भारतीयका रुपमा झाले प्रयोग गर्दै आएको कागज |
‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्ने नेपाली उखान अहिले कसैमाथी लागु भइरहेको छ भने ती ब्यक्ति हुन्– निर्वतमान एमाले नेता रामचन्द्र झा । एमालेका पोलिटब्युरो सदस्य परित्याग गरी एमाओवादीमा सचिव पाउने आशमा हिडेका झालाई त्यही भित्रवाट अवरोध आउन थालेको छ, जसका कारण उनको प्रवेश नै अन्यौलमा परेको छ । एमाओवादीका मधेसी नेताले उनको प्रवेश बिरुद्ध आवाज उठाउन थालिसकेका छन, जसका कारण पनि गत ९ गते हुने भनिएको पार्टी प्रवेश अन्तिम समयमा आएर रोकिन पुगेको थियो । झा सचिव नभएसम्म नआउने तर एमाओवादी का मधेसी नेता भने उनलाई सचिव दिए पार्टी नै छोडने भन्दै चेतावनी दिइरहेका छन् । एमाले परित्याग गरेको तर एमाओवादीमा ‘सम्मानजनक’ ठाउँ नपाई रहेको अवस्थाका कारण यतिखेर झाको ‘राजनीतिक करिअर’ चलिरहेको छ ।
मिथिलाका नेता एमाओवादी केन्द्रिय सदस्य श्रवण यादवले ‘नेपाल र भारत दुवै तिर नागरिकता लिएर बिबादमा मुछिएका’ झालाई पार्टीमा प्रवेश गराए राजिनामा दिएर बाहिरिने भन्दै सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् । गत आइतवार जनदिशा दैनिकलाई अन्तवार्ता दिदै यादवले झालाई पार्टी भित्र कुनै हालतमा नस्विकार्ने भन्दै विरोध जनाएका हुन् । एमाओवादीका ‘युद्धकालिन’ श्रवणहरुले ‘गैर–युद्धकालिन’ रामचन्द्रको नेतृत्वलाई अस्विकार गर्ने भए पछि समस्या देखिएको छ ।
नेकपा (माक्र्सवादी), नेकपा एमाले, सशष्त्र युद्धकालमा माओवादी, उपेन्द्र यादव नेतृत्व मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी हुदैँ हुदैँ एमाओवादीमा प्रवेश गरेका रामकुमार शर्मा भने यतिखेर झाका कारण तनावमा परेका छन् । अध्यक्ष प्रचण्डसँग भेट गराएर झालाई सचिव आश्वासन दिलाउने काम उनै शर्माले गराई दिएका थिए । अशोक राईहरुले पार्टी विभाजन गर्नु केही दिन अघि प्रचण्डले आफ्ना सवैजसो मधेसी नेता उपस्थित एक भेलामा झाले मधेस ब्युरो इन्चार्जको जिम्मेवारी सम्हाल्ने घोषणा त गरे तर सचिव नपाए आउँदै नआउने अडान राखे पछि त्यो वेलाको प्रवेश गराउने प्रयास सफल हुन सकेको थिएन् ।
पछिल्लो समयमा शर्माको रोहवरमा पुनः झासँग कुरा मिलाएर सचिव दिने कुरा त भयो तर त्यो पदमा माओवादीका मधेसी नेताले भने निकै चर्को स्वरमा आपत्ति जनाइरहेका छन् । वढीमा स्थायी समिति दिन सकिने तर सचिव/मधेस ब्युरोका इन्चार्ज भने कुनै पनि हालतमा दिन नसक्ने मधेसी नेताको भनाई रहदै आएको छ ।
जसकाकारण अघिल्लो केन्द्रिय समिति बैठक अघि झाको विषयलाई लिएर एमाओवादी मधेसी नेताहरुको छुट्टै बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्यो । शर्माबाहेक सबैले उनलाई बढीमा स्थायी समितिसम्म मात्र दिन सकिने राय ब्यक्त गरे । ‘युद्धकालिनलाई गैर युद्धकालिनले कुनै पनि हालतमा नेतृत्व गर्न सक्दैन र नदिने’ भन्दै त्यो वैठकले निचोड नै निकाल्यो ।
जुन दिन झाले जनकपुरवाट आफ्नो राजिनामा एमाले मुख्यालय बल्खुमा फ्याक्स गरी पठाए । सोही दिन एमाओवादीले झालाई पार्टीमा स्वागत गर्ने औपचारिक निर्णय नै ग¥यो । उनको प्रवेशको तयारीका लागि मिथिला राज्य समितिका इन्चार्ज विश्वनाथ साह वैठक सकिने वितिक्कै जनकपुर हानिए । जहाँ अजबलाल यादव स्मृति सभा कार्यक्रम हुदै थियो, जुन कार्यक्रममा प्रचण्ड जाँदै थियो । सोही कार्यक्रममार्फत नै हो, झालाई एमाओवादीमा विधिवत्त रुपमा प्रवेश गराइने । सो अघि प्रचण्ड झाको निवासमा पुगे र दही नै खाए तर झाको चित्त वुझाउन भने सकेनन् ।
कारण, ‘स्टाटस’ नभई नजाने कुरा राखे पछि प्रचण्ड त्यसै काठमाडौं फर्के ।
एमाओवादीमा प्रवेश गर्ने बितिक्कै पहिला मातृका यादव र त्यसपछि कृष्णदेव सिंह दनुवार (हाल वैद्य माओवादी) नेतृत्व गरेको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष हुन पाएका शर्माले भने झालाई सचिव दिनै पर्ने अडान राखिरहेका छन् । आखिर, दोस्तीका कुरा पनि त हो र बचनको कुरा पनि । झालाई सचिव दिन्छु भनेर पहिला बचन दिइयो तर अहिले भने त्यसलाई पुरा गर्न सकिएन भन्ने शर्मालाई लागेको छ । यो दुई अवस्थामा उनलाई लैजाने पुलको भुमिका खेल्ने शर्मा मात्रै होइन, प्रचण्ड पनि तनावमा परेका छन् ।
एमाओवादीका "युद्धकालिन"का अघि शर्माका पनि केही लागेको छैन, लाग्ने देखिएको पनि छैन् ।
त्यसो त शर्मा स्वयंको प्रवेशलाई पनि एमाओवादी भित्रै असन्तुष्टी यथावत नै छदैँछ । कारण, शर्मा त्यही हुन, जो गौर हत्याकाण्डमा आफ्ना २८ कार्यकर्ता मारिनुमा मुख्य दोषी ब्यक्ति हुन् भनेर स्वयं एमाओवादीले किटान गरेका ब्यक्ति हुन् । चन्द्रप्रकाश खनाल (बलदेव)को संयोजकत्वमा गठित छानबिन समितिले शर्मा (तत्कालिन फोरमका महासचिव शर्मा) लाई २६ औं नम्बरको दोषीको रुपमा आफ्नो गोप्य प्रतिवेदनमा उल्लेख गरिएको छ । सो घटनामा संलग्न भएको भन्दै शर्मालाई जेल हाल्नु पर्ने भन्दै माओवादीले जिल्ला प्रहरी कार्यालय, गौरमा जाहेरी दिने पटक-पटक प्रयास गरेको थियो । आफैले दोषी किटान गरि जेल हाल्नु पर्ने भन्दै निरन्तर दबाब दिइरहेका शर्मालाई पछि माओवादीले फुलमाला लगाएर केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको थियो ।
त्यतीमात्रै होइन, तमलोपाका सभासद त्यागेर एमाओवादीमा प्रवेश गरेको भन्दै शर्मालाई प्रचण्डले मासिक ५० हजार रुपैया ‘तलब’ पनि उपलब्ध गराई दिएका थिए । आफ्ना कार्यकर्ता उपचार नपाएर छटपटिरहेको बेला शर्मालाई भने आधा लाख रुपैया दिने गरेको भन्दै पालुङटार प्लेनम मै विरोध भएको थियो ।
उनै शर्माले झालाई एमाओवादीमा लगेर युद्धकालिनलाई कमजोर बनाउन खोजेको युद्धकालिनको वुझाई रहदै आएको छ । एमाओवादीको मधेस संवन्धी सबैभन्दा ठुलो भातृ संस्था पनि गैर युद्धकालिन नेतृत्वमा, पदाधिकारीमा लैजाने मधेसी नेता पनि गैरयुद्धकालिन, मधेस ब्युरोको प्रमुख पनि गैरयुद्धकालिनलाई बनाउन खोजेको भन्दै युद्धकालिनलाई टाउको दुख्नु त स्वाभाविक हो ।
यदी सबै ठाउँमा गैर युद्धकालिन भए ‘महान जनयुद्ध’ भन्ने चाँही नारायणकाजी श्रेष्ठ ? आजकाल मधेसी नेताहरु यसै भन्न थालेका छन् । रामचन्द्र झा माओवादीमा गए भने ‘महान जनयुद्ध’ त भन्लान तर जाने चाँही कहिले हो ? रामचन्द्रजीलाई पनि थाहा छैन् ।
‘युद्धकालिन’ ले केही गरेनन भने झाजी सचिव बन्ने पक्का छ, नत्र ‘झापा बिद्रोह’, एमाले र राजा मन्त्री हुदै एमाओवादीमा प्रवेश गरेर राधाकृण्ण मैनाली झै सल्लाहकार बन्ने ठाउँ त छदैछ । तर, माओवादीको केन्द्रिय सल्लाहाकारमा बस्ने अनि उल्टै माओवादीलाई गाली गर्दै अन्तवार्ता दिने मैनाली झै काम चाँही नगर्नु होला, झाजी!!!
Nice one..
ReplyDelete