Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, January 21, 2014

सपथ कार्यक्रममा जे देखियो, आजको ब्लगमा त्यही लेखियो

निर्वाचन सम्पन्न दुई महिना चार दिनपछि संविधानसभाको पहिलो बैठक बुधबार बस्ने छ। संसद भवन नयाँ बानेश्वारमा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरीएको छ। अन्तरिम संविधान २०६३ को धारा ६९ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद अध्यक्ष खिलाराज रेग्मीले बुधबार दिउँसो ३ बजे संविधानसभा भवन (अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र नयाँबानेश्वर) मा बैठक आह्वान गरेका हुन्।
पहिलो बैठकको कार्यसूचीमा मन्त्रिपरिषद अध्यक्षबाट संविधानसभा बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यक्रम छ। त्यसका साथै निर्वाचन सम्पन्न गरेकामा सरकार तथा जनतालाई धन्यवाद दिने र नयाँ नियमावली नबनुन्जेल अहिलेकै नियमावलीलाई निरन्तरता दिने' रहेको छ। पहिलो बैठकको कार्यसूची तयार गर्न संसद सचिवालयले आइतबार सर्वदलीय बैठक राखेको थियो।
पहिलो बैठकसँगै मुलुकले २० महिनापछि जनप्रतिनिधि मुलक संस्था पनि पाउने छ। अघिल्लो संविधानसभा २०६८ जेठ १४गते विना संविधान विघटन भएको थियो। त्यसको १८ महिनापछि मंसिर ४ गते पुनः संविधानसभाको निर्वाचन भएको थियो।

निर्वाचन परिणाम घोÈणा भएको २१ दिनभित्र संविधानसभा बैठक आह्वान गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुसार अध्यक्ष रेग्मीले पुस २७ गते बैठक आह्वान गरेका थिए। निर्वाचन आयोगले पुस १८ मा राष्ट्रपति रामवरण यादवलाई निर्वाचन परिणामको औपचारिक प्रतिवेदन दिएको थियो।
यसैगरी, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति यादवले माघ १२ गते व्यवस्थापिका संसदको पहिलो बैठक आह्वान गरेका छन्। संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका ५ सय ७५ मध्ये ५ जना सभासद मंगलबारको शपथग्रहणमा अनुपस्थित थिए।
संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार मंगलबारको शपथग्रहण कार्यक्रममा ५ सय ७० सभासदमात्रै भए। 'शपथ कार्यक्रममा पाँचजना अनुपस्थित हुनुभएको छ,' प्रवक्ता शर्माले नागरिकसँग भने, 'उहाँहरु सम्पर्कमा आउनेबित्तिकै छुट्टै शपथ कार्यक्रम राखिनेछ।'
शर्माका अनुसार नेपाली कांग्रेसका सभासद प्रदीप गिरी, डा. नारायण खड्का, सुवर्ण ज्वारचन, एमालेका वंशीधर मिश्र र मधेसी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप साह शपथग्रहणमा आएनन्।
मन्त्रिपरिषदले मनोनीत गर्ने २६ जना सभासद भने चयन भएको छैन। यस हिसाबले ६ सय १ सदस्यीय संविधानसभामा ३१ जनाले अझै शपथ लिन बाँकी नै छ।
अन्तरिम संविधानले संविधानसभामा चयन भएका सदस्यमध्ये सभाध्यक्ष/सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले शपथ र संसद चलाउने व्यवस्था भएबमोजिम थापाले मंगलबार शपथ ग्रहण गराएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले 'ईश्वर' का नाममा शपथ ग्रहण गराएपछि सभासदहरुले शपथपत्रमा हस्ताक्षर गरे भने आ–आफ्ना प्रतीक चिह्न (सभासदको लोगो) लिए।
अघिल्लो बेन्चमा सात दल
संविधानसभा हलभित्र पहिलो पंक्तिमा सात राजनीतिक दलका सभासदलाई बस्न व्यवस्था मिलाइएको छ। सचिवालयका अनुसार पूर्वबाट क्रमशः राप्रपा नेपाल, एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद पहिलो लहरमा बस्नेछन्।
पश्चिमतर्फको एउटा लाइनमा भने मधेसकेन्द्रित तीनवटा राजनीतिक दल फोरम नेपाल, तमलोपा र फोरम लोकतान्त्रिकका सभासदलाई एउटै लहरमा बस्न मिल्ने गरी व्यवस्था मिलाइएको छ। अन्य साना दलका सभासदलाई भने पछाडि बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ।
पहिचान झल्काउने पोसाकमा
मंगलबार शपथ कार्यक्रममा भाग लिन सभासदहरु बिहान १० बजेबाटै संविधानसभा भवन प्रवेश गर्न सुरु गरेका थिए। उनीहरु आफ्ना जातीय तथा सांस्कृतिक पहिचान झल्काउने पोसाकमा थिए । दोस्रो ठूलो दल एमालेका अधिकांश पुरुष सभासद दौरासुरुवाल र निलो कोट तथा महिला सभासद सारीचोलोसहित निलो कोटको 'ड्रेस कोड' अनुसार उपस्थित थिए।
एमालले जनजाति, मधेसी तथा अन्य समुदायका हकमा आफ्नो सांस्कृतिक र जातीय पहिचान झल्कने पोसाक लगाउन सकिने छुट दिएको थियो। अन्य दलका सभासद पनि सांस्कृतिक र जातिय पहिचान झल्कने पोसाक लगाएर संविधानसभामा प्रवेश गरेका थिए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीलगायत महिला सभासदले आफ्नो सांस्कृतिक र जातीय पहिचान झल्कने पोसाक लगाएर शपथ लिएका थिए।
नेम्वाङसहित ४४ सभासदद्वारा मातृभाषामा शपथ
पहिलो संविधानसभाका सभाध्यक्ष/सभामुख सुवासचन्द्र नेम्वाङसहित ४४ सभासदले दोस्रो संविधानसभामा आ–आफ्ना मातृभाषामा शपथ लिए। शपथग्रहण कार्यक्रममा सभासदहरूले विभिन्न ११ वटा मातृभाषामा शपथ लिएका थिए।
'४४ सभासदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको छ भने बाँकीले नेपाली भाषामा शपथ लिनुभयो,' सचिवालय प्रवक्ता शर्माले नागरिकसँग भने। शर्माका अनुसार नेपाल भाषा (नेवारी) मा तीनजना, मगरमा तीनजना, मैथलीमा १३ जना, हिन्दीमा ११ जना र गुरुङ भाषामा दुई सभासदले शपथ लिएका थिए।
यसैगरी, लिम्बु भाषामा दुईजना, अबधीमा पाँच, भोजपुरीमा ११, मधेसीमा एक र किराँत भाषामा एकजना गरी ४४ सभासदले आ–आफ्नो मातृभाषामा शपथ लिएको शर्माले जानकारी दिए। 'मलाई नेपाली भाषाप्रति गर्व छ, तर मैले संविधानले दिएको अधिकार प्रयोग गर्दै लिम्बु भाषामा शपथ लिए, किनकि यो भाषा मेरो मातृभाषा हो,' नेम्वाङले शपथग्रहण कार्यक्रमपछि भने। संविधानसभा पहिलो बैठक माघ ८ गते दिउँसो तीन बजे बस्नेछ।

No comments:

Post a Comment