Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, June 30, 2014

अन्ततः अध्यक्ष मोहन बैद्य बिरुद्ध चन्दको छुट्टै प्रतिवेदन दर्ज

नेकपा–माओवादी पोलिटब्युरो बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको दुई छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन पेस भएको छ। अध्यक्ष वैद्यले पेस गरेको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै सचिव चन्दले पनि फरक राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
बैठकमा छुट्टाछुट्टै दुई प्रतिवेदन पेस भएपछि असारमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन नै अन्योलमा परेको छ। एकीकृत नेकपा माओवादीसँग कार्यगत एकताको औपचारिक घोषणा भएको भोलिपल्ट आइतबार नै चन्दले पोलिटब्युरो बैठकमा आफ्नो फरक प्रतिवेदन पेस गरेका हुन्। एकीकृत नेकपा माओवादीबाट विभाजन भएर नेकपा–माओवादी गठन भएको दुई वर्ष पनि भएको छैन।
पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बैठकमा पेस भएका प्रतिवेदनका विषयमा छलफल जारी रहेकाले थप जानकारी दिन नमिल्ने बताए। ‘हिजोका दिनमा पार्टीमा तीन–तीनवटा फरक प्रतिवेदन आउँदा पनि हामीले छलफल गरेका हौं, आज दुइटा आउँदा पनि छलफल गर्छौँ,' कँडेलले नागरिकसँग भने, ‘फरक दस्तावेजका रूपमा सम्मेलनमा लैजाने कि पूरक प्रतिवेदनका रूपमा लिने भन्ने निर्णय केन्द्रीय समिति बैठकले लिनेछ।' उनका अनुसार पार्टीभित्र राजनीतिक विषयमा छलफल जारी नै रहेकाले कुनै निष्कर्ष भने निस्केको छैन।

तर, असार २६ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको भए पनि पोलिटब्युरो बैठकमा चन्दले फरक प्रतिवेदन पेस गरेपछि सम्मेलनको मिति तय नगरी पोलिटब्युरो बैठक सम्पन्न भएको छ। उक्त बैठकले दुवै प्रतिवेदनका विषयमा छलफल गर्न तथा सम्मेलनका एजेन्डा तय गर्न असार १८ गतेका लागि केन्द्रीय समितिको पूर्ण बैठक बोलाएको छ। अध्यक्ष वैद्य र सचिव चन्दका फरक–फरक प्रतिवेदनलाई कसरी लिने भन्नेबारे उक्त बैठकले नै निर्णय गर्ने भन्दै पोलिटब्युरो बैठक स्थगित गरिएको छ।
त्यसो त रौतहट, काठमाडौं, भक्तपुर, काभ्रे, बारालगायत जिल्लामा अध्यक्ष वैद्य र सचिव चन्दका समानान्तर समिति सक्रिय छन। राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन हुनुअघि गठन भएका ती समानान्तर समितिबारे कुनै निर्णय लिन नसकिरहेका बेला चन्दले फरक राजनीतिक प्रतिवेदन पेस गरेपछि दुई वर्ष नपुग्दै माओवादी फेरि गम्भीर राजनीतिक र वैचारिक संकटमा परेको छ।
वैद्यले पेस गरेको ‘जनयुद्धको जगमा जनविद्रोह' भन्ने मूल कार्यदिशा संशोधन गरेर चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह' भन्ने राजनीतिक कार्यदिशा बनाउन प्रतिवेदनमार्फत जोड गरेका छन्। ‘मुख्यगरी कार्यदिशालाई समृद्ध बनाउन विप्लव (चन्द) जीले फरक दस्तावेज पोलिटब्युरोमा लैजानुभएको हो,' चन्दनिकट केन्द्रीय सदस्य सन्तोष बुढामगरले नागरिकसँग भने, ‘कार्यदिशामा एकरुपको बुझाइ हुनुपर्छ भनेर फरक प्रतिवेदन गएको हो।' उनका अनुसार पार्टी विभाजनपछि निर्माण गरिएको कार्यदिशा अधुरो र अपुरो तथा त्यसमा बुझाइ फरक पर्दै गएपछि चन्दले फरक प्रतिवेदन पेस गरेका हुन्।
मुद्दामा कार्यगत एकता गरेर जान सकिने भए पनि अन्य पार्टीसँग एकीकरण तत्कालै गर्न नहुने पक्षमा चन्दको फरक मत छ। पार्टी विभाजनअघि ‘दक्षिणपन्थी अवसरवादी' को संज्ञा दिइएको पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग कार्यगत एकता गरिनुका आधार मागिए पनि चन्द कार्यगत एकताको विपक्षमा भने उभिएका छैनन्।
‘मुद्दामा कार्यगत एकता गर्न सकिने भए पनि पार्टी एकीकरण गर्ने सवालमा भने धेरै प्रश्नको उत्तर खोज्नुपर्छ,' चन्दको प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो, ‘फुटको औचित्य पुष्टि नगरी, कार्यदिशा र कार्ययोजना तय नगरी पार्टी एकता गर्न सकिँदैन।' चन्दले दाहाल पक्षधरसँग प्रश्न उठाएर मात्रै एकीकरणमा जान सकिने विषय प्रतिवेदनमा उठाएका छन्।
यसैगरी, वैद्यले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले त्यसलाई जोगाउन र विकास गर्न कम्युनिस्ट पार्टीहरूबीच एकता अपरिहार्य बन्दै गएको उल्लेख गरेका छन्। ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिले पनि कम्युनिस्ट पार्टीहरूबीच एकता अपरिहार्य बन्दै गएको छ, लचकता अपनाएर भए पनि एकता गर्नुपर्छ भन्ने जोड अध्यक्षको छ,' वैद्यनिकट एक नेताले नागरिकसँग भने।
विद्रोहलाई संगठित गर्नुको अर्को विकल्प नभएकोमा जोड गरेका वैद्यले तत्काल पार्टी निर्णयमा पुग्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘विद्रोह तयारीका लागि आवश्यकता पर्दा अन्य पक्षको सहारा लिन पनि तयार हुनुपर्छ, एक्लै विद्रोह गर्ने अवस्था छैन,' वैद्य प्रतिवेदनको निचोड उद्धृत गर्दै माओवादी स्रोतले भन्यो।

No comments:

Post a Comment