Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, February 13, 2014

प्रचण्डको बोली सस्तो, ‘संविधानसभा राष्ट्रिय पञ्चायत जस्तो’

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्ष दिनभित्रै संविधान निर्माण हुने लक्षण नदेखिएको भन्दै त्यसका लागि दबाब दिन 'बृहत्तर मोर्चा' बनाउन प्रस्ताव गरेका छन्।
तत्कालीन नेकपा (माओवादी)ले आफ्नै नेतृत्वमा सञ्चालन गरेको सशस्त्र विद्रोहको १९ औं वर्षगाँठ 'जनयुद्ध दिवस' का उपलक्ष्यमा पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान पक्षधरको मोर्चाबन्दी प्रस्ताव अघि सारेका हुन्।
'संविधानसभा निर्वाचन भएको तीन महिना भइसक्यो, वर्ष दिनमा नयाँ संविधान दिने राजनीतिक सहमति छ, तर अहिलेसम्मका लक्षण हेर्दा एक वर्षभित्र बन्नेजस्तो देखिन्न,' दाहालले भने, 'गर्न हुने/नहुने सम्झौता गरी प्रधानमन्त्री बनाइयो, तर अहिले नै गृहमन्त्रीमा यत्रो लफडा गर्नेले एक वर्षमा संविधान कसरी बनाउलान्?'
उनले संविधानसभाभित्र र बाहिरका संविधान पक्षधर शक्तिले मोर्चाबन्दी गरेर दबाब दिनुपर्ने जनाए।
संविधानसभाका ठूला पार्टी यथास्थितिवादी र साना पार्टी परिवर्तनकारी भएको जिकिर गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दबाब दिनुपर्ने जिकिर पनि गरे।
अघिल्लो संविधानसभा परिवर्तनकारीको पक्षमा भए पनि दोस्रो संविधानसभाको स्वरुप राष्ट्रिय पञ्चायतजस्तो भएको दाहालले आरोप लगाए। 'अहिलेको संविधानसभा यसो हेर्‍यो भने संविधानसभा हो कि राष्ट्रिय पञ्चायत हो भनेजस्तो छ,' दाहालले भने, 'यसो मान्छेका अनुहार, भेषभुषा र चालढाल सबै हेर्‍यो भने कहाँ आइयो भनेजस्तो छ, हामीले खोजेको ठाउँमा आइपुग्यौं कि अन्त कतै?' आफूले संविधानसभाको अपमान गर्न भने नखोजेको उनले प्रस्टीकरण दिए।
संविधानसभा निर्वाचनमा एमाओवादी तेस्रो स्थानमा झर्नुमा पार्टी विभाजन प्रमुख कारण रहेको उल्लेख गर्दै दाहालले सोही कार्यक्रममार्फत वामपन्थी पार्टीबीचको एकतामा जोड दिए। 'क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिहरु विजयी हुन्छन्, क्रान्तिकारीहरु एकताबद्ध हुँदा प्रतिक्रियावादी पराजित हुन्छन्,' दाहालले चुनावको समीक्षा गर्दै भने, 'एकताबद्ध हुँदा हिजो विजयी भयौं, क्रान्तिकारीहरु विभाजित हुँदा आज प्रतिक्रान्तिकारीहरु विजयी भए, त्यसैले क्रान्तिकारीहरुको एकता अनिवार्य छ।' उनले क्रान्तिकारी शक्तिलाई एकताको आह्वान पनि गरे।
यता, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले पनि आफ्नो पार्टीमा आउन एमाओवादीका नेता तथा अन्य वामपन्थी घटकलाई आह्वान गरेका छन्। वामपन्थी शक्तिहरुको एउटै केन्द्र बनाउन आवश्यक भएको उल्लेख गरेका वैद्यले त्यसका लागि सार्वजनिक रुपमा आह्वान गरेका हुन्।
'अन्य क्रान्तिकारी पार्टी र एमाओवादीभित्र रहेका क्रान्तिकारी पनि यहाँ आउनुपर्छ,' वैद्यले कुपोन्डल, ललितपुरमा आयोजित कार्यक्रममा भने, 'क्रान्तिकारी कम्युनिस्टहरुको एउटै केन्द्र बनाउनुपर्छ।' त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको उनको भनाइ छ।
'जनयुद्ध' सुरुआतकर्तामध्ये बहुमत नेता आफ्नो पार्टीमा भएको दाबी गर्दै अध्यक्ष वैद्यले पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको आरोप पनि लगाए। 'त्यतिबेला नेतृत्व (दाहाल) ले धोका दियो र त आज हामी यो ठाउँमा आइपुगेका छौं,' उनले भने, 'यो संविधानसभाले जनताको पक्षमा काम गर्न सक्दैन, त्यसैले जनयुद्धको जगमा जनविद्रोहको तयारी गर्नुको विकल्प छैन।'
एमाओवादी नेतृत्वमा जनविद्रोह तयारी भइरहेको जानकारी गराउँदै अध्यक्ष वैद्यले वामपन्थी र क्रान्तिकारी शक्तिहरुबीचको एकतामा पनि जोड दिएका थिए।

No comments:

Post a Comment