामत: उनी यसअघि दुईपटक उप–प्रधानमन्त्री बने गठबन्धन सरकारमै । अहिले बन्न खोज्दै छन् अर्को गठबन्धन सरकारमै ।
०४७ पछि उनको भूमिका बिस्तारै केन्द्रीय राजनीतिमा थपिँदै गयो । ०४९ को महाधिवेशनले उनलाई स्थायी समितिमा निर्वाचित गरेपछि उनको भूमिका अझ विस्तार भयो । उनलाई सर्वसाधारण जनता र काठमाडांैको बौद्धिक तप्काले ध्यान दिन थालेको भने दासढुंगा दुर्घटनापछि उक्त दुर्घटनाको सत्यतथ्य पत्ता लगाउनभन्दा पनि त्यसलाई हत्या सावित गर्न तत्कालीन नेकपा एमालेले गरेको आन्दोलनका वेला हो । उनको स्वरमा रहेको दृढता, हाउभाउमा रहेको कमान्डिङ शैली र विपक्षीलाई आक्रमण गर्ने आक्रामक भाषणले यस्तो आकर्षणको काम गर्‍यो । एक समय कवि विमल निभाको व्यंग्य स्तम्भमा पनि उनको सकारात्मक चर्चा पढ्न पाइन्थ्यो । ०५१ सालमा एमालेको अल्पकालीन सरकारको निर्माणसँगै उनको भूमिकाले नयाँ उचाइ लियो । उनलाई पार्टीको सर्वेसर्वा हुने गरी विधानमै नभएको उपमहासचिव बनाइयो । उनले दुईपटकसम्म बर्दियाबाट निर्वाचन जितेका थिए । उपमहासचिवका रूपमा सरकारका अनेक कार्यक्रम लागू गराउन पार्टीका तर्फबाट उनले महत्त्वपूर्ण भूमिका पनि खेलेका थिए । बबई सिँचाइ आयोजनाको सक्रिय कार्यान्वयन त्यसको एउटा उदाहरण हो, जसलाई उनैका बलमा राष्ट्रिय अभियानका रूपमा योजनामा समावेश गराइएको थियो ।
तर, ०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलाले उनको र एमालेको राजनीतिक जीवनमा धेरै परिवर्तन ल्याइदियो । दक्षिणपन्थ र उदारवादी संसदीय राजनीतितर्फको झुकावसहित एमालेमा आएको परिवर्तनका लागि यही बिन्दु निर्णायक थियो, जतिवेला एमालेका नेता प्रधानमन्त्री मनमोहन अधिकारी, केपी ओली र वामदेव गौतम तीनैजना बाँकेको एउटा जंगलमा १० हजार फिट माथिबाट खसेको हेलिकोप्टर दुर्घटनाबाट बाँचेर उपचार गराइरहेका थिए । त्यसको तीन सातामा संसदमा अविश्वास प्रस्ताव ल्याएर मनमोहनको सरकार ढालियो । तर, यो अविश्वास प्रस्तावको सफलतासँगै एमालेको माक्र्सवाद र समाजवाद अथवा न्यूनतममा वामपन्थी विचारप्रतिको विश्वासमा पनि धमिरा लाग्यो । कांग्रेससँग बदला लिने, या संसदीय गणितमा खेल्ने चालमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर एमालेले अर्कोपटक सरकार बनायो र त्यसमा उपप्रधानमन्त्री बने वामदेव गौतम । उनैको गृहमन्त्रीत्वमा एमालेले ०५४ को स्थानीय निकायको निर्वाचनमा ७० प्रतिशतजति सिट जित्न सक्यो । उनको काम गराइ एउटा हुरीजस्तो थियो । खरेल प्रकरण र स्थानीय निकायको निर्वाचनले उनलाई हाउगुजीका रूपमा पार्टीभित्र र बाहिर पनि हेर्न थालियो । यो शक्ति आरोहणले उनमा जन्माएको महत्त्वाकांक्षा र माधव नेपाल तथा केपी ओलीमा वामदेवको शक्तिले जन्मेको भयका कारण ०५४ मा पार्टी विभाजन भयो । कहिले–कहिले विभाजनले पनि शक्ति आर्जन हुन्छ भन्ने मनोगत विश्लेषण गर्दै वामदेव नेकपा माले निर्माणमा लागे । तर, त्यो देशको अर्थ राजनीतिक विश्लेषण गर्न चुकेको थियो, माओवादी विद्रोहको प्रभाव र एमालेका प्रति त्यतिवेला पलाएको आशा दुवैले माले निर्माण फलामको चिउरा सावित भयो । सदैव गतिशील रहने र महत्त्वाकांक्षी वामदेवले जुन आवेगका साथ पार्टी विभाजन गराएका थिए, त्यही आवेग लिएर एकता पनि गरे ।
उनको यो आवेग पछि रोल्पा पुगेर माओवादी नेताहरू प्रचण्ड र महरालगायतसँग वार्ता गर्दा पनि देखिएको थियो । वास्तविकता भने अलि अप्ठेरो छ । एमालेमा उनलाई दोस्रो दर्जाको पार्टी सदस्य मान्नेहरूको बहुमत छ । नेता मान्न त निकै कम तयार छन् । उनलाई ०५७ सालमा देशको एकनम्बरी भ्रष्टाचारी भन्दै टुँडिखेलबाट घोषणा गर्ने र पार्टी सदस्यमध्येबाटै अदालतमा मुद्दा हाल्ने काम भएको थियो, जुन मुद्दा पार्टी एकीकरणको एक वर्षसम्म चल्दै थियो । रोल्पाबाट उनले प्रचण्डसँग गरेको समझदारीलाई पनि त्यसरी नै उनीमाथि प्रहार गर्ने हतियार बनाइयो र उनलाई पक्राउ गराउन सकिन्छ कि भन्नेसम्मका खेल पार्टीभित्रै भए । तर, त्यसको एक महिना नबित्दै दिल्लीमा १२बुँदे समझदारी भयो, जुन रोल्पा समझदारीकै विकसित रूप थियो । यही उतारचढावबीच ०६४ को निर्वाचन हारे पनि उनलाई प्रचण्ड सरकारमा उप–प्रधानमन्त्री र गृहमन्त्री हुने अवसर मिल्यो । चन्दसँगको गठबन्धन होस् या प्रचण्ड या सुशीलसँगको गठबन्धन, यस्तो गणितीय खेल खेल्नमा उनी माहिर छन् । यसका लागि नैतिक, अनैतिक अनेक दाउपेच गर्न उनी कत्ति अप्ठेरो मान्दैनन् । ०५१ को मध्यावधिपछिका पाँच वर्षमा जेजति अविश्वासका प्रस्ताव आए र चलखेल भए ती सबैमा वामदेव कतै न कतै समावेश थिए । सुरा–सुन्दरी काण्डदेखि टिवडेवाला काण्डसम्म र विराटनगरको गिरी थरका कांग्रेसीलाई दुई करोड दिएका घटनासम्म वामदेवको नाम जोडेर एमाले र कांग्रेस वृत्तमा चर्चा हुन्छ (उनी उप–प्रधानमन्त्रीबाट हटेर माले महासचिव बनेका वेला उनको भान्सामा खानेकुराको अभाव भएर लामो समय निकै तनाव व्यहोर्नुपरेकाले उनीप्रति सहानुभूति राख्ने र आर्थिक भरथेग गर्ने पनि त्यही एमालेमा प्रशस्त छन्) ।
उनी राजनीतिमा पनि कुनै विचार या समूहलाई मुढो समाएजस्तो समाएर बस्दैनन् । ०४९ मा सिपी र झलनाथको चर्को आलोचना गरेर खाल्डोको कुरा गर्ने उनले ०५४ मा सिपीसँगै मिलेर पार्टी विभाजित गरे । ०५४ मा केपी ओलीसँगको द्वन्द्वमा पार्टी फोरेका उनले ०५९ को जनकपुर महाधिवेशनमा ओलीको प्रस्तावलाई साथ दिए । ०६५ मा झलनाथ खनाललाई नेता मानेर आफू पार्टीको उपाध्यक्ष मात्र भएनन्, ओली र माधव नेपालको एकैपटक शक्ति घटाइदिए । अहिले ओलीसँगै मिलेर झलनाथलाई संसदीय दलमा पछारे । प्रचण्डसँग पनि यिनको यस्तै सम्बन्ध छ । खासगरी कटवाल काण्डमा उनले प्रचण्डलाई साथ दिन चाहेका थिए तर त्यसको एक वर्षपछि यिनी एमाओवादीका चर्को आलोचक भएर निस्के ।
अहिले कांग्रेसले बेइमानी गरेकाले उसलाई पनि चैनले बस्न नदिने अभिव्यक्ति दिइसकेका उनले यति सम्झे हुन्थ्यो, एकपटक सडक आन्दोलनका कमान्डर यिनी थिए र गिरिजा प्रधानमन्त्री । गिरिजाको राजीनामा मागेर भएको आन्दोलन अन्त गर्न कृष्णप्रसाद भट्टराईले एउटा अस्त्र फालेछन् । ल गिरिजाबाबुको राजीनामा मेरो खल्तीमा छ, तपाईहरू आन्दोलन बन्द गर्नोस् । माधव नेपालसमेत वामदेवले विश्वास गरेछन् र आन्दोलन अन्त गर्ने निर्णय गरे । तर, गिरिजाको राजीनामा कहिल्यै आएन । पछि उनलाई सोद्धा भन्ने गर्थे, राजीनामाको कागज देखाउन भट्टराईले खल्तीमा हात हालेपछि म ट्वाइलेट गएँ । कागज भने देख्न पाइन । वास्तवमा त्यस्तो कागज भट्टराईको खल्तीमा थिएन । अहिले पनि सहमति त भयो भनियो तर कुनै तथ्य र रेकर्ड नभएको सहमतिको के अर्थ हुन्छ र ? धोका दियो भन्न मिल्छ र कमरेड ?
नयाँ पत्रिकावाट साभार

No comments:

Post a Comment