Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, May 14, 2013

"माओवादीले संघीयता नमाने पछि "नोट अफ डिसेन्ट" लेखेर निस्किए"

०६३ कार्तिक २२ गते अन्तरिम संविधान लेखनका लागि ड्राफ्ट निमार्ण गर्ने कुरा हुदै थियो । प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालिन सात दल र बिद्रोहीशक्ति नेकपा माओवादीसहितका शिर्ष नेता बैठकमा थिए । सो बैठकमा एक मात्र मधेसी नेता भरत बिमल यादव पनि थिए, नेपाल सदभावना पार्टी उपाध्यक्ष हैसियतमा । उनी जनआन्दोलन–२का सात कमाण्डर मध्ये एक कमाण्डर पनि हुन् । यादवले अन्तरिम संविधानको ड्राफट बनाउनु अघि बैठकमा तीन वटा प्रस्ताव राखे, ‘पहिलो राज्य पुर्नसंरचना संघीय ढाँचामा हुनुपर्छ, दोस्रो राज्यको सबै तहमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ र तेस्रो, भुमीसुधार अधिकार संबन्धित राज्य सरकारलाई नै दिनुपर्ने ब्यवस्था गर्नुपर्छ ।’ तर यादवको सो प्रस्तावमा कुनै पनि दलका शिर्ष नेताले जनाएनन् । ‘कसैले पनि समर्थन नजनाए पछि मेरा मागलाई सम्वोधन नै नगरी ड्राफट बन्यो, संघीयता नै उल्लेख नभए पछि मैले चाँही नोट अफ डिसेन्ट लेखेर निस्के’ यादवले सोमवार त्यो दिनको दृश्य पस्किए ।
उनी त्यो दिनको वैठकलाई सम्झदै थिए । ‘त्यतिखेर माओवादी पनि संघीयतामा कुनै पनि हालतमा जान नै चाहेन’ सो वैठक सम्झदै यादवले दर्जनौ पत्रकारका सामु भने, ‘माओवादीले त्यो बेला संघीयतामा जान मानेको भए, कांग्रेस, एमाले पनि त्यो बेला संघीयतामा जान्थे तर माओवादीले पनि कांग्रेस÷एमालेले झै बिकेन्द्रिकरणको कुरा ग¥यो, संघीयता सुन्न नै चाहेन् ।’ तर, माओवादीले पछिल्लो समयमा संघीयता कुरालाई चर्को रुपमा उठाउँदा आफुले ती दिन झलझली सम्झने गरेको यादव चाँही सोमवार भन्दै थिए । उनको अझै दाबी थियो, ‘माओवादी संघीयता पक्षधर शक्ति नै होइन, संघीयता त उसको रणनीतिक र उपयोगका चालबाजी मात्रै हो, त्यसैले मात्र माओवादी संघीयता संघीयता भनेर कराई रहेको छ ।’
अझ उनको अर्को दावी पनि थियो, ‘माओवादीले त्यो बेला संघीयता नमानेको कारण मधेस बिद्रोह भएको हो, त्यो बेला माओवादीले संघीयता स्विकार गरेको भए मधेस बिद्रोह नै हुदैनथ्यो ।’ उनलाई त माओवादीले संघीय राज्य पुनसंरचनामा अडान अझै अडान लिन्छ भन्नेमा विश्वास नै रहेनछ ।
सो बैठकमा गिरिजाप्रसाद कोइराला, माधबकुमार नेपाल, शेरबहादुर देउवा, प्रचण्ड–बाबुराम भट्टराई, सीपी मैनाली, नारायणमान बिजुक्छेलगायत तत्कालिन सात दलका शिर्ष नेता थिए । उनका अनुसार माओवादी संघीयता जानु भन्दा पनि कांग्रेस÷एमाले झै बिकेन्द्रिकरणको पक्षमा उभिएको थियो । त्रिपुरेश्वरस्थित अर्किड होटलमा उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश गर्ने कार्यक्रममा माओवादीको संघीयताका कुरालाई ‘नयाँ जोगीले बढी खरानी घसेको’ भन्दै टिप्पणी उनले गरिदिए ।
अनि, उपेन्द्र यादव पनि भरत बिमलको कुरामा सहमति जनाउँदै भन्न थाले, ‘यदी माओवादी संघीयता पक्षधर राजनीतिक शक्ति भएको भए, उसले आफना ४० बुदेँ माग, १२ बुदेँ सहमति र अन्तरिम संविधानमा राज्य पुर्नसंरचनाको आधार संघीय हुनुपर्छ भनेर लेखाउँथ्यो तर त्यो त कतै पनि लेखाएन् ।’ यी तथ्यले पनि माओवादी संघीयता पक्षधर शक्ति नभएको यादवको थप तर्क थियो । मधेस आन्दोलनले ल्याएको संघीयताको एजेन्डालाई हामीले ल्याएको भन्नलाई माओवादीसँग कुनै राजनीतिक नैतिकता नभएको यादवको भनाई छ ।
यी दुवै नेताका कुरा सोमवार सुने पछि केही बर्ष अघि मात्र उपेन्द्र यादवले मसँगको एउटा भेटमा भनेको प्रसङग याद आयो । हुन त यादव युद्धकाल भरी माओवादी नै थिए, उनलाई जति कुरा अरुलाई स्वाभाविक रुपमा माओवादी बारे थाहा हुने कुरा नै हुदैन् । उनले त्यतिबेला मसँग (त्यतिबेला म राजधानी दैनिकमा कार्यरत थिए) भनेका थिए, जुन अहिले सान्दर्भिक हुन्छ भनेर जोडन मात्र खोजेको हुँ (त्यो पनि हिजोका दुई नेताका कुरा सुने पछि मात्र) । माओवादी युद्धकाल मै संघीयतामा जाने÷नजाने बारेमा माओवादी अध्यक्ष प्रचण्ड र यादव बिच ठुलै  टक्कर नै परेको रहेछ । भारतको राजधानी नयाँ दिल्लीमा सो बारे छलफल गर्न दुुई नेता विच पटक पटक बैठक पनि भइरहने तर निष्कर्ष भने कहिल्यै ननिस्कने । संघीयता सहितको राज्य पुर्नसंरचनामा जान माओवादी अध्यक्षले आनाकानी गरे पछि यादव झस्किन थालि सकेका रहेछन् । त्यस बारेमा घनिभुत छलफल गर्नु प¥यो भनेर यादव र प्रचण्ड बिच दिल्लीमा अन्तिम भेटघाट भयो । यो भेटघाट त्यही दिन भएको थियो, जुन दिन (युद्धकाल)मा मातृका यादव र सुरेश आलेमगर भारतमा पक्राउ परेका थिए । त्यो दिन यादवले कडाँ हुदै प्रचण्डलाई सोधेका रहेछन्, ‘साच्चै संघीयतामा नजाने हो भने यो सब नाटक (संघीयताका कुरा) किन गरेर भ्रम छरिरहनु भएको छ ?’ यादवको कुरा सुने पछि प्रचण्डले धक नमानी भनेछन, ‘यादवजी, यो त सब संगठन बनाउनका लागि गरेका हौं, हामी त कुनै पनि खाले संघीयतामा जानु हुदैन् ।’ यादवका अनुसार, प्रचण्डको त्यो दिनको तर्क यो थियो कि संघीयताले देशलाई कुनै पनि हालतमा भलो गर्दैन् ।
यादवले प्रचण्डको जुँगा चल्ने बितिक्कै भित्री कुरा बुझि हाले । प्रचण्ड र माओवादी दुवै त संघीयतालाई उपयोग मात्र गर्न चाहान्छ, लागु गराउन चाहादैन् । त्यस पछि दुबै नेता बिच भनाभन नै भयो । यादवले जवाफ दिएछन– ‘राजनीतिमा बेइमानी गर्नुभयो र मधेसको भावानलाई उपयोग गरेर गलत गर्नु भयो ।’ यसो भन्दै यादव प्रचण्डसँग रिसाएनन मात्रै, माओवादीमा अब आफु आवद्ध नै नभएको भन्दै हिडिदिए ।
संयोग नै मान्नु पर्छ, यादव र प्रचण्ड जुन कोठामा छलफल गरिरहेका थिए, त्यही कोठाबाट मातृका र सुरेश आलेमगरलाई भारतीय सुरक्षाकर्मी आधा घन्टा पछि पक्राउ गरिदिए । आधा घन्टाले मात्र प्रचण्ड पक्राउ खानवाट जोगिएका थिए । र, सो घटना पछि यसको सम्पुर्ण दोष प्रचण्डले यादवलाई लगाई दिए र युद्धकालमा उनलाई मार्न भन्दै माओवादी लडाकुका टोली नै परिचालन गरिदिए । त्यो बेला उपेन्द्रले भारतका विभिन्न सहरमा लुकीलुकी ज्यान जोगाए ।  मसँग त्यही बेला सम्झदै भनेका थिए, ‘मलाई मार्ने पार्टी निर्णय भए पछि माओवादी भित्रैका केही साथीले मलाई त्यो गोप्य सुचना दिए कि तपाईलाई मार्नका लागि अध्यक्षको निर्देशनमा एउटा टोली नै खटिएको छ, ज्यान जोगाएर बस्नु होला ।’ (मैले यादवको यो संस्मरण राजधानीमा नै लेखेको पनि थिए) ‘माओवादी भित्रका साथीहरुले त्यो सुचना मलाई नदिएको भए, म यतिखेर तपाईका सामु हुन्थेन्’ यादवले भनेका ती कुरा सम्झना ब्लग लेख्देै गर्दा आयो, ‘जबसम्म मातृका र सुरेशजी जेलवाट निस्केर उपेन्द्रले हामीलाई पक्राउ गराएका होइनन, भारतीय प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको भनेर भनेनन, तबसम्म मलाई मार्ने प्रयास निरन्तर नै गरियो ।’ उनले त्यति बेला भनेका थिए, ‘माओवादीले मलाई युद्धकालमा भारत मै, शान्ति प्रक्रियामा आए पछि नेपालगञ्ज र गौरमा गरी तीनपटक हत्याको प्रयास गरेको थियो तर पनि सकेनन् ।’ उनको तर्क थियो, संघीयताका पक्षमा जब देखी उनले अडान लिन सुरु गरे तब देखी उनी माओवादीको तारो बन्दै गएका हुन् ।
त्यसो त गौर हत्याकाण्डका मुख्य दोषी माओवादीले उपेन्दलाई दियो । र, पटक–पटक उनका बिरुद्ध मुद्धा हाल्ने असफल प्रयास पनि ग¥यो । तर, स्वयं माओवादी नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’को संयोजकत्वमा गठन भएको ‘गौर हत्याकाण्ड’ संवन्धी छानबिन आयोगले आफनो प्रतिवेदन वुझाउँदै ‘उपेन्द्र यादवलाई सभास्थलवाट पक्राउ (तानेर नियन्त्रण) गर्ने सुचना लिक भए पछि गौरमा पार्टीले त्यो क्षति ब्योहोर्नु परेको देखियो’ भन्दै प्रतिवेदन लेख्यो । सो प्रतिबेदन प्रचण्डको दराजमा अझै सुरक्षित छ, त्यो प्रतिवेदन यति गुपचुप राखिएको छ कि खास त्यसमा के चाँही निष्कर्ष निकालिएको छ भन्ने धेरै माओवादीका धेरै शिर्ष नेतालाई पनि थाहा छैन ।
संयोगबस सोही प्रतिवेदन मैले पढन पाए । र, मैले राजधानी दैनिकमा समाचार लेखे, ‘उपेन्द्र यादवलाई पक्राउ गर्ने सुचना लिक हुदाँ गौर हत्याकाण्ड ।’ उपेन्द्र यादवलाई अझै पनि लाग्छ, ‘यदी संघीयताको पक्षमा मैले युद्धकाल देखी अडान नलिएको भए, मलाई माओवादीले मार्ने असफल प्रयास पटक पटक गर्दैनथ्यो ।’ तर, माओवादी भित्र गरेका संघर्षका हरेक कष्टका बाबजुद मधेस आन्दोलनले संघीयतालाई मुलुकमा स्थापित गराएरै नै छाडयो । आज सो एजेन्डा सबको भएको छ, यादवको वुझाई यस्तै छ ।
त्यसैले त मधेस आन्दोलनले स्थापित गराएको संघीयताका मुद्धालाई देशले नै स्विकार गरेकोमा भने अहिले यादव भने खुसी छन् । संघीयताका एजेन्डा स्थापित गराउनका लागि यादवले माओवादी भित्र के–के दुःख भोगेका थिए र के–के सम्म गरेका थिए, कुनै दिन उनले आफनो आत्म बृतान्तमा लेख्लान । तर, माओवादीले अहिले जसरी संघीयताको मसिहा हामी नै हौ भनेर आफुलाई जर्बजस्ती प्रचार गरिरहेको छ, यो सुन्दा यादव चाँही कहिलेकाँही हाँस्छन रे पनि । ‘जो चोर, उसैको ठुलो स्वर’ भन्दै यादव चाँही सोमवार अर्किड होटलमा पत्रकारका सामु कुटनीतिक हाँसो हाँस्दै थिए ।

No comments:

Post a Comment