Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 24, 2013

राष्ट्रपतिको ‘कु’: बाबुराम असिनपसिनको एउटा गोप्य प्रसङग

यो त्यही दिनको घटना हो, जुन दिन प्रधानसेनापति गौरव शमशेर राणा भोलीपल्ट बेलायती सेनाको निमन्त्रणामा उता जाँदै थिए (मिति याद भएन, मलाई लाग्छ यो घटना गत कार्तिक÷मंशिर तिरको हुनुपर्छ) । त्यही दिन प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालिन सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बसिरहेको थियो । त्यही वैठकमा पहिलो पटक अचानक उठयो, राष्ट्रपति रामवरण यादवले ‘कु’ गर्न खोजेको प्रसङ्ग । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले कुरा सुरु गरे, ‘राष्ट्रपति मेरो सरकारलाई ‘कु’ गर्न चाहान्छन, त्यसका लागि प्रधान सेनापतिसँग सहयोग पनि मागेछन् ।’ कुरा यही प्रसङ्गवाट सुरु भयो ।
मैले उल्लेख गर्न खोजेको कुरोको घटना चाँही अलि पुरानो नै हो । राष्ट्रपतिले आफ्नो सरकारलाई चार पटक ‘कु’ गर्न खोजेको कुरा सरकारवाट बाहिरिएको एक महिना पछि भट्टराईले निकाले पछि त्यसको चर्चा÷परिचर्चा सुरु भएको छ, त्यो अझै सेलाएको छैन । कार्यकारी प्रमुखलाई संवैधानिक प्रमुखले कु गर्न सक्छन कि सक्दैनन ? त्यो एउटा कुरा हो । र, पुर्व कार्यकारी प्रमुखले यसरी सरकारवाट हटेको एक महिना पछि बोल्न मिल्न हुन्थ्यो वा हुदैन्थ्यो, त्यो भट्टराईले नै जानुन । तर, ‘कु’ को एउटा प्रसङ्ग भने तपाईसँग जोडने कोशिश गरिरहेको छु ।

फेरी बालुवाटारमा नै जाऔं, जुन दिन ‘कु’ बारेमा सार्वजनिक रुपमा नै कुराकानी भएको थियो । भट्टराईका अनुसार प्रधान सेनापति राणा बेलायत जानु अघि नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादव सँगै बिदा माग्ने प्रचलन अनुसार शितल निवासमा पुगेका थिए । जहाँ राष्ट्रपति यादवले निर्वाचन पनि हुन सकेन, लोकतन्त्र पनि कमजोर हुदै गयो, सेनाले सहयोग गर्नु प¥यो, के गर्न सकिन्छ ? भन्दै प्रधान सेनापति राणासँग गम्भिर भएर धारणा माग गरेछन् । सेनापति राणाले चाँही कार्यकारी प्रमुख (प्रधानमन्त्री)ले आदेश नदिएसम्म सेनाले केही गर्न नसक्ने भन्ने जवाफ मात्रै दिएनन, सरकारको खिलाफमा सेना नलाग्ने पनि प्रस्ट पारिदिए छन् । सो बेला राष्ट्रपति र प्रधान सेनापतिसँग लामै कुराकानी भयो, जुन कुराकानीका केही अंश ल्याएर प्रधानसेनापति राणाले भट्टराईलाई सुनाई दिएका रहेछन् ।
राष्ट्र प्रमुखको कुरा ल्याएर सरकार प्रमुखलाई आएर सुटुक्क लगाउने प्रधान सेनापति राणाको विश्वासमा भट्टराईले त्यो कुरा फेरी गठबन्धनमा आवद्ध दलका नेताका सामु सुनाएका हुन् । राष्ट्रपति यादवले विश्वास सेनापतिलाई गरे, सेनापतिले प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीले चाँही गठबन्धनमा ओकलिदिए । कसले कसको विश्वास गर्ने ? कसले कस्को विश्वास गर्ने ? त्यो अर्कै कुरा हो । तर, राष्ट्रपतिको कुरा चाँही त्यो वैठकमा छताछुल्ल भयो । गठबन्धनमा आवद्ध दलका सवै जसो शिर्ष नेताले राष्ट्रपति, प्रधानसेनापति र प्रधानमन्त्री विचको संवन्ध पनि थाहा पाए । ती भाग्यमानी २१ दलवाट प्रतिनिधित्व गर्ने एक एक प्रतिनिधिसहित गरी करिब ३० जना जति थिए ।
गठबन्धनका नेताहरुका अनुसार, त्यो दिन सबैभन्दा बढी तनाबमा प्रधानमन्त्री भट्टराई देखिन्थे र त्यति नै तनाबमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पनि, जो गठबन्धनका संयोजक पनि हुन् । गठबन्धनको बैठक अघि नै भट्टराईले ‘राष्ट्रपतिको कु को प्रयास’ बारे अध्यक्ष प्रचण्डलाई जानकारी गराई सकेका थिए र केही मन्त्रीहरुलाई पनि, जसमा एकजना मन्त्री थिए– अर्थमन्त्री बर्षमान पुन । भट्टराईले भनेको कुरा प्रचण्डले फेरी प्रवक्ता अग्नि सापकोटालाई सुनाए । सहभागी केही नेताले चाँही मलाई पनि सुनाए ।
त्यो दिन । ‘राष्ट्रपतिले सैनिक शाषन लगाउन खोजेको’, ‘आफ्नो सरकारलाई अपदस्थ गर्न खोजेको’, ‘निर्वाचन गराउन नसकेको भन्दै अक्षम भनेर वर्खास्त गर्न खोजेको’ जस्ता धेरै–धेरै कुरा त्यहाँ भए । भट्टराईले बैठकमा प्रधानसेनापति राणासँग राष्ट्रपतिले सहयोग मागेको मात्रै बताएनन, सेनाले राष्ट्रपतिको माग अनुसार नचले पछि राष्ट्रपति ब्याक हटेको पनि उल्लेख गरे । जसका कारण पनि केही हदमा आफु ढुक्क भएको पनि भट्टराईले सुनाउन भ्याए ।
त्यसपछि प्रचण्ड स्वयंले पनि राष्ट्रपति यादवले ‘कु’ गर्न खोजेको बताए पछि त अरु दलका नेता निकै नै तर्सिए । त्यो दिनको बैठकमा सवै चुपचाप, सबै शान्त । सो बैठकमा जति मलिन भट्टराईको अनुहार देखिएको थियो, त्यति नै मलिन प्रचण्डको पनि । त्यो दिन जस्तो प्रचण्डलाई कमजोर उनीहरुले कहिल्यै देखेका थिएनन । बालुवाटारमा घरी प्रचण्ड आफ्नो टाउको समाउँथे त घरी आँखालाई हातले मिचेर शान्त भए झै गर्थे । प्रचण्ड नै यति कमजोर रुपमा देखा परे पछि अरु सवै नेता कमजोर हुनु स्वाभाविक नै थियो । कति नेतालाई त यो पनि लाग्यो कि यती डरपोक प्रचण्डले युद्ध चाँही कसरी गरे होलान ? मै हुँ भन्ने बाबुराम, प्रचण्ड, महन्थ ठाकुर, बिजय गच्छदारलगायत सबै जसो नेता डराइरहेका र त्राहीमाम भए पछि बिचरा अरु नेताले के गर्नु ? एक–अर्काको मुख हेराहेर मात्रै गर्थे, तर कुनै प्रतिक्रिया दिन भने चाँहदैनथे ।  बोल्यो कि पोल्यो भन्ने डर सवैमा थियो । र, त्यो दिन गठबन्धन आवद्ध नेताको बाक्लै शौचालय आउँजाउँ पनि भयो । 
वैठक अर्कै प्रसङ्गका लागि बोलाइएको थियो, प्रसङ्ग मैले बिर्से (सायद, संविधानसभा पुर्नस्थापनाको मुद्धा आयो, त्यस पछिको वैठकवाट ।) तर वैठकमा राष्ट्रपतिको ‘कु’ गर्ने प्रयास र सेनापतिको असहमति बाहेक अरु कुनै कुरा त्यहाँ चलेन् । प्रचण्ड स्वयं पनि सेनाको विश्वास छैन, न कु गरि हाल्छ कि, न राष्ट्रपतिलाई साथ नै दिइहाल्छ कि झै गरी कुरा राख्थे ।
बाबुरामले भने यदी राष्ट्रपतिले कु गरे भने बालुवाटारबाटै सामाना गर्न तयार हुनु पर्ने मात्रै भनेन, त्यसका लागि गठबन्धनका दलका सवै नेता एक÷एक भएर बिरोधमा उभिनु पर्ने कुरा राखेर प्रोत्साहान गर्न चाँही खोजिरेहका थिए । तर, भट्टराईको कुरा सुन्ने को र बोल्ने को ? सवैको मनमा डर छ, आँट कसरी आउँछ । प्रचण्ड घरी भट्टराईका अनुहार हेर्थे, भट्टराई घरी प्रचण्ड र अरु नेताको । साना दलका नेताको त के कुरा ? कोही राजनीति नै छोडौं भन्ने महशुश गर्न थालिसकेका पनि थिए, कोही किन गठबन्धनमा लाग्यौ त भनेर पश्चताप गर्न पनि सुरु गरिसकेका थिए ।
एउटा अचम्म संयोग पनि थियो, त्यो दिन । प्रधानमन्त्री निवासमा हुने हरेक बैठकमा प्रधानमन्त्री भट्टराईले सद्यै जसो ‘जस्मिन टी र बिस्कुट’ खुवाउँथे, कम्तिमा पनि । त्यो दिन यस्तो एउटा दिन थियो, जहाँ न जस्मिन ‘टि’ आयो न त बिस्कुट नै । न त कसैले नयाँ एजेन्डा पेस ग¥यो, न गर्न नै आबश्यक ठान्यो । चार घन्टाको बालुवाटारको त्यो बसाई कुनै पनि विषयमा छलफल नै नगरी ‘राष्ट्रपतिको कु र प्रधान सेनापतिको असहमति’मा मात्र केन्द्रित भएर सकिएको थियो । तर, बालुवाटारवाट घर फर्कदा कति नेता त पक्राउ परिन्छ कि गिरफ्तारमा परिन्छ कि भनि सोच्दै घर तिर आए । जे होस, त्यो वैठकमा निकै त्राहीमाममा गुज्रिरहेको थियो ।  
भलै, त्यो दिन केही भएन, भोली पल्ट केही भएन र अहिले सम्म नै केही भएको छैन । भट्टराईले भने झै न राष्ट्रपतिवाट कु भएको थाहा पाइयो न त त्यसको कतै स्वतन्त्र पुष्टी नै हुन सक्यो । जे होस, सरकारवाट हटेको एक महिना पछि भट्टराईले ‘कु’ कुरा उठाएर एउटा तरङ्ग भने नेपाली राजनीतिमा ल्याई दिए । तत्कालिन प्रधानमन्त्री भट्टराईलाई मनको बाघले खायो वा साच्चै राष्ट्रपतिले त्यसको प्रयास गरे ? मिडियटर (कुरौटे) सेनापतिले बढाई चढाई गरी भट्टराईलाई सुनाए वा राष्ट्रपतिले त्यसै नै भने ? त्यो कुराको लेखाजोखा भोली होला नै ।
मलाई चाँही ‘कु’ बारे बालुवाटारमा देखिएको त्राहीमामको यो प्रसङ्ग भने याद आएर ब्लगमा उल्लेख गरेको हुँ । त्यहाँ देखिएको त्राहीमामकोे दृश्य चित्रमात्र  प्रस्तुत गरेको हुँ तर म यो भन्न सक्दिन कि राष्ट्रपतिले त्यसै गर्न खोजेका थिए वा भट्टराईले त्यतिकै भने भनेर । जे होस, एउटा त्राहीमामको दृश्य रेकर्डका लागि उल्लेख मात्र गरेको हुँ ।









1 comment:

  1. बाबुराम केहिदिन पछि मलाई कु गरेरै हटाए भन्ने होलान् ।

    ReplyDelete