अनामनगरस्थित संबाद डबलीमा पुरानो मोडेलको चश्मामा एउटा केटो उभिएको छ, त्यस्तै करिब २५–२६ बर्षको । पुरानो सर्ट र पुरानै पाइन्टमा ऊ देखिन्छ । केही त्रसित जस्तो, केही आतंकित जस्तो, केही भयभित जस्तो, कस्तो कस्तो ? उसको अनुहार भावले नै ऊ निकै नै अप्ठयारो स्थीतिमा रहेको भने प्रस्टै देखिन्छ । डबली भित्रै उ कहिले यता, कहिले उता घरी घरी
गरिरहन्छ । मानौ, उ भित्र गम्भिर खालको आफ्नै बेचैनी छ र, छ गहिरो छटपटाहट
पनि । लाइनर सर्टमा उभिएको त्यो ब्यक्ति एकछिन पछि मञ्चमा जान्छ र भन्छ– ‘म
हुँ पदम , प्रचण्डलाई थप्पड हानेर सुझाव दिने एउटा सामान्य ब्यक्ति ।’
जसलाई उनले मंशिर १ को सडक बिद्रोह भन्न रुचाउँछन् ।
उसले यसो भन्दा एकछिन हलमा हाँसो गुञ्जन्छ, खासगरी प्रचण्डलाई ‘थप्पडको सुझाव’ भन्ने शब्द उसले ओकल्दा खेरी । खासमा पदम यतिखेर पत्रकारका सामु आफ्ना पीडा पोख्न खोजिरहेका छन, जो सात महिना देखी उनले निरन्तर भोगिरहेका छन् । पदम दुईवटा कुरा लिएर हामी (पत्रकार) सामु उपस्थित भएको देखिन्छन । पहिलो, सात महिना देखी १५–१५ दिनको तारिखले उनलाई धेरै नै मानशिक याताना दिएको छ र त्यसवाट छुटकारा पाउन चाहान्छन् । दोस्रो, हिजोको बिगतलाई भुलेर पदम एउटा सामान्य जीवन जिउन चाहन्छन, जो आम मानिसले जिइरहेका हुन्छन् । उनलाई लाग्छ, ‘अरुलाई जस्तै मलाई पनि एउटा सामान्य मान्छे भएर बाँच्न अधिकार छ, त्यो आज किन खोसिरहेका छन् ?’ खासमा पदम युद्धकालमा माओवादी थिए । र, लडाकुको जिम्मेवारी रहेर ‘गौरवशाली’ भुमिका निर्वाह पनि गरे । त्यसबेला पार्टीको निर्देशनमा पदम जे पनि गर्थे र धेरै गरे पनि होलान । सोही युद्धकालमा उनको दाजुलाई गोली लाग्यो, आमाले मानशिक सन्तुलन गुमाईन, दिदीको त्यस्तै बिजोग भयो, बुढा बाबुका के कुरा गर्नु ? क्रमशः घरको आर्थिक अवस्था सुध्रिएला भन्दा झन झन चौपट हुदैँ पो गयो । त्यही बेला माओवादी शान्ति प्रक्रियामा आयो, जंगल छोडयो र सहर पस्यो । तर, सर्वहारा बर्गको मुक्ति र उत्थानका लागि लडेका पदम जस्ताको अवस्थामा भने कुनै परिवर्तन आएन, बरु हिजो भन्दा आज झन झन नराम्रो हालत हुदैँ गयो ।
पदमले आफनो अवस्थामा सुधार्न र केही आर्थिक रुपमा स्वाभिमानी हुनका लागि जागिर र कामको आशासहित माओवादी कै धेरै नेताका ढोका ढकढकाए । तर, त्यसको कुनै कतै पनि सुनवाई भएन । क्रमशः आर्थिक अवस्था र रोगी पारिवारिक जमातले घर कमजोर हुदै गयो । परिणाम, पदम स्वदेशका सबै आशा छाडेर बिदेश हानिए । तर, रोगी आमा र गोली लागेका दाजु भने झन झन थलिदै गए, उनको बिदेशको कमाईले केही तातो छारो नै लागेन । यसरी पनि भएन भनेर पदम फेरी स्वदेश फर्किए र होटलमा काम गर्न थाले । उनको उदेश्य थियो, केही महिना होटलमा काम सिक्ने र फेरी राम्रो आम्दानी हुने ठाउँ चयन गरी बिदेश जाने । तर, उनको त्यही चाहानामा आजकाल पुरै अबरोध भएको छ ।
‘त्यो दिन बास्तवमा म ज्याकेट किन्न रत्नपार्क गएको थिएँ, पार्टीको चियापान छ भन्ने हल्ला सुने पछि म भृकुटीमण्डप तिर गएँ’ पदमले हिरासत मुक्त भएको केही दिन भित्रको भेटमा मसँग भनेका थिए, ‘त्यतिबेला म पार्टी अध्यक्ष प्रचण्डसँग हात मिलाएर फर्कने इच्छा मात्र राखेको थियो, त्यो बेला हातपात नै गरुला भन्ने सोचेको नै थिइन् ।’ त्यो भेट हुदाँ पदम भाँच्चिएको नाकमा ब्यान्डिज लगाएको अवस्थामा थिए, कुपोन्डलमा । (दुई दुई पटक नाकको अप्रेसन गरे पनि सुधार अझै हुन सकेको छैन) ।
‘जब मैले लाइनमा रहदै अध्यक्ष प्रचण्डलाई हाँसिरहेको देखे, त्यो बेला मैले घर सम्झे, घरमा युद्धले पाएको दुःख सम्झे, रोगी आमा, बा, दाजु, दिदी र आफ्नो हालत पनि सम्झे, अनि मलाई हाँसिरहेका प्रचण्ड देखी झनन रिस उठेर आयो’ पदम मसँग ०६९ मंशिर १ गते स्मरण गर्दै थिए, ‘मलाई अचानक भुत चढयो र मैले अध्यक्षको गालामा मज्जासँग थप्पड हाने, प्याट आवाज आयो, उहाँको चश्मा पनि खस्यो, त्यसपछि मैले निकै नै आनन्दित महशुश गरे ।’ जति आनन्द अध्यक्ष प्रचण्ड माथी हातपात गर्दा पदमलाई आएको थियो रे, त्यो आनन्दले उनी माथी त्यसपछि वाइसीएलले गरेको कुटपिटलाई विर्साइ दिएको थियो ।
उनै पदम शुक्रवार भने छ महिना पछि अर्को अवस्थामा भेटिए । भन्दै थिए, ‘प्रचण्डले हाम्रै पार्टीको मान्छे रहेछ, पीडा र दुःखमा परेको रहेछ, त्यसकारण उसले म माथी दुब्र्यव्हार गरे पनि उसको पीडाको आक्रोशलाई सम्झेर उसलाई मलाई माफी गरिदिए भने बिजय कुमार (दिशा निर्देश)सँग मिडियामा भन्नु भयो तर यता म भने सात–सात महिना देखी निरन्तर तारेख धाइरहेको छु, खै कहाँ मैले माफी पाए ?’ उनका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा १५–१५ दिनको तारिख भोगिरहेका छन् ।
जसका कारण उनलाई अरु नयाँ काम गर्न र नयाँ जिन्दगी जिउनका लागि निकै नै गा¥हो भइरहेको छ । उनीसँग कुनै आर्थिक आम्दानी हुने बाटो छैन, न त कसैले उनलाई जागिर नै पनि त दिदा रहेछन् । ‘तारेख कै कारण आजकाल म कहिले काठमाडौं त, कहिले घर गर्दै बसिरहेको छु,’ पदम भन्दै थिए, ‘कुनै नयाँ काम गरु वा बिदेश जाऊँ भने पनि त्यही तारेखले रोकिदिन्छ ।’
त्यसो त सो घटना पछि उनले काम नखोजेको होइन, तर कसैले पनि उनलाई काम दिदा रहेनछन् । ‘मैले काम नखोजेको होइन तर प्रचण्डलाई त यस्ले कुट्छ, भोली यो मुर्खले हामीलाई उल्टै कुटने त होइन भनेर मलाई काम कसैले पनि दिदैनन्’ उनी पीडा ओकल्दै थिए । तर, आफु ‘मुर्ख’ भएर प्रचण्डलाई थप्पड नलाएको, बरु पीडा उर्लिएर आए पछि थप्पड लाएको स्पष्टीकरण दिन्छन तर पत्याउने कसले ?
अर्को एउटा गम्भिर कुरा उनी हामीलाई सुनाउँदै थिए । सद्यै उनलाई आफु कालगतीले मर्दिन भन्ने पनि लाग्दो रहेछ । ‘म कालगतीले मर्दिन, मलाई यो वा त्यो बहानामा मारिदिन्छन तर पनि मलाई डर छैन’ कुवँर भन्दै थिए, ‘घरमा बुढी आमा पनि मलाई सद्यै भन्नुहुन्छ, ‘पदम तँ कालगतीले मर्दैनस्, तलाई मार्छन, ख्याल गरेस् ।’ उनलाई सद्यै लाग्दो रहेछ, कतै गाडीले हानेर मारिदिने हुन कि, कतै अन्य बहनामा पो मारिदिने हुन कि ? जे होस, उनी यो कुरामा विश्वस्त छन, आफु कालगतीले मर्दिन भन्नेमा । एउटा मानिसले आफुलाई मार्छन भनेर त्रासमा सद्यै रहदा कस्तो भएको होला ? हामी सुन्न मात्रै सक्छौ तर त्यो अनुभव हामी गर्न सक्दैनौ ।
मृत्युको त्रासमा सद्यै उनको जिन्दगी गुज्रिरहेको उनकै अभिब्यक्तिले देखाइरहेको थियो । ‘८–१० वटा फोन नम्बर वाट सद्यै मलाई त कहाँ बस्छस ? कतिखेर तँ कहाँ जान्छस भनेर सोधखोज गरिरहन्छन तर मेरो कुरा भन्े सुन्दैनन, उनीहरुको एकोहोरो प्रश्न सोधेकाले पनि म स्वाभाविक रुपमा धेरै नै त्रसित छु ।’ यद्धपी, त्यसरी आफुलाई मानशिक यातना दिने नम्बर भने सुरक्षित राखेको उनले जानकारी दिएका छन् ।
उनको घरको आर्थिक अवस्था निकै नै कमजोर छ, अझै फेरिन सकेको छैन । झन कमाई गर्ने पदम नै बेरोजगार भए पछि त्यो घरको अवस्था के होला ? त्यो अनुमान गर्दा पनि जो कोहीलाई सिरिङ्ग हुन सक्छ । ‘बिहान खाए, बेलुकाको के ले छाक टार्ने ?’ भन्ने समस्यावाट गुज्रेको परिवारका एक सदस्य हुन, पदम ।
यस्तै समस्या बोकेका उनलाई त्यो तारिख यति मंहगो भएको छ कि दिन प्रतिदिन ऋणमा जाकिदै गएका छन् । ‘म थुनामा परे पछि विभिन्न पक्षवाट १ लाख ५० हजार सहयोग आएको थियो, त्यो कुनै सामाजिक काममा लगाउने मेरा इच्छा थियो, तर आफ्नै समस्याले त्यो अभैm
पुरा हुन सकेको छैन्’ पदमले भने । तर, त्यो बेला पदमलाई रातारात पैसा बगाउन खोज्नेहरुले आजकाल उनलाई सोधखोज भने गर्दा रहेनछन् ।
हुन त पदमलाई प्रचण्डलाई थप्पड हानेर कुनै गल्ति गरे भन्ने चाँही अझै पनि लाग्दो रहेनछ । ‘मैले गल्ति गरेको नै होइन, मैले प्रचण्डलाई थप्पड हानेर सुझाव दिएको हुँ, त्यो सडक बिद्रोह हो’ उनी भन्दै थिए, ‘त्यसैले म प्रचण्डसँग कहिल्यै माफी माग्दिन् पनि ।’ यद्धपी, अध्यक्ष प्रचण्डसँग भेटेर सो घटनालाई सामान्य बनाउने प्रयास भने धेरै गरेको तर प्रचण्डले सात सात महिना नाघिसक्दा पनि १० मिनेट समय पनि नदिएको उनको गुनासो भने सद्यै रहेको रहेछ ।
त्यसो त सो घटना पछि जति पनि मानिस उनले भेटेका छन, कसैले पनि गल्ति गरिस भनेर भनिदिएका रहेनछन । उनका अनुसार सबैको सहानभुती आफु माथी छ । ‘हो, मैले आजसम्म एउटा मान्छे त्यस्तो भेटेको छैन, जसले प्रचण्डलाई थप्पड हानेर तैले गल्ति नै गरिस भनेका छन् ।’
यद्धपी सो घटना घटनु दुःखद भएको बोध चाँही पदमलाई रहेछ । ‘मेरो तरिका नराम्रो हो, म यसलाई राम्रो भनेर कदापी कहिल्यै भन्दिन्’ पदम शुक्रवार भन्दै थिए, ‘मलाई थाहा छ, थप्पड हान्नु राम्रो काम होइन तर समय र परीस्थितिले राम्रो बनाइदियो ।’
अब उनी एउटा सामान्य मानिस झै जिन्दगी जिऊन चाहान्छन । एउटा बन्द ब्यापार वा बिदेशमा पसिना चुहाएर भए पनि सानो र सुखी जिन्दगी गुर्जान चाहान्छन् । बर्षौ देखी पाएको दुःख र पीडालाई भुलेर अन्य मानिस जस्तै जिन्दगी जिउन चाहान्छन तर सद्यै त्यही तारिख अबरोध भइरहेको छ, यतिखेर उनका लागि । ‘त्यसैले म अब तारिख धाऊदिन, म सामान्य जिन्दगीमा फर्कन्छु र आफ्नै काम गरेर खान्छु’ उनी भन्दै थिए, ‘प्रचण्डले यो कुरा वुझे पनि अब मलाई फरक पर्दैन र नबुझे पनि अब मलाई कुनै फरक पर्दैन, म धेरै नै थाकिसके ।’ जसरी अरुलाई आफनो ब्यक्तिगत सामान्य जिन्दगी जिउने हक छ, त्यसैगरी आफुलाई पनि त्यो हक छ भन्ने उनलाई अहिले लारिहेको रहेछ ।
No comments:
Post a Comment