हामी हाम्रो पार्टीको नवांै महाधिवेशनको अन्त्यतिर आइपुगेका छौं । राजनीतिक, संगठनात्मक प्रतिवेदन र पार्टी विधान पारित गरिसकेका छौं । अब हामी पार्टीको नयाँ नेतृत्व चयनको महत्त्वपूर्ण घडिमा आइपुगेका छौं । यस बखत म कमरेडहरूसमक्ष केही कुरा राख्न उभिरहेको छु । मैले पार्टीको नवौं महाधिवेशनपछि पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने निर्णय गरेको छु । यद्यपि अहिले संशोधन गरिएको विधानले यो बाध्यकारी व्यवस्था पनि गरेको छ । तर, यहाँ उपस्थित नेतृत्वमा रहनुभएका धेरै कमरेडहरूलाई जानकारी छ, मैले एक वर्षअघिदेखि नै नवौं महाधिवेशनपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट बिदा लिने कुरा सार्वजनिक गरेको थिएँ ।
आजभन्दा ६२ वर्षअघि अर्थात् २००९ साल (सन् १९५२)मा भारतको वनारसमा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर म कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको थिएँ । त्यसबखत म १६ वर्षको थिएँ । अहिले ०७१ सालमा म ७८ वर्षको भएको छु । यो ६२ वर्षको अवधिमा म कम्युनिस्ट पार्टीको सिद्धान्त, आदर्श तथा नीति कार्यक्रमप्रति निष्ठापूर्वक लागिरहें । यो ६२ वर्षको अवधिमा विश्वमा ठूला राजनीतिक परिवर्तनहरु भए । नेपालमा युगान्तकारी परिवर्तन भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै उथलपुथल भयो । यी राजनीतिक घटनाक्रमलाई देख्ने, भोग्ने र कतिपयमा सक्रियपूर्वक भाग लिने मौका पाएको छु ।
आजभन्दा ६२ वर्षअघि अर्थात् २००९ साल (सन् १९५२)मा भारतको वनारसमा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर म कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको थिएँ । त्यसबखत म १६ वर्षको थिएँ । अहिले ०७१ सालमा म ७८ वर्षको भएको छु । यो ६२ वर्षको अवधिमा म कम्युनिस्ट पार्टीको सिद्धान्त, आदर्श तथा नीति कार्यक्रमप्रति निष्ठापूर्वक लागिरहें । यो ६२ वर्षको अवधिमा विश्वमा ठूला राजनीतिक परिवर्तनहरु भए । नेपालमा युगान्तकारी परिवर्तन भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै उथलपुथल भयो । यी राजनीतिक घटनाक्रमलाई देख्ने, भोग्ने र कतिपयमा सक्रियपूर्वक भाग लिने मौका पाएको छु ।
०१४ सालमा काठमाडौंको फोहोरा दरबारमा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा म प्रतिनिधिका रूपमा उपस्थित थिएँ । त्यसपछिका धेरै घटनाक्रम र विषयवस्तुहरू मेरो मानसपटलमा घुमिरहेका छन । ०१७ सालमा तत्कालीन राजा महेन्द्रको फौजी तानाशाहीको विरोधमा पार्टीको लालझन्डालाई उँचो गर्दै संघर्षमा अघि बढियो । ०१९ को पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्दीय पार्टी निर्माणका लागि ०२८ सालमा भएको न्यूक्लियस गठन, वाममोर्चा निर्माण, ०४६ सालको जनआन्दोलन, ०४७ सालको संविधान निर्माण, ०४७ सालमा माले र माक्र्सवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्माण, ०४९ सालमा जननेता मदन भण्डारीको अगुवाइमा सम्पन्न पार्टीको पाँचौं महाधिवेशन, ०५१ सालमा गठित नेपालको पहिलो ऐतिहासिक कम्युनिस्ट सरकार, ०६२/६३ को राजा ज्ञानेन्द्रको निरंकुशताविरोधी आन्दोलन मेरो जीवन यात्रा र सक्रिय राजनीतिक यात्राका अत्यन्तै महत्त्वपूर्ण घटनाक्रम रहेको मलाई लागेको छ । तेस्रो महाधिवेशन र त्यसको सेरोफेरोमा पार्टीका संस्थापक महासचिव पुष्पलाल र पार्टी नेता तुलसीलालको नेतृत्वमा उहाँहरूसँग एउटै कमिटीमा बसी नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन गरेका कार्यहरूलाई मेरो जीवनकै महत्त्वपूर्ण काम रहेको ठानेको छु । माले र माक्र्सवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी एमाले गठन, पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित जनताको बहुदलीय जनवादको कार्यक्रम निर्माणका बखत मदन भण्डारीसँगको सहकार्य र सहयात्रालाई मैले मेरो जीवनकै अमूल्य मौकाको रूपमा सम्झेको छु । मेरा सहोदर दाजु मनमोहन अधिकारीसँग पारिवारिक र पार्टी जीवनमा गरेका सहकार्यका अलावा नेपालको पहिलो ऐतिहासिक कम्युनिस्ट सरकारको अर्थमन्त्रीको रूपमा जिम्मेवारी प्राप्त गरी, पार्टीको सिद्धान्त र नीति तथा जनताको बहुदलीय जनवादको कार्यक्रमको प्रकाशमा प्रगतिशील सुधारका कार्यक्रमहरू सरकारको बजेटमा मुखरित गर्न पाएको क्षणलाई अर्को महत्त्वपूर्ण अवसर सम्झेको छु । विगतकालमा पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, तुलसीलाल अमात्य, मोहनविक्रम सिंहलगायतका नेताहरूसँग बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन गरेका कार्यहरूलाई अत्यन्तै गौरवका साथ सम्झिरहेको छु । झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतमलगायत अहिले पार्टी नेतृत्वमा रहनुभएका कमरेडहरूसँगको सहकार्य मेरो जीवनकै अमूल्य सम्झनाको रूपमा रहनेछन् ।
०४९ को पाँचौँ राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ मोड थियो । विशेषगरी सोभियत संघ र पूर्वीं युरोपका समाजवादी सत्ताहरू ढलेर दुनियाँमा कम्युनिज्मको भविष्य नै समाप्त भएको भनी हुइयाँ चलाइएको त्यसबखतमा जडसूत्रवाद र विसर्जनवादको विरोध गर्देै माक्र्सवादको सिर्जनात्मक प्रयोगको झन्डा फहराउने उद्घोष गर्नु सामान्य आँट, हिम्मत, विश्वास र समर्पणको परिचय थिएन । अझ स्थापनाकालदेखि पार्टीले बुलन्द गरेको मानवअधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्रको पक्षपोषणलाई विश्लेषण, संश्लेषण र समृद्ध तुल्याउँदै समकालीन विश्व परिवेशमा उत्पन्न संकटहरूलाई मध्यनजर गरेर जननेता मदन भण्डारीले जबजको प्रतिपादन गर्नुभयो । त्यसक्रममा उहाँको एक जना वैचारिक सहयोद्धाका रूपमा गरेको सहयोगलाई म यहाँनेर गौरवका साथ उल्लेख गर्न चाहन्छु । पार्टीभित्र र बाहिरसमेत अनेकौं चुनौतीहरूसँग जुझ्दै जबज आज राष्ट्रको नेतृत्वकारी विचार र नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्तको रूपमा स्थापित भएको छ । यसलाई सिंगो पार्टी पंक्तीले एकताबद्ध भइ विकास र समृद्ध पार्दै व्यावहारिक प्रयोगको प्रक्रियामा अघि बढाउनु आवश्यक छ । यसका निम्ति विवादमा रुमलिएर होइन आपसी एकता, विश्वास र निष्ठापूर्वक लाग्नुपर्ने खाँचो छ । म सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको त्यस गुरुत्तर दायित्वप्रति गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन उपयुक्त ठान्दछु । पार्टी एकता, सक्रियता र गतिशीलता सफलताका आधार भएको स्मरण गराउन चाहन्छु ।
०५१ सालमा हाम्रो पार्टी राष्ट्रको पहिलो पार्टीको रूपमा स्थापित भयो र इतिहासमै पहिलो पटक निर्वाचित एकल कम्युनिस्ट सरकार गठन गर्यो । लोककल्याणकारी राज्य सञ्चालन र जनमुखी विकासको थालनीका कारण हाम्रो पार्टीका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित लोकप्रिय नौमहिने सरकार एउटा यस्तो दृष्टान्त रह्यो, जसले क्रान्तिपूर्व समेत जनताबाट निर्वाचित भई कम्युनिस्ट पार्टीले योग्यतापूर्वक सरकार सञ्चालन गर्ने क्षमता र सामथ्र्य राख्न सक्तछ भन्ने कुराको पुष्टि भएको छ । नौमहिने सरकारको सफलताले हाम्रो पार्टी र अन्य प्रतिस्पर्धी पार्टीहरूसँग तुलना गरेर व्यवहार गर्न आम जनसमुदायलाई धेरै सजिलो भयो । खासगरी ‘आफ्नो गाउँ आफै बनाऊँ, बृद्ध भत्ता’ जस्ता लोककल्याणकारी कार्यक्रमको थालनी गरेर हामीले अरूलाई पनि सरकार कसरी चलाउनुपर्छ भन्ने नमुना प्रस्तुत गर्यौँ । यसले हाम्रो पार्टीलाई जनताबीच लैजान अझै मद्दत पुग्यो ।
विभिन्न कालखण्डमा पार्टीले मलाई धेरै महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । पार्टी र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न, देश र जनताको सेवा गर्न मलाई पार्टीले विश्वास गरी सुम्पेका हरेक जिम्मेवारिलाई मैले आफ्नो क्षमता, योग्यताको भरपूर उपयोग गरी पार्टीका नीति तथा कार्यक्रमलाई इमानदारी र निष्ठापूर्वका कार्यान्वयन गर्ने प्रयत्न गरेको छु । पार्टी जिम्मेवारी निर्वाह गर्ने क्रममा मेरा कमीकमजोरी, गल्ती र त्रुटि भएका हुन सक्छन । ती कुराहरूलाई मानवीय कमजोरीका रूपमा लिई दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
पार्टी जीवन र समाज परिवर्तनको आन्दोलनमा एउटा व्यक्ति आउँछ, जान्छ यो निरन्तर चलिरहने प्रक्रिया हो । तर, ००६ सालदेखि सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनलाई निरन्तर सुदृढ, समृद्ध बनाउँदै निरन्तर थप उचाइमा लैजानु हाम्रो कर्तव्य हो । मुलुकमा आमूल परिवर्तन गरी समुन्नत राष्ट्र निर्माण र जनताको जीवनमा समृद्धि ल्याउनु हाम्रो पार्टी नेकपा (एमाले)को मुख्य जिम्मेवारी हो । यस क्रममा म पार्टीको कार्यकारी पदमा नरहे पनि मेरो बाँकी जीवनभर म पार्टीको वफादार कार्यकर्ताको रूपमा रहिरहनेछु । तपाईंहरूले मलाई एउटा निष्ठावान कार्यकर्ता, तपार्इंहरूको शुभचिन्तक, सहयोगीका रूपमा पाउनुहुनेछ । आगामी दिनमा पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि त्यसलाई निष्ठा र इमानदारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्ध छु ।
हाम्रो पार्टी यसबेला अर्को अत्यन्तै महत्त्वपूर्ण मोडबाट गुज्रिरहेको छ । मैले आगामी दिनमा नेकपा (एमाले)को सामु सुन्दर तस्बिर देखिरहेको छु । एउटा दृढ आठोटका साथ एकताबद्ध भएर लाग्ने हो भने नेकपा (एमाले)ले नेपाली जनताको मन जित्दै आगामी निर्वाचनमा प्रस्ट बहुमत प्राप्त गर्नेछ । नयाँ नेपाल निर्माणको सपना पूरा गर्न हामी अघि बढ्नेछौं । यसका लागि यो नवौं राष्ट्रिय महाधिवेशनका निर्णय र निष्कर्षहरू अत्यन्त महत्त्वपूर्ण हुनेछन् । महाधिवेशन पूर्ण रूपमा सफल होस् र यो महाधिवेशन सम्पन्न भइसकेपछि पार्टी, कार्यकर्ता र जनतामा नयाँ उत्साह सञ्चार हुने वातावरण सिर्जना होस् भन्ने कामना गर्दछु । हामी सबैले जनताको बहुदलीय जनवादले देखाएको मार्गमा अघि बढी देशको चौतर्फी समृद्धिको बाटोमा अघि बढ्ने दृढ संकल्प गरौं यही आशा, विश्वास र मेरो शुभकामनाका साथ कमरेडहरूसँग बिदा लिन चाहन्छु ।
महाधिवेसनमा भरतमोहन अधिकारीले ब्यक्त गरेका बिचार र अभिब्यक्तिः साभारः इबुधवार डटकम
No comments:
Post a Comment