Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 18, 2014

‘माओवादी भयो रे यस्तो, सप्तरीको बुढाका पेडाँ पसल जस्तो’

सप्तरी जिल्लाको महेन्द्र राजमार्गसँग जोडिएको एउटा गाउँ छ, बरमझिया । यो गाउँ दुई कारणले देश बिदेशमा ख्याती कमाएको छ, पहिलो त्यहाँ मिठो स्वादको पेडा पाईन्छ र अर्को त्यहाँको पेडा पसलहरुको नाममा मिल्ने समानता । स्वादका कुरा छाडौं, त्यहाँ रहेका डेढ दर्जन भन्दा बढी पेडाँ पसलमा उल्लेख गरिएको छ, ‘बाजेको पेडा पसल ।’ पसलहरुमा लेखिएका छन, ‘उही बाजेको पेडा पसल’, ‘बाजेको पुरानो पेडा पसल’, ‘बाजेको असली पेडा पसल’, ‘बाजेले सञ्चालन गरेको पेडा पसल’, उही बाजेको पुरानो पेडा पसल’... आदी इत्यादी । नयाँ मानिस एकछिन त छक्कै पर्छ, वास्तवमा बाजेको ‘ओर्जिनल’ पसल चाँही कुन हो ? ‘ओर्जिनल’ पेडा पसल नै पत्ता लगाउन नसकेर ग्राहक झुक्किन्छन्, यही झुक्याउन बाजेको ब्रान्ड बेचिरहेका छन् । किनभने, हाल जीवित नभएका बाजेको नाम बेचेर त्यहाँ पेडाको धन्दा चलिरहेको देखिन्छ । 
माओवादी भित्र बौद्धिक नेताका रुपमा चिनिने राम कार्कीले बरमझियाको सोही प्रसङ्ग उल्लेख गर्दै जारी बैठकमा लिखित धारणा राखेका छन्, ‘माओवादीका एजेन्डा बरमझियामा पेडा विक्री गरेको ताल जस्तो भयो र पार्टी चाँही बाजेको पेडा पसल जस्तो भयो ।’ पुर्व उपाध्यक्ष बाबुराम भट्टराई बिरुद्ध हुटिङ गरेर बोल्न बाध्य बनाउने शालिकराम जम्मरकट्टेलजस्ता नेता पनि जारी बैठकमा देखा परे भने पार्टीलाई बरमझियाका पेडा जस्तो बनाएको भन्दै आलोचना गर्ने कार्की जस्ता पनि बैठकमा देखिएका छन् । माओवादी बैठक भित्र के के हुन्छ र के हुदैँछ ? त्यसको भित्री प्रसङ्ग तपाईहरु सामु राखेको छु । 

एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने पूर्वउपाध्यक्ष बाबुराम भट्टराईसहित अधिकांश केन्द्रीय नेताले अध्यक्ष पुष्पकमल दाहाल र उनको नेतृत्व क्षमतालाई लिएर चर्को आलोचना गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा भट्टराईले अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने मात्रै बताएनन्, त्यसका लागि केन्द्रीय कार्यालयका सबै सदस्य तयार हुनुपर्नेसमेत प्रस्ताव अघि सारेका छन्।
भट्टराईसहित शुक्रबार र शनिबार बैठकमा बोल्ने ३५ केन्द्रीय नेतामध्ये अधिकांशले अध्यक्ष दाहालको चर्को आलोचना गरेपछि जारी बैठक निकै पेचिलो बन्न पुगेको छ। 
नेतृत्वको कार्यकाल तोक्नुपर्ने आफ्नो प्रस्ताव दाहालले राजनीतिक प्रतिवेदनमा नराखेको भन्दै भट्टराईले शनिबार असहमति प्रकट गरे।
'मैले पार्टी र राज्यको कार्यकारी तहमा दुई कार्यकालमात्रै बस्न पाउनुपर्ने प्रस्ताव गरेको थिएँ तर अध्यक्षको दस्तावेजमा त्यो आएन,' भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'कति कार्यकाल नेतृत्वमा बस्न पाउनुपर्ने भन्ने तोकेर जानुपर्छ, सधैँ पदमा टाँसिइरहने कुरा हुन्न।'
भट्टराईले मौखिक रुपमा केन्द्रीय समितिमा फरक मत राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने यसअघिको धारणा दोहोर्याृएका छन्।
ताजा जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन तथा सरकारबारे अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको भट्टराईको आरोप छ। 'राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा पार्टी प्रस्ट हुनुपर्छ, दोहोरो चरित्र देखाउनुहुँदैन,' भट्टराईले बैठकमा भने, 'सरकारमा जान मन लागेको भए फेरि पछि केन्द्रीय समितिबाट निर्णय गरेर गए हुन्छ, अहिलेलाई नजाने निर्णय गर्नुपर्छ, प्रतिपक्षमा बस्न तयार हुनुपर्छ ।' 
विश्वका कुनै पनि कम्युनिस्ट पार्टी आजको बदलिँदो परिवेशमा 'स्टालिनशैली' (तानशाही) ले चल्न नसक्ने भन्दै रुपान्तरण र हस्तान्तरण दुवैका लागि दाहाल तयारी अवस्थामा रहनुपर्ने भट्टराईको तर्क छ। 'नेपाल र विश्वका कुनै पनि कम्युनिस्ट पार्टी अबका दिनमा स्टालिन शैली (तानशाही) मा चल्न सक्दैनन्, कम्युनिस्ट पार्टी र आन्दोलन जोगाउन पनि नेतृत्व (दाहाल) ले स्टालिन शैली (तानशाही) त्याग्नु अनिवार्य छ,' भट्टराईको भनाइ छ।
उनले केन्द्रीय कार्यालयमा रहेका अध्यक्ष दाहाल, भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले पदत्याग गरेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। आफूले पार्टी नेतृत्व (अध्यक्ष) ताकेको भन्ने दाहालपक्षीय नेताका आरोप उनले ठाडै अस्वीकार गरेका छन्। 
'मैले नेतृत्व ताकेँ भन्ने जुन आरोप म माथि निरन्तर लगाइएको छ, त्यो हुँदै होइन,' भट्टराईले आफ्नो बचाऊ गर्दै बैठकमा भने, 'मैले नेतृत्वमा लामो समयसम्म एकै व्यक्ति हुनुहुँदैन, यसले संगठन ध्वस्त बनाउँछ भनेको मात्र हुँ, यसलाई गलत अर्थ लगाउने काम भयो।'
नयाँ संविधान जारी नभएसम्म कुनै पनि पदमा नबस्ने भनाइ भट्टराईले बैठकमा फेरि पनि दोहोर्यायएका छन्। 
भट्टराईले पार्टी अर्को कम्युनिस्ट पार्टी नेकपा एमालेजस्तो पनि हुनु नहने र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीजस्तो पनि हुनु नहुने बताए। 'यसैअनुसार जाने हो भने पार्टी एमालेसँग एकीकरण गरेर गए हुन्छ, निकै क्रान्तिकारी हुनु छ भने वैद्यजीहरुसँग मिले हुन्छ, नत्र पार्टी संगठन अरूभन्दा पृथक देखिन नेतृत्वले धेरै मेहनत गर्नुपर्ने देखिएको छ,' भट्टराईले बैठकमा भने। 
केन्द्रीय सदस्यका धारणा सुनिसकेपछि मात्रै बोल्ने योजनामा रहेका भट्टराईले शनिबार बैठकको सुरुमै बोलेका थिए। दाहालनिकट मजदुर नेता शालिकराम जमकट्टेलले 'फरक मत राख्ने नेताले पहिले बोल्नुपर्ने' भन्दै भट्टराईलाई इंगित गर्दै हुटिङ गरेपछि भट्टराई आफ्नो धारणा राख्न बाध्य भए। 
हुटिङका कारण एकछिन बैठक अन्योलग्रस्त बन्न पुगेको थियो।
भट्टराईबाहेक अन्य नेताले पनि दाहालको कार्यशैली र राजनीतिक प्रतिवेदनको चर्को आलोचना गरेका छन्। पूर्वपोेलिटब्युरो सदस्य राम कार्कीले अन्य राजनीतिक दलको अन्तर्विरोधमा खेल्ने चरित्र त्याग्न दाहाललाई लिखित रुपमा आग्रह गरेका छन्। 'जनताको क्रान्तिकारी संघर्षलाई नै समाप्त पार्ने गरी बैरी पक्षवीचको अन्तर्विरोधमा खेल्ने चातुर्यलाई पुर्ण रुपमा त्याग्नुपर्छ,' कार्कीको राखेको लिखित फरक मतमा उल्लेख छ। 
'क्रमभंग' र 'छलाङ' नाममा एउटा एजेन्डा सफल नभई अर्को एजेन्डा थप्दै जाने दाहालको प्रवृत्तिलाई कार्कीले 'सप्तरीको पेंडापसल' सँग तुलना गरेका छन्। उनले लेखेका छन, 'पार्टीले वर्गीय प्रश्न छाडेर अन्य प्रकारका विभेद र विरोधहरुको समाधान खोज्नु भनेको सप्तरीको बरमझियामा पेंडा दोकानहरु थपिँदै जानुजस्तै हो, बूढाको पेंडापसल, उही बूढाको पेंडापसल, पुरानो बूढाको पेंडापसल...।' दाहालको नेतृत्वका कारण पार्टी संसदवादमा भासिएको पनि उनले उल्लेख गरेका छन्। 
दाहाल निकट मानिने पूर्वपोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले दाहाल वरपर सम्पत्तिको धाक लगाउने र दादागिरी गर्नेहरुको भीड भएको आरोप लगाएका थिए। 'सर्वहारा वर्गका पार्टीमा सम्पत्तिको धाक लगाउने र दादागिरी गर्नेहरु छन्, त्यो नेतृत्वको वरिपरि झुम्मिरहेको छ,' ओलीले दाहाललाई इंगित गर्दै भने, 'समानुपातिक सभासद चयन गर्ने सवालमा पनि सम्पत्तिवाला र दादाहरुको बोलवाला रहन गयो।' 
उनले पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई पैसाकै भरमा सभासद बनाएको प्रसंग बैठकमा पटक–पटक उठाएका थिए। अर्का नेता घनश्याम शर्मा पौडेलले पनि अध्यक्ष दाहालको वरिपरि 'पार्टीभित्रका भ्रष्टाचारी' झुम्मि्कएको आरोप लगाए, तर नाम भने उल्लेख गरेनन्। 
अर्का नेता हेमराज भण्डारीले दाहालको नेतृत्व टिमबाट अर्को क्रान्ति हुन नसक्ने भन्दै राजीनामा दिएर बाहिरिनुपर्ने तर्क अघि सारे। 'यही नेतृत्व टिमबाट अबको अर्को क्रान्ति हुँदैन, यहाँ एकजनाले मात्रै होइन, नेतृत्वमा रहेको टोलीले नै नेतृत्व छाड्नुपर्छ,' भण्डारीले पदाधिकारीहरूको राजीनामा माग्दै भनेका थिए। 
अर्का पूर्वपोलिटब्युरो सदस्य नवराज सुवेदीले भने भट्टराईलाई बढी नै आत्मकेन्द्रित र दाहाललाई बाह्य जगतबाट प्रभावित भई पार्टी धरातल नै बिर्सने नेताको रुपमा चित्रण गरेका थिए। 'फराकिलो सोचाइ लिएर नेतृत्व अघि बढ्नुपर्छ, आजको २१ औं शताब्दीमा नेतृत्व उदार बन्न पनि सक्नुपर्छ, नत्र त्यसले संगठनमा निकै ठूलो असर ल्याउँछ,' उनको भनाइ थियो। सुवेदीले भट्टराईको अधिकांश विषयलाई समर्थन जनाउँदै सिंगो पार्टीपंक्तिलाई उत्पादन र श्रमसँग जोड्नुपर्ने उल्लेख गरे।
एमालेको पोलिटब्युरो परित्याग गरी माओवादीमा गएकी उर्मिला अर्यालले एमाओवादीभित्र देखिएको गुटबन्दीले आफू वाक्कदिक्क भएको बताइन्। 'यहाँ यति धेरै गुटबन्दी छ कि पहिला त्यसलाई अन्त्य नगरी अगाडि जान सकिँदैन, त्यसका लागि सबैभन्दा पहिला नेतृत्व सुधि्रन आवाश्यक छ, तल स्वतः सुधि्रन्छ,' अर्यालले बैठकमा भनेकी थिइन्।
गैरसरकारी संस्थाहरुलाई हेर्ने पार्टी दृष्टिकोण प्रस्ट बनाउन पनि अर्यालले माग गरिन्। 
अर्का नेता धर्मदत्त देवकोटाले केन्द्रीय समितिलाई दुई अंक (९९ सदस्यीय) मा सीमित राख्ने प्रस्ताव अनुमोदन भएर आफू बाहिरिनुपर्ने अवस्था आए अदालत जाने धम्की दिएका छन्। 'दुई अंकमा सीमित गर्ने नाममा मलाई बाहिर (केन्द्रीय समितिबाट) राख्ने प्रयास गरिए, न्यायका लागि म अदालत जान्छु,' देवकोटाले बैठकमा भने, 'म महाधिवेशनबाट चयन भएको केन्द्रीय सदस्य हुँ, हेरौँ, कसले मलाई हटाउन सक्दो रहेछ?,' महाधिवेशनले चयन भएका कुनै पनि नेतालाई हटाउन अर्को महाधिवेशनले मात्रै सक्ने उनको तर्क थियो। 
अर्का नेता कर्णध्वज केसीले पार्टी आन्तरिक कारणले चुनावमा पराजय भएको स्विकार्न नसकेर नेतृत्वले बाह्य कारण देखाएकोमा आपत्ति जनाए। 'संविधानसभा चुनाव हाम्रै कारणले हारेको हो, तर, यो कुरा नेतृत्वले अझै किन स्विकार्दैन?' केसीले बैठकमा भने, 'जनताले हराए भन्ने स्विकार्न किन लाज मान्ने?' 
अर्का केन्द्रीय सदस्य गंगा श्रेष्ठले संविधानसभा निर्वाचनमा पार्टी पराजय हुनुमा अध्यक्ष दाहालले प्रयोग गरेको हेलिकोप्टर पनि एउटा कारण रहेको बताए। 'सर्वहारावर्गको नेता भनेका छौं, तर लाखौं खर्च गरेर चुनावमा हेलिकप्टर लिएर भोट माग्न गएका छौं, अनि जनताले नहराए कसले हराउँछ?,' श्रेष्ठले दाहालतर्फ इंगित गर्दै भने। बैठकमा दाहालको जीवनशैली र लाजिम्पाट बसाइको विषयमा पनि चर्को आलोचना भएको छ। 
केन्द्रीय समिति बैठक सोमबार पनि बस्नेछ।

प्रमाणपत्र वितरणमा भट्टराई–श्रेष्ठ गएनन्
संविधानसभा निर्वाचनमा विजयी भएका प्रत्यक्ष तथा समानुपातिकतर्फका सभासदलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा पूर्वउपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपस्थित भएनन्। केन्द्रीय समिति बैठक सुरु हुने पाँच घन्टाअघि पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरिएको प्रमाणपत्र वितरण कार्य अध्यक्ष पुष्पकमल दाहाल एक्लैले गरेका थिए। 
समानुपातिकतर्फका सभासद चयन गर्ने सवालमा दाहाल एकातिर र भट्टराई–श्रेष्ठ अर्काेतिर उभिएपछि विवाद हुँदै आएको थियो। उक्त विषयमा असन्तुष्ट भट्टराई–श्रेष्ठ शनिबार प्रमाणपत्र वितरणमा उपस्थित नभएर विरोध जनाएका हुन्।

1 comment:

  1. कम्युनिस्ट क्रान्ति भनेको राष्ट्रिय मात्र नभएर अन्तरराष्ट्रिय रूपमा जोडिएको हुँदा सर्वहाराको अन्तरराष्ट्रवादमा आधारित भएर नेपाली क्रान्तिलाई विश्व क्रान्ति, मुख्यत भारतीय तथा दक्षिण एसियाका अन्य राष्ट्रहरुका सर्वहारावर्ग तथा क्रान्तिसँग हातेमालो गर्न आवश्यक छ। यी कुराहरुलाई ध्यानमा नराखे जस्तोसुकै पार्टीले जस्तो सुकै रणनीति तथा कार्यनीतिहरु बनाए पनि लाखौँको बलिदानीको बावजूद हात शून्य मात्र लाग्नेछ।

    ReplyDelete