एकीकृत माओवादीका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले 'अध्यक्ष पुष्पकमल दाहालको विकल्प तत्काल खोज्न नहुने' भन्दै रूपान्तरणसहितको नेतृत्वमा जोड दिएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा माघ २ देखि जारी केन्द्रीय समिति बैठकमा दाहालको नेतृत्व क्षमता र कार्यशैलीबारे प्रश्न उठाउँदै उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेताले नेतृत्व छाड्न निरन्तर दबाब दिइरहेका बेला श्रेष्ठले भने तत्काल उनको विकल्प नभएको बताएका हुन्।
'अध्यक्षले स्वेच्छाले आफ्नो पद त्याग्नुहुन्छ भने मेरो भन्नु केही छैन, तर तत्काल उहाँ (दाहाल) को नेतृत्वको विकल्प हामीसामु छैन,' श्रेष्ठले जारी बैठकमा भने, 'उहाँले आफूलाई रूपान्तरण गर्नुपर्छ र रूपान्तरणको सर्तमा अध्यक्षकै नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्छ। उहाँ रूपान्तरण हुन सक्नुभएन भने पार्टी सकिन्छ।' भट्टराईले शनिबार प्रस्ताव गरेझैं केन्द्रीय कार्यालयमा रहेका दाहाल, भट्टराई, श्रेष्ठ र पोष्टबहादुर बोगटीले राजीनामा दिएर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषयमा श्रेष्ठ विपक्षमा उभिएका छन्।
'चारैजनाले नेतृत्व छाडेर युवालाई हस्तान्तरण गर्ने प्रस्ताव समयसापेक्ष छैन, यसले संगठनलाई झन् ध्वस्त र अस्तव्यस्त बनाउँछ,' श्रेष्ठले भने। तर, प्रमुख नेतृत्व दुई कार्यकालभन्दा बढी बस्न नपाउने विधि विकास गर्न भट्टराईले राखेको प्रस्तावमा भने श्रेष्ठले समर्थन जनाएका छन्।
पार्टीको विधि निर्माणबारे बोल्दै श्रेष्ठले वैचारिक, नीतिगत, राजनीतिक विषयमा बाहिर पनि खुला बहस गर्न पाउनुपर्ने तर संगठन/प्राविधिक विषय बाहिर नलैजाने विधि पार्टीले तय गरेर जानुपर्ने प्रस्ताव अघि सारेका छन्।
'पार्टी, सत्ता र साधनस्रोत एउटै व्यक्तिमा केन्द्रीकरण गर्नुहुँदैन,' श्रेष्ठले प्रस्ताव अघि सार्दै भने, 'केन्द्रीय कार्यलयमा पनि कार्य विभाजन गर्नुपर्छ र त्यसरी गरिएको कार्य विभाजनलाई चक्रीय प्रणालीअनुसार जिम्मेवारी लिन र दिन तयार हुनुपर्छ।'
तत्काल नेतृत्व परिवर्तनको विपक्षमा खुलेर आएका श्रेष्ठले दाहाललाई आफ्नो अभिव्यक्ति शैली नियन्त्रण गर्न माग गरेका छन्। 'ठूलो पार्टीको अध्यक्ष भनेको छ, जे मन लाग्यो त्यही बोल्ने, ठाउँअनुसार अभिव्यक्ति दिने कुरालाई जनताले कति दिन कसरी पत्याउनु?' श्रेष्ठले दाहालतर्फ इंगित गर्दै बैठकमा भने, 'अब बोल्नमा भन्दा काममा ध्यान दिन जरुरी छ, कुनै पनि कुरा बोल्दा अध्यक्षले धेरैचोटि सोच्न जरुरी छ।' श्रेष्ठले दाहालको 'उदारवादी चरित्र' स्वयं उनी र पार्टीका लागि महँगो भएको उल्लेख गरे।
अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति निर्वाचन र सरकारबारे दोहोरो चरित्र देखाएको भन्दै श्रेष्ठले आपत्ति जनाए। 'नयाँ संविधान जारी नभएसम्म सरकारमा जानु हुँदैन र संविधान निर्माणमा पार्टीले पूरै ध्यान दिनुपर्छ,' श्रेष्ठले बैठकमा भने, 'नयाँ जनादेश आइसकेको अवस्थामा नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउन पार्टी स्पष्टताका साथ उभिनुपर्छ।' दाहालले तत्काल स्थानीय निर्वाचनमा पार्टीलाई संलग्न गराउने प्रस्तावप्रति विमति जनाउँदै श्रेष्ठले त्यसको तयारीका लागि पार्टी अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए।
राष्ट्रियताको सवालमा पार्टी र नेतृत्व चुकेको उल्लेख गर्दै श्रेष्ठले राष्ट्रियताको पक्षमा स्पष्ट हुनुपर्ने र देशभक्ति आन्दोलनको नेतृत्व एमाओवादीले गर्नुपर्ने बताए। 'कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्न भारतसँग पार्टी नेतृत्व बढी लचिलो हुन पुग्यो, जसले धेरैवटा राजनीतिक निर्णय उतैबाट प्रभावित भयो, डिजाइनमा फस्दै पनि गयौं,' दाहालप्रति लक्ष्य गर्दै श्रेष्ठले भने, 'परिणाम, आफैं निर्णय गर्ने क्षमता हामीमा कमजोर हुँदै गयो, अब यो क्रम रोकिनुपर्छ।'
कूटनीतिक निकाय र राजदूतलाई राज्यको 'सिस्टम' र नेतृत्वको मर्यादा ख्याल गरेर भेटघाट गर्न श्रेष्ठले दाहालसँग आग्रह गरे।
फरक मत राखेका कारण पटक–पटक पार्टीमा 'अपमानित' र अल्पमतमा परे पनि भट्टराई आफैं भने 'फरक मतलाई सम्बोधन नगर्ने नेता' भएको श्रेष्ठले बताएका छन्। 'फरक मत राखेकै कारण भट्टराई पार्टीभित्र पटक–पटक अपमानित हुनुभएको छ, अल्पमतमा पनि पर्नुभएको छ, तर स्वयं उहाँ आफू भने अरूको फरक मतलाई न सम्मान गर्नुहुन्छ, न त्यसको कार्यान्वयन नै गर्नुहुन्छ।' यही समस्याका कारण भट्टराई विश्वासिलो र सांगठनिक रूपमा बलियो हुन नसकेको भन्दै श्रेष्ठले उनलाई सच्चिन आग्रह गरे।
पार्टी पराजयमा बाह्यभन्दा आन्तरिक कारण प्रमुख रहेको सत्य अस्वीकार गर्न नहुने श्रेष्ठको भनाइ छ। 'निर्वाचनको माहौल बनाउन सरकार र निर्वाचन आयोग पार्टीका लागि उपयुक्त हुन नसके पनि जनताले हामीलाई मत नदिएकै हुन् भनेर भन्न किन लाज मान्ने?' श्रेष्ठले बैठकमा भने, 'मुख्य कुरा आन्तरिक हो, हामी हाम्रै कारणले पराजित भएका हौं, अरूलाई दोष दिएर उम्कनुहुँदैन र मिल्दैन पनि।'
भट्टराईले तत्कालीन अवस्थामा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन नजनाउनु र निर्वाचनको संघारमा उपाध्यक्ष 'पद त्याग'ले पार्टीलाई कमजोर बनाएको श्रेष्ठको आरोप छ।
'सुशीलजीलाई प्रधानमन्त्री बनाउन नमान्नु र निर्वाचनको मुखमा उपाध्यक्ष पद त्याग गर्ने दुईवटा गम्भीर गल्ती उहाँ (भट्टराई) बाट भयो, यसले पार्टीलाई झन्डै–झन्डै समाप्त नै पार्योव, आगामी दिनमा यस्तो गल्ती नहोस् भन्ने आग्रह गर्छु,' भट्टराईप्रति इंगित गर्दै श्रेष्ठले बैठकमा भने।
अध्यक्ष दाहालको रूपान्तरणसहित पार्टी पुनर्गठनमा जोड गरेका श्रेष्ठले यो नै माओवादीका लागि 'अन्तिम अवसर' भएको जिकिर गरेका छन्। केन्द्रीय समितिको जारी बैठकमा मंगलबार अन्य केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन्।
No comments:
Post a Comment