एकीकृत नेकपा माओवादी दोस्रो संविधानसभाको जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनका पक्षमा उभिने संकेत देखिएको छ। संविधानसभाको पहिलो बैठक सुरु हुनु एक साताअघि अध्यक्ष पुष्पकमल दाहालले आगामी केन्द्रीय समितिमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिइएको छ।
दाहालले आफ्नो प्रतिवेदनमार्फत माओवादी सरकारमा नजाने, तर पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गर्ने उल्लेख गरेका छन्। 'सकेसम्म सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिबारे टुंगो लगाउनुपर्छ भन्ने नै पार्टीको लाइन हो,' दाहाल प्रतिवेदनको गुह्य प्रस्ट्याउँदै पार्टी प्रवक्ता अग्नि सापकोटाले नागरिकसँग भने, 'तर संवैधानिक, लोकतान्त्रिक विधि, राजनीतिक मूल्य–मान्यता र नैतिकताका लागि पनि ताजा जनादेशअनुसार नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने पार्टीको नीतिगत कुरा हो।'
सापकोटाले एमाओवादी सरकारमा नजाने, बरु प्रतिपक्षमै रहेर संविधान निर्माणमा केन्द्रित हुने बताए।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने/नहुनेमा राजनीतिक दलबीच मत बाझिरहेका बेला एमाओवादी अध्यक्ष दाहालले माघ २ देखि सुरु हुने भनिएको केन्द्रीय समितिमा यो विषयलाई लिखित दस्तावेजमार्फत नै प्रस्तुत गर्न लागेका हुन्।
पार्टीमा पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले नयाँ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने मुद्दा यसअघि नै उठाएका थिए। सरकारमा नजाने र प्रतिपक्षमा बसेर संविधान निर्माणमा केन्द्रित हुने पनि भट्टराईको लाइन थियो। जबकि, अध्यक्ष दाहाल पक्षका नेताहरूले कांग्रेस नेतृत्वको सरकारलाई निसर्त समर्थन भन्नेसम्मका सार्वजनिक अभिव्यक्ति दिएका थिए।
दाहालपक्षीय नेताहरूको यस किसिमको अभिव्यक्तिप्रति भट्टराई सन्तुष्ट थिएनन्। तर, अहिले भट्टराईले उठाउँदै आएका यी एजेन्डालाई दाहालले आफ्नो दस्तावेजमा समेटेका छन्।
'संविधानसभा निर्वाचन– २०७० को समीक्षा र पार्टी पुनर्निर्माणको ऐतिहासिक आवश्यकता' शीर्षकको दाहालको राजनीतिक प्रतिवेदन 'आलोचनात्मक सुझाव' सहित केन्द्रीय कार्यालय, पूर्वपोलिटब्युरो सदस्यहरूको बैठकबाट अनुमोदन भइसकेको छ। यद्यपि, दाहालको प्रतिवेदनका विषयमा पार्टी प्रवक्ताबाहेक अन्यलाई मिडियामा नबोल्न एमाओवादीले निर्देशन जारी गरेको छ।
दाहालको यो प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित भएमा एमाओवादीले माघ ७ देखि सुरु हुने भनिएको व्यवस्थापिका संसदमा राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनको पक्षमा 'लबिङ' गर्ने दाहाल निकट एक नेताले बताए।
'एमाओवादी व्यवस्थापिका संसदमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको पक्षमा स्पष्टतासाथ उभिनेछ,' ती नेताले नागरिकसँग भने।
यसअघि, एमाले र राप्रपा नेपालले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनको प्रसंग उठाइरहेको बताउँदै दाहालपक्षीय एक नेताले भने, 'अब हामी (एमाओवादी) ले पनि यो एजेन्डा उठाएपछि संविधानसभाभित्र राजनीतिक समीकरण नै फरक ढंगले विकास हुनेछ।'
संविधानसभामा एमालेको १ सय ७५, एमाओवादीको ८० र राप्रपा नेपालको २४ गरी २ सय ७९ सिट छ।
तराई–मधेस केन्द्रित केही राजनीतिक दलसहित अन्य साना दल पनि निर्वाचनको पक्षमा उभिन सक्ने माओवादी आँकलन छ। एमाओवादीका ती नेताका अनुसार संविधानसभामा 'राजनीतिक शक्तिसन्तुलन' का लागि पनि एमाओवादी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका पक्षमा उभिन लागेको हो।
अध्यक्ष दाहालको प्रतिवेदनमा पार्टी तेस्रो स्थानमा झर्नुमा १० आन्तरिक र १२ बाह्य गरी २२ वटा कारण खुट्ट्याइएको छ। त्यसमध्ये तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईले उपाध्यक्ष 'पदत्याग' का कारण पार्टीको आन्तरिक संगठन भताभुंग भएको र यस स्थितिका कारण पनि हार बेहोर्नुपरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको एक नेताले बताए।
'अध्यक्षले नेतृत्वका हिसाबले निर्वाचन पराजयमा आफ्नो कमजोरी भएको भन्दै आत्मालोचना गर्नुभएको छ,' सहभागी एक नेताले भने। हेटौंडा महाधिवेशनले तय गरेको 'उत्पादन र निर्माण' को कार्यदिशाअनुसार संगठन बनाउन नसकेका कारण पनि पार्टीले पराजय बेहोर्नुपरेको विषयलाई आन्तरिक कारणका रुपमा प्रतिवेदनमा व्याख्या गरिएको छ।
निर्वाचनमा 'धाँधली र षड्यन्त्र' को आरोप लगाउँदै संविधानसभामा सहभागी नहुने घोषणा गरेका अध्यक्ष दाहालले लिखित रुपमा संविधान निर्माणमा केन्द्रित हुने उल्लेख गरेका छन्।
'मुख्यतः संविधानसभाका एजेन्डा र शान्ति प्रक्रियाको आधा हिस्सा पनि एमाओवादी भएकाले संविधानसभामा गएर प्रभावकारी भूमिका खेल्न सकिन्छ,' पूर्वस्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले नागरिकसँग भने, 'त्यसका लागि पार्टीले अझै बढी भूमिका खेल्ने ठाउँ बाँकी रहेकाले निराश हुनुपर्ने अवस्था नभएको अध्यक्षको विश्वास छ।'
No comments:
Post a Comment