प्रमुख राजनीतिक दलका नेताले अघिल्लो संविधानसभामा जुटेका राजनीतिक सहमतिको स्वामित्व ग्रहण गर्दै एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। नयाँबानेश्वरस्थित संविधानसभा भवनमा बुधबार सभासदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
संविधानसभा बैठक सुरु भएको एक वर्षभित्रै नयाँ संविधान दिने प्रतिबद्धता चुनावी घोषणापत्रमा उल्लेख गरेका राजनीतिक दलले त्यसैमा टेकेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका हुन्। 'अघिल्लो संविधानसभामा स्वामित्व ग्रहण गर्ने विषयमा सबै प्रमुख दल सहमत छन्, त्यसैमा टेकेर अघि बढ्छौं,' कांग्रेस सभापति सुशील कोइरालाले भने, 'नमिलेका विषयमा सहमति खोज्ने प्रयास गरिन्छ, त्यहाँ नमिले मतदान प्रक्रियामा गएर टुंग्याउँछौं र त्यहाँबाट पनि सहमति नभए जनमतसंग्रहमा जान्छौं, तर एक वर्षभित्रै नयाँ संविधान जनतालाई दिन्छौं।'
संविधानसभामा ठूलो दलको नाताले कांग्रेसले नयाँ संविधान निर्माणमा अग्रसरता देखाउने उनले दाबी गरे। एमाले अध्यक्ष झलनाथ खनालले पनि अघिल्लो संविधानमा भएका सहमतिमा नै टेकेर अघि बढ्ने भएकाले एक वर्षभित्रै संविधान बन्नेमा ढुक्क हुन आग्रह गरेका छन्। 'पहिलो संविधानसभा असफल हुनुको पाठ सिक्दै, ६ सय १ सभासदको जिम्मेवारी बोध, नेपाली जनताको चाहनाका कारण पनि नयाँ संविधान एक वर्षभित्रै बन्छ,' खनालले भने, 'हिजोको भन्दा आज संविधानसभाभित्र भिन्न संरचना भएकाले पनि संविधान बन्दैन भन्नेमा आशंका गर्नु जरुरी छैन।'
माओवादी नेता कृष्णबहादुर महराले अघिल्लो संविधानसभामा धेरैजसो विषयमा सहमति भइसकेको जनाउँदै निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीय संरचनामा पनि दलहरुबीच सहमति जुट्ने विश्वास व्यक्त गरे। 'धेरैजसो विषयमा पहिले नै सहमति भइसकेको छ, तीनवटा विषयमा मात्रै सहमति हुन बाँकी भएकाले त्यसमा सहमति जुटाउन कुनै समस्या छैन,' उनले भने, 'अघिल्लो संविधानसभा ख्याल–ख्यालमै विघटन भयो, अहिले जिम्मेवारीबोधसहित सभासदहरु आएका छन्, त्यसले एक वर्षभित्र संविधान बनाउन दबाब दिन्छ।'
मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादीका अध्यक्ष अशोक राईले पनि अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण गर्ने प्रतिबद्धता जनाए। 'अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण गर्दै लोकतान्त्रिक संविधानको अन्तर्वस्तु र मान्यतामा प्रतिबद्ध छौं,' गच्छदारले भने, 'धेरैजसो दल यसमा सहमत हुन्छन् भन्ने विश्वास मलाई छ।'
मधेसवादी दल संविधानसभाभित्र गणितीय आधारमा कमजोर भए पनि मधेस र मधेसीको एजेन्डामा कमजोर नभएको र त्यसलाई स्थापित गराउन संविधानसभाभित्र विशेष भूमिका खेल्ने उनको भनाइ छ।
संघीय समाजवादीका अध्यक्ष अशोक राईले पहिचानसहितको संघीयताका पक्षमा पार्टी उभिने बताए। 'हाम्रो पार्टी संविधानसभामा नयाँ भए पनि अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण गर्ने पक्षमा उभिन्छ,' राईले भने, 'तर, पहिचानसहितको संघीयता, समावेशी लोकतन्त्रकोे पक्षमा हाम्रा सभासदले आवाज उठाउँछन्।' उनका अनुसार संविधानसभाबाट एक वर्षमा नै संविधान बनाउने विषय प्रमुख राजनीतिक दलको व्यवहारमा निर्भर हुनेछ।
स्वामित्वमा संवैधानिक अड्चन
अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक दलले एक वर्षभित्र संविधान दिने दाबी गरे पनि संविधानसभाको प्रक्रियामा लैजान भने कानुनी र प्रावधिक अड्चन आउने पूर्वसभाध्यक्ष सुवास नेम्वाङले बताए ।
'अन्तरिम संविधानले संविधानसभाको आयु चार वर्ष तोकेको छ, एक वर्षभित्रै संविधान बनाउनुपर्छ भन्ने विषय संविधानमा उल्लेख छैन। यो त चुनावमा जानुअघि राजनीतिक दलले गरेको प्रतिबद्धतामात्रै हो,' नेम्वाङले भने, 'दलहरूको त्यो प्रतिबद्धतालाई नयाँ संविधानसभाभित्र कसरी लैजाने भन्ने प्रश्न उठ्छ, त्यसलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक सहमति अनिवार्य हुन्छ।' स्वामित्व ग्रहण नगरी एक वर्षभित्र संविधान निर्माण नहुने भएकाले यो विषय अनिवार्य सर्त भएको नेम्वाङको भनाइ छ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एक वर्षभित्रै नयाँ संविधान निर्माणका लागि पार्टीले अग्रणी भूमिका खेल्ने बताए। 'ताजा जनादेशपछि हाम्रो पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको छ,' देउवाले भने, 'सबैलाई मिलाएर सहमतिको दस्तावेजका लागि कांग्रेसले अग्रणी भूूमिका खेल्छ र एक वर्षभित्रै नयाँ संविधान जारी गरेर छाड्छ।'
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलबीच अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिनुको विकल्प नभएको बताए। पहिले सहमति खोज्ने र नभए मतदान प्रक्रियामा गएर पनि स्वामित्वलाई संविधानसभा प्रवेश गराउनुपर्ने उनले जनाए।
संविधानसभाभित्र स्वामित्व ग्रहणको विषय प्रवेश गराउन एमाओवादीले सहयोग गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए। 'सबै दलले अघिल्लो संविधानसभामा जुटेका सहमतिको स्वामित्व लिने चुनावअघि नै प्रतिबद्धता जनाएका छन्, हाम्रो पार्टीले पनि प्रतिबद्धता जनाएको हो,' सापकोटाले भने, 'त्यसका लागि माओवादीले सहयोग र समर्थन गर्छ, त्यसबाट भाग्दैन।'
No comments:
Post a Comment