Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 25, 2014

‘अलग पहिचान र धार नै रहेन, यसरी त अव माओवादी भएन’

एकीकृत नेकपा माओवादी 'स्वतन्त्र पहिचान गुमाउँदै विघटनको दिशातिर अघि बढेको' भन्दै पार्टीकै शीर्ष नेता तथा केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले 'अलग पहिचान र स्वतन्त्र धार' निर्माण नगरे पार्टी भंग हुने चेतावनीसमेत नेतृत्वलाई दिएका छन्।
सांगठनिक संरचना, राजनीतिक कार्यदिशा, सैद्धान्तिक र वैचारिक मुद्दामा पनि पार्टी क्रमैसँग अर्काे वामपन्थी दल नेकपा (एमाले) को धारमा गएको उनीहरूको ठहर छ।
पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले माओवादीले छुट्टै पहिचान बनाउन नसके एमालेसँग एकीकरण वा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग एकीकरण गर्नुपर्ने दिन आउनसक्ने भन्दै नेतृत्वको आलोचना गरे।
'अरू पार्टीभन्दा माओवादी के–के कुराले फरक छ? अहिले निकै पेचिलो प्रश्न बनेको छ,' भट्टराईले शनिबार बैठकमा भने, 'अब पनि साँच्चै गम्भीर भएनौं भने कि त एमालेसँग पार्टी एकीकरण गरेर जानुपर्यो कि वैद्यहरूसँग टाँसिनुपर्यो।' एमाओवादीलाई अन्य पार्टीभन्दा फरक बनाउन केन्द्रित भएर पार्टी पुनर्निर्माणको बहस हुनुपर्नेमा भट्टराईले जोड दिए।
अध्यक्ष पुष्पकमल दाहाल आफैंले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा 'पार्टीको स्वरूप न जन (मास) पार्टीको जस्तो, न सर्वहारा वर्गको अग्रदस्ताको जस्तो' भएको उल्लेख गर्दै पार्टीले आफ्नो पहिचान गुमाएको सकारेका छन्।

दाहालको प्रतिवेदन 'छुट्टै पहिचान कसरी कायम राख्ने?' भन्नेमा अनुत्तरित रहेको भट्टराई पक्षको टिप्पणी छ। दाहालले छुट्टै पहिचान देखाउने मुद्दा र एजेन्डा दिन नसकेकोमा अन्य नेताले पनि आक्रोश व्यक्त गरेका छन्।
पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले पनि पार्टी पुनर्निर्माणका लागि 'स्वतन्त्र धार निर्माण' मुख्य चुनौती बनेको बताएका छन्। 'कसैले सोधे अरू पार्टीभन्दा माओवादी यो–यो कारणले फरक छ भन्ने जवाफ हामीसँग अब रहेन,' मंगलबारको बैठकमा महराले भनेका थिए, 'पार्टीको स्वतन्त्र राजनीतिक धार भएन, अब सबैको मुख्य ध्यान स्वतन्त्र धार निर्माणमा केन्द्रित हुनुपर्छ।'
त्यसका लागि सांगठनिक संरचना छुट्टै भएको देखाउन र अनुशासनहीनता रोक्न पनि नेतृत्वको केन्द्रीकरण गर्नुको विकल्प पार्टीसामु नभएको महराको भनाइ छ। 
एमालेले आठौं महाधिवेशनमार्फत महासचिवको एकल नेतृत्व रहने बहुपदीय प्रणालीमा जाने निर्णय लिएलगत्तै माओवादीले पनि खरिपाटी भेलाबाट बहुपदीय प्रणाली अपनाएको थियो। शक्ति बाँडफाँटका नाममा बहुपदीय प्रणालीमा जानु नै गल्ती भएको दाहाल पक्षधरले बताउँदै आएका छन्।
संसदीय व्यवस्थाविरुद्ध सशस्त्र युद्ध लडेको माओवादी अन्ततः संसदवादमा भासिँदै गएको आरोप नेता राम कार्कीको छ। 'क्रान्तिकारी कम्युनिस्टले संसदको उपयोग गर्दा वा सरकारमा सामेल हँुदा त्यसलाई शासन गर्ने सौभाग्यका रूपमा बु‰दैनन्, बरु ठीकविपरीत त्यो अवसरलाई विचार, ज्ञान र सोच्ने तरिका फेर्ने कामका निम्ति प्रयोग गर्छन्,' कार्कीले लिखित धारणा राख्दै भनेका छन्, 'हाम्रो सन्दर्भमा त्यस्तो कतै नदेखिएकाले हामी संसदवादमा भासिएकै प्रमाणित हुन्छ।' 
संसदवादको भासबाट उम्कन नसके ०४७ देखि नै संसदीय व्यवस्था स्वीकार गरेर आएको अर्को कम्युनिस्ट पार्टी एमालेभन्दा एमाओवादी सैद्धान्तिक र वैचारिक रूपले फरक नहुने कार्कीको निष्कर्ष छ। 
राज्यसमिति भंग गर्ने तथा संघीय प्रदेशको संख्या र नामावली उल्लेख नगरी जाने दाहालको प्रतिवेदनमा उल्लेख प्रस्तावप्रति मधेसी तथा जनजाति नेताले आपत्ति जनाएका छन्। दाहालका दुवै 'क्रमभंग र छलाङ' प्रकारका प्रस्तावले माओवादीको बचेखुचेको पहिचान पनि गुमाएको मधेसी–जनजाति नेताको आरोप छ।
'संघीयतासहितको संविधान एक वर्षमा बन्ने भन्ने प्रतिबद्धता पार्टीको छ, तर आफ्नै पार्टीको पहिचान नै मेटाउने गरी अध्यक्षको प्रस्ताव आयो,' सोमबार अर्का नेता प्रभु साहले बैठकमा भने, 'राज्य पुनर्संरचनाको मुद्दामा रस्साकस्सी भएका बेला नेतृत्वबाट संघीय प्रदेशको नामावली र संख्या तोकेर संविधानसभामा नजाने र पार्टीको राज्यसमिति भंग गर्ने प्रस्ताव किन आयो?' उक्त प्रस्ताव फिर्ता नलिइए अर्को फरक मतसहितको दस्तावेज ल्याउने चेतावनी साहले बैठकमै दिइसकेका छन्। 
राज्यसमिति भंग गरेर केन्द्र, जिल्ला र स्थानीय तीन तहका संगठन बनाउँदा कांग्रेस र एमालेका सांगठनिक संरचनाजस्तो हुने उनको भनाइ छ। 'गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा कांग्रेस, एमाले पनि सहमत छन्,' साहलगायतका मधेसी–जनजाति नेताले बैठकमा भनेका थिए, 'संघीय प्रदेशको नामावली र संख्यामा स्पष्ट भएकाले हामी अरूभन्दा फरक भएका हौं।' संघीय प्रदेशको नामावली र संख्या तोक्नुपर्ने तथा राज्यसमिति भंग गर्न नहुने मधेसी–जनजाति नेताहरुको माग छ।
यसैबीच, शनिबार बसेको केन्द्रीय कार्यालय, पूर्वस्थायी समिति, पूर्व पोलिटब्युरो र राज्य समिति इन्चार्जको संयुक्त बैठकले नेतृत्व रुपान्तरण र पार्टी पुनर्निर्माणका बारेमा छलफल गरेको छ। 'तर कसरी रुपान्तरण र पार्टी पुनर्निर्माण गर्ने भन्नेबारेमा अझै निष्कर्ष निकालिएको छैन,' नेवाः राज्य समिति इन्चार्ज देवेन्द्र पौडेलले नागरिकसँग भने। उनले बैठक अलग पहिचान र फरक धार निमार्णमै केन्द्रित भइरहेको जानकारी दिए। 
बैठकमा सांगठनिक अधिवेशन गर्ने कि महाधिवेशन गर्ने, केन्द्रीय समितिको आकार कसरी दुई अंक (९९ सम्म) मा ल्याउने, कसरी जिम्मेवारी बाडँफाँट गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनले बताए। 'संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतकलगायतका एजेन्डामा बैठक प्रवेश गरेको छैन,' उनले भने।

No comments:

Post a Comment