Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, November 10, 2012

बजेट अध्यादेश भोलि, मंसिर ७ मा चुनावको मिति

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक २६ -प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिपक्षीको असहमति रहे पनि कात्तिक २७ गते राष्ट्रपति रामवरण यादवसमक्ष पूर्ण बजेट पेस गर्ने तयारी गरेका छन्। अन्तिम समयसम्म सहमति जुटाउन विपक्षी दलसँग वार्ता जारी राख्ने, सहमति नजुटे पनि आर्थिक अध्यादेश सोमबार नै राष्ट्रपतिकहाँ पठाउने निष्कर्षमा सत्तारुढ दल माओवादी र सरकार पुगेका हुन्।

'भोलि र पर्सि प्रतिपक्ष दलसँग सहमतिका लागि सरकार, पार्टी र गठबन्धनले प्रयास गर्ने र पर्सि बजेट ल्याउने तयारीमा पुगेका छौं,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले नागरिकसँग भने, 'सहमतिमा नै बजेट ल्याउने प्रयास पर्सिसम्म जारी राख्छौं।' उनका अनुसार राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले प्राविधिक रुपमा बजेट तयार भइसकेको औपचारिक जानकारी गठबन्धन दलका मन्त्रीलाई गराइसकेका छन्।

राष्ट्रपतिसमक्ष अध्यादेश पेस गर्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व अर्थमन्त्रीहरुलाई लाजिम्पाटस्थित निवासमा राय-सल्लाहका लागि निम्तो गरिसकेका छन् भने आइतबार र सोमबार विपक्षी दलसँग पनि वार्ता गर्दैछन्।
भट्टराई सरकारले करिब ४ खर्ब ३० अर्ब रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्दैछ।
विपक्षी कांग्रेस-एमालेले भने बजेट रोक्न शनिबार नै भट्टराई सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
भट्टराई सरकारले राजीनामा दिनुपर्ने, वैशाखमा संविधानसभा निर्वाचन गर्नुपर्नेलगायत माग राख्दै प्रतिपक्षी दलले मंसिर २ गतेबाट आन्दोलनमा जाने घोषणा गरेका हुन्।
पूर्ण बजेट पास गराउने जिम्मा सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनले प्रधानमन्त्री भट्टराई तथा एकीकृत माओवादीका अध्यक्ष दाहाललाई दिएको एक सातापछि माओवादी यस्तो निर्णयमा पुगेको हो। 'गठबन्धन दलको निर्णयले सो निर्णय गरेको होइन, सरकारमा रहेका पार्टीहरुले गरेका होलान्,' गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले नागरिकसँग भने। उनका अनुसार २७ गते नै बजेट राष्ट्रपतिकहाँ लैजानेबारे भने गठबन्धनमा औपचारिक निर्णय भएको छैन।
निर्वाचनको मितिबारे दलहरुबीच सहमति हुन नसके मंसिर ७ गते भट्टराई सरकारले नयाँ निर्वाचनको अर्को मिति घोषणा गर्ने तयारी पनि गरेको छ। 'सकेसम्म सहमतिमा र सहमति हुन नसके सरकारले मंसिर ७ गते निर्वाचनको नयाँ मिति घोषणा गर्नेछ,' एमाओवादी प्रवक्ता अग्नि सापकोटाले नियमित पत्रकार सम्मेलनमा शनिबार भने। प्रधानमन्त्री भट्टराईले गत जेठ १४ गते संविधानको अर्को निर्वाचन मंसिर ७ गतेका लागि घोषणा गरे पनि दलहरुबीच हुन नसकेका कारण सम्भव हुन सकेको थिएन।

No comments:

Post a Comment