Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, January 18, 2014

धनी हुनुहुन्छ, सदस्य बन्न दुई बर्ष कुर्नुहोस रे ! अझै हसाँउछन प्रचण्ड !

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूसहित पार्टी नेता–कार्यकर्तामा तीव्र विचलन देखा परेको सकार्दै तत्काल नसुधारे 'क्रान्तिकारी पार्टी' समाप्त हुने औंल्याएका छन्। जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा दाहालले पार्टीका नेता र कार्यकर्ता भ्रष्ट, अपारदर्शी, यौन आचरणमा कमजोर र अराजक बन्दै गएको आत्मसमीक्षा गरेका हुन्।
'फलामे अनुशासन' रहने कम्युनिस्ट पार्टीका (माओवादी) नेता–कार्यकर्तामा आएको विचलनबारे नेतृत्वकर्ता आफैंले लिखित रुपमै आत्मसमीक्षा गरेर बैठकको एजेन्डा बनाएको यो नौलो घटना हो।
१३ पृष्ठको प्रतिवेदनका धेरै पृष्ठमा उनले आफूसहित नेता तथा कार्यकर्तामा देखा परेको विचलन र कुसंस्कारलाई इमानदारीपूर्वक उल्लेख गर्दै सुधारमा जोड दिएका छन् । 'पैसाका निम्ति जे पनि गर्ने र त्यसका निम्ति कुनै संस्थागत पारदर्शिता अपनाउनु नपर्ने रोगले सिँगै पार्टीको नैतिक धरातललाई क्षतविक्षत पार्दै लगेको' प्रतिवेदनमा दाहालले चिन्ता छन्।

'वर्ग–दृष्टिकोण र वर्गीय निष्ठामा आएको गम्भीर विचलनको परिणाम नै पार्टी नेता–कार्यकर्ताको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्द्रित, व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोंगी प्रकारको बन्दै गएको छ,' उनले प्रतिवेदनमा लेखेका छन्, 'पैसाका निम्ति जे पनि गर्ने र त्यसका निम्ति कुनै संस्थागत पारदर्शिता अपनाउनु नपर्ने रोगले सिँगै पार्टीको नैतिक धरातललाई क्षतविक्षत पार्दै लगेको छ।'
कार्यकर्ता ठगी, तस्करी र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाहालको स्विकारोक्ति छ, 'संसारका मजदुर एक हौं भन्ने विश्वव्यापी नारामा विश्वास गरेर श्रम र उत्पादनका निमित्त संघर्षमार्फत जीवनका सम्पूर्ण गौरव र औचित्य हासिल गर्ने सर्वहाराकरणको सट्टा त्यसबाट विमुख भई चन्दा, ठगी, तस्करी र भ्रष्टचारजस्ता लम्पेन सर्वहारा चरित्रको विकास हुँदै गएको देखिनुले पार्टी, क्रान्ति र सिँगै समाजका लागि निकै खतराको संकेत गर्छ।'
श्रमलाई सम्मान गर्ने र नियमित उत्पादन कार्यमा संलग्न हुने कम्युनिस्ट आचारणमा हदैसम्म विचलन आएको विश्लेषण प्रतिवेदनमा छ।
दाहालले आफू स्वयं 'बिग्रिएको' विषय पनि लुकाउन चाहेका छैनन्। 'संक्रमणकालको यो प्रक्रियामा पार्टीको मूल नेतृत्वदेखि नेताहरुको मूल टिम आफ्नो वर्ग, आमजनता र कार्यकर्ताको मूलपंक्तिबाट क्रमशः कट्दै जाने तथा देशभित्र र बाहिरका प्रतिक्रियावादी वर्गका प्रतिनिधिहरुसँग दिनदिनै भएका झन्डै २४ घन्टा सहकार्य, उठबस खानपिन र संवादमा व्यस्त रहने अवस्था बन्दै गयो,' दाहालले आफ्नाबारे भनेका छन्। 
यसलाई उनले नियतवश नभई 'बाध्यतावश' भन्दै उम्कने प्रयास पनि गरेका छन्।
सबैभन्दा डरलाग्दो प्रसंग त उनले संविधानसभा निर्वाचन सम्बन्धमा पार्टीभित्रैका घटना प्रतिवेदनमा उल्लेख गरेका छन्। आन्तरिक संगठन र कार्यकर्ताको चरित्रमाथि नै भद्दा व्यंग्य गर्ने दृश्य उनको प्रतिवेदनमा यसरी उल्लेख छ, 'पार्टीपंक्तिमा पार्टी स्पिरिटलाई प्रधानता दिएरभन्दा पैसालाई प्रधानता दिएर चल्ने प्रवृत्ति हावी भएको तथ्य नै आमरुपमा देखा पर्यो , त्यसबाहेक प्रतिक्रियावादी र दक्षिणपन्थीहरुसँग पैसा लिएर आफ्नै पार्टीविरुद्ध अन्तर्घात गर्ने प्रवृत्ति पनि धेरैतिर देखा पर्यो,।' 
पार्टी प्रवेश गरेका नयाँ नेता तथा कार्यकर्ताले थप संकट पार्दै गएको तर्क गर्दै उनले लेखेका छन्, 'प्रतिक्रियावादी वर्गको प्रतिनिधि बनेर जनतामाथि जतिसुकै शोषण, उत्पीडन र दमन गरेको भए पनि मौखिक रुपले स्वार्थवश पार्टीलाई समर्थन गर्छु भन्नेमा पार्टी सदस्य हुन पाउने स्थितिभन्दा ठूलो चरित्रको ह्रास अरू के हुन सक्छ?'
नेता–कार्यकर्तामा देखा परेको वर्गीय दृष्टिकोणको ह्रास र विचलनबाट रुपान्तरण हुनुपर्ने जोड दिँदै उनले पार्टीमा नयाँ सदस्यताका लागि नयाँ प्रस्ताव अघि ल्याएका छन्। 'पार्टी सदस्य वितरण गर्दा मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसीलगायत उत्पीडित वर्ग र समुदायको पृष्ठभूमिका उम्मेदवारलाई छोटो (३ देखि ६ महिनासम्मको) र उच्च वर्ग– पृष्ठभूमिबाट आएका उम्मेदवारलाई १ देखि २ वर्षसम्मको परीक्षणकालपछि मात्रै पूर्ण सदस्यता प्रदान गर्ने' दाहालले सीमा तोकेका छन्। 
पहिलोपटक लिंग, जाति, भाषा, सांस्कृतिक वा विशेष क्षेत्रको कोटाका आधारमा पहिलेझैँ अब सदस्यता वितरण र पदोन्नति नगर्ने पनि दाहालले प्रतिबद्धता जनाएका छन्।
प्रतिवेदनमा उनले समस्या मात्र औंल्याएका छैनन्, तत्काल सच्चिएर जान मार्गनिर्देश पनि गरेका छन्। 'अब पनि हामीले हाम्रो आचरण र जीवनशैली सच्याएनौं भने विसर्जन र विघटनतर्फ जान्छौं,' प्रतिवेदनमा उल्लेख छ। 
निर्वाचन परिणाममा तेस्रो स्थानमा झरेकोमा भन्दा दाहालले पार्टी नेता–कार्यकर्ताका आचरण र चरित्रको चिरफारमा प्रतिवेदनका पाना खर्चिएका छन्।
'यदि हामीले पार्टी कार्यदिशाले माग गरेअनुसार आफ्नो वर्ग–दृष्टिकोण र आचरणमा परिवर्तन गर्न सकेनौं भने कार्यदिशा कार्यान्वयन हँुदैन र अन्ततः कार्यदिशा नै परिवर्तन गरेर आफ्नो विचलित र विजातीय वर्ग–दृष्टिकोणअनुसार कार्यदिशा खोजीमा लागेर क्रान्तिकारी पार्टी विर्सजन हुन पुग्दछ,' दाहालले चिन्ता गरेका छन्, 'यसर्थमा वर्गीय दृष्टिकोण, कार्यशैली र आचरण स्पष्ट गर्ने कुरा हाम्रो पार्टी र आन्दोलनका निमित्त सर्वाधिक महŒवको विषय हुन गएको छ।'

No comments:

Post a Comment