देश, बिदेश, गाउँ र सहर सबै तिर यतिखेर विश्वकपले छोएको छ । अहिले कुरा
हुने भने कै विश्वकपको हो, मलाई लाग्छ दिनभरीमा एउटा ब्यक्तिले ४० प्रतिशत
कुरा चाँही विश्वकप कै गर्छ होला । अघिल्लो ब्लगमा विश्वकपको सम्झनाः दाइजोको टिभीले दिनसम्म दुःख दियो भन्ने प्रसङ्ग उल्लेख गरेको थिए । दैनिक नेपाल डट कम र तातोन्युज डटकमले पनि त्यसलाई साभार गरेर मलाई आभारी बनाई दिए ।
आज १९९८ को विश्वकपले किशोराबस्थामा पारेको एउटा प्रभाव र त्यसले दिएको दुःख यो ब्लगमा उल्लेख गर्न गईरहेको छु । विश्वकपले एउटा किशोर मनमा ल्याएको उत्साह र त्यसवाट भोगिएको कथा भन्दा पनि बढी ब्यथालाई म यहाँ सम्झना भए जति उल्लेख गर्न कोशिश गरिरहेको छु । किनकी, १६ वर्ष उमेरमा आयोजना गरिएको टुर्नामेन्टले कतिसम्म दुःख दिएको थियो भन्ने सम्झदा पनि अहिले मलाई दुःख र खुसी एकै साथ लाग्छ ।
आज १९९८ को विश्वकपले किशोराबस्थामा पारेको एउटा प्रभाव र त्यसले दिएको दुःख यो ब्लगमा उल्लेख गर्न गईरहेको छु । विश्वकपले एउटा किशोर मनमा ल्याएको उत्साह र त्यसवाट भोगिएको कथा भन्दा पनि बढी ब्यथालाई म यहाँ सम्झना भए जति उल्लेख गर्न कोशिश गरिरहेको छु । किनकी, १६ वर्ष उमेरमा आयोजना गरिएको टुर्नामेन्टले कतिसम्म दुःख दिएको थियो भन्ने सम्झदा पनि अहिले मलाई दुःख र खुसी एकै साथ लाग्छ ।
चन्द्रनिगाहपुर–१ कप्तानटोल मै रहेर एसएलसी पास गर्ने हामी दोस्रो ग्रुपमा पर्दथ्यौ । त्यो भन्दा दुई ब्चाच अघि एकजना दाजुले एसएलसी पास गरेका थिए । त्यतिवेला एसएलसीको ठुलै भाऊ थियो, पास गर्ने त्यो जमनामा ‘हिरो’ नै हुन्थ्यो । यो अनुभव गर्ने पुस्ता अहिले पनि धेरैको संख्यामा देश भरी अझै छ । गाउँमा एसएलसी ‘हिरो’ भए पछि अलि बढी नै चकचकी चल्न थाल्यो हाम्रो । त्यसमाथी त्यतिबेला म गाउँकै जनजागृति पुस्तकालय र प्रगतिशिल फुटबल क्लब दुवैको सचिवको जिम्मेवारी सम्हालिरहेको थिए ।
१९९८ विश्वकपको प्रभाव स्वरुप हामीलाई पनि फुटबल ‘टुर्नामेन्ट’ गराउने इच्छा अचानक प्रकट भयो किनकी हामीले भर्खरै राम्रो फुटबल मैदान पनि बनाएका थियौं । ठयाक्कै मिति त अहिले याद भएन तर मलाई लाग्छ, यो २०५८ साल तिरको घटना हो ।
त्यतिबेला मेरा भाञ्जा, जो साथी बराबर थिए, सुशिल दुलाल र मैले सल्लाह ग¥यौ कि अब त फुटबल मैदान पनि छ, अलिकति खर्च ग¥यौ भने त मज्जैसँग टोलमा नै खेलको आयोजना गर्न सकिन्छ । पुस्तकालयमा बनेको सो सोच हामीले खेल मैदानमा लग्यौ तर धेरैले त्यसमा राम्रो जवाफ दिएनन ।
धेरैलाई यो डर प्रकट गरे कि, ‘आयोजक जम्मै हामी स–साना छन, धेरै ठुला खेलाडीलाई मैदानमा ल्याउन सकिदैन, ल्याए पनि झगडा प¥यो भने छुटयाउन र कन्ट्रोल गर्न सकिदैन ।’ हुन त म आफै पनि त्यतिबेला १६ बर्ष उमेरको मात्रै थिएँ, बुढाहरुको झगडामा म त किचिक्कै हुन्थे, सम्झदा कता कता डर पनि लाग्यो ।
तर, खेल आयोजना गर्ने भित्री इच्छा भएकाले होला, मलाई आइडिया फु¥यो, ‘त्यसो भए, यसो गरौ न त, खेलाडी र क्लबले आफनो सुरक्षा आफै गर्नु पर्नेछ, आयोजकले सुरक्षाको जिम्मेवारी लिने छैन उल्लेख गरेरै पत्र पठाऊँ, टन्टै साफ ।’ नभन्दै, त्यो कुरा साथीहरु माझ पास भयो र चन्द्रनिगाहपुरका टोल–टोलमा रहेका सबै जसो क्लबलाई पत्र लेखियो कि प्रगतिशिल युवा क्लबले टुर्नामेन्टको आयोजना गर्दैैछ, सहभागी हुने भए १ सय रुपैया ‘इन्ट्री फि’सहित नाम दर्ता गराउनु होला, ‘टाइ सिट’ चाँही पछि दिनेछौ । पत्र अनुसार चन्द्रनिगाहपुरका ८ वटा टोले क्लबले नाम हामीले दर्ता गरायौं । उनीहरुवाटै उठेको पैसाले ३ सय ५० मा बिजेता टिमलाई दिने सिल्ड किन्यौ र १–१ सयमा दुईवटा ट्रफी पनि किन्यौ ।
उदघाटनको दिनमा मज्जासँग पुसेर, टलक्क टल्कने गरी मैदानमा नै कुर्सी र टेबुलमा लगेर ‘शो’ गरायौं । कम्ति आनन्द आएको थिएन, त्यो दिन सम्झदाँ पनि गर्ब लाग्छ । टोलमा नै टुर्नामेन्ट सुरु सुरु भयो, गाउँभरीका मान्छे आए, हेरे । पहिलो दिनको खेल सकिए पछि बुढाहरुले भने, ‘फुच्चेहरुले सौच्दै नसोचेको काम गरे है, यीनीहरुलाई साथ दिनु पर्छ, टोलको इज्जत नै राखे....’ भन्दै हाम्रो नाक मज्जैसँग फुलाए । आफु पनि मख्ख, साथीहरु पनि दंग ।
तर, भोलीपल्ट देखी नै फुटबल मैदानमा हाम्रो भने हैरानी सुरु भयो । फुटबल मैदानमा सहभागी क्लबहरु आइसके, रेफ्रीको भने अत्तोपत्तो नै छैन् । रेफ्री थिए, गाउँकै दाजु रुपक दुलाल, ती उमेरले हामी भन्दा १०–१५ बर्ष नै जेठा थिए । खै त रुपक दाई ? भनेर सोधी खोजी गरियो, उनी त काउलीमा पानी पो हाल्दै रैछन भनेर एउटाले जानकारी दियो । अनि, अर्कोलाई साइकल दिएर बोलाउन पठाको, उनले जवाफ दिएछन, ‘यहाँ काउली मर्ने बेला भइसक्यो, म पानी पटयाएर मात्रै आउँछु, त्यतिन्जेलसम्म कुर्नु ?’
हे भगवान, के गर्ने होला अब ? अन्य टोलका क्लबहरु, जो खेल्न आएका थिए, हामीलाई ¥याख ¥याखती पार्न थालिसके । किन अझै गेम सुरु नगरेको ? भन्दै खाऊँला झै गर्छन, आफनो समस्या कत्रो छ ? कसरी बुझाउनु । यहामानको ज्यान भएकासँग अलि बढी नै कस्सिएर बोलु, पडकाई देलान भन्ने डर ? त्यसमाथी त झन मुख्य आयोजक नै परियो, धेरै बोल्नु पनि भएन् ।
‘खै आयोजक को हो ?’ भन्दै एउटा भुसतिघ्रे त्यही बेला ठुलो स्वरले करायो । दाँयाबाया हेर्छु, अरु सबै डरले पानी पानी, अनि म आफै अघि सरे । किन के भयो दाजु ? भन्दै उसको नजरमा आफुलाई पारे । किन अझै गेम सुरु नगरेको ? प्रश्न तेसाई हाल्यो । संयमित हुदै भने, ‘अब हुन्छ, केही प्रावधिक कठिनाई भयो, एकछिन धैर्य गर्नुहोस ।’ तर के मान्थ्यो र कुटुला झै पो ग¥यो । ‘यस्ता फुच्चेहरु त आयोजक रहेछन, के गेम खेलिरा होला, आफनै बेइज्जत’ भन्दै मलाई दया गर्दै उ चाँही हिडयो । बल्ल सास आयो । आफुलाई भने लास्ट टेन्सन भन्या, ठुला भनाउँदा कोही अघि सर्दैनन् ।
निमेषभरमा नै एकछिन पछि मैदान बाहिरवाटै सिट्टी बजाउँदै रुपक दाई फुटबल मैदानमा प्रवेश गरे । बल्ल भइयो, ढुक्क । म्याच राम्रैसँग सकियो । ढिलो आए पनि रुपक दाईले राम्रो खेलाएको भन्दै प्रंशशा नै भयो ।
तर, रुपक दाईले खेल सकिएर अरु हिडे पछि हामीलाई कराउँदै भने, ‘रेफ्री र लाइन्स म्यान नै ठिक नपारी, त्यसको टुंगो नगरी गेम खेलाउँछौ केटाहरु, अनि टोलको बेइज्जत गरायौ होइन, यो पटक चाँही खेलाई दिए, अर्को पटक देखी चाँही नयाँ ब्यवस्था गर्नु, म भ्याउँदिन ।’ अब के गर्ने ? जसो होला, भोली केही न केही उपाय निस्केला नि त रेफ्रीको ।
तर, त्यही साँझ सुशिल भाञ्जा र मैले रुपक दाईलाई हात जोडदै, ‘यो अन्तिम टुर्नामेन्ट हो, अब अरु अरु कार्यक्रम गरे पनि यो फुटबल म्याच गर्दैनौ, तर तपाईले पुरै खेल नखेलुन्जेल रेफ्री चाँही बसिदिनु पर्छ, नत्र हाम्रो मात्रै होइन, टोलको पनि बेइज्जत हुन्छ’ भनेर न्याउँरो मुख लायौं । रुपक दाई शान्त भए, मतलब पोजेटिभ ।
पर्सिपल्ट गेम समयसिमा नै सुरु भयो, रेफ्री त उही रुपक दाई नै । खेल थियो, गैडाटार, राईटोलको र अर्को क्लब चाँही बिर्से । खेल खेल्दै जाँदा गैडाटारका एक ‘स्ट्राइकर’ले मज्जासँग बल हान्ने भएका थिए, जुत्ता फुस्केर सिसौंको रुखमा अडकियो । निकाल्न खोज्यो, मरिकट्टे झर्दैन । बल गरेर रुख हल्लायो, तैपनी झर्दैन बा । अनि रुखमा चढाएर जुत्ता झार्न खोज्यो, हात्त नपुग्ने, परिणाम जुत्ता नझर्ने । भै गो, खाली खुट्टा नै भए पनि खेले भए नी न भन्यो, खेलाडी पनि मान्दैन, क्लब पनि मान्दैन् किनभने गोल हान्ने खेलाडी त्यही एउटा रहेछ तर उसको कमजोरी भनेको जुत्ता नभईकन फुटबल खेल्नै नसक्ने ।
त्यसपछि लामो घोचोले मरी मरी जुत्ता निकाल्न पनि खोजियो, मरिकट्टे निक्लेन । जुत्ता बिना नै गेम सुरु भयो, राई टोलले त्यो गेममा हा¥यो । उनीहरुले भने, ‘रुख वरपर भएको ठाउँमा फिल्ड भएको र जुत्ता अडेकाकाले मात्र हामीले हारेका हौ, नत्र जित्थ्यौ’ भन्दै उनीहरुले आयोजकलाई धेरै गाली गरे । गेम सकिए पछि सिसौंको रुखको हाँगा नै काटेर जुत्ता निकालेर उनीहरुलाई दिई पठायौं, त्यो जिम्मेवारी हाम्रो थियो किनकी आयोजक नै प¥यौ हामी ।
चौथो दिन, ठाडाटोल र ठोकर टोलको क्लब बिच खेल हुदैँ थियो । खेल राम्रोसँग नै भइरहेको थियो तर ठाडाटोलको क्लबका एउटा खेलाडीले ठोकर टोलका राजकुमार लामालाई छिर्कने हानिदिए । त्यसमा बादबिबाद सुरु भयो, रेफ्री दुवैले सम्झाए र खेल अघि बढाए । फेरी ठोकर टोलकाले ठाडाटोलकालाई छिर्कने हानेर लडाई दिए, खेल मैदानमा ‘फाइट’ सुरु भयो । हामीलाई भने डर लाग्यो, अब गर्ने चाँही के हो ? मिल्छ, जस्तो लागुन्जेल हेरेर बस्यौ, रुपक दाईले पनि त्यसका लागि प्रयास गरे । तर, ‘सिंगल सिंगल फाइट’ हेर्दा हेर्दै ‘ग्रुप फाइट’मा परिणत भयो ।
मैदानमा नै हानाहान, भागाभाग सुरु भयो, खेल मैदान रणभुमीमा परिणित हुन थाल्यो । आयोजकलाई नै भुक्काउन थाले भने त बर्बाद हुन्छ, कता कता मनमा चिसो पस्यो । भाञ्जाले मेरो आँखामा हेरे र इशारा गर्दै सोधे के गर्ने ? मैले भने, ‘आफनो सुरक्षा आफै गर्ने ?’ त्यसपछि लुसुक्क भाग्ने दाउँ हामीले ग¥यौ । बिस्तारै बिरालो चालमा हामी मैदानवाट निस्क्यौ, उनीहरु मैदानमा नै मुक्का हानाहान गर्दैथे ।
‘खै आयोजक ? गेम चाँही खेलाउने अनि क्लब बिचको झगडा पर्दा छुट्टयाउन नआउने ?’ भन्दै ठुला ठुला स्वरमा कोही कोही दर्शक कराएको सुनियो तर हामी सुनेको नसुने झै गरी ज्यान बचाउनतिर लाग्यौ । बाटोमा भाग्दै गर्दा, बढी कुटाई खाने ठोकरटोलका एउटा दाजुले च्याप्पै आयोजक टिमलाई समाए र भने, ‘के हो यो पारा, गेम खेलाउन नसक्नेले किन आँट गर्नु ? गेम खेल्नका लागि मान्छे बोलाउने अनि कुटाएर पठाउने ? भन्दै मज्जैसँग झाँको झारे ।
अनि मैले भनिदिए, ‘दाजु, तपाईहरुलाई पत्र पठाउँदा नै हामीले आफनो सुरक्षाको जिम्मेवारी आफै गर्नुहोला, त्यसमा आयोजक जिम्मेवार हुने छैन भनेर लेखेरै पठाएका छौ, त्यो हामीले गर्न नसक्ने भएर नै लेखेका हौं ।’ पत्र पढेकाले होला, दाजु चुपचाप भए ।
झगडा पर्नु अघि नै ठाडाटोलको टिमले गोल हानि सकेको थियो, उसैलाई बिजयी भएको मान्यौ तर घोषणा चाँही गरि दिएनौं किनकी मैदानमा बसेर घोषणा गर्नु बाघसँग जानी जानी निउँ खोज्नु जस्तै थियो । ती दुई टिम बिचको झगडामा हाम्रा दुई लाइन्सम्यालने अलि अलि धुलाई पनि खाएछन्, पछि थाहा पाइयो ।
अन्तिम सेमी फाइनलको दिनमा लाइन्सम्यान भएन, जति बस्दै आएका थिए, तीनले हिजो नै कुटाई खाए । अरुलाई ‘तँ बसि दे न’ भन्यो, ‘नाई केही तलमाथी भयो भने हाम्लाई कुटछन’ भन्छन मरिकट्टे मान्दैनन । हात जोडेर आग्रह गरयो, आफनै साथीहरु उल्टै थर्काउछन, ‘जान्ने बनेर म्याच खेलाउने भएको होइन तँ बस्न, आफु नबसेर हाम्लाई कुटाउने अझै’ भन्छन, मान्दै, मान्दैनन् । आयोजक हामी हौ, हामीले अरु क्लबसँग डिलिङ गर्नुपर्छ क्या भन्यो, बुझदै बुझदैनन साथीहरु । अन्ततः एउटा लौरोमा ब्रतबन्धमा प्रयोग भएको पहिलो कपडा (लगौंटी) लाई झन्डा जस्ता बनाएर प्रयोग गरिएको थियो, त्यही हल्लाउने काम आफैले गर्नु परयो ।
फाइनलमा कसो कसो गरी मिलायौं र शान्तिपुवर्क रुपमा नै गेम खेलायौं । फाइनल खेलमा ठाडाटोलको टिमले बाजी मा¥यो ।
यस्ता धेरै धेरै हैरानी खेपियो, खेल अबधीभर । टोलमा पुस्तकालयका तर्फवाट नियमित (सय भन्दा बढी कार्यक्रम) बादबबिबाद, हाजिरीजवाफ, साहित्य गोष्ठी, चित्रकला प्रतियोगिता गर्दै आइरहेको भए पनि ‘फुटबल म्याच’ समापन गरेको दिन चाँही हामी (मुख्यतः भाञ्जा र मैले) सबैले कसम नै खायौं, ‘संसारमा सबै कार्यक्रम गर्ने तर यो फुटबल टुर्नामेन्ट भने जिन्दगीमा अब चाँही कहिल्यै पनि नगर्ने ।’
नभन्दै त्यसपछि आजसम्म पनि टोलमा फुटबल टुर्नामेन्ट नै भएको छैन । त्यो नै पहिलो र अन्तिम टुर्नामेन्ट हुन पुग्यो, हाम्रो टोलका लागि ।
No comments:
Post a Comment